logo
२०८० चैत्र १६ शुक्रवार



पाठ्यपुस्तकको प्रकाशक टुङ्गो लागेन

शिक्षा |


पाठ्यपुस्तकको प्रकाशक टुङ्गो लागेन


काठमाडौँ, फागुन ६ गते । आगामी २०७९ सालको शैक्षिक सत्रका लागि कक्षा १–३ का पाठ्यपुस्तक छाप्न अझैसम्म प्रकाशकको टुङ्गो लाग्न सकेको छैन । विद्यालयको पाठ्यपुस्तक छपाइ गर्न पाठ्यक्रम विकास केन्द्रमा निजी प्रकाशक सूचीकृत हुनुपर्ने कानुनी व्यवस्था छ । केन्द्रले निकै ढिला सूचीकरणका लागि आवेदन आह्वान ग-यो भने निजी प्रकाशक भर्खरै सूचीकृत भएका छन् ।

केन्द्रका सूचना अधिकारी डा. गणेश भट्टराईले सूचीकरण हुन १९ वटा प्रकाशक कम्पनीको प्रस्ताव परेको जानकारी दिँदै भन्नुभयो, “उनीहरूको छनोट कार्य थालिसकेका छौँ र आगामी सातासम्म छनोट गरिसक्नेछौँ । ” छनोट भएका प्रकाशकलाई छपाइका लागि तयारीप्रति (प्रिन्ट रेडी कपी (पीआरसी) उपलब्ध गराइन्छ र त्यसलाई छपाइ गरिन्छ । उहाँले कक्षा १–३ का पाठ्यपुस्तकको पीआरसी तयार भइसकेको बताउनुभयो । कक्षा १–३ का पाठ्यपुस्तक बहुरङ्गी बनाइएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार कक्षा १–३ मा आगामी शैक्षिक सत्रमा १५ लाख ८८ हजार विद्यार्थी भर्ना हुने अनुमान गरिएको छ । उनीहरूका लागि ६३ लाख ५३ हजार ३६० थान आवश्यक पर्ने अनुमान गरिएको छ । केन्द्रका उपसचिव डा. भट्टराईले पाठ्यपुस्तक छपाइका लागि सूचीकृत हुन आवेदन दिएकामध्ये अधिकांश प्रकाशक छनोट हुनसक्ने भएकाले छपाइ गर्न धेरै दिन नलाग्ने तर्क गर्दै दाबी गर्नुभयो, । एक महिना छपाइ र १५ दिन वितरणका लागि समय भए पर्याप्त हुन्छ ।

आगामी वर्ष कक्षा ४, ६ र ९ का पाठ्यपुस्तक पनि नयाँ लागू गरिनेछ । कक्षा ९ का दुईवटा विषयका पीआरसी अझैसम्म जनक शिक्षा सामग्री केन्द्रलाई उपलब्ध गराइएको छैन । उहाँले छिटै ती विषयका पीआरसी उपलब्ध गराइने बताउनुभयो । यसैबीच बिहीबार पाठ्यपुस्तक व्यवस्थापन तथा अनुगमन केन्द्रीय समितिको बैठक शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलको अध्यक्षतामा बसेको थियो । बैठकले पाठ्यपुस्तक छपाइ तथा वितरणसम्बन्धी अनुगमन उपसमिति गठन गर्ने र सोमार्फत अनुगमनलाई तीव्र पार्ने निर्णय गरेको छ ।

नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले पाठ्यपुस्तक छपाइ गर्न अझैसम्म सामग्री उपलब्ध नगराउनु सरकारको कमजोरी भएको बताउँदै कुनै पनि अवस्थामा आगामी वैशाख मध्यसम्म पाठ्यपुस्तक छपाइ सक्नुपर्ने बताउनुभयो । बैठकमा जनक शिक्षाका प्रवन्ध सञ्चालक अनिल झाले छपाइ कार्य जारी रहेकाले निर्धारित समयभित्र पाठ्यपुस्तक छपाएर वितरण गरिसक्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?