logo
२०८१ बैशाख १६ आईतवार



मानव जातिको हितमा बुद्धका उपदेश

लुम्बिनी विश्वभरिका बौद्ध धर्मावलम्बीहरूको एउटा तीर्थस्थल हो ।

विचार/दृष्टिकोण |




केपी शर्मा ओली

विश्वभरिकै शान्ति, मानवता, सद्भाव, सहिष्णुता र मानवीय सुख चाहने सम्पूर्ण बौद्धमार्गी एवं अरू तमाम दिदीबहिनी तथा दाजुभाइहरू !
चन्द्रपात्रोअनुसार वैशाख पूर्णिमाको दिनलाई हामीले सधैँ बुद्धजयन्तीका रूपमा मनाइरहेका हौँ, मनाइ आएका छौँ । त्यसै दिन २६४५ वर्षअघि सिद्धार्थ गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको थियो । यद्यपि गौतम बुद्धको जन्म, बुद्धत्व र परिनिर्वाण एकै तिथिमा भएको हुनाले २५६५ औँ जन्मदिन वा जन्मजयन्ती भनेर पनि आज मनाइँदैछ ।
बुद्धका उपदेशहरू मानव जातिको हितमा, विश्व शान्तिको पक्षमा, अहिंसाको पक्षमा, हिंसा, अशान्ति, लडाइँ, द्वन्द्व, झगडा, परस्परमा घृणा, द्वेष र नराम्रा सोच र नराम्रा व्यवहारका विरुद्ध भएको हुनाले यसलाई विश्वव्यापी रूपमा मानवीय आकाङ्क्षाको रूपमा स्वीकारेर संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि नै यस दिनलाई बैशाख डे का रूपमा मनाउँदै आएको छ । अर्थात्, बुद्धजयन्तीको रूपमा मनाउँदै आएको छ ।
आज जतिबेला विश्व विभिन्न ठाउँमा तनावग्रस्त छ, द्वन्द्वग्रस्त छ वा द्वन्द्वका सम्भावनाबाट त्रस्त छ । यस्तो अवस्थामा बुद्धका उपदेशहरू, बुद्धका सन्देशहरू र बुद्धको शान्तिवादी दर्शन, मानवतावादी दर्शन, यसको महŒव र सान्दर्भिकता कायम रहेको मात्रै होइन, अझ वृद्धि भएको छ ।
आज मानव जातिलाई हरेक ठाउँमा शान्ति चाहिएको छ । मानव जातिकै कारणले शान्ति खलबलिने हो । मानव जातिकै कारणले खलबलिएको शान्तिलाई मानव जातिकै सचेतनता र सचेत प्रयासबाट शान्तिमा परिणत गर्न, शान्तिलाई कायम राख्न, शान्तिलाई दिगो बनाउन सकिन्छ । त्यसै कारण बुद्धका शान्तितर्फका चिन्तन, आदर्श र उपदेशहरू अत्यन्तै सान्दर्भिक र महत्त्वपूर्ण रहेका छन् । आजको विश्वले यी कुरालाई मनन् गर्नु र अगाडि बढ्नु आवश्यक छ ।
अब सिद्धार्थ गौतम बुद्धको जन्मस्थानका बारेमा कुनै द्विविधा रहेन । यद्यपि यो फाइयानको समयमा पनि नरहेको, वेङसाङको भ्रमणका बेला पनि नरहेको, सम्राट अशोकको भ्रमण र उहाँले खडा गरेका स्तम्भहरूको समयमा पनि नरहेको, तर बीचमा कतिपय कारणले नेपाल जो बुद्धकै जन्मभूमि हो र बुद्धिज्मको, बुद्धवादको, बुद्ध दर्शनको उद्गमस्थल पनि हो र शान्तिको सन्देश छर्ने थलो पनि हो । विभिन्न धार्मिक असहिष्णुताजस्ता कुरा, धार्मिक सङ्कीर्णताजस्ता कुराले बुद्ध दर्शनका विरुद्ध अनेक क्रियाकलाप भए र बुद्धका शान्तिका सन्देशलाई यस धर्तीबाटै मेटाउन खोजिए । तर, बुद्धका उपदेश, बुद्धको चिन्तन र बुद्धले देखाएको शान्तिको मार्ग र मानव जातिको सुखका निम्तिको उज्यालो मर्न सक्दैनथ्यो र मरेन । तसर्थ, फेरि बुद्धको जन्मस्थानको खोजी हुने परिस्थिति बन्यो । बुद्धको जन्मस्थान किन खोज्नु प-यो ? बुद्धका विभिन्न रिलिक्स अथवा अवशेषहरू तिनीहरूको खोजीको महŒव र तिनको पवित्रताको बारेमा विश्वको ध्यान किन गयो ? यी सबै कुरा मानव जातिको आन्तरिक आकाङ्क्षा अथवा शान्ति र सुखको आकाङ्क्षाबाट यी कुराको खोजी हुन थाल्यो । पछिल्लो समयमा आएर अब विभिन्न ठाउँमा, विभिन्न स्थानमा, विभिन्न देशमा रहेका भ्रम टुङ्गिएका छन् । यसरी अब बुद्धको जन्मस्थान नेपालको लुम्बिनीमा पर्छ भन्ने कुरा स्थापित भइसकेको छ ।
अझै पनि दुनियाँका कतिपय देशका पाठ्यक्रममा यस्ता कुरा नसच्चिएको भन्ने पनि सुनिन आएको छ । म सबैमा यस्ता त्रुटि आजको वैज्ञानिक युगमा, सूचनाको युगमा त्रुटि नै निरन्तर कायम राखेर बालबालिका वा नयाँ पुस्तालाई तिनै त्रुटि पढाउनु वाञ्छनीय हुँदैन । त्यसकारण सत्य पढाउनेतर्फ, सत्य सिकाउनेतर्फ र बालबालिकालाई सत्य कुरा अवगत गराउने दिशातर्फ म सबैको ध्यानाकर्षण पनि गराउन चाहन्छु ।
अब कुनै द्विविधा छैन कि बुद्धको जन्म लुम्बिनीमा भएको थियो र बुद्धवादको मुहान पनि त्यहीँ थियो, जहाँबाट बुद्ध मानव जातिको जरामरण जस्ता कुराबाट मुक्ति कसरी हुन्छ भन्ने कुराको खोजीमा दरबार त्यागेर, सुखसयल त्यागेर बाहिर निस्कनु भएको थियो । त्यहीँबाट बुद्धका चिन्तनको मुहान सुरु हुन्छ । यसरी नेपाल बुद्धको जन्मस्थल र बुद्ध दर्शनको उद्गमस्थल हो । यी तथ्यसम्म पु-याउन र लुम्बिनीलाई आजको स्थितिसम्म ल्याई पु-याउन योगदान गर्नुहुने इतिहासका सबै महान् पात्रहरू र लुम्बिनीको विकासको सम्बन्धमा गुरुयोजना बनाउने टांगे लगायतका महानुभावहरू, यसलाई अन्तर्राष्ट्रियकरण गर्ने संयुक्त राष्ट्रसङ्घको विषय बनाउने र लुम्बिनीको विकासमा विशेष अभिरुचि राखेर योगदान गर्ने संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव उथान्तलाई पनि म सम्मानपूर्वक स्मरण गर्न चाहन्छु । त्यसबेला केही प्रयासहरू भए र पछि फेरि शिथिल भए ।
आज हामीले लुम्बिनीको विकासको प्रयासलाई फेरि अगाडि बढाएका छौँ । लुम्बिनीको विकासका प्रयास अहिले भर्खरै पनि, हालसालै पनि सिद्धार्थ गौतम बुद्धको बुबाको दरबार अथवा शुद्धोधनको दरबारको वैज्ञानिक जाँच र उत्खनन्का कार्यहरू भएका छन् । जमिनको एक्स–रे गरेर, जमिनमुनि कस्तो दरबारको भग्नावशेष छन् भन्ने कुरा पत्ता लगाएर, त्यसको उत्खनन् गरिनेछ । ती काम अत्यन्तै ऐतिहासिक महत्त्वका छन् । तिनको कुन समय थियो, त्यहाँभित्र प्राप्त भएका सामान भन्ने कुराले पनि त्यो समयलाई देखाउँछ र यसअघि नै बुद्धकाल कुन थियो भन्ने अवगत हुन्छ । यो कुरा त्यहाँका इँटालगायतका अन्य भग्नावशेषले पनि देखाएका छन् । अहिले हामीले बुद्धको मावली घर, जन्मथलो, पिताको दरबार र रामग्रामको स्तूपा, जहाँ विश्वमा उत्खनन् नगरिएको एकमात्र बुद्ध अस्तु त्यहाँ छ, त्यस क्षेत्रलाई समेत लिएर बृहत्तर लुम्बिनी सर्किटको व्यवस्थापन गरिरहेका छौँ ।
हामीले लुम्बिनीलाई फरक ढङ्गले विकास गर्नुपर्छ भनेर त्यसलाई नयाँ ढङ्गले फलफूल बगैँचाको रूपमा वृक्षरोपण गर्नेदेखि त्यहाँ पाँच हजार क्षमताको अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र र ध्यानकेन्द्र निर्माण गर्ने काम गरिरहेका छौँ । अहिले ध्यानकेन्द्र लगभग तयारी अवस्थामा पुग्न लागेको छ । त्यसभन्दा अगाडि नै वर्तमान सरकार बन्नेवित्तिकै हामीले त्यहाँ तीन हजार क्षमताको ध्यानकेन्द्र र सभाहल तत्काल निर्माण ग-यौँ र अब लुम्बिनीलाई हाम्रो इतिहासको गौरव, हाम्रो देशले विश्वमानव जातिलाई दिएको सन्देश, यी कुराको सम्मान, स्मरण र धारण गर्दै अगाडि बढ्ने सन्दर्भमा महत्त्वपूर्ण काम गरिरहेका छौँ ।
लुम्बिनी बौद्ध धर्मावलम्बीहरूको एउटा तीर्थस्थल हो । विश्वभरिका बुद्धमार्गी, शान्तिप्रति आस्था हुने व्यक्ति, शान्तिका अनुयायी र आकाङ्क्षी सबैका निम्ति लुम्बिनी तीर्थस्थल हो । जीवनमा एक पटक लुम्बिनी आउने र सिद्धार्थ गौतम बुद्धको जन्मस्थल हेर्ने, त्यो पवित्र धर्तीलाई स्पर्श गर्ने, त्यो मानवीय इच्छा पूरा गर्नका लागि पनि हामीले अनुकूल बनाउन आवश्यक थियो र छ । त्यसै सन्दर्भमा हामीले भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल, बौद्ध विमानस्थल, लुम्बिनी बौद्ध विमानस्थल भनेर निर्माण गरिरहेका छौँ । अब त्यहाँबाट उडान सञ्चालन गरेर सीधैँ विश्वका कुनै पनि देशका मानिस सोझै लुम्बिनीमा आउने, त्यस पवित्रस्थलको दर्शन गर्ने र त्यहाँको वातावरणबाट शान्तिका निम्ति प्रेरित हुने, त्यसबाट आत्मिक, मनोवैज्ञानिक वा विचारधारात्मक सकारात्मक परिवर्तन लिने काम गर्न सक्ने परिस्थिति हामी निर्माण गरिरहेका छौँ ।
आज हामी यसरी एउटा भिडियो सन्देशमार्फत अथवा भिडियो सम्बोधनमार्फत ‘वैशाख डे’ अथवा बुद्धजयन्ती मनाइरहेका छौँ । हामीले सन् २०१९ मा भियतनाममा भएको अन्तर्राष्ट्रिय ‘वैशाख डे’मा भरसक अर्को वर्ष हामी ‘वैशाख डे’ नेपालमा गर्न पाउँ, होइन बीचमा सम्भव भएन, त्यसमा अलिकति उहाँहरूका केही प्रचलनहरू पनि छन् । त्यसले गर्दा हामीले बीचमा नपाउने सम्भावना थियो । त्यस्तो हो भने २०२१ मा नेपालले ‘वैशाख डे’को आयोजना गर्न पाओस् भनेर मैले आफ्नो मन्तव्य राख्दा त्यहाँ अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको थिएँ । ‘वैशाख डे’ सम्बन्धी निर्णायक समितिका साथीहरू सबैसँग र त्यहाँ उपस्थित अन्तर्राष्ट्रिय समुदायसँग पनि मैले आग्रह गरेको थिएँ । त्यसका प्रमुख ब्रम्हपण्डितजी लगायत सबै साथीसँग पनि मैले आग्रह गरेको थिएँ कि ‘वैशाख डे’ नेपालमा मनाइयोस् । तर, आज हामी यसरी मनाउन बाध्य छौँ कि अन्तर्राष्ट्रिय सम्मेलन खुलेर मनाउने होइन कि यसरी एउटा सन्देशमार्फत मनाउने अवस्थामा पुगेका छौँ ।
आज कोभिड–१९ विभिन्न भेरियन्टका साथ नयाँनयाँ लहर सिर्जना गर्दै मानव जातिका सुख खोस्न एउटा भयानक चुनौतीका रूपमा उपस्थित भइरहेको छ । यतिबेला हामी यस महामारीको सामना गरिरहेका छौँ र यो कार्यक्रम पनि हामीले यस रूपमा मनाउनु परिरहेको छ ।
यतिबेला म सम्पूर्ण दाजुभाइ दिदीबहिनीलाई आग्रह गर्न चाहन्छु, हामी भयावह स्थिति भएपनि यसबाट आत्तिनु हुँदैन र नआत्तिनुको अर्थ असावधान हुनुहँुदैन । हामीले धैर्यतापूर्वक र सावधानीका साथ यस महामारीसँग मुकाविला गर्नुपर्छ । यसलाई आफूमा सङ्क्रमण हुन नदिने, अरूलाई पनि सङ्क्रमण नगर्ने, कतै सङ्क्रमणको स्थिति बन्न नदिने, त्यसका निम्ति सामाजिक दूरी कायम गर्नेलगायतका कुरामा मास्क अनिवार्य प्रयोग गर्ने अथवा स्वास्थ्यसम्बन्धी, खानपिनसम्बन्धी र अन्य कुरामा पनि उत्तिकै ध्यान दिने गर्नु आवश्यक छ । आफ्नो प्रतिरोध क्षमता वृद्धि गर्ने जस्ता कुरामा पनि ध्यान दिन म सबैमा आग्रह गर्न चाहन्छु ।
हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा बोकेर बहुतै तीव्र गति एवं उत्साह र आत्मविश्वासका साथ अघि बढिरहेको बेला कोभिड–१९ को महामारीले हामीलाई हाम्रो गतिलाई, हाम्रो वेगलाई गम्भीर रूपमा व्यवधान पु-यायो । तर, हामी निराश हुनहुँदैन, निराश भएका छैनौँ ।
कहीँ पनि महामारीको सम्बन्धमा पूर्वतयारी हुँदैन । हामीले देख्यौँ विकसित, सम्पन्न र सुविधासम्पन्न देशहरूमा पनि यससम्बन्धी भ्याक्सिन थिएन, यससम्बन्धी पूर्वतयारी पनि थिएन । महामारी भनेको यस्तै सङ्कट खडा गर्ने स्वास्थ्यसम्बन्धी गम्भीर समस्या हो । जो अचानक, व्यापक रूपमा र भयावह ढङ्गले आइलाग्छ, तब न महामारी भनिन्छ । हाम्रोमा पनि त्यस्तै अवस्था थियोे । तर, हामीले विभिन्न उपाय, विभिन्न तरिकाबाट यसको पहिलो लहरलाई सफतापूर्वक नियन्त्रण ग¥यौँ । विभिन्न क्षेत्रका केही कमीकमजोरी र केही बाध्यात्मक स्थितिको कारणले दोस्रो लहर फेरि आयो, जसलाई हामी अहिले अगाडि बढ्न दिइरहेका छैनौँ, यसलाई रोकिरहेका छौँ । यसलाई अब नियन्त्रणको दिशामा अगाडि बढ्ने स्थिति सिर्जना गरेका छौँ । अब सिलिन्डरको कमी, अक्सिजनको कमीजस्ता कुराको अन्त्य गरेका छौँ । अब भेन्टिलेटरको कमीजस्ता कुराको पनि अन्त्य गरेका छौँ । अब बेडहरूको कमी अन्त्य गरेका छौँ । स्वास्थ्य उपचारको सन्दर्भमा औषधि वा स्वास्थ्य उपकरणहरूको सन्दर्भमा कुनै कमी हुन नदिने काम गरेका छौँ । अब भ्याक्सिन हामीले सुरु गरेका छौँ । दक्षिण एसियामा हामी भ्याक्सिन उत्पादक होइनौँ । तर, भारतभन्दा पछि दोस्रो देश हामी हौँ, जसले भ्याक्सिन सुरु ग¥यौँ । अहिले महामारी दोस्रो लहर, तेस्रो लहर र विभिन्न भेरियन्टका साथ आएको हुनाले भ्याक्सिनको पर्याप्तता विश्वमा छैन । त्यो अपर्याप्तताको सामना पनि हामीले गरिरहेका छौँ । हाम्रा प्रयासहरू जारी छन् र हामीले भ्याक्सिन छिट्टै नै उपलब्ध गराउने छौँ र आवश्यक मात्रामा भ्याक्सिनको अभियानलाई अगाडि बढाएर निकट भविष्यमा सम्पूर्ण जनतामा भ्याक्सिन पु-याउने प्रयासमा जुटेका छौँ । तसर्थ, सरकारका प्रयासहरूप्रति विश्वस्त रहन, यो महामारी हो, यो हामी सबैको साझा समस्या हो । यसकारण यसका विरुद्ध लड्न सबै एकजुट हुनका लागि म सबैमा आग्रह पनि गर्न चाहन्छु ।
यस सन्दर्भमा, आजको विशेष दिनमा म फेरि एकपटक शान्ति, सद्भाव, करुणा, मैत्री र मानवताका निम्ति सिङ्गो अन्तर्राष्ट्रिय समुदायसमेत सबैमा धेरैधेरै नै हार्दिक आग्रह गर्न चाहन्छु । सबैमा धेरैधेरै शुभकामना । धन्यवाद !
(प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धजयन्ती र बुद्ध परिनिर्वाण तथा लुम्बिनी दिवसका अवसरमा २०७८ जेठ १२ गते दिनुभएको सन्देशको पूर्णपाठ)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?