logo
२०८१ बैशाख २४ सोमवार



अर्थतन्त्रमा क्लिन फिडको योगदान

विचार/दृष्टिकोण |




 

कौशिक नवराज

नेपालमा विज्ञापन व्यवसायीहरूले करिब १२÷१५ वर्षदेखि उठाउँदै आएको विषय अन्ततः सरकारले दोस्रोपटक कार्यान्वयनमा ल्याएको छ । नेपालमा प्रसारण हुने विदेशी च्यानलहरू क्लिन फिड भएरमात्रै प्रसारण हुनुपर्छ भनेर त्यतिखेर कुरा उठाउँदा नेपालमा एनालग सिष्टम थियो । च्यानलहरू पनि एचडी फम्र्याटमा सञ्चालित हुन्थे र नेपालमा भारतीय ‘माइक्रोम्यानेज’ हुन्थ्यो तर सोही विषय सरकारले आमसञ्चार नीतिमा समावेश गरेर २०७३ सालमा क्लिन फिडसम्बन्धी विषय समावेश गर्दासमेत केबल व्यवसायीहरूको विरोध र भारतीय ब्रोडकास्ट
(प्रसारण)हरूले राजनीतिक तहमा खेलेर सो विषयलाई तुहाइदिएका थिए । अनि सरकारले महसुस ग¥यो– अब नेपालमा क्लिन फिड हुने हो भने नीतिमा हैन, बलियोसँग ऐनमा नै समावेश गरेर ल्याउनुपर्छ । त्यसैले विज्ञापन नियमन गर्ने ऐनमा क्लिन फिडको कार्यान्वयन मितिसमेत तोकेर अगाडि ल्याइयो ।
क्लिन फिड राष्ट्रवादमात्रै नभएर, यो नेपालको आवश्यकता पनि भइसकेको थियो । विदेशी च्यानलहरूको दबदबा र दोहोरी नीति थियो । नेपाली ग्राहकबाट टेलिभिजन हेरेबापत रकम पनि असुल्ने अनि सोही च्यालनमा विज्ञापन पनि समावेश गरेर दोहोरो आम्दानी गर्दै आइरहेका थिए । अझ भारतीय मल्टिनेसनल कम्पनीका मालिकहरूले नेपालमा अधिकांश दर्शकले भारतीय टेलिभिजन च्यानलहरू हेर्छन् र हाम्रा उत्पादनका विज्ञापनहरूसमेत भारतीय च्यानलमा नै देखाए पुग्छ भनेर उत्पादनमा विज्ञापन शुल्क जोड्थे । त्यो विज्ञापन शुल्क भारतीय बजारमा नै खपत हुन्थ्यो । त्यसको कुनै पनि हिस्सा न नेपाली च्यानल न कुनै विज्ञापन एजेन्सी न अन्य कुनै कलाकार र प्राविधिकले पाउँथे । नेपालीले पाउने भनेको विज्ञापन शुल्क जोडिएको महँगो वस्तु र उत्पादनमात्रै ।
क्लिन फिड समयको मागमात्रै नभएर यसले दीर्घकालमा नेपालको अर्थतन्त्रमा समेत योगदान दिन सक्नेछ । कसरी त ? यहाँ चर्चा गरौँ ः
विज्ञापन बजार विस्तार
क्लिन फिड लागू भएपछि नेपालमा प्रसारण हुने कुनै पनि विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापन प्रसारण गर्न पाउँदैनन् र नेपालमा सञ्चालित आमसञ्चारका माध्यमबाट पनि नेपाली भाषामा डबिङ गरिएका विज्ञापनहरू प्रसारण गर्न पाउँदैनन् । यसको सोझो मतलब हो– विदेशी टेलिभिजनमा प्रसारण हुने विज्ञापनहरू अब नेपालमा नै सुटिङ (छायाङ्कन) र नेपाली भाषामा नै तयार गरी नेपाली कलाकार र मोडल राखेर नेपाली टेलिभिजन च्यानलहरूमा मात्रै प्रसारण गर्नुपर्नेछ । विज्ञापन व्यवसायीहरूका अनुसार १२÷१५ वर्षअघि नेपालको विज्ञापन बजार करिब दुई÷तीन अर्बको मात्रै थियो, आज करिब १० अर्ब पुगेको छ । क्लिन फिडको सफल कार्यान्वयन हुन पुगेमा यो बजार करिब २० अर्ब रुपियाँमाथि पुग्ने अनुमान छ ।
नेपालमा क्लिन फिड हुनु भनेको स्वतः विज्ञापन बजार विस्तार हुनु हो । विज्ञापन बजार विस्तार हँुदा नेपाली कलाकार प्राविधिकहरूले रोजगारी प्राप्त गर्ने, उनीहरूको क्रयशक्ति वृद्वि हुनेछ । यसले गर्दा नेपालको अर्थतन्त्रदेखि कुल गार्हस्थ उत्पादन र कुल आयमा समेत वृद्वि भई अर्थतन्त्र थप सबल र चलायमान हुन पुग्छ ।
नेपाली च्यानलको क्षमता
हाल नेपाली टेलिभिजन च्यानलहरूको अवस्था दयनीय हुँदै गएको देखिन्छ । नेपालमा धेरै कम मानिसले मात्रै नेपाली च्यानलहरू हेर्ने गरेको तथ्याङ्क देखिन्छ । यसको एकमात्रै कारण हो– नेपाली टेलिभिजनहरूले विज्ञापन नपाउनु । विज्ञापन नपाएमा अर्को कुनै आम्दानी छैन अनि कसरी गुणस्तरीय कार्यक्रम उत्पादन र प्रसारण गर्न सक्नु ? आम्दानीभन्दा खर्च जसको बढी हुन्छ, ऊ स्वतः कङ्गाल हुने बाटोमा जाने निश्चित नै छ । यसर्थ, नेपाली मिडियाहरू पनि विदेशी मिडियाको छाँयामा हुर्कन बाध्य भएका थिए ।
क्लिन फिडपश्चात् विदेशी च्यानलमा विज्ञापन देखाउन नपाएपछि सो विज्ञापन स्वतः नेपाली मिडियाहरूमा छाउने नै भयो । अब विदेशी मल्टिनेसन कम्पनीको विज्ञापन पाउन पनि नेपाली मिडियाहरूले ‘टीआरपी’ बढाउनुपर्ने भयो । राम्रा र गुणस्तरीय कन्टेन्ट उत्पादन गर्नपर्ने भयो । जसले राम्रा र गुणस्तरीय सामग्री उत्पादन गर्छ र जसको टीआरपी राम्रो छ, उसलेमात्रै विज्ञापन राम्रो पाउने भयो । जसले गर्दा नेपालमा नयाँ मिडिया थपिने र भएका बीचमा राम्रो प्रतिस्पर्धा हुनेछ । उनीहरूले सरकारलाई नवीकरण शुल्क, रोयल्टी कर भ्याटजस्ता करहरू दाखिला गर्नपर्ने हँुदा देशको अर्थतन्त्रमा क्लिन फिडले योगदान पुग्ने देखिन्छ ।
न्यूनतम पारिश्रमिक कार्यान्वयन
नेपाल सरकारले नेपाल राजपत्रमा सूचना नै प्रकाशन गरेर राष्ट्रियस्तरका मिडियादेखि लिएर अन्य मिडियाहरूले समेत आफ्ना संस्थामा कार्यरत श्रमजीवी पत्रकार तथा कर्मचारीहरूलाई न्यूनतम पारिश्रमिक दिनुपर्ने भनी अनिवार्य परिपत्र जारी गरेको अवस्था छ । कतिपय मिडियाहरूले सो दिन नसकेको र नसक्ने अवस्था देखाएको अवस्था छ । कारण हो– मिडियाहरूको आम्दानी नहुनु अर्थात् विज्ञापन पाउन सक्ने अवस्था नदेखिनु । क्लिन फिडपश्चात् नेपाली मिडियाहरूमा तिनीहरूको स्तरअनुसार विज्ञापन बढ्दै जाने र सोही कारण मिडिया सञ्चालकहरूले समेत सरकारले तोकेको न्यूनतम पारिश्रमिक दिन सक्न अवस्थाको अपेक्षा छ ।
खेल क्षेत्रमा योगदान
दीर्घकालीन रूपमा क्लिन फिडले खेल क्षेत्रमा ठूलो प्रभाव पार्न सक्ने देखिएको छ । हालै भारत सञ्चालित आईपीएलको प्रायोजक, मुख्य प्रायोजक, अफिसियल स्पोन्सरदेखि खेलाडी लुगा र खानेपानीको बोतलसम्ममा बहुराष्ट्रिय कम्पनीहरूले विज्ञापन गरेको देखियो । यसको मतलब हो– बहुराष्ट्रिय कम्पनीहरू आफ्नो सामानको विज्ञापन जुनसुकै क्षेत्रमा गर्न पनि पछि पर्दैनन् । क्लिन फिड भएपछि सोनी, स्टारलगायतका टेलिभिजनहरूले क्रिकेट र फुटबल लाइभ गर्दासमेत विज्ञापनरहित भएर गर्नुपर्छ र त्यही लाइभ नेपाली टेलिभिजनले ग¥यो भने उसले नेपाली विज्ञापन मज्जाले देखाउन सक्छ । यसको मतलब हो, अब भारतमा आईपीएल भएजस्तै नेपालमा पनि क्रिकेटका विभिन्न टुर्नामेन्टहरू सञ्चालन हुँदा प्रत्यक्ष प्रसारणदेखि खेलाडी र खेलको आयोजक अनि प्रायोजक गर्दै आफ्नो उत्पादनको विज्ञापन गर्न मल्टिनेसनल कम्पनीहरू बाध्य हुन्छन् ।
अन्तर्राष्ट्रियस्तरमा नाम र दाम कमाउन सफल अनि अन्तर्राष्ट्रिय मान्यताप्राप्त खेल र खेलाडीहरूको कमी नेपालमा छैन । उनीहरूले ती खेलाडी र खेलमा प्रायोजन गर्न सक्छन् । त्यसले गर्दा ती खेलाडी, आयोजक र खेलको स्तर पनि वृद्वि हुन सक्छ । यसले रोजगारी र आयकर, नाफा करलगायतका शीर्षकमा खेल आयोजक र खेलाडीहरूले कर दाखिला गर्नेछन् ।
मनोरञ्जन क्षेत्रमा योगदान
क्लिन फिड र मनोरञ्जन नजिकका विषयहरू हुन् । नेपालको मनोरञ्जन र चलचित्रको बजार हिस्सा एकदमै सानो रहेको छ । क्लिन फिड भएपश्चात् नेपाली कलाकार, मोडल प्राविधिकहरूको माग उच्च रूपमा बढ्ने अनि पारिश्रमिक पनि बढ्ने देखिन्छ । अब नेपाली टेलिभिजनहरू र मिडियाहरूले पनि नेपाली कलाकार भएको र नेपाली भाषी विज्ञापनमात्रै प्रसारण गर्नुपर्ने भएका कारण नेपाली बजारमा विदेशी मल्टिनेसनल कम्पनीका सामानहरू विज्ञापन गर्नसमेत नेपालकै कलाकार राख्नपर्ने अवस्था आएको छ । यसबाट नेपालमा कला र मनोरञ्जन क्षेत्रसमेत वृद्वि हुनेछ । कलाकार उत्पादन र ट्रेनिङ गर्ने संस्थाहरूसमेतको आम्दानी र क्रयशक्तिमा वृद्वि हुनेछ । उनीहरूले कर दस्तुर तिर्ने भए । उनीहरूले प्रयोग गर्ने
सवारीसाधनदेखि लिएर होटल बासदेखि लिएर समग्र क्षेत्रमा योगदान दिने भए ।
पर्यटनमा योगदान
नेपालमा क्लिन फिड भएपछि नेपालको बजार हिस्सा, विज्ञापनको अवस्था बुझ्नदेखि लिएर नेपाली कलाकार र नेपाली भाषामा विज्ञापन बनाउन विदेशी मल्टिनेसन कम्पनीका सञ्चालकदेखि लिएर विज्ञापनदाता र सञ्चालकहरूसमेत नेपालमा आउने भए । राम्रो–राम्रो लोकेसन (क्षेत्र)मा विज्ञापन सुट गर्नपर्ने हुँदा पर्यटन क्षेत्रमा समेत योगदान पुग्ने देखिन्छ ।
साँस्कृतिक क्षेत्रमा योगदान
क्लिन फिडअघि विदेशी च्यानलहरूमा सोही देश अनुकूल धर्म र संस्कृतिदेखि लिएर उनीहरूकै फेसनमात्रै प्रदर्शन हुने गरेको देखन्थ्यो भने अब नेपालमा प्रसारण हुने विज्ञापनहरू नेपाली माटो र परिवेशसुहाउँदो हुनेछन् । यसले साँस्कृतिक विचलन रोक्ने विश्वास गर्न सकिन्छ । विशेषगरी नेपाली च्यानलहरूमा नेपाली धार्मिक स्थल र साँस्कृतिक क्षेत्र समेटेर विज्ञापन गर्ने सकेमा सो स्थानहरूमा विज्ञापन सुटिङ अनि भिडियोहरू बनाउन सकेमा विदेशीहरूलाई थप आकर्षित गर्न सकिने देखिन्छ ।
क्लिन फिडपश्चात् भारतीय रकी पाइन्ट अनि लेहेङ्गा र घाँघरहरू अनि भारतीय महिलाले लगाएकै देखासिकी गरी नेपाली बजार प्रभावित गर्ने अवस्था नआउन पनि सक्छ । यसले गर्दा नेपाली उत्पादन पुनः फस्टाउने मौका पाउने अवस्था आउँछ । यसबाट रोजगारीदेखि लिएर विदेशी मुद्रा सञ्चितीमा वृद्धि अनि नेपाललाई साँस्कृतिक उपनिवेश बनाउने खेलहरूको समेत कमी हुने देखिन्छ ।
यसरी क्लिन फिडले नेपालको समग्र क्षेत्रमा गुणात्मक र सकारात्मक प्रभाव पार्दै देशलाई नै विकासको अग्रगतिमा लैजान सक्ने देखिन्छ । त्यसैले यसको सफल र पूर्ण कार्यान्वयन आवश्यक छ ।
(लेखक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कार्यरत हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?