नारद गौतम
बन्दुके डाँडा (धनकुटा), पुस २३ गते । बन्दुके डाँडामा बन्दुक पड्किन छाडेको धेरै भयो । खानेपानी नहुँदा बन्दुक हुने मात्र नभई अरू मानिस नै विस्थापित भएको डाँडाको पहिचान भने अझै पनि बन्दुके डाँडा नै हो तर अब विस्तारै यो डाँडो फेरिँदैछ पोखरी डाँडाका रूपमा । यहाँ अब आधुनिक प्रविधिसहितको तरकारी र फलफूूल खेती सुरु भएको छ ।
बाहिरपट्टि काठ र बाँस गाडेर भित्र प्लास्टिक हालेर बनाइएका ठूला तहगत पोखरीले गाउँलेको तरकारी बारी भिजाउने काम गर्छ । पोखरी मूल फुटेर बनाइएको होइन वर्षाको आकासे पानी सङ्कलन गरेर बनाइएका हुन् ।
पोखरी बनेपछि खानेपानी लिन झन्डै दुई घन्टा धाउनुपर्ने समस्याका कारण घरबारी छाड्न चाहनेलाई पनि बन्दुके डाँडो नै अब प्यारो लाग्न थालेको छ । त्यति मात्र होइन विभिन्न कारणले डाँडाबाट पाखा लागेका पनि विस्तारै फर्कन थालेका छन् । धनकुटा जिल्लाको साबिक कुरुले गाउँ विकास समिति–५ र हाल चौबिसे गाउँपालिका–३, बन्दुके डाँडा अहिले स्थानीय प्रविधिको प्रयोगमा विकासको नमुना बनेको छ । यस्तो विकासको खाका अमेरिकामा अध्ययन गरेर बन्दुके डाँडाको जैविक विविधता र वनस्पतिको अध्ययन गर्दै स्नातकोत्तर तहको शोधपत्र (थेसिस) लेख्ने क्रममा एक जना भारतीय मूलका अमेरिकी नागरिक गोयलले सिकाएको पद्धतिको हो ।
भारतीय मूलका अमेरिकी नागरिक राजीव गोयलले चार वर्षअघि त्यहाँको अवस्थाको अध्ययन गरेपछि अन्तर्राष्ट्रिय सहयोग जुटाएर जङ्गलमा परिणत भएको ३४६ रोपनी जग्गा किनेर सामुदायिक खेती गर्न किसानलाई तालिम दिनुभएको थियो । अहिले त्यही जग्गामा चारवटा पोखरी बनेका छन् । त्यसैको सिको गरेर स्थानीयले अरू स–साना पोखरी बनाउँदैछन् ।
तिनै पोखरीको पानी प्रयोग गरेर आधुनिक प्रविधिबाट खेती सुरु गरिएको केटिके बेल्ट परियोजनाका संयोजक मोहन पाण्डेले दिनुभयो । केटिके भनेको गोयलकै प्रयासमा कोसी टप्पु वन्यजन्तु क्षेत्रदेखि कञ्चनजङ्घासम्मका छवटा क्षेत्रमा जैविक विविधताको संरक्षण, जीविकोपार्जन र शिक्षा दिन सिकाइ थलोका लागि सञ्चालित परियोजनाको छोटकरी नाम हो । साना पोखरी बनाउन अहिले सुक्खा क्षेत्र विशेष कार्यक्रमअन्तर्गत भू तथा जलाधार व्यवस्थापन कार्यालय धनकुटाले पानी पोखरी निर्माण गर्न १४० थान प्लास्टिक वितरण गरेको छ । त्यसैबाट आफ्नै जग्गामा सानो पोखरी निर्माण गरेर तरकारी खेती गर्न थालेको जानकारी सुकमाया तामाङले दिनुभयो ।
स्थानीयवासी भोजकुमार काफ्लेका अनुसार पहिला कुरुले क्षेत्रमा नौ सय घर रहेकोमा अहिले झण्डै साढे चार सय घर बाँकी छन् । यसरी बन्दुके डाँडा सुनसान हुँदै गएको थियो । अहिले बन्दुके डाँडामा चहलपहल बढेको छ । काफ्लेका अनुसार मुहान सुकेर कौडीका दाममा पनि नबिकेको जग्गाको मूल्य पनि अहिले ह्वात्तै बढेको छ । पहिला ३३ रोपनी जग्गा छ लाख ६० हजारमा संस्थाले खरिद गरेको थियो । त्रिपन्न वर्षीय गौरीमाया मगरले तीन वर्षयता त्यही आयोजनामा नै रोजगारी पाउनुभएको छ । त्यहाँका सात जना कर्मचारीले कम्तीमा मासिक १८ हजारदेखि ४० हजार रुपियाँसम्म तलब पाउँछन् । मगर भन्नुहुन्छ, ‘‘यो डाँडामा पानी थिएन, बाली बिरुवा हुर्कन पाउँदैन थिए तर अहिले तरकारी खेती पनि राम्रै भएको छ, एभोकाडो, किबी, सुन्तला, कागतीका बिरुवा हुर्कन थालेका छन् । स्थानीय प्रजातिका थरीथरीका तरकारी खेती गर्न थालिएको छ । ’’
तमोर फर्माकल्चरका अध्यक्ष लोकेन्द्रकुमार याख्याले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो, “पहिला र अहिले धेरै फरक छ । परिवर्तन गर्न कठिन रहेछ । ” याख्याले आफूहरूले उत्पादन गरेको फलफूल र तरकारी काठमाडौँका बजारमा प्रतिकिलो तीन सय रुपियाँदेखि दुई हजार रुपियाँभन्दा बढी मूल्यमा बेचेको बताउनुभयो । रैथाने जातका तरकारीको बीउ संरक्षण गर्नेदेखि आधुनिक र विदेशबाट ल्याएका महँगा जातका तरकारी लगाएर बेचेको तर अहिले कोरोनाले गर्दा ठूलो असर परेको भनाइ उहाँको छ ।
विदेशी पर्यटकलाई मन पर्ने आर्टीचोक फूल तरकारी हो, यो केरा गाँजिएजस्तो गरी फैलिने गर्दछ र यसको फूलको मूल्य कम्तीमा प्रतिकेजी एक हजार रुपियाँ पर्छ ।
दीर्घमान तामाङ वैदेशिक रोजगारीमा गएर आएपछि अहिले यही सामुदायिक खेतीमा काम गर्नुहुन्छ । “मरुभूमिमा काम गर्नुभन्दा यहीँ ठीक छ । अब यो ठाउँ छाडेर नजाने अठोट गरेको छु र ‘राजीव सर’ को सपना साकार पार्नेछु । ” उहाँले भन्नुभयो ।
बन्दुकेका डाँडामा अहिले तरकारी खेती, बिजुली, इन्टरनेट पुगेको छ र लिफ्ट प्रविधिबाट खानेपानी ल्याउने काम भइरहेको छ । बसाइँसराइ पनि रोकिएको छ । संस्थाले खरिद गरेका जग्गा व्यक्तिले खरिद गर्न पाउँदैन, खेती गरेर बाँकी रहेको जग्गामा समुुदायले विद्यालय,
खेल मैदान, सार्वजनिक हितका लागि प्रयोग गर्न भने पाइने छ ।