logo
२०८१ बैशाख ८ शनिवार

  फुङ्लिङ आगलागी अपडेट  



घाइते वृद्धाको मृत्यु, आगो नियन्त्रणमा

खुला |
प्रदेश |


घाइते वृद्धाको मृत्यु, आगो नियन्त्रणमा
तस्बिर : चन्द्र पन्दाक


चन्द्र पन्दाक
ताप्लेजुङ, फागुन २७ गते । ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा शुक्रबार बिहान भएको आगलागीमा परी घाइते हुनुभएकी वृद्धाको मृत्यु भएको छ । आगलागीमा गम्भीर घाइते हुनुभएको ६७ वर्षीया चुलीमाया लिम्बूको उपचारको क्रममा मृत्यु भएको हो ।
प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार आगलागीमा परी घाइते हुनुभएकी लिम्बूलाई उपचारका लागि जिल्ला अस्पतालमा लगिएको थियो । अस्पतालको आकस्मिक कक्षमा उपचारार्थ भर्ना गरिएकी लिम्बूको करिब ९ः१५ बजेतिर मृत्यु भएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो । आगोले लिम्बूको शरीरको अधिकांश भाग जलेको थियो ।


यस्तै सोही आगलागीमा परी १६ वर्षीया रेविना लिम्बू सामान्य घाइते हुनुभएको छ । उहाँको जिल्ला अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । फुङ्लिङ बजारको कोप्चे डाँडालाइनका रविन आङ्बुहाङ लिम्बूको कच्ची घरबाट बिहान करिब ८ः३० बजेतिर आगो उठेको थियो । सो आगलागीबाट नजिकै रहेको सङ्गीता मादेन लिम्बूको घर पूर्णरुपमा जलेर नष्ट भएको छ भने आङ्बुहाङकै पक्की घरमा आंशिक क्षति पुगेको छ ।
यता आगलागीको कारण खुलिसकेको छैन भने क्षतिको विवरण सङ्कलन गर्ने कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । फुङ्लिङ नगरपालिकाको वारुणयन्त्र (दमकल) प्रयोगसहित आगो नियन्त्रणमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय जुटेका छन् । आगो करिब डेढ घण्टापछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?