logo
२०८१ बैशाख २० बिहीवार



महिलाको प्रगतिका बाधक

विचार/दृष्टिकोण |




 

कल्पना भण्डारी

एउटी छोरी परिवारमा राम्रो अवसर पाउँछे र पढ्दै जान्छे । स्कुल, कलेज, विश्वविद्यालय हुँदै रोजगारी वा अन्य कुनै प्रगति पथतिर लम्किन्छे । यदि त्यो अवधिमा उसको विवाह भएको छैन भने यो अवस्थासम्म आइपुग्दा केहिले पनि रोक्दैन । जागिर खान्छे देश, विदेश घुम्छे, नयाँनयाँ खोजमूलक तथा सिर्जनात्मक कार्यमा सहभागी हुन्छे । आफ्नो काममा केन्द्रित हुन्छे, गरेको कामको प्रतिफल सकारात्मक आउँछ, सफलता मिल्दै जान्छ । सीप, ज्ञान र क्षमताको विकास हुन्छ । आर्थिक पक्ष सवल हुँदै जान्छ । परिवार र समाजमा बेग्लै स्थान बनाउन सफल हुन्छे ।
त्यसैगरी, अर्की छोरीको स्नातक पढ्दा पढ्दै विवाह हुन्छ । विवाह भएको भोलिपल्टदेखि नयाँनयाँ जिम्मेवारी थपिँदै जान्छन् । घरकी बुहारी, विभिन्न देखिने र नदेखिने संस्कार र नियम नियाल्न थाल्छे । जिम्मेवारीले बिस्तारै थिच्दै लान्छ । कलेज जान निरन्तरता दिन सक्दिन । बच्चाकी आमा बन्छे । बच्चाको पालनपोषण र बाँकी जिम्मेवारीले किताब पल्टाउन फुर्सद हँुदैन । फलस्वरूप स्नातक तहको पढाइ त्यतिमै सीमित हुन्छ । पूर्ण गृहिणी हुन्छे, अर्को बच्चा जन्मन्छ । दुवै बच्चालाई विद्यालय जाने उमेर बनाउँदा आठ दस वर्ष बित्छ । त्यतिबेलासम्म पढाइ छोडेको धेरै वर्ष हुन्छ, फेरि पढ्न खोज्दा सबै कुरा बिर्सिसकेको हुन्छ र उसको जीवन बालबच्चा र घरव्यवहार सम्हाल्दैमा बित्छ ।
एउटी युवती स्नातकोत्तरको पढाइ सकेर जागिर खान्छे, केही समयपछि विवाह हुन्छ । जागिर निरन्तर चलिरहन्छ । बालबच्चा हुन्छन् । जिम्मेवारी दुवैतिरको थपिँदै जान्छ । पहिला जस्तो काममा प्रभाव दिन सक्दिन, सँगैका साथीको बढुवा हँुदै जान्छ, आफ्नो हँुदैन । घरका विभिन्न व्यावहारिक कठिनाइले गर्दा कार्यालयभन्दा घरमा धेरै समय दिनुपर्ने हुन्छ । कार्यालय प्रमुख उनको कामबाट त्यति प्रशन्न नभएको कारण स्पष्टीकरण दिनुपर्छ र ऊ स्वयंलाई पनि राम्रोसँग काम गर्न नसकेकोमा पीडाबोध हुन्छ । एवंरितले समय बित्दै जान्छ, सबै साथीहरू माथिल्लो तहमा पुगिसकेका हुन्छन् आफू वर्षौंदेखि एउटै पदमा हुँदा मानसिक स्वास्थ्यमा असर पर्न थाल्छ र चिकित्सकको सल्लाहअनुसार नियमित औषधि
सेवन गर्नुपर्छ । यी माथिका तीनवटा काल्पनिक तर हाम्रो समाजको कटु यथार्थलाई प्रतिनिधित्व गर्ने उदाहरणलाई हेर्दा नेपाली महिलाको प्रगतिको बाधक के त ? विवाह, घरपरिवार, समाज, राष्ट्र वा स्वयं महिला ?
महिला शिक्षा, महिला सशक्तीकरण, महिला उत्थान, महिला विकास जे जति शब्दहरू प्रयोग गरे पनि महिलामाथिको विभेद अझै पनि हाम्रो घरपरिवार र समाजमा जरो गाडेर बसेको छ । राष्ट्रपति, प्रधानान्यायाधीश, सभामुख, केही सभासद, केही जनप्रतिनिधि र केही उच्च ओहोदामा पुगेका महिलाको उदाहरण दिएर नेपालमा बहुसङ्ख्यक महिला शिक्षित र आत्मनिर्भर भइसके भन्नु न्यायोचित, तर्कसंगत र व्यावहारिक हुँदैन । बहुसङ्ख्यक महिला कुन अवस्थामा छन् भनेर बुझ्नु जरुरी छ । नेपालको संविधान २०७२ ले महिलाको मौलिक हक र अधिकारका बारेमा धेरै कुरा उल्लेख गरे तापनि व्यावहारिक रूपमा र दैनिक जीवनयापनमा सो कुराहरूको अनुभूति हुनसकेको छैन ।
ठूला र तारे होटलमा, राष्ट्रिय र अन्तर्राष्ट्रिय गोष्ठीमा एक–दुई दर्जन महिला भेला भएर दुई चार जनाले माइक अगाडि उभिएर दुई चारवटा कार्यपत्र प्रस्तुत गरे पनि बहुसङ्ख्यक नेपाली महिलाको अवस्थाको बारेमा विस्तृत रूपमा अध्ययन र अनुसन्धानको कमी देखिन्छ । शिक्षित, अर्धशिक्षित र अशिक्षित महिलाको प्रगतीको मुख्य बाधक के हो ? कसरी हामीले बाधक तत्त्वहरूलाई क्रमिक रूपमा निर्मूल पार्न सकिन्छ ? सडक र सहर केन्द्रित कार्यक्रमले लक्षित वर्गलाई सम्बोधन गर्न सकेको छैन । विदेशी दाताहरूलाई खुसी बनाएर कार्यक्रम भित्राउने होडबाजीमा चलेका सङ्घ संस्थाले संस्थामा शिक्षित कर्मचारीको आर्थिक र बौद्धिकस्तर उकासे पनि लक्षित समूह बेखबर छन् । पितृसत्ताले हालीमुहाली गरिरहँदा महिलामाथि महिलाले नै कति सहयोग गरे त ? अहिले पनि हाम्रो समाजमा सासू, नन्द आमाजू, जेठानी देउरानीले गर्ने व्यवहार र ससुरा, देवर जेठाजुले गर्ने व्यवहार छुट्टाउनु आवश्यक छ । अपवादका घटनाबाहेक हेर्ने हो भने महिलाबाट महिला नै पीडित भएको देखिन्छ ।
श्रीमान्ले श्रीमतीको प्रगतिका लागि गरिने सल्लाह र सहयोगले पनि महत्त्वपूर्ण भूमिका खेल्छ । घरायसी व्यवहारका कुरादेखि दैनिक जीवनमा आइपर्ने कुरामा सहयोग भयो भने मैले पनि केही गर्नुपर्छ वा केही गर्न सक्छु भन्ने आत्मबलको सिर्जना हुन्छ । हेर्दा स–सना देखिने कामहरूले नै महिलाको समय खाइरहेको छ । सहरमा धेरै सङ्ख्यामा शिक्षित महिला पूर्णरूपमा गृहिणी भएर बस्नुपरेको छ । यो परिवार र राष्ट्रकै लागि घाटा हो । आयआर्जन गर्ने समय र उमेरमा चौबीसै घण्टा घरमा चुलोचौका सम्हालेर बस्नुपर्दा महिलाको मानसिक स्वास्थ्यमा समेत नकारात्मक असर पर्छ ।
जबसम्म मानिसको व्यवहारमा परिवर्तन आउँदैन, तबसम्म जति नै सभा–सम्मेलन, गोष्ठी आयोजना गरेर कार्यपत्र प्रस्तुत गर्दा पनि हातमा लाग्यो शून्य नै हो । घर व्यवहारका कुरामा साझेदारी परिवारका अरू सदस्यले गरिदिन सक्यो भने सबै नेपाली महिला आत्मनिर्भर बन्न धेरै समय कुर्नु पर्दैन । घरमा गरेको कुनै पनि कामको सही मूल्याङ्कन गरिनुुपर्छ । पैसा कमाउनु नै ठूलो काम हो, घरका काम त यसै चल्छ भन्ने सोचाइ अझै पनि व्याप्त रहेकै छ । जबसम्म महिलाले गर्ने कामको सही तरिकाले परिवार, समाज र राष्ट्रले मूल्याङ्कन गर्दैन तबसम्म महिलालाई प्रगतिपथमा लम्कन कठिनाइहरू आइरहन्छन् ।
घरानिया, सम्पन्न र उच्च ओहोदामा भएका महिलालाई घर व्यवहारका कुराले त्यति नसताए तापनि बहुसङ्ख्यक मध्यम, निम्नमध्यम र निम्न वर्गका महिला भात भान्सा, बालबच्चा, घाँसदाउरा, मेलापातबाट छुटकारा पाउनै सक्दैनन् । यदि यी तहका रोजगारी गर्ने महिला पनि बिहान उज्यालो भएदेखि भान्सामा र घरका अरू काम भ्याएर कार्यालय पुग्दा नै थाकिसकेका हुन्छन् भने कुन जोश जाँगरले काम गर्नु र गरेको काममा पूर्ण सफल हुनु ? अझ दुर्गम गाउँघरमा विद्यालयको मुखै नदेखेका महिलाको पीडा त बयान गर्न सकिदैन । गरिबी र अशिक्षाले गाँजेको ठाउँमा सानै उमेरमा गरेको विवाह अनि परिवार नियोजनको साधनको अज्ञानताले महिलालाई बच्चा पाउने मेसिनझैँ बनाएको छ । यहाँका महिलालाई न प्रजनन स्वास्थ्यको ज्ञान छ न त हक र हितका
अरू कुराहरू ।
त्यसैले लक्षित वर्ग, स्थान र महिलाको अवस्था हेरेर कार्यक्रम कार्यान्वयन गर्न सक्यो भने दुर्गम गाउँका महिला बच्चा पाउने मेसिन मात्र नभइ थोरै मात्रमा भए पनि देश विकासको जगमा एउटा ढुङ्गा थप्ने हैसियत राख्ने बन्नसक्ने थिए । महिलालाई प्रगति गर्ने बाधक तत्त्वभन्दा पनि प्रेरित गर्ने तत्त्व पत्ता लगाएर आत्मनिर्भर बनाउने वातावरण सिर्जना गर्न सकेको खण्डमा पछाडि परेका महिला र पछाडि परेका देश दुवै अग्रगतिमा जान सक्ने छन् । छोरी जन्मेदेखि नै अभिभावकले मेरी छोरीलाई भोलि देश विकासमा हरेक कोणबाट सहयोग गर्न सक्ने सच्चा नागरिक बनाउँछु भन्ने सङ्कल्प लिएर उचित शिक्षादीक्षा प्रदान गर्न सकिएमा साँच्चै देश विकासको एउटा दरिलो खम्बा तयार हुन्छन् । त्यसैगरी एक पुरुषले आफ्नी श्रीमतीलाई पनि आफूभन्दा अब्बल नत्र आफू बराबर हैसियत राख्ने बनाउँछु वा बन्न पूर्णरूपमा सहयोग गर्छु भन्ने अठोट ग¥यो भने पक्का पनि एउटा सभ्य, शिक्षित र युगले चाहेको परिवार, समाज र राष्ट्र निर्माण हुन्छ ।
(लेखक विद्यार्थी हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?