logo
२०८१ मंसिर १४ शुक्रवार



गुठी संस्थानमा कर्मचारी आधाभन्दा कम

खुला |


गुठी संस्थानमा कर्मचारी आधाभन्दा कम


सरोज आचार्य

काठमाडौँ, पुस ३ गते । गुठी संस्थानमा आधाभन्दा बढी पदमा कर्मचारी रिक्त भएका छन् । संस्थामा कुल कर्मचारीको दरबन्दी १८८ जना रहेको छ ।
संस्थानका अनुसार अहिले ९६ पद रिक्त छन् । कर्मचारी बहाल रहेका ९२ पदमा पनि ४० जना कार्यालय सहयोगी र सवारी चालक रहेका छन् । नीति निर्माण र कार्यान्वयन तहका प्रशासक दुई जना हुनुपर्नेमा दुवै पद रिक्त छ । ३२ जना सहायक प्रशासकको दरबन्दीमा पनि १६ पद खाली छ । उपप्रशासक र केही सहायक प्रशासक भ्रष्टाचार मुद्दामा परेकाले निलम्बनमा छन् ।

गुठी संस्थानले काठमाडौँ उपत्यकाको राष्ट्रिय जात्रापर्व सञ्चालन, मुलुकभरका ७४६ देवस्थलको पूजाआजा तथा व्यवस्थापन र देशभरमा १४ लाख ५० हजार रोपनी जग्गाको व्यवस्थापन तथा कुतबाली असुलीको कार्य गर्नुपर्ने दायित्व रहेको छ । कर्मचारीको अभावका ती काम प्रभावित भइरहेका छन् ।

पछिल्लो पटक २०७६ साल कात्तिकमा पदपूर्तिका लागि परीक्षा पनि लिइयो तर २०७७ फागुन १० गते सर्वोच्च अदालतको आदेशले पदपूर्तिसमेतको व्यवस्था भएको संस्थानको विनियमावलीको संशोधन खारेज गरेर पदपूर्ति रोक्ने आदेश दिएको थियो । सर्वाेच्च अदालतले छैठौँ विनियमावली अस्वीकार गरेको र पाँचौँ विनियमावली लोकसेवा आयोगले मन्जुर नगरेकाले पदपूर्ति प्रक्रिया रोकिएको संस्थानका सहायक प्रशासक राजेन्द्र दाहालले बताउनुभयो ।

उहाँका अनुसार अहिलेसम्म संस्थानमा दरबन्दी अनुसारको पदपूर्ति हुन सकेको छैन । उहाँले पदपूर्ति नहुने र कर्मचारीले अवकाश पाउँदै जाने हो भने संस्थान कर्मचारीविहीन अवस्थामा पुग्न धेरै समय नलाग्ने बताउनुभयो । उहाँका अनुसार क्रमिक रूपमा अवकाश पाउँदै जाने नजिक अवधिको क्रम पनि निकै छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?