logo
२०८१ मंसिर ८ शनिवार



बाघ जोगाऊँ

विचार/दृष्टिकोण |




केपी शर्मा ओली

साउन १४ गते अर्थात् जुलाई २९, अन्तर्राष्ट्रिय बाघ दिवस– २०२० । बाघ प्रकृतिको निःशुल्क उपहारमात्र होइन, प्रकृतिमा पाइने प्रजातिहरूमध्ये सबैभन्दा सुन्दर प्रजाति पनि हो । यो प्रजाति उष्ण हावापानी, सफा र स्वस्थ ‘इकोसिष्टम’ मा मात्र पाइन्छ ।
बाघ उष्ण पारिस्थितिकीय प्रणालीको उच्च तहमा पाइने मांशहारी प्रजाति भएकाले छाता प्रजाति पनि भनिन्छ । बाघलाई मात्रै बचाउन सके अरू धेरै प्रजातिलाई स्वतः बचाउन सकिन्छ भन्ने मान्यता रहिआएको छ ।
तर, आज जनसङ्ख्या वृद्धि र मानवीय गतिविधिका कारण विश्वमा बाघको सङ्ख्या दिनप्रतिदिन घट्दो छ । हाल विश्वका १३ देशमा मात्र बाघ पाइन्छ र करिब चार हजार बाघ रहेको अनुमान छ ।
बाघ पाइने देशहरूले गरेका संरक्षणका अथक प्रयासहरूका बाबजुद बासस्थानको नाश, बढ्दो मानव–वन्यजन्तु द्वन्द्व, चोरीसिकार तथा बाघका अङ्गको अवैध व्यापार, जलवायु परिवर्तनका जोखिम र रोगव्याधीले गर्दा बाघ संरक्षणका चुनौती दिनप्रतिदिन थपिँदै छन् ।
विश्व संरक्षण सङ्घ (आईयूसीएन)ले बाघलाई रातो किताबको दुर्लभ सूचीमा राखेको छ भने साइटिस (सीआईटीइएस)ले अनुसूची एकमा राखेर यसको अन्तर्राष्ट्रिय व्यापारमा पूर्ण प्रतिबन्ध लगाएको छ ।
विविध चुनौतीका बाबजुद नेपाल सरकारले बाघ संरक्षणका लागि गरेका प्रयासहरू उत्साहप्रद रहेका छन् । जसले गर्दा सन् २०१० मा बाघको सङ्ख्या १२१ रहेकोमा सन् २०१८ मा बढेर २३५ पुगेको छ ।
बाघ पाइने १३ देशका सरकार प्रमुखहरूले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता गरेअनुरूप नेपाल सरकारले तराईका पाँचवटा राष्ट्रिय निकुञ्जलाई समेटेर भू–परिधीयस्तरमा स्थानीय समुदाय र सरोकारवालाहरूसँग समन्वय गरी बाघ संरक्षणका गतिविधि सञ्चालन गर्दै आएको छ । सन् २०२२ सम्ममा बाघको सङ्ख्यालाई दोब्बर बनाउन नेपाल सरकार पूर्ण रूपमा प्रतिबद्ध छ ।
बाघको सङ्ख्या बढ्दै गर्दा बाघसँग द्वन्द्व बढ्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन । त्यसका लागि सकेसम्म बाघ र स्थानीय समुदायबीच द्वन्द्व नहुनेगरी बाघ पाइने
राष्ट्रिय निकुञ्जको व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
आउँदा दिनमा राज्यले वन्यजन्तुबाट पीडित परिवारलाई दिइने राहत रकमलाई समयसापेक्ष रूपमा वृद्धि गर्नेछ, राहत वितरण प्रक्रियालाई सरलीकृत गर्नेछ । द्वन्द्वपीडित परिवारलाई लक्षित गरी संरक्षणका कार्यक्रम सञ्चालन गर्नका लागि सम्बन्धित सबै पक्षलाई म हार्दिक आह्वान गर्दछु ।
त्यसैगरी बाघको चोरीसिकार रोक्न र बाघका अङ्गको अवैध व्यापार नियन्त्रण गर्नका लागि प्रभावकारी रूपमा कानुनको कार्यान्वयन गर्नुपर्ने हुन्छ । कानुन कार्यान्वयन गर्ने निकायबीचको समन्वय र सहकार्यले मात्र वन्यजन्तुविरुद्धको अपराधलाई नियन्त्रण गर्न सकिन्छ ।
जलवायु परिवर्तनका जोखिम र कोभिड–१९ जस्ता महामारीबाट बाघ पनि अछुतो छैन । जलवायु परिवर्तनका जोखिमबाट बाघलाई बचाउनका लागि पारिस्थितिकीय प्रणालीमा आधारित बासस्थान व्यवस्थापन गर्नुपर्ने हुन्छ, मुख्यगरी बाघको आहारा प्रजातिका लागि आवश्यक पर्ने घाँसेमैदान र सिमसारलगायतका पानीका स्रोतहरूको दिगो संरक्षणमा विशेष ध्यान दिन सम्बन्धित पक्षलाई आह्वान गर्दछु ।
त्यसैगरी निकुञ्जमा कार्यरत कर्मचारीको क्षमता वृद्धि दिगो निकुञ्ज व्यवस्थापनका लागि पूर्वसर्त हो भन्ने कुरामा म पूर्ण विश्वस्त छु । क्षमता अभिवृद्धि गर्नेक्रममा आधुनिक प्रविधिको प्रयोगले काममा कुशलतामात्र थप्दैन, उपलब्धिमा बढोत्तरी ल्याउने तथ्यलाई हामीले बिर्सनुहुँदैन ।
बाघ संरक्षण गर्दा स्थानीय समुदायको हितलाई केन्द्रमा राखी उनीहरूका हक–अधिकार कुण्ठित नहुनेगरी संरक्षणका कार्य गर्न पनि म हार्दिक आह्वान गर्दछु । बाघ संरक्षणका लागि रात–दिन खट्ने निकुञ्ज र वनका कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी, स्थानीय समुदायले गरेको योगदान उच्च प्रशंसनीय छन् ।
आर्थिक एवम् प्राविधिक सहयोग जुटाई बाघ संरक्षणमा टेवा पु¥याउनुहुने सङ्घ संस्थाहरू मुख्यगरी राष्ट्रिय प्रकृति संरक्षण कोष, विश्व वन्यजन्तु कोष र जुलोजिकल सोसाइटी अफ लन्डनलाई विशेष धन्यवाद दिन चाहन्छु ।
बाघलाई संरक्षण गर्नु मानव जातिको कर्तव्य र दायित्व दुवै हो । बाघको बासस्थान विस्तार र व्यवस्थापन, वन्यजन्तु पीडितलाई समयमा राहत, कानुनको प्रभावकारी कार्यान्वयन र बाघ संरक्षणमा अहोरात्र खट्ने कर्मचारीको क्षमता वृद्धि गर्न सक्नुपर्छ । साथै बाघको संरक्षणमा अध्ययन, अनुसन्धान र प्रविधिको उचित प्रयोग गर्न सकेमा बाघलाई लोप हुनबाट जोगाउन सकिन्छ । बाघ संरक्षणका गतिविधिमा युवाको परिचालन गरी उनीहरूलाई सक्रिय गराउनु आजको आवश्यकता हो ।
वर्तमान समयमा जलवायु परिवर्तन र कोभिड–१९ ले गर्दा मानव जाति नै अप्ठ्यारोमा परेको अवस्था छ । यस असजिलो परिस्थितिमा हामी मानव जाति आफू जोगिएर बाघजस्ता प्रजातिलाई पनि जोगाउनुपर्ने हुन्छ । त्यसका लागि हरेक समस्याको समाधान प्रकृतिमा आधारित भएर खोज्नका लागि पनि म हार्दिक आह्वान गर्दछु । स्वाभाविक रूपमा प्रकृति संरक्षण महँगो छ तर पनि दीर्घकालीन लाभ र स्वच्छ वातावरणका लागि लगानी बढाउनुको विकल्प छैन । राज्य आफैँले सबै प्रकृति संरक्षणका कार्य गर्न सम्भव छैन । त्यसका लागि अन्तर्राष्ट्रिय समुदाय, नागरिक समाज र निजी क्षेत्रलाई पनि सँगैसँगै लानुपर्ने हुन्छ ।
अहिले कोभिड–१९ ले गर्दा नेपालको पर्यटन व्यवसाय सङ्कटमा परेको छ । तर, भोलिका दिनमा प्रभावकारी संरक्षण गर्न सक्दा बाघ हेर्नका लागि पनि विदेशी पर्यटक नेपाल नआउलान् भन्ने कुरा हुँदैन । बाघ पाइने राष्ट्रिय निकुञ्जमा विदेशी पर्यटकको आकर्षण हुने भएको हुँदा बाघलाई आर्थिक विकास र समृद्धिको आधारका रूपमा पनि लिन सकिन्छ । बाघ नेपालको पहिचान भएको र यसको संरक्षणमा मात्र नेपालीको शान झल्कनेछ । मानव जातिको अस्तित्वका लागि पनि बाघ जोगाउनुको अर्को विकल्प हामीसँग छैन ।
अन्त्यमा, स्वच्छ र सफा पारिस्थिकीय प्रणाली भावी सन्ततिको नैसर्गिक अधिकार भएको हुँदा बाघ संरक्षण गर्नु आवश्यक छ । हामी बाँच्नका लागि इकोसिष्टम बचाउनु आवश्यक छ । यसै सन्दर्भमा बाघ बचाउनु अनिवार्य हुन्छ । यसैमा मानव जाति र प्रकृतिको सहअस्तित्व कायम हुनेमा म पूर्ण विश्वस्त छु ।

(प्रधानमन्त्री ओलीले बाघ दिवस २०२० को उपलक्ष्यमा दिनुभएको सन्देशको सम्पादित अंश ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?