काठमाडौँ, माघ १५ गते । नेपालमा आयुर्वेद औषधि उत्पादन गर्ने एक मात्र सरकारी निकाय हो– सिंहदरबार वैद्यखाना । आयुर्वेदिक औषधि उत्पादन र वितरणमा करिब चार सय वर्षको इतिहास रहेको वैद्यखाना यतिबेला आफैँ बिरामी अवस्थामा छ ।
कुनै समय १८५ प्रकारका आयुर्वेद औषधि उत्पादन गर्ने वैद्यखाना यतिबेला जेनतेन ३५ थरीका औषधि उत्पादन गरिरहेको छ । त्यसमाथि सिंहदरबार वैद्यखानाका बिक्री कक्ष कार्यालय समयमा मात्र खुल्ने हुनाले उपभोक्ताहरू मारमा परेका छन् । जसका कारण उपभोक्ताहरू निजी क्षेत्रबाट उत्पादन गरिएका आयुर्वेदिक औषधि महँगोमा खरिद गर्न बाध्य छन् ।
बिक्री कक्षका वैद्य आदित्य ठाकुरका अनुसार, मानव जीवनका लागि महìवपूर्ण र बजारमा बढी माग भएको औषधिकै उत्पादन रोकिएको छ । कोभिड–१९ महामारीका बेला शिलाजित, त्रिफला चूर्ण, तुलसी चिया, अश्वगन्धा चूर्ण, अश्वगन्धारिष्ट र च्यवनप्राशको माग उच्च छ । यद्यपि यिनै औषधि वैद्यखानाको बिक्री कक्षमा छैन ।
वैद्य ठाकुरले भन्नुभयो, “च्यवनप्राशको उत्पादन बन्द भएको थियो । पुस पहिलो सातादेखि मात्रै साधारण किसिमको च्यवनप्राशको बिक्री सुरु भएको छ । माग धेरै हुने सुगर फ्री र उत्कृष्ट गुणस्तरका च्यवनप्राशको उत्पादन रोकिएको दुई वर्ष हुन लाग्यो । ”
सरकारबाट प्राप्त हुनेसहित वार्षिक करिब आठ करोड बजेट कर्मचारीको तलब भत्तामै बढी खर्च हुने गरेको छ । बाँकी थोरै बजेटबाट सीमित औषधि उत्पादन हुँदै आएको छ । सिंहदरबार वैद्यखानाको केन्द्रीय कार्यालयमा नै औषधि बिक्री कक्ष छ । जहाँ ३५ प्रकारका औषधि पाइन्छ । त्यहीँ पनि कार्यालय समयभित्र उपभोक्ता पुग्नुपर्छ । जनशक्ति हुँदाहुँदै पनि वैद्यखानाले किन औषधि उत्पादन गर्न सक्दैन ? निमित्त कार्यकारी निर्देशक डा. सबरी साहले भन्नुभयो, “टेण्डर प्रक्रिया अघि नबढ्दा उत्पादन र वितरणको काम सुचारु हुन सकेन । ”
निमित्त कार्यकारी निर्देशक डा. साहले गत आर्थिक वर्षमा टेण्डर प्रक्रिया अघि नबढेका कारण धेरै प्रकारका औषधिको उत्पादन रोकिएको बताउनुभयो । वैशाखदेखि आफू जिम्मेवारीमा आएको र कच्चा पदार्थ खरिदका लागि टेण्डर प्रक्रिया अघि बढाइएको डा. साहले बताउनुभयो ।
उहाँले भन्नुभयो, “गत आर्थिक वर्षमा टेण्डर प्रक्रिया अघि बढेन । चालू आर्थिक वर्षमा कर्मचारीका तलब र औषधि खरिद गर्न आठ करोड २२ लाख रुपियाँको बजेट तय भएको छ । औषधि चाँडै उत्पादन गर्ने र बिक्री–वितरण थाल्ने प्रयासमा छु । ”
उस्तै छन् कर्मचारी
व्यवस्थापनको लापरबाही जति छ, कर्मचारीहरू पनि त्यतिकै गैरजिम्मेवार रहेको गुनासो सर्वसाधारणले गरेका छन् । बानेश्वरका परशुराम चौहान आइतबार दिउँसो ३ः४० बजे योगराज गुगुल र अश्वगन्धा चुर्ण किन्न सिंहदरबार वैद्यखाना पुग्नुभयो तर बिक्री कक्ष बन्द भइसकेका कारण फर्किंदै गरेका चौहानले भन्नुभयो, “सोमबार बिहान १० बजे नै म यहाँ आइपुगेँ तर १०ः२५ मा मात्रै बिक्री कक्ष खुल्यो । सरकारी कार्यालय यस्तो अस्तव्यस्त भएपछि सर्वसाधारणले के अपेक्षा गर्ने ?”
वैद्यखाना बिक्री कक्षमा वैद्य आदित्य ठाकुर, सहायक भक्तनारायण राजधामी, सहयोगी (औषधि कुटुवा) भगवती अधिकारी र मेनुका भुजेल कार्यरत हुनुहुन्छ । दैनिक औसत ५० हजार रुपियाँको औषधि बिक्री हुने गरेको ठाकुरले बताउनुभयो तर पर्याप्त औषधि नहुँदा र दिउँसो मात्रै सर्वसाधारण आउने भएकाले आफूहरू ‘बेलैमा’ घर जाने गरेको ठाकुरले बताउनुभयो ।
राजा प्रताप मल्लका पालामा आयुर्वेद औषधि उत्पादन गर्ने वैद्यखानाका रूपमा स्थापना भएको थियो । शाहकालमा हनुमानढोका दरबारमा रहेको वैद्यखाना जङ्गबहादुर राणाका पालामा थापाथलीमा सारिएको थियो । त्यसपछि चन्द्रशमशेर राणा प्रधानमन्त्री भएपछि सिंहदरबारमा वैद्यखाना सारेर सिंहदरबार वैद्यखाना नामकरण गरिएको थियो । २०५१ बाट सिंहदरबार वैद्यखाना विकास समितिमार्फत सिंहदरबार वैद्यखाना सञ्चालन हुँदै आएको छ ।