logo
२०८१ जेष्ठ ६ आईतवार



लिम्बूको विवाहमा सोतरीत

विचार/दृष्टिकोण |


लिम्बूको विवाहमा सोतरीत


राजकुमार दिक्पाल

सामान्यतः नेपाली समाजमा विवाह भन्नेबित्तिकै जन्ती लिएर ठाँटका साथ दुलाहा पक्ष दुलहीको घरमा जाने, स्वयम्बर गर्ने तथा वैवाहिक कार्यक्रम सम्पन्न गरेपछि दुलही लिएर आउने अनि दुलाहाको घरमा भिœयाउने भन्ने बुझिन्छ । यसैगरी, दुलाहा पक्षलाई दुलही पक्षले दाइजोका रूपमा नगद र जिन्सी दिने चलन देखिन्छ । तर, नेपाली समाजमा लिम्बूहरूको विवाह माथि उल्लेख गरिएभन्दा बिल्कुलै फरक छ ।
लिम्बूको विवाहमा सामान्य अवस्थामा एकजना साथी र एकजना बुढ्यौली लिएर दुलाहा पक्ष दुलहीको घरमा जान्छन् । दुलहीको घरमा सामाजिक रीतकर्म सम्पन्न हुन्छ । त्यसपछि दुलही दुईजना माइती र प्रशस्त लोकन्ती (दुलहीका साथीहरू) साथ दुलाहाको घरमा आउँछिन् । दुलाहाको घरमा भव्यतापूर्वक विवाह हुन्छ । दुलही घरमा भित्रिन्छिन् । दुलाहाको घरमा विवाह सम्पन्न भइसकेपछि दुलही र लोकन्तीहरूका साथ दुलाहा फेरि दुलहीको माइतघर पुग्छन् । त्यहाँ पुनः भोजभतेर चल्छ । त्यसपछि दुलही आफ्ना दुलाहाका साथ जन्मघरबाट कर्मघरतिर फर्किन्छिन् ।
लिम्बूहरूको विवाहमा दुलाहा पक्षले दुलही पक्षलाई प्रचलित संस्कृति र संस्कारअनुसार विवाह हुनुभन्दा अघि रीत तिर्नुपर्छ । यसमा नगद, सुन–चाँदीजस्ता जिन्सी आदि हुन्छन् । अहिले पनि यो संस्कारको विधि जीवितै छ । तर, पहिलेजस्तो महँगो भने छैन । यसलाई ‘सोतरीत’ भनिन्छ । दुलाहा र दुलहीबीच विवाहको कुरा छिन्दा सोतरीत अनिवार्य रूपमा बुझाउनुपर्छ ।
सोतरीतमा लिम्बूहरूले बढी त नगद र सुन–चाँदीको गहना पनि लिने गरेका छन् । आफूले १० महिना गर्भमा बोकेर जन्माई, हुर्काएको, बढाएको सन्तान अरूलाई दिनुपर्दा सोको क्षतिपूर्तिका रूपमा तथा मुटुको टुक्राजस्ती छोरीले पराईका घरमा गई काम गर्नुपर्ने भएकाले पनि सोतरीत लिइएको भन्ने मान्यता पाइन्छ । केटा पक्षले बुझाउनुपर्ने सोतरीत समग्रमा निक्कै धेरै हुन जान्छ, जसबाट आर्थिक भार ठूलो पर्ने पनि हुन्छ । (काइँला, वैरागी, ‘समन्वेषण’–२०७५, पृ.१३१–१३२)
तर, दुलहीको भविष्यको सुरक्षाका हिसाबले सोतरीतको चलन राम्रै देखिन्छ । यसलाई विवाह जीवन बीमाको प्राचीन प्रचलनका रूपमा लिन सकिन्छ । लोग्नेले सौता हालेर वा परित्यक्त भएर लोग्नेबाट कदाचित अपहेलित हुनुपर्दा गहनामा पाएको सुन–चाँदी र नगद तथा वस्तुले उनलाई बाँकी जीवन धान्न सहारा दिन्छ । (काइँला, उही, पृ.१३२)

विवाहको नियम
सृष्टिको प्रारम्भकालमा हाडनाताबीचमा पनि करणी चल्थ्यो । सभ्यताका क्रममा हाडनाता करणीलाई वर्जित गरियो । लिम्बू मन्धुमअनुसार लादुङ्नाले कुकुरलाई हिर्काइन् । कुकुरले आफूलाई कुच्चोले हिर्काइयो, खुट्टाले हिर्काइयो, न्याय पाइनँ भन्दै कराउन जान्छ । त्यही कुकुरले चेली माइती बिग्रियो है, सन्तान नै बिग्रियो है । धर्ती नै फोहोर बनाए है भन्दै चेली माइतीबीचको सम्बन्धबारे पर्दाफास गरिदिन्छ । चराचुरुङ्गी सबैले सुन्छन् । कुकुरले भनेको कुरा सही हो भनेर रूखपात सबैले सुन्छन् । (डा. चैतन्य सुब्बा ग्लोबल नेटवर्क’बाट सञ्चालित युट्युब अन्तरवार्ता–सन् २०१८ मे ८)
त्यसपछि चेली–माइती वा हाडनाताबीचमा विवाह गर्नुहुन्न भन्ने नियम वा मान्यता लिम्बूहरूमा स्थापित भएको मानिन्छ । लिम्बू मुन्धुमअनुसार प्रथम धार्मिक नेता येहाङले विवाहसम्बन्धी बनाएको नियमअनुसार बाबु–छोरी, आमा–छोरा, चेली–माइतीबीच विवाह निषेध छ । सौतेनी चेली–माइतीबीच पनि विवाह निषेध छ । काका, मामा, काकी, माइजू, फुपू, सानीआमा, ठूलीआमाका छोराछोरीबीच विवाह निषेध छ । बाबुतिरको नाता तोड्न हुन्न । आमातिरको रगतको सम्बन्ध चार पुस्तापछि मात्र खुला गर्न सकिन्छ । अलग कुल घरानको कन्याको विवाहका लागि पतिपत्नीको कानुनी मान्यताका लागि साक्षी प्रमाण राखी गाउँको मुख्य व्यक्तिको रोहबरमा फेदाङ्मा (पुरोहित)द्वारा विवाह सम्पन्न गराउनुपर्छ । (चेम्जोङ, इमानसिंह, ‘किरात इतिहास र संस्कृति’–२०६३, पृ.२३)
लिम्बूको विवाहको अर्को महŒवपूर्ण रीत ‘सैमुन्द्री’ पनि हो । बिहेदान गरेको छोरीचेलीलाई माइतीको वंशबाट कुटुम्बको वंशमा मिलाएर लैजाऊ भनी गरिने रीतिलाई सैमुन्द्री भनिन्छ । जन्म पाएको कुलवंशबाट विवाह भएर गएको लाग्नेको कुलमा मिलेका रूपमा यसलाई लिइन्छ । यो रीति नबुझाएसम्म विवाहले मान्यता पाउँदैन । सैमुन्द्री रीत नबुझाउने दम्पतीका सन्तान खोसा (अवैध) हुन्छ । यो पहिले कानुनसरह लिम्बू समाजमा लागू हुन्थ्यो । सन्तानलाई वैधानिकता दिन दस्तुर तिर्नुपथ्र्यो । (काइँला, वैरागी, ‘लाइक जर्नल’ वर्ष ८ अङ्क ५–२०७२, पृ.४६)

युप्पालुङ (युप्पारुङ) याङ
लिम्बू विवाह संस्कारमा ‘युप्पालुङ याङ’को विशेष महŒव छ । यसलाई युप्पारुङ याङ पनि भनिन्छ ।
लिम्बू विवाह संस्कारका प्रक्रियामा दुलाहाले एउटा चाँदीको मोहोर दुलाहीको पोथाङ (पछ्यौरा)मा बाँधिदिनुपर्छ । त्यो मोहोर दुलहीले जीवनभर आफ्नो साथमा राख्छिन् । यो विवाहको एउटा ठूलो प्रमाण हो । नेपाली भाषामा यसलाई बैना भनिन्छ । यो जीवन बिताउँछु वा विवाह गर्छु भनी सर्त बाँध्ने प्रक्रिया हो । यदि यो मोहोर दुलहीले स्वीकार गरिनन् भने विवाह असम्भव हुन्छ ।
युप्पालुङ याङले महिला र पुरुषबीचको समानताको पक्षलाई पनि प्रतिविम्बित गर्छ ।
लिम्बू समाजमा सम्बन्धविच्छेद गर्दा स्वास्नीलाई लोग्लेले छाडेमा ‘खेमजोङ’ र स्वास्नीले लोग्नेलाई छाडेमा ‘नाजोङ’ भनिन्छ । ‘नाजोङ’मा हिजो विवाहको समयमा पछ्यौरामा बाँधिएको युप्पालुङ याङले स्वास्नीले लोग्नेको निधारमा हाने स्वतः सम्बन्धविच्छेद हुने लिम्बूहरूको परम्परागत कानुन थियो ।

भाउजू विवाह गर्न छुट
लिम्बूहरूलाई भाउजु बिहे गर्न छुट थियो । लिम्बूहरूसँगै किराती (खम्बू), लेप्चा र जुम्लीहरूले यस्तो छुट पाएका थिए । विक्रम संवत् १८९३ असार सुदी ७ बुधबार तत्कालीन राजा राजेन्द्रविक्रम शाहले एक रुक्का जारी गरी ‘...जङ्गला मुलुक हुनाले जातको तजविज गर्नु पर्दा हाल किराती लिंवु लाप्चा र जुम्लीहरू वाहिक राषी आजदेषि उप्रान्त जानी जानी कसैले साक्षात् भाउजु विराउ नगर्नु भंन्या थीति वन्धेज बाँधि बक्स्यौं...’ भन्दै लिम्बूहरूलाई भाउजू विवाह गर्ने छुट दिएका थिए ।
राजा राजेन्द्रको यस रुक्काले किराती (खम्बू), लिम्बू, लेप्चा र जुम्लीहरूलाई जानी–जानी पनि भाउजू विवाह गर्न छुट दिएको छ । यी जाति र भौगोलिक क्षेत्रका बासिन्दाबाहेक नेपालका बाँकी जातिलाई भाउजूसँगको विवाह वा यौनसम्बन्धलाई कडा रूपमा बन्देज गरिएको छ । (रेग्मी, महेशचन्द्र, ‘रेग्मी रिसर्च सेरिज’ वर्ष ३ अङ्क १ –सन् १९७२ डिसेम्बर, पृ.१–२)
त्यसबेला उपाध्यय ब्राह्मण, क्षेत्रीहरूले जानाजानी भाउजूसँग बिराउ गरे जात पतीत गरी मुडी देशनिकाला गरिन्थ्यो । यस्तै खस, वैश्य, मगर, गुरुङ, घले, नेवारभित्रका शुद्रले जानीजानी भाउजूसँग विवाह गरे वा यौनसम्बन्ध राखे उनीहरूको लिङ्ग काटिन्थ्यो । जानीजानी भाउजू बिराउ गरे केही दलित उत्पीडित र सीमान्तकृत आदिवासी जनजातिको ज्यानै लिने व्यवस्था त्यस रुक्काले गरेको छ । यस्तो ज्यान सजाय पाउने जातिमा दमाई, सुनार, कामी, सार्की, गाइने र हुड्के छन् । यस्तै जानीजानी बिराउ गरे बलामी, माझी, दनुवार, सुनुवार, तामाङ, भोटे, चेपाङ, पहरी, कुमाल र बराम जातिको पनि ज्यानै लिइन्थ्यो । (रेग्मी, उही)

सोतरीतमा नोकर चाकर पनि
पहिले लिम्बूहरूको सोतरीतमा दुलाहा पक्षले दुलही पक्षलाई सोतरीत तिर्दा नोकर चाकर पनि दिनुपथ्र्यो । नोकरचाकर दिन नसके सोबापत निकै महँगो रकम तिर्नुपथ्र्यो । हज्सन पाण्डुलिपि (भोल्युम ८५, पृ.४८)मा पाइएको लिखतमा सोतरीतबापत ४० रुपियाँ तिरिएको छ । ‘योक याङ लिगिप’ शीर्षकको यो रीत कमारा दिन नसक्दा तिर्नुपर्ने दाम दस्तुर हो । त्यसबेला कमारा वा दास बुझाउन नसक्दा त्यसबापत रकम बुझाउनुपर्ने चलन रहेको थियो । (काइँला, उही, पृ. १२७–१२८)
कुनै समय सोतरीतमा कतिसम्म रकम तिर्नुपर्छ भन्नेबारे सरकारले सीमा पनि तोकिदिएको थियो । गीर्वाणयुद्धविक्रम शाहको राज्यकालमा विसं १८६० जेठ वदी ९ रोज २ मा चैनपुर अम्बरभरका लिम्बू र याक्खाहरूमा जारी गरिएको रुक्कामा छोरीको सोतकापत ५० रुपियाँभन्दा बढी नखानू, १६ आना हिसाक गरी नगद जिन्सी जे हुन्छ, त्यो लिनू, सोतमा कमारा कमारी नलिनू भन्ने आदेश जारी गरिएको छ । (इङ्नाम, भगिराज, ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’–२०७७, पृ.३०८–३०९ ) सोतरीतका रकममध्ये कमाराकमारी दिन नसकेकोमा तिर्नुपर्ने रकम अन्य रीतको तुलनामा धेरै भएको अर्को एक कागज यस लेखकले पनि प्राप्त गरेको छ । यसबारे पछि चर्चा गरिनेछ ।
छोरीको सोतरीत खान नहुने संहिता महागुरु फाल्गुनन्दले बनाएका थिए । उनले विसं १९८८ वैशाख २४ गते पाँचथरको लेब्रेकुटीमा १७ थुम, १० लिम्बुवानका सुब्बा, अमाली, पान तुम्याङ (जान्ने बुझ्ने पञ्च)को चुम्लुङ सभा गरी लिम्बू समाजमा सुधारका लागि सातबुँदे सत्यधर्म मुचुल्का गराए । ती सात बुँदामध्ये पहिलो नम्बरमा ‘छोरी–चेलीको सोतरीत (सुनौली रुपौली) नखानू नलिनू’ भन्ने उल्लेख छ । (इङ्नाम, भगिराज, ‘ईकान्तिपुर डट कम’–२०७६ फागुन ७)
त्यसैको प्रभावस्वरूप पनि हुन सक्छ, लिम्बू समाजमा सोतरीतमा पहिलेजस्तो महँगो रकम तिर्नुपर्दैन । लिम्बूहरूले यसलाई प्रतीकात्मक रूपमा मात्र जोगाएको देखिन्छ ।
१९३२ सालमा सोतरीत तिरेको कागज
यो लेखकले आफ्ना पुर्खाहरूले जोगाएर राखेको एउटा पुरानो कागज फेलापारेको छ । विसं १९३२ सालमा आठराई हाङपाङका भगिवन्तले मेवाखोलाकी शुभहाङ्मालाई विवाह गर्दा दुलही पक्षलाई परम्पराअनुसार सोतरीत तिरेको देखिन्छ । भगिवन्त यो लेखकका बराजु हुन् ।

कागजको सुरुमा यस्तो लेखिएको छ :
स्वश्ति श्री सम्वत १९३२ साल मिति वैशाष सुदी १४ रोज् ३ मा मेवा षोला जिनुपुं बस्ने सुवा सुभमानको छोरि सुभहांमा भन्याको केटि आठराई हांपांङ् बस्ने भगिवंन्त लिम्बुले स्वास्नि लकि विभाहा गरि दस् लिम्बुको रितामा सोतरित ति¥याको पही
(स्वस्तिश्री सम्वत् १९३२ साल मिति वैशाख सुदी १४ मंगलबार मेवाखोला जिनुपुं बस्ने सुब्बा शुभमानकी छोरी शुभहाङ्मा भन्ने केटी आठराई हाङपाङनिवासी भगिवन्त लिम्बुले श्रीमति बनाई विवाह गरी दश लिम्बूको रीतमा रहेर सोतरित तिरेको बही)।
विभिन्न २५ शीर्षकमा बेहुला पक्षले बेहुली पक्षलाई रीत तिर्दा ९३ रुपियाँ १२ आना तिरेको देखिन्छ । लिम्बू जातिमा बेहुला पक्षले कसकसका नाममा रीतबापत रकम तिर्नुपर्ने रहेछ भन्ने पनि कागजले स्पष्ट पार्छ । यसमा कल्या (दुलही मगनीको सूत्रधार) बराजु, बज्यै, बाबु, सासू, फुपू, कान्छा बाबु, महिला बाबु, कान्छीआमा सैमुन्द्री आदिका शीर्षकमा रीत तिरिएको छ । तीमध्ये सबैभन्दा धेरै योयांपा
(योक याङ) शीर्षकमा सबैभन्दा धेरै २५ रुपियाँ रीत तिरिएको छ । माथि उल्लेख भएअनुसार यो रकम दुलहीको घरमा कमाराकमारी दिन नसकेकोमा तिरिएको रकम हो ।
विवाहमा रीत तिर्दा सकेको तत्कालै तिरिने र तत्कालै तिर्न नसकेको रकम बाँकी राख्ने चलन पनि रहेको कागजबाट स्पष्ट हुन्छ । कागजमा आठवटा शीर्षकमा ४७ रुपियाँ आठ आना भने तत्कालै नतिरिएको अर्थात् तिर्न बाँकी रहेको देखिन्छ । यति धेरै रकम रीत तिर्न सक्ने भगिवन्त हाङपाङका किपटिया सुब्बा खलकका सन्तान हुन् । भगिवन्तका बाजे श्रीवाज हाङपाङका किपटिया सुब्बामध्येका एक थिए । तेह्रथुम आठराई क्षेत्रका ३८ जना लिम्बू सुब्बा तथा कर्ताहरूको नाममा जारी एक लालमोहर छापिएको छ । विक्रम संवत् १८९४ माघ सुदी ७ रोज ५ मा तत्कालीन राजा राजेन्द्रविक्रम शाहद्वारा जारी उक्त लालमोहरमा सम्वोधन गरिएका आठराई क्षेत्रका ३८ जना लिम्बू सुब्बामध्ये एकजना श्रीवाजको नाम पनि उल्लेख छ । (इङ्नाम भगिराज र शेरबहादुर इङ्नाम ‘तेह्रथुम जिल्लामा सुब्बाङ्गी प्रथा’–२०७०, पृ.९०–९१­)
यस लेखकले प्राप्त गरेको श्रीवाजसम्बन्धी अन्य कागजपत्रमा भने उनी कर्ता तहमा सक्रिय रहेको देखिन्छ । उनको समयको विसं १९०१ देखि १९१९ सम्मका कागजपत्र यो लेखकसँग सुरक्षित छन् । श्रीवाजका तीन छोरामध्ये जेठा छोरा फौदलका छोरा हुन्– भगिवन्त । फौदलचाहिँ त्यो समय त्यति सक्रिय रहेको कागज पाइएको छैन । सम्भवतः उनी अल्पायुमै बिते । सुवाङ्गी प्रथाअनुसार जेठा सन्तानमा सुवाङ्गी सर्दै जान्छ । यक्सोहरूको वंशावली (यक्सो इत्लाम–२०७३, पृ.३३) अनुसार तीन सुब्बातिर जिम्मा पाउनेमध्ये एक अदलबाज पनि हुन् । उनी श्रीवाजका माइला छोरा हुन् । सम्भवतः श्रीवाजका जेठा छोरा फौदल अल्पायुमै बितेका हुँदा र उनका छोरा भगिवन्तको उमेर सानै भएकाले माहिला सन्तानतिर श्रीवाजको सुवाङ्गी सरेको थियो भन्ने अनुमान गर्न सकिन्छ । विवाह गर्दा भगिवन्त कति वर्षका थिए ? रीत तिरेको कागजमा उनको उमेर खुलेको छैन । उनकी दुलही शुभहाङ्माको पनि उमेर उल्लेख छैन, त्यो कागजमा ।
तर, भगिवन्त जन्मेको साल पत्ता लाग्ने एक अर्को कागज भेटिएको छ । हाङपाङका अर्का सुब्बा मंकहाङ लिम्बूसँग उनको मुद्दा परेको र भागबन्डा मिलाइएको उक्त कागज १९६६ कात्तिक २४ गते मङ्गलबार लेखिएको हो । भगिध्वज लिम्बू, धर्मराज लिम्बू र सुब्बा जसबहादुर लिम्बू साक्षी रहेका उक्त कागजमा भगिवन्तको उमेर ४१ वर्ष उल्लेख छ । यसअनुसार भगिवन्त १९२५ सालमा जन्मेको पुष्टि हुन्छ । यसअनुसार आफ्नो त्यो तामझामसाथ विवाह हुँदा भगिवन्त केवल सात वर्षका थिए । उनको विवाहको सात महिनापछि अर्थात् १९३२ साल मङ्सिर सुदी ११ बिहीबार उनलाई उनका काकाहरू अदलबाज र चतुरध्वजले उनको भागको पैतृक सम्पत्ति सुम्पिएका थिए । यसबाट उनको विवाहमा उनका पैतृक अभिभावकको भूमिका उनका काकाहरूले खेलिदिएका थिए भन्ने स्पष्ट हुन्छ । 
(लेखक खोजमूलक लेखनमा क्रियाशील पत्रकार हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?