logo
२०८१ बैशाख ७ शुक्रवार

   प्रधानमन्त्रीको भारत भ्रमण   



नेपालले लाभ लिने उपयुक्त अवसर

मुख्य समाचार |


नेपालले लाभ लिने उपयुक्त अवसर


काठमाडौँ, चैत १८ गते । भारतका लागि नेपालका पूर्वराजदूत तथा राजनीतिज्ञ दीपकुमार उपाध्यायले नेपालले भारतसमक्ष आफ्ना कुरा स्पष्ट राखेर लाभ लिनसक्ने बताउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गर्न लाग्नुभएको भारतको तीनदिने औपचारिक भ्रमणका सम्बन्धमा गोरखापत्रसँग कुरा गर्दै उहाँले उक्त सुझाव दिनुभयो ।

नेपालले चुच्चे नक्सा जारी गरेपछिको प्रधानमन्त्री स्तरीय पहिलो भ्रमण भएकाले निकै चासोसाथ यसलाई हेरिएको छ । नेपाल र भारतबीच भूमि, जलस्रोत, व्यापारलगायतका धेरै विषयमा समस्या पनि छन् ।यस अवस्थामा पूर्वराजदूत उपाध्यायले प्रधानमन्त्री देउवाले समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष आफ्ना कुरा बुँदागत रूपमा स्पष्ट राख्नुपर्ने सुझाव दिँदै भन्नुभयो, “सन्तुलित, कुशल र परिपक्व कूटनीतिकसाथ चातुर्य देखाउन सक्यौँ भने भारतबाट लाभ लिन प्रधानमन्त्रीको यो भ्रमण निकै उपयुक्त अवसर हुनेछ । यो अवसरको उपयोग गर्नुपर्छ । उपयोग गर्ने तरिका नेपालले जान्नुपर्छ ।”

उहाँले वर्तमान सरकार बाध्यताको गठबन्धन सरकार भएको र निर्वाचन मुखमा रहेकोले बलियो सरकार नभए पनि नेपालले भोग्दै र बेहोर्दै आएका समस्यालाई पहिचान गरेर भारतसमक्ष धारणा प्रस्तुत गर्नसक्नुपर्ने बताउनुभयो । “भारतको अपेक्षा के छ भनी हामीले पनि सुन्नुपर्छ । दुवै विजयी हुने अवस्था बनाउनुपर्छ,” उहाँले भन्नुभयो ।

राजनीतिज्ञ उपाध्यायले प्रधानमन्त्रीको एउटै भ्रमणबाट नेपालका चाहना सबै पूरा हुन सम्भव नहुने र विवाद तथा समस्याको छिनोफानो पनि नहुने धारणा व्यक्त गर्दै थप्नुभयो, “हाम्रा कुरा अगाडि राखिएपछि उताबाट पनि ‘रेस्पोन्स’ हुनेछ । त्यसलाई प्राथमिकता र निरन्तरता दिने काम हाम्रो हुनुपर्छ । त्यसका लागि सहमतिको राम्रो पृष्ठभूमि तयार गर्नसक्छ । प्रधानमन्त्री देउवाको स्वभाव र उहाँप्रतिको सदासयले भारतले हाम्रा कुरा ध्यानपूर्वक सुन्नेछ । भारतीय प्रधानमन्त्री मोदीले पनि नेपालसँग कुनै पनि समस्या र विवाद नरहोस् भन्ने चाहना राख्नुभएको देखिन्छ । यसर्थ दुवैको इच्छाशक्तिका साथ वार्तालाई अगाडि बढाउनसक्नुपर्छ ।”

विगतमा नेपाली भूभागलाई भारतले आफ्नो अधीनमा राख्दा नेपालले ध्यान दिन नसक्नु कमजोरी रहेको बताउँदै उहाँले नेपाली भूभागलाई भारतले एकतर्फी रूपमा कब्जा गरेकोप्रति प्रतिवाद गर्दा भारतले वास्ता नगरेकाले नै चुच्चे नक्सा जारी गर्नुपरेको बताउनुभयो । यो समस्या समाधानका लागि दुवै नेतृत्वमा दृष्टिकोण आवश्यक रहेको भनाइ उहाँको छ ।

पूर्वराजदूत उपाध्यायले भारत र बङ्गलादेशबीचको सीमा समस्या हुँदा भारतले ठूलो भूभाग बङ्गलादेशलाई दिएर समस्या समाधान गरेको चर्चा गर्दै भन्नुभयो, “नेपालसँगको सीमा विवादसम्बन्धी समस्या समाधान नहुने भन्ने हुँदैन । भारतीय जनता पार्टीले नेपाललाई हिमवत्खण्ड, देवभूमि, स्तुत्य क्षेत्र, आराध्य क्षेत्र भन्ने गरेको छ । त्यसैले उसले भन्ने एउटा तर व्यवहार उल्टो गर्नु हुँदैन ।”

पानी उपयोगको समस्या पनि लामो समयदेखि रहँदै आएको छ । घाटा व्यापारको अर्काे समस्या छ । “अन्तर्राष्ट्रिय कानुनअनुसार भारतले पनि नेपालको सार्वभौमिकतालाई सम्मान गरेर प्रविधि र पुँजीको प्रयोग गरी पानीको बहुउपयोग गर्ने मामिलामा दुवै पक्षको जित हुने गरी काम गर्नपर्छ । त्यसो भएमा नेपालका नदी भारतका लागि पनि वरदान साबित हुनेछन् ।”

उहाँले भन्नुभयो, “होइन भने नेपालका नदी सबैलाई अभिशाप हुनेछ । भारतले जहाँतहीँ पानीलाई अवरोध गर्ने, आफ्नो मात्र सुविधा हेर्ने र नेपालतर्फ डुबान गराउने यस्ता काम बन्द गर्नुपर्छ । पानीको बहुउपयोग गरौँ, नेपाललाई पनि लाभ होस्, भारतलाई पनि लाभ होस् भन्ने कुरा स्पष्टसँग हाम्रा प्रधानमन्त्रीले भन्नुपर्छ ।”

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) लगायतमा भारतको पूर्वप्रतिबद्धता भएको बताउँदै उहाँले नेपालबाट उत्पादित ऊर्जा र अन्य उत्पादन निर्यातका लागि भारतीय मार्ग प्रयोग गर्न दिइनुपर्छ भन्नुभयो ।
उहाँले राजनीतिक तहमा नेपाल–भारत सम्बन्ध निकै राम्रो रहेको बताउँदै भन्नुभयो, “नेपालको प्रशंसा गरिन्छ तर हामीलाई परिणाम चाहियो । परिणाममा त्यस्तो देखिएको छैन । भारतले पनि ‘अन्डरस्ट्यान्ड’ गर्नुपर्छ । मोदीजीलाई थाहा छ नेपालीहरू अत्यन्त स्वाभिमान छन् । नेपालीहरू झुक्दैनन् भन्ने राम्ररी बुझ्नु भएको छ । त्यो राम्रो पक्ष हो ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?