logo
२०८१ मंसिर ८ शनिवार



लखपातः पोखरी पुनर्निर्माण

खुला |


लखपातः पोखरी पुनर्निर्माण


शिवा तामाङ

काठमाडौँ, साउन १० गते । काठमाडौँको तारकेश्वर नगरपालिका–४, दगुर्नेपानी (डुक्रनेपानी) स्थित ऐतिहासिक लखपातः पोखरी सुकेको २० वर्षपछि पुनर्निर्माण गरिएको छ । पुनर्निर्माण गरिएको पोखरीमा रहेको महादेवको मूर्तिको शिरबाट पोखरीमा पानी झरेको दृश्य निकै रमाइलो लाग्ने गरेको छ ।
यो पोखरीमा बालाजुको बाइसधारा मेलाका बेला विभिन्न स्थानबाट चारवटा खट ल्याएर जात्रा गरिन्छ । सो वडाका वडाध्यक्ष नरेन्द्रदास श्रेष्ठका अनुसार २० वर्षअघिसम्म त्यस पोखरीबाट पानी लगेर हालको नापतौल तथा गुणस्तर विभाग रहेको स्थान माछापोखरीमा पानी घट्ट सञ्चालन हुन्थ्यो ।

पोखरीको माथिल्लो भागमा त्रिशूली जाने सडक बनाउँदा कल्भर्ट बनेपछि बर्सेनि बालुवा बगेर पोखरीको स्वरूप हराइसकेको थियो । धार्मिक, सांस्कृतिक महत्वको पोखरीको पुनर्निर्माण गर्ने योजनासहित नगरपालिकाले दिएको आर्थिक सहयोगले पोखरीको पुनर्निर्माण गरिएको उहाँले बताउनुभयो ।
तारकेश्वर नगरपालिकाबाट प्राप्त २५ लाख रुपियाँको लागतमा पोखरीमा रहेको ठूलो ढुङ्गामाथि महादेवको मूर्ति राखेर महादेवको शिरबाट पानी झर्ने फाउन्टेनसहितको पोखरी पुनर्निर्माण गरिएको जानकारी उहाँले दिनुभयो ।
स्थानीय रूपमा प्रचलनमा रहेका जात्रा तथा संस्कृतिसँग जोडिएको ऐतिहासिक, धार्मिक महत्वको पोखरीको पुनर्निर्माणसँगै गणेश, लक्ष्मी, सरस्वती र महादेवको मूर्ति राखिएको छ ।

पोखरी छेउछाउको खाली जमिनलाई पार्कका रूपमा विकास गर्दै पोखरी प्रवेशका लागि कलात्मक द्वार बनाइएको छ । सो द्वार बनाउन वडा ४ ले नै पाँच लाख रुपियाँ बजेट विनियोजन गरेको छ । करिब ६ रोपनी १२ आना जग्गामध्ये पोखरीको पुनर्निर्माण भइसकेको छ ।
यस पोखरीको पौराणिक तथा धार्मिक महत्वका साथै प्राकृतिक सुन्दरताको बयान गर्दै राष्ट्रकवि माधवप्रसाद घिमिरेले ‘यो बालाजुको डुक्रने पानी डुक्रन्छ गोरुझैं, मै पनि अब छहरा बनी पहरा फोरूँ झैँ’ भनेर कविता रचना गर्नुभएको थियो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?