logo
२०८० चैत्र १६ शुक्रवार



जटिल रोगका बिरामीलाई मासिक पाँच हजार

स्वास्थ्य |
खुला |


जटिल रोगका बिरामीलाई मासिक पाँच हजार


काठमाडौँ, चैत २२ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जटिल रोगका बिरामीलाई उपचार खर्चबापत दिइने मासिक भत्ताको कार्यविधि तयार गरेको छ । मिर्गौला प्रत्यारोपण गरिरहेका व्यक्ति, मिर्गौला फेल भई डायलासिस गराइरहेका व्यक्ति, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका बिरामीलाई औषधि उपचारबापत सरकारले मासिक पाँच हजार भत्ता दिने निर्णय गरेको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले अब कार्यविधिअनुसार उल्लिखित व्यक्तिले भत्ता पाउने जानकारी दिनुभयो । कार्यविधिअनुसार भत्ता रकम त्रैमासिक रूपमा महिनाको अन्तिम दिन स्थानीय तहले बिरामीको बैङ्क खातामा जम्मा गर्ने छन् । क्यान्सर निको भई चिकित्सकको निगरानीमा रहेका व्यक्ति, मेरुदण्ड पक्षाघात भएका रातो र नीलो अपाङ्गता परिचय पत्र भएकाले पनि उक्त रकम पाउने छन् ।

कार्यविधिअनुसार भत्ताका लागि औषधि उपचार गर्न नसक्ने गरिबीको परिचयपत्र वितरण गरेको जिल्लाको हकमा सो परिचयपत्रवालालाई स्थानीय तहले सिफारिस गर्नुपर्नेछ । यस्तै गरिबीको परिचयपत्र वितरण गरी नसकेको जिल्लाको हकमा विपन्न व्यक्ति वा स्थानीय तहबाट सिफारिस समिति गठन गरी पहिचान भएका विपन्न रहेको प्रमाणपत्र प्राप्त व्यक्तिले पनि भत्ता पाउनेछन् ।

कार्यविधिअनुसार सरकार वा सरकारको पूर्ण वा अधिकांश स्वामित्वमा भएका संस्था वा सङ्गठन संस्थाबाट रोजगारी र निवृत्तिभरण व्यक्ति तथा विदेशी सरकारबाट रोजगार तथा पेन्सन प्राप्त गरिरहेका व्यक्तिले पनि उक्त भत्ता पाउने छैनन् । कार्यविधिमा नेपाल सरकारबाट उपलब्ध गराइँदै आएको ज्येष्ठ नागरिक भत्ता, एकल महिला भत्ता, दलित भत्ता, पिछडिएको भत्ता, अपाङ्ग भत्तालगायत साबिकमा पाई आएको सामाजिक सुरक्षा भत्ता खाइपाई आएकाले पनि जटिल रोगबापत भत्ता नपाउने उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?