logo
२०८१ बैशाख १७ सोमवार



भक्तिमार्गको पुञ्ज आरती

विचार/दृष्टिकोण |




बद्रीप्रसाद दाहाल

आरती संस्कृत भाषा (आरात्रिक)बाट बनेको शब्द हो । सामान्यतः देवताका पूजाआजामा धूपबत्ती बालेर स्तवनहरूको माध्यमबाट आराधना गर्दै भगवान्का शिरदेखि पाउसम्म घुमाउने कामलाई आरती भनिन्छ । धेरै मुख भएको दीप प्रज्ज्वलन गर्ने भाँडोको नामलाई पनि आरती भनी पुकारिन्छ । बेलुका गरिने देवताका पूजा वा आराधना पनि हो यो कृत्य । अर्को शब्दमा यसलाई आरात्रिक, आरार्तिक र नीराजनबाट ( निःशेषेण राजनं निराजनम् वा प्रकाशनम्) पनि सम्बोधन गरिन्छ ।
मूलतः देवपूजा गर्दा हुन गएका भुल, त्रुटि, गल्ती र कमजोरी सच्याएर अर्चनाको काम पूरा गर्ने तागत हुन्छ आरतीमा । भक्तिमार्ग कुञ्ज, पुञ्ज र निकुञ्ज बनेको आरतीले अनिष्ट वा अरिष्टतालाई नाश गर्दछ । चारैतिर प्रकाशमार्फत झलमल्ल बनाउने काम हो आरती । त्यसै भएर अठार पुराणमा सबैभन्दा धेरै श्लोक भएको स्कन्दपुराणले आरतीको महŒवलाई झल्काउँदै भनेको छ, मन्त्रहीनं क्रियाहीनं, यत्क्रितं पूजनं हरेः । सर्व सम्पूणतामेति, कृते नीराजने शिवे । अर्थात् हरि भगवान्को पूजा गर्दा भएका मान्त्रिक त्रुटि, कर्ममा भएका गल्ती नीराजन वा आरती गर्नाले सच्चिन्छ ।
आरती गर्दा मात्र हैन, आरती गरेको देख्दा पनि मानिसलाई ठूलो पुण्य आर्जन हुने विश्वास गरिन्छ । आफ्ना समस्त पितृको उद्दार र पुस्तौँपुस्ताका सन्ततिको कल्याण आरतीले गर्दछ । जुन देवताको जुन मन्त्रले पूजा गरिएको छ त्यही मूल मन्त्रको माध्यमबाट तीनपटक पुष्पाञ्जलि दिएर शङ्ख, घण्ट, डमरु घन्काएर जयजयाकारको नादमा उपयुक्त पात्रमा कपुर, घिउ मिश्रण गरी बिजोर सङ्ख्याका बत्ती प्रज्ज्वलित गरी आरती गर्नुपर्दछ । पाँच जोर बत्तीले गर्ने आरतीलाई पञ्चप्रदीपको नामले पुकारिन्छ । आरती एक, पाँच, सात वा तीभन्दा बढी सङ्ख्याका बत्तीबाट पनि गर्न मिल्छ । खास गरेर आरतीका पाँच अङ्ग हुन्छन्, दीपलहर बालेर, जलयुक्त शङ्खबाट, धोएको शुद्ध कपडामार्फत, आँप र पीपलका पत्ताबाट, साष्टाङ्ग दण्डवत् प्रणामबाट ।
आरती घुमाउँदा खास गरेर भगवान्को पाउ–तलमा चारपटक, नाभी प्रदेशमा दुई र मुखमण्डलमा एकपल्ट गरी सातचोटि देखाउनुपर्दछ । यो बत्ती घुमाउँदा ॐआकार आकारको रूप दिनु अनिवार्य छ ।
भर्खरै नासाको अनुसन्धानले पनि सौर्य मण्डलमा ॐको अविराम आवाजको रेकर्ड गरेको खबर पढिएकै छ । यी दीपहरूको ऊर्जाले त्यही आवाजलाई ध्वनित गर्न मद्दत पु¥याउँछ किनकि दीप तŒव सूर्यकै अंश हो । भनिएको छ, ॐकारं बिन्दुसंयुक्तं नित्यं ध्यायन्ति योगिनः । कामदं मोक्षदंचैव ॐकाराय नमोनमः । अर्थात् बिन्दु संयुक्त ओमकारले भक्तका लौकिक कामना र मोक्षलाई गति दिने तागत राख्दछन् ।
वैज्ञानिक कसीमा नियाल्दा आरतीमा गरिने धूपदीप, जयजयाकार, स्तवनका आवाज, वाद्यवादनका नादले घर र वरिपरिको धूमिल वातावरणलाई शुद्ध गर्दै तमाम मानिसको हृदयलाई प्रफुल्लित बनाइदिन्छ । शान्ति, सहभाव र सद्भावको रोमाञ्चकारी माहोल खडा गरिदिन्छ । भक्तिभावलाई ताजा पूर्ण तथा परिशुद्ध बनाएर तमाम कर्ताको इन्द्रीय निग्रह गर्दै एकाग्र पार्ने तागत छ यसमा । आरतीले नै नवधालगायतका भक्तिलाई मुखर गरिदिन्छ । श्रवणं कीर्तनं विष्णोः,स्मरणं पादसेवनम् । अर्चनं वन्दनं दास्यं, सख्यमात्मनिवेदनम् । अर्थात् नौ प्रकारका भक्तिहरूमा भगवान्को नाम ध्यानपूर्वक सुन्नु, हरहमेसा भगवान्को गुणानुवादको कीर्तनमा संलग्न हुनु, अहर्निश विष्णुको नाम सम्झनु, उनका चरणारबिन्दको सेवा गर्नु, भगवान्को पूजामा लाग्नु, उनको ढोग वा अभिवादन अर्थात् वन्दना, भगवान्सित मित्रता वा शखाभावमा रहनु र आपूmलाई भगवान्मा समर्पित गर्नु– यिनै सुकृत्यलाई नवधाभक्ति भनेर पुकारिन्छ । यी सबै भक्ति मुखर गराउँदै पुष्टि दिने काम आरतीको हो ।
आरतीभित्र भक्तका सम्पूर्ण भक्तिधारा नौनीजस्तै बनेर निस्कन्छन् । त्यसै भएर त ‘नामसङ्कीर्तनं यस्य, सर्वपापप्रणाशनम् । प्रणामो दुःखशमनस्तं नमामि हरिं परम् ।’ सम्पूर्ण गलत कुकामलाई नास्न र माझ्न तागत राख्छ हरिको नाम कीर्तनले । त्यस्ता दुःख हुत्याउने क्षमता भएका भगवान् विष्णुलाई म नमस्कार गर्दछु भन्ने भक्त प्रतिबद्धता आरती कर्मकै उपज हो । त्यसैले त वेदव्यासले बोले, “कली कालमा त भागवत् नाम सङ्कीर्तनजस्तो तारण गर्ने अरू कुनै उपकरण छैन । वास्तवमा कृष्ण तŒव पाउन सफल तलका सुपात्रहरू क्रमशः विष्णुको नाम सुनेर राजा परीक्षित, कीर्तनको माध्यमबाट स्वामी शुकदेव, स्मरण गरेर असुरपुत्र प्रल्हाद, भगवान् विष्णुको पाउ सेवन गरेर लक्ष्मी, पूजालाई साधन बनाएर पृथु महाराज, वन्दना अर्थात् अभिवादन वा ढोगले अक्रूर, दास भावनामार्फत वायुपुत्र हनुमान, सख्य वा मित्र बनेर अर्जुन, आत्मनिवेदन अर्थात् आपूmलाई सुम्पिएर महाराज बलि सफल भए ।
आरतीभित्र यी सबै भक्ति जगाउने, फुलाउने, फलाउने र सुगन्धित बनाउने ठूलो सात्विक शौर्य सन्निहित छ ।
त्यसै भएर ‘आरतीकी हरिहर राजा रामजीकी जय, जय जय जय भक्ति गरौँ प्रभो, दर्शन दी जय !’ ॐ जयजगदीश हरे प्रभु जयजगदीश हरे ! आदि भक्तिगान सनातन संस्कृतिका अभिन्न अङ्ग बनेका छन् । अरिष्ट, अशान्ति निवारण गरेर स्वस्ति र शान्ति स्थापना गर्ने आरती दीपदाता वा प्रज्वालकको उध्र्वगति दिने आध्यात्मिक कृत्य हो ।
भगवान्मा अर्पित आरतीले जसजसका शरीर छोइन्छ तिनले लाखौँ यज्ञ गरेकोजस्तै उपलब्धि हासिल गर्दछ भन्ने विश्वास राखिन्छ । मानिसको रूप धारण गरेका हामी जीवात्मा परमात्मामा मिल्न सकियोस् भनी आरती गरिएको र लिइएको हो । अतः आरती सम्पूर्ण भक्तिमार्गको मिलनबिन्दु, पुञ्ज, निकुञ्ज वा क्रिमका रूपमा रहेको छ  । á
(लेखक धर्म संस्कृति अध्येता हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?