logo
२०८१ बैशाख ८ शनिवार



चानचुन छैन भन्दै यातायात भाडामा यात्रु ठगिँदै, प्रहरी कारवाही सुरु

खुला |


चानचुन छैन भन्दै यातायात भाडामा यात्रु ठगिँदै, प्रहरी कारवाही सुरु


काठमाडौं, कात्तिक १२ गते । काठमाडौंको न्यू–प्लाजाबाट टेम्पो चढेका बाबुराम देवकोटा न्यू रोड ओर्लिनुभयो । सरकारले तोकेको भाडादर अनुसार त्यहाँसम्मको भाडादर १८ हो, तर उहाँले २० रुपैयाँ दिनुभयो । उहाँले दुई रुपियाँ फिर्ता माग्नुभयो तर चालकले दुई रुपियाँ खुद्रा छैन भन्दै नदिएको उहाँले सुनाउनुभयो ।

‘दुई रुपियाँ फिर्ता मागे तर चालकले छैन भन्नुभयो’ उहाँले बढी भाडा तिर्नुपरेको बाध्यता सुनाउँदै भन्नुभयो, ‘कि तपाईले चानचुन पैसा मिलाएर दिनुस् नत्र मसँग त छैन भन्नुभयो ।’ मैले कहाँबाट ल्याएर दिनु र !

बागमती प्रदेश सरकारले भाडादर वृद्धि गरेपछि चालक, सहचालक र यात्रुबीच हुने यस किसिमका विवाद दैनिक हुने गर्छन् । काठमाडौं उपत्यकाका विभिन्न रुटहरुमा चल्ने टेम्पोदेखि अन्य सवारीले पनि सरकारले तोकेभन्दा बढी भाडा लिने गरेको यात्रुको गुनासो रहेको छ ।

धेरै गाडीवालाले १८ रुपियाँ भाडा लाग्ने ठाउँमा २० रुपियाँ, २३ रुपियाँ भाडा लाग्ने ठाउँमा २५ रुपियाँ र २७ रुपियाँ भाडा लाग्ने ठाउँमा ३० रुपियाँ लिने गरेका छन् । खुद्रा पैसा बोक्ने बानी नभएकाले १८ रुपियाँ लाग्ने ठाउँमा २० रुपियाँ दिनुपरेको, तर गाडीवालाले पनि दुई रुपियाँ फिर्ता नदिँदा आफूहरु ठगिएको यात्रुको गुनासो छ । एक–दुई रुपियाँको खुद्रा पैसा बोक्न आफूहरुलाई पनि अव्यावहारिक भएको गाडीवालाको भनाइ छ । कतिपय गाडीवालाले खुद्रा पैसा फिर्ता दिनुको सट्टा चकलेट दिने गरेका छन् ।

बानेश्वर–सुन्धारा रुटमा टेम्चो चलाउने चालक राज गौतमले भने चानचुन पैसा नभएकाले बाध्यतावश बढी भाडा लिनुपरेको बताउनुभएको छ । ‘हामीसँग चानचुन पैसा हुँदैन, यात्रुले चानचुन पैसा मिलाएर दिँदा लिन्छौँ नत्र साट्न समस्या हुन्छ,’ उहाँले भन्नुभयो, ‘केही वर्ष अघिसम्म रत्नपार्क–सुन्धारा नजिक चानचुन पैसा साट्दिन्थे तर अहिले त्यो पनि छैन त्यसकारण चानचुन पैसा पाउन गाह्रो छ ।’

यात्रुलाई चानचुन पैसाको साटो मिठाई दिँदा यात्रुले नलिने भएका कारण पनि समस्या भइरहेको उहाँ सुनाउनुहुन्छ ।

राष्ट्र बैंकलाई दोष
चानचुन पैसा नहुनुमा चालकले राष्ट्र बैंकलाई पनि दोष लगाउने गरेका छन् । राष्ट्र बैंकबाट पनि चानचुन पैसा नसाटिदिएका कारण थप समस्या हुने उनिहरुको भनाइ छ । तर, बैंकले भने चानचुन पैसा साट्न आउने व्यक्तिहरुलाई उपलब्ध गराएकाले आफूहरुमा समस्या नरहेको जनाएको छ । चानचुन पैसा साट्न आउने व्यक्तिहरुलाई प्रतिदिन २५० रुपियाँसम्म चानचुन पैसा साटिदिने बैंकका प्रवक्ता देवकुमार दाहालले बताउनुभयो ।

बरु अहिले चानचुन पैसा साट्न आउने व्यक्तिको सङ्ख्यामा नै कमी आएको उहाँको भनाइ छ । ‘दैनिक ६०–७० जना चानचुन पैसा साट्न आउनुहुन्थ्यो तर अचेल २०–३० जनामात्र साट्न आउनुहुन्छ,’ उहाँले भन्नुभयो ।

यता, साझा यातायातले भने सरकारले तोकेभन्दा बढी भाडादर नलिएको जनाएको छ । यातायातका व्यवस्थापन विभाग प्रमुख महेन्द्रराज पाण्डेयका अनुसार साझाले यात्रुलाई टिकट नै दिने भएकाले ताेकिएभन्दा बढी भाडा नलिइएको बताउनुभयो । तर, यात्रुले पनि चानचुन पैसा बोक्नुपर्ने उहाँ बताउनुहुन्छ ।

यता महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढी भाडा लिने गाडीवालालाई कारबाही गरेको जनाएको छ । महाशाखामा प्रवक्ता प्रहरी उपरिक्षक सञ्जीव शर्मा दासका अनुसार बढी भाडा लिनेलाई पाँच सयदेखि पाँच हजारसम्म जरिवाना हुन्छ । अहिलेसम्म ११९ गाडीलाई बढी भाडा लिएकाले कारबाही गरिएको दासले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?