logo
२०८१ बैशाख १७ सोमवार



विभीषणका रूपमा प्रदूषण

विचार/दृष्टिकोण |




बद्रीप्रसाद दाहाल

जब प्राकृतिक सन्तुलनमा दूषितता जन्मन थाल्छ, तब स्वच्छ र शुद्ध हावा, पानी तथा खाद्य पदार्थ पनि मिल्दैन । न शान्त सौम्य वातावरणमै बाँच्न पाइन्छ । यतिखेर संसारभर प्रदूषण समग्र प्राणी जगत्को भीषण र खतरनाक हिंस्रक तŒव भएर सङ्ग्रालिएको छ । जब पञ्चमहाभूत (जमिन, पानी, प्रकाश, हावा र आकाश) अस्वस्थ हुन पुग्छन्, तब प्राणीको संसार कता स्वस्थ, चुस्त र दुरुस्त रहन्छ र ? यी पञ्चमहाभूतलाई साक्षात् भूत, प्रेत, डाइना, बोक्सी बनाउन प्राणीको महाराज हुँ, सभ्यताको उत्तुङ्ग हुँ, विवेकको महासागर हुँ भनेर अभिमानमा गर्जिने मान्छे नै जिम्मेदार छ ।
प्रकृति भनौँ वा ईश्वरले जलचर, थलचर, नभचर, वनचर, हिमचर सबै प्राणधारीको त्राणदाताको जिम्मा लगाएको हो, मनुजलाई । यो कुरा ईश्वरीय वचनको प्रतिविम्ब भएको श्रुति वाणीले ‘ल है मत्र्य हो, राम्ररी घ्राण गरी पृथ्वीमा सुशासन कायम गर भनेर अकाट्य निर्देशन दिँदादिँदै पनि धराधामलाई विनाशको डिलमा पु-याउने कुकाम मान्छेकै दुस्कर्मको प्रतिफल हो ।
श्रुतिवचनले स्पष्ट शब्दमा भन्यो ‘द्यौः शान्तिरन्तरिक्षगुँ शान्ति पृथ्वी शान्तिरापः शान्तिरोषधयः शान्तिः वनस्पतयः शान्ति....’ आदि भारतीको हृृदयतः आरति गर्नै बिस्र्यौं, हामी सचेत र विवेकशील हुनुपर्ने कथित अग्रगामी प्राणीले । ‘पृथिव्यां त्रीणि रत्नानि जलमन्नं सुभाषितम् । मूढैः पाषाण खण्डेषु रत्नसंज्ञा विधीयते’ । यस्ता सुन्दर राजमार्ग कोरिदिएका सूत्र भुलेर सुपुत्रसुपुत्री हुन छोडी कुपुत्रकुपुत्री बनी प्रदूषणको राकस भिœयाउन किन लागिप¥यौँ ? मत्र्य जगत् त्यसमा पनि अनुसन्धाता, चिन्तक, वैज्ञानिक, गवेषक र शासकले आत्मालोचना गर्नुपर्ने घडी बित्न लागिसकेको छ । ‘अयं निजः परो वेत्ति गणना लघुचेतसाम् । उदारचरितानां तु वसुधैव कुटुम्बकम्’ । (साना हृदय भएकाले यो मेरो यो तेरो भनेर गणना गर्छन् तर उदारवादी मानव चेतनाले पृथ्वीका सबै दाजुभाइ वा एकै परिवार भनेर सम्झनुपर्छ) । ल हेर्नोस् त कति मीठो साŒिवक वा शाकाहारी समाजवाद ! हुन त अचेल शाकाहारी आन्दोलन, शाकाहारी सौम्यखाले राजनीतिक प्रणाली, उपप्रणालीभन्दा मांसाहारी जनवादको डङ्का पिट्ने र त्यसको आवश्यकता छ भनेर कुर्लने कैयाँैखालका टाउके, उपलाउके र धुपौरेहरू पनि छन् ।
प्रदूषण यतिखेर प्राकृतिक वातावरण अर्थात् पर्यावरणमा मात्र नआएर हरेक क्षेत्रमा राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, व्यावहारिक र आचरणमा पनि आफ्नो ग्राफ (मानचित्र) उकास्न बक्कासुर, अघासुर र भष्मासुर बनेर ताण्डव नाच देखाउन क्रियाशील छ । मानव मनमगज नै प्रदूषणको चङ्गुलमा फसिसकेपछि पर्यावरणीय अवस्था नाजुक हुनु स्वाभाविकै हो ।
यतिखेर हाम्रा कैयौँ आरोहणयोग्य हिमाल फोहोरका डङ्गुरले चरम प्रदूषित भएकैले आधार शिविरमा फोहोर ल्याउनेलाई प्रतिकिलो एक हजार छ सय दिने उर्दी जारी भएको छ । हो, विकसितदेखि अविकसितसम्मका देशले प्रदूषणमार्फत पृथ्वीलाई अस्वस्थ बनाई थिलथिलो पारिरहेका छन् । पैतालामुनि पृथ्वी मातालाई राखेर अवहेलना गरी विज्ञान र प्रविधि, विकास तथा औद्योगिकीकरणको नाममा हाम्रो बस्ती नै विषाक्त बन्न पुगेका छन् । आकाश र अन्यान्न ग्रहको खोजको नाममा हराउँदा प्रदूषणले पृथ्वी गालेको छ । यतिखेर विज्ञको भाषामा भन्नुपर्दा पृथ्वीको तापमान भयकारी चुनौती भएर थुप्रिएको छ । हरेक वर्ष शून्य दशमलव १८ डिग्री सेन्टिग्रेटको दरले तापमान उत्ताउलिँदै आफ्नो रफ्तार जारी राखेको छ । परिणाम पृथ्वीमा अवस्थित उत्तरी ध्रुवका हिमचुचुरा पग्लिँदै गएका छन् । यसको जवाफदेहिता हामी मानवकै हो । भीमकाय हवाईजहाज, अति भयकारी परमाणु बम निर्माण गर्न सकिन्छ तर एक चिम्टी माटो निर्माण गर्ने तागत वा हैसियत कुनै विज्ञानको प्रयोगशालामा छैन भनेर प्रकृति बचाऊ अभियन्ता बोलिरहेका छन् ।
मूलतः भीमकाय कलकारखानाका विषादिका रसायन गतिमान नदीनालामा मिसिँदा जल प्रदूषणले पिउने र अन्नबाली सिञ्चन गर्ने पानी चरम अशुद्ध बन्न पुगेको छ । नेपालमा साना, ठूला गरी छ हजार नदी छन्, जो उत्तर भारतमा पुगेर सुख्खा याममा गङ्गाको जलप्रवाहमा ७० प्रतिशतभन्दा बढी योगदान दिँदै आएका छन् । हाम्रा कतिपय नदी व्यवस्थित गर्ने कार्यदिशा नभएकै परिणाम बर्खाको बेला अपार धनजन र जमिनको भयङ्कर क्षति पु¥याइरहेका छन् । अर्कोतिर नदी प्रदूषणले निमठिएका छन् । पानी जीवन हो र वरुण तथा नागदेव वा जलजन्तुको पूजा गर्नुपर्छ भन्ने रहस्यपूर्ण तर वैज्ञानिक गुदीलाई पूरै बेवास्ता गरिरहेका छौँ । पानी भौतिक तागतमात्र नभएर आध्यात्मिक शक्ति पनि हो । सनातन संस्कृतिमा गङ्गालाई देवीका रूपमा मानिएको छ । ग्रीक र रोमन सभ्यतालाई हुर्काउने पानीको अद्भुत मिथक पनि पठनीय छ । क्रिस्चियन, मुसलमान, हिन्दु, यहुदी, शिख सबैखाले धर्मभीरू पानीलाई बाह्य र आन्तरिक परिशुुद्धिको संसाधन ठान्छन् ।
त्यसैगरी, ठूला सहरमा वायुमा चरम विकार उब्जिएको छ । केही समयअघि काठमाडौँ संसारको सबैभन्दा प्रदूषित भएको जानकारी सार्वजनिक भयो । चौबीसै घण्टा चल्ने कलकारखानाका धूवाँ, मोटर र सवारीसाधनको कालो धूवाँले स्वस्थ वायुमा अस्वस्थता छरेको छ । कौसीमा सुकाएका लुगामा काला–काला कण टाँस्सिएको देख्दा हामीले फोक्सोमा कति थुपारेका हौँला आफैँ सोचे हुन्छ । त्यसैगरी ध्वनि प्रदूषणले पनि हामीलाई मज्जाले गाँजेको छ । मोटरहरूका कर्णकटु स्वर, कर्णभेदक लाउडस्पीकर, उन्मादमा बजाइएका हर्नले नयाँ पुस्ता प्रायः बहिरो बन्ने थितिमा पुगिसके । एकाग्रता भङ्ग गरेर तनाव थप्ने वातावरणले चिन्तन, खोज, प्रयोगमा बाधा पारेको छ ।
प्रदूषण बढाउने कलकारखाना, वैज्ञानिक साधनको बढी उपयोग, फ्रिज, कुलर, वातानुकूलन, ऊर्जा, संयन्त्र आदि छन् । वनविनाश, बाक्ला मानव बस्तीमा हरियालीको अभाव, खुला चउर र ठाउँ मासिँदै जानु, कलकारखाना बस्तीभन्दा पर राख्ने प्रबन्ध नहुनुका कारण प्रदूषणले खुट्टा घुमाएको हो । हाम्रो पहाडी भागमा बाटो खन्ने नाममा डोजर एस्काभेटर, जता मन लाग्यो त्यता चलाएर डाँडापाखा सबै थिलथिलो भइसकेका छन् । भूक्षय, पहिरो र लेतेले बस्ती प्रतिदिन असुरक्षित र खेतीयोग्य जमिन नाश हुँदै छ । बस्ती–बस्ती पत्रु खाना प्याकिङ गरेका रङविरङका प्लास्टिकले वातावरणलाई उत्तिकै मैल्याएका छन् ।
यसरी बढ्दो प्रदूषण प्राणी संसारकै लागि विभीषण बनेर धराधामलाई नै विघटन गर्ने दिशामा उद्यत छ । अतः यसबाट मुक्ति पाउन नयाँ कार्ययोजना कार्य रूपमा लैजान मानव समुदाय युद्धस्तरमा लाग्न अत्यावश्यक छ ।
(लेखक धर्म संस्कृति अध्येता हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?