logo
२०८१ मंसिर १३ बिहीवार



व्रत के हो र किन ?

विचार/दृष्टिकोण |




प्रा.डा. कुमारप्रसाद कोइराला

संस्कृतको वृञ् वरणे (वरण गर्नु, अपनाउनु, अवलम्बन गर्नु) धातुबाट व्रत शब्द बन्छ । यसको अर्थ हो– नियमको पालना, अनुष्ठान, प्रतिज्ञाको परिपालना, प्रतिज्ञाद्वारा सङ्कल्प गरेर लिइने व्रत, उपवास, शारीरिक कष्ट सहेर गरिने उपवास । म यसो गर्छु भनेर चिताउनु नै व्रत हो । त्यसैले यसलाई व्यक्तिविशेषको मानसिक क्रिया भनिन्छ । व्रत बस्नुलाई व्रतानुष्ठान वा व्रतचर्या भनिन्छ । व्रत र उपवास पर्यायवाची शब्दजस्ता देखिन्छन् तर तिनको अर्थ फरक छ । उपवास शब्द संस्कृतको वस निवासे वा वस स्तम्भे धातुमा उपसर्ग लागेर बनेको हो । यसको अर्थ केही नखाई बस्ने वा निराहार रहने हो । उपवास वास्तवमा व्रतको एक अङ्गमात्र हो । संसारका समस्त धर्ममा कुनै न कुनै रूपमा व्रत लिने वा उपवास बस्ने गरेको पाइन्छ । किनभने हरेक धर्मले सुख प्राप्ति, दुःख निवृत्ति र मानव कल्याणका लागि अनेक उपाय बताएका छन् । तीमध्ये एक हो– व्रत । मनुस्मृति (२÷३) मा भनिएको छ ः
संकल्पमूलः कामो वै यज्ञाः संकल्प सम्भवा ।
व्रतानि यमधर्मश्च सर्वे संकल्पजा ः स्मृताः ।।
अर्थ, सङ्कल्प सबै इच्छाको मूल हो । सबै यज्ञ सङ्कल्पबाट उत्पन्न हुन्छन् । व्रत, यम र धर्म पनि सङ्कल्पकै उपज हुन् ।
वास्तवमा व्रत भनेको धर्मशास्त्रले बनाएको मनुष्य जीवनको नियम हो, त्यसलाई तपस्या पनि भनिन्छ । अमरकोशले पनि व्रत र नियमलाई पर्यायवाची शब्द मानेको छ । हरेक धर्म र सम्प्रदायका मानिस आ–आफ्ना धर्म, रीतिरिवाज र परम्परानुसार व्रत बस्छन् । त्यसैले, व्रतलाई धर्मको आधार, साधन वा माध्यम पनि भनिन्छ । व्रतको तात्पर्य इन्द्रियलाई वशमा राख्नु हो । त्यसैले व्रतमा संयम, सङ्कल्प र नियम हुन्छन् । मान्छेले कुनै पनि कार्यमा सफलता प्राप्त गर्न सङ्कल्प र नियमको आवश्यकता पर्छ । सङ्कल्पबाट नै नियम प्राप्त हुन्छ । सङ्कल्प जति दृढ हुन्छ, मान्छे त्यति नै संयमित भएर जीवनयापन गर्न सक्छ । त्यसैले सङ्कल्पपूर्वक गरिएको कर्म नै व्रत हो ।

व्रतको उपादेयता के ?
व्रत स्वयम्को कल्याण, सुखद जीवन, मनोकामना पूर्णताका लागि बसिन्छ । ईश्वरप्रति विश्वास गर्ने व्यक्तिहरूका लागि ईश्वरप्रतिको आस्था बढाउन, इहलोक र परलोक सुधार्न र आध्यात्मिक भावले युक्त हुन, पाप नाश र पुण्य प्राप्तिका लागि, मन, वचन र कर्ममा शुद्धिका लागि, शान्ति प्राप्त गर्न र अन्ततः परमपुरुषार्थ सिद्धिका लागि व्रत बसिन्छ । व्रत बस्दा व्रतालु स्वस्थ, नैष्ठिक, अनुशासित, नैतिक, मर्यादित, दयालु, स्नेही, श्रद्धावान् बन्छ र अन्ततः ऊ सम्पूर्ण मानवीय गुणले सम्पन्न हुन्छ । व्रतले व्यक्तिको बुद्धि, श्रद्धा, मेधा, भक्ति, पवित्रता बढाउँछ । व्रतबाट व्यक्तिको ज्ञानशक्ति र विचारशक्ति बढ्छ । ऊ मानसिक र शारीरिक दृष्टिले शुद्ध र पवित्र हुन्छ । उसमा सेवा र त्यागभावको उदय हुन्छ । ऊ स्वतः सत्मार्गमा प्रवृत्त हुन थाल्छ । व्यक्ति असल भएपछि मात्र परिवार र समाज असल हुन्छ अनि असल समाजबाट नै असल राष्ट्र हुन्छ ।

 व्रताधिकारी को हो ?
के–कस्ता मानिस व्रत बस्न सक्छन् वा व्रताधिकारीका सामान्य धर्म के हुन् भन्नेबारेमा धर्मसिन्धुको परिच्छेद एकमा निम्न कुरा लेखिएको छ ः
क्षमा सत्यं दया दानं शौचामिन्द्रियनिग्रहः
देवपूजाग्निहवनं सन्तोषः स्तेय वर्जनम्
सर्वव्रतेष्वयं धर्मः सामान्यां दशधा स्मृतः ।
अर्थ– हरेक व्रताधिकारीले सबै व्रतमा क्षमा, सत्य, दया, दान, शौच (पवित्रता), इन्द्रियनिग्रह वा संयम, अस्तेय (चोरी नगर्ने काम), सन्तोष, हवन र देवपूजा गरी दसप्रकारका सामान्य धर्म पालन गर्नुपर्छ । वास्तवमा व्रतालु कायिक, वाचिक र मानसिक दृष्टिले शुद्ध र पवित्र हुनुपर्छ । जे गर्छु भनेर आँटिएको छ, त्यही कर्ममा प्रतिबद्ध भएर लागिरहनुपर्छ अर्थात् दृढसङ्कल्प हुनुपर्छ । व्रतालुले ठूलाबडाको आदर र सानालाई स्नेह गर्नुपर्छ । साŒिवक भोजन गर्नुपर्छ । नैष्ठिक, कर्तव्यनिष्ठ, आडम्बररहित, निरभिमानी, समदर्शी, ज्ञानी र सत्यवादी हुनुपर्छ । यस्ता व्यक्ति नै चिताएको कार्य पूरा गर्न सक्ने, नियममा बस्न सक्ने वा व्रताधिकारी हुन सक्छन् ।
उपवासका फाइदा र बेफाइदा दुवै हुन सक्छन् । दुब्ला, रोगी, किशोर र वृद्धले व्रत बस्नुपर्दैन भन्ने कुरा धर्मविज्ञान र स्वास्थ्य विज्ञान दुवैले स्वीकारेका छन् । निरोगी युवावस्था र प्रौढावस्थाका व्यक्ति उपवाससहितको व्रत गर्न सक्छन् । अहिले कतिपय व्यक्ति अधिक र अनावश्यक भोजन गरेर धेरै मोटाउने रोगले पीडित देखिन्छन् । मोटाइलाई क्यान्सरभन्दा विनाशक रोग मानिन्छ, किनभने यसलाई मुटुरोग, रक्तचाप, मधुमेह, मिर्गौला रोग, मस्तिष्काघातजस्ता अनेकौँ घातक रोगका कारण मानिन्छ । स्वास्थ्यका दृष्टिले यस्ता व्यक्तिका लागि उपवास र व्रत अत्यन्त लाभकारी सिद्ध भएको पाइन्छ ।
व्रतसम्बन्धी के खाने, के नखाने भन्ने शास्त्रीय नियम छन् तर ती लचिला देखिन्छन् । निराहार व्रत बस्न नसक्ने व्रतालुले जल, कन्दमुल, फलफूल, दूध, हवनीय वस्तु, गुरुहरूले अनुमोदन गरेका खाद्यवस्तु र औषधि खाएर व्रत गर्न सक्छन् भनेर धर्मशास्त्रले बताएका छन् । विज्ञानले पनि शरीरको बोसो घटाउन, मस्तिष्कको कार्यक्षमता वृद्धि गर्न, अल्जाइमर, पार्किन्सनजस्ता स्नायिक रोग हुन नदिन र मोटाइबाट हुने रोग निको पार्न उपवास महŒवपूर्ण हुन्छ भनेर प्रमाणित गरेको छ । त्यस्तै उपवासले मानव विकास हर्मोनको स्तर बढाउन सक्छ भनेर पनि प्रमाणित गरेको छ । त्यसैले बाल, वृद्ध र रोगीबाहेक अरू सबै व्रताधिकारी हुन सक्छन् ।

 व्रतका प्रकार
हाम्रो सनातन हिन्दु धर्ममा वैदिक युगदेखि नै व्रत बस्ने परम्परा रहेको थाहा पाइन्छ । त्यतिबेला व्रत थोरै थिए र तिनका नियम पनि कडा थिए । पौराणिक युगमा व्रत झन् धेरै भए र व्रतका नियम पनि केही लचिला भए । हिन्दु धर्मशास्त्रानुसार सूर्यको गति वा उत्तरायण र दक्षिणायण, छवटा ऋतु, महिना, पक्ष, तिथि, बार, नक्षत्र, योग, करण आदिका आधारमा विभिन्न प्रकारका व्रत र तिनका नियम बनाइएको पाइन्छ ।
व्रत वर्गीकरण गर्ने आधार अनेक देखिन्छन् र व्रतका प्रकार पनि धेरै छन् । हिन्दु धर्मशास्त्रले बताएअनुसार मूलतः व्रत तीनप्रकारका हुन्छन्– नित्य व्रत, नैमित्तिक व्रत र काम्य व्रत । नित्य व्रत भनेको सधैँ गरिरहनुपर्ने व्रत अर्थात् सधैँ सत्य बोल्नु, पवित्र रहनु, इन्द्रिय निग्रह गर्नु, क्रोध नगर्नु, अश्लील कुरा नगर्नु, परनिन्दा नगर्नु आदि ।
कुनै पापबाट मुक्त हुनका लागि वा प्रायश्चित्तस्वरूप गरिने व्रतलाई नैमित्तिक व्रत भनिन्छ । कुनै कामनाविशेषले उत्साहित भएर गरिने व्रतलाई काम्य व्रत भनिन्छ । कुनै पुरुषले मात्र, कुनै स्त्रीले मात्र र कुनै दुवैले सँगसँगै गर्ने व्रत पनि हुन्छन् । शरीर, वचन र मनका आधारमा व्रत तीनप्रकारका हुन्छन् । ती हुन्– कायिक, वाचिक र मानसिक । अर्कालाई शारीरिक दुःख नदिनु वा शरीर हिंसा नगर्नु वा न कुट्नु, नमार्नु, हिंसा त्याग्नु नै कायिक वा शारीरिक व्रत हो । कसैलाई अप्रिय वचन नबोल्नु, कसैको निन्दा नगर्नु, सत्यवादी हुनु नै वाचिक व्रत हो । काम, क्रोध, लोभ, मद, ईष्र्या, राग, द्वेश नगर्नु, सबैको भलो चिताउनु अर्थात् ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःखभाग् भवेत्’ भन्ने भावना हुनु नै मानसिक व्रत हो । यी तीनैप्रकारका व्रत नै नित्य व्रत हुन् ।
व्रत केही नखाई वा खाएर गरिने हुन्छन् । पानी पनि नखाई गरिने निर्जला व्रत हो । आहार वा खाना नखाई गरिने निराहार व्रत हो । फलफूल वा कन्दमुलमात्र खाएर गरिने फलाहारी व्रत हो । एक छाक साŒिवक आहार गरेर पनि व्रत बस्ने गरिन्छ ।

 व्रतको महŒव
व्रत मानव संस्कृतिको अभिन्न अङ्ग हो । कतिपय व्रत चाडबाडका रूपमा पनि मनाइन्छन् । तर, व्रत र चाडबाड एउटै कुरा भने होइनन् । व्रत व्यक्तिकेन्द्री हुन्छन् भने चाडबाड समाजकेन्द्री हुन्छन् । व्रत व्यक्तिविशेषको मानसिक क्रिया हो भने चाडबाड समाज र राष्ट्रका साँस्कृतिक क्रिया हुन् । कतिपय व्रतबाट विशिष्ट कलाको जन्म भएको देखिन्छ । दसैँमा बज्ने बाजा र त्यसको धुन वा सङ्गीत, कृष्णाष्टमी, रामनवमीमा गाइने भजन, बालुन, तीजमा गाइने सङ्गिनी, तिहारमा खेलिने देउसी–भैलो, नृत्य, लोकनाटक र लोककला आदि व्रत वा चाडबाडकै देन हुन् र ती नेपालीका अमूल्य संस्कृति वा साँस्कृतिक सम्पदा हुन् ।
व्रत वा चाडबाडले व्यक्तिलाई संस्कारी, पवित्र, अनुशासित र मर्यादित पारिरहेका हुन्छन् भने अर्कातिर सामाजिक समन्वय, लोककलाको उन्नयन, राष्ट्रका साँस्कृतिक सम्पदाको सम्बद्र्धन र संरक्षण गरिरहेका हुन्छन् । व्रत वा चाडबाडबाट समाजलाई आर्थिक लाभ पनि उत्तिकै भइरहेको हुन्छ । हाम्रा कतिपय व्रत वा चाडबाड प्रकृतिसँग घनिष्ठ सम्बन्ध भएका छन् । जस्तै ः तुलसी पूजा, वरपीपलको पूजा, अमलाको वृक्षमुनि गरिने व्रत आदिले प्रकृतिको संरक्षण गर्छ ।
आज विज्ञान र प्रविधिको अकल्पनीय विकासले गर्दा मानवले सोचेभन्दा धेरै भौतिक सुख प्राप्त गरेको त छ तर आत्मिक शान्तिका अभावमा ऊ तनाव, चिन्ता, भय आदि भावनाले ऊ समस्याग्रस्त, परास्त, क्षीण र मलिन भएको छ । अर्कातर्फ ऊ निर्दयी, क्रूर, हिंस्रक र आततायी बनिरहेको छ । अनियन्त्रित, असंयमित, स्वच्छन्द र अध्यात्मरहित भौतिकवादी जीवनशैलीले गर्दा आज ऊ पशुजस्तै हुन थालेको छ, नियम वा व्रतमा नबस्नाले शारीरिक र मानसिक दृष्टिले दीर्घरोगी भएको छ ।
आज दुराचार, अनाचार, भ्रष्टाचार, व्यभिचार, बलात्कारका घटना समाजका दैनन्दिनी बनेका छन् । समाजमा दमन, शोषण, हत्या, हिंसाको बिगबिगी छ । नेपाली समाज पनि यही रोगले ग्रसित छ । अनेक शैक्षिक, साँस्कृतिक, धार्मिक आदि सङ्घ संस्था पनि आडम्बरी, मूल्यहीन र आदर्शरहित हुँदै गएका देखिन्छन् । यसो हुन नदिन सर्वप्रथम व्यक्ति नसुध्री हुँदैन । व्यक्तिको समग्र पक्ष शुद्ध र पवित्र पार्ने एकमात्र माध्यम वा साधन हो– व्रत । 
(लेखक समालोचक हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?