ऋकेश भण्डारी
+अञ्+ङीन्’ र ‘नर+ङीष्’ दुवै व्युत्पत्तिबाट बन्ने नारी शब्दको दुवै व्युत्पत्तिलाई महाभाष्यकार महर्षि पतञ्जलिले ठीक मानेका छन् भने अमरकोशकारले लगभग ४३ पर्यायवाची शब्दहरू प्रयोग गरेको पाइन्छ । आजको विश्वमा नारी समानता खोज्ने पश्चिमी संस्कृतिलाई परापूर्वकालमै पूर्वीय दर्शनशास्त्रले चुनौती दिएको थियो । वर्तमान समयमा वेद र शास्त्रविरोधी नास्तिकहरू, राजनीतिज्ञहरू र परचक्री विधर्मीहरू हिन्दु धर्मलाई मिथ्या सिद्ध गर्न दमदार चलखेल गरिरहेका छन् ।
आधा आकाश ओगट्ने मातृशक्ति अर्थात् महिलाहरूको अधिकार र महिला पुरुष समानताका बारेमा वेद स्पष्ट रहेको छ । परचक्रीहरू र परचक्रीहरूको द्रव्य लिएका मानिस हिन्दु धर्मले नारीको अपमान गरेको छ, नारीलाई अन्याय गरेको छ, लैङ्गिक विभेद छ, वेद पढ्न र आफ्नो इच्छाअनुरूप कार्य गर्न दिँदैन भन्दै हिन्दु धर्मको बदनाम गरिरहेका छन् । आत्रेयीले वेद र भारतीय दर्शन पढेकी थिइन् । उभय भारती वेदकी प्रकाण्ड विदुषी थिइन् । त्यस्तै धेरै नारीहरू वेदज्ञ छन् । पुरुषभन्दा पनि बढी वेद र दर्शनहरूको अध्ययन अनुसन्धान गरिरहेका छन् । यस्तो नबुझी अधिकारवादीहरूले हिन्दु धर्म नारीविरोधी छ भन्नु हिन्दु शास्त्रहरूको अध्ययन नगरीकन वा अध्ययन गरेर पनि धर्मको बदनाम गर्न असत्य कुरा बोलिरहेका छन् कि भन्ने अनुभव हुन्छ । विद्योत्तमा र कालीदासको प्रसङ्गले नारी कतिसम्म शक्तिशाली हुन सक्छन् भन्ने कुरा प्रस्ट्याउन सकिन्छ, नारीको कारणबाट नै अपठित अवस्थामा रहेका कालीदास संस्कृत साहित्यका महाकवि नै बन्न पुगे ।
सहस्त्रं तु पितृन् माता गौरवेणाऽतिरिच्यते अर्थात् जन्म दिने आमाबाबुभन्दा हजार गुणा बढी पुज्य हुन्छिन् भनेको हिन्दु शास्त्रले, नारीलाई शक्तिशाली देवी रूपमा पुज्ने गरेको छ । दसैँमा नवरात्रभरि नवदुर्गा मानेर नवकन्याको पूजा गरिन्छ । दशमीको दिनमा टीका लगाउँदा पनि पुरुषलाई आशीर्वादमात्र दिइन्छ भने नारीलाई जयन्ती, मङ्गला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा र स्वधा यी नामले प्रसिद्ध हे जगदम्बिके हजुरलाई मेरो नमस्कार छ भनेर नारीलाई पुजिन्छ । माता पृथिव्या मूर्तिः भन्ने बचनले त मातृशक्ति (नारीहरू) पृथ्वीकै स्वरूप हुन् भन्ने सन्देश प्रवाह गर्छ ।
यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः ।।
यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः ।।
अर्थात् जहाँ नारीहरू पुजिन्छन् त्यहाँ देवता पनि खुसी हुन्छन् । जहाँ महिलाको अपमान वा तिरस्कार हुन्छ त्यहाँ गरिएका सबै कार्य विफल हुन्छन् भन्ने कुरा मनुले निर्धक्कसाथ भनेका छन् । यस्तै, सबै दृष्टिकोणबाट नारीलाई श्रेष्ठ स्थान दिएको धर्मलाई आज तिनै विद्वान् कहने कतिपय अधिकारवादीहरूले हिन्दुशास्त्रको अध्ययन नगरीकन नारीवादको कुरा गर्दा पूर्वीय दर्शनले पहिले दिएको अधिकार अथवा भगवती देवीको स्थानभन्दा पनि तल्लो दर्जाको अधिकार पाउने हुन् कि भन्ने चिन्ता लाग्छ ।
अन्य कुनै धर्ममा पनि नारीलाई श्रेष्ठ भगवान्का रूपमा पुजेको खासै देखिँदैन जस्तै, जिससक्राइस्ट, मोहम्मद आदि तर हिन्दु धर्ममा भने नारीलाई पनि पुरुष भगवान्सरह नै पुजिएको छ । जस्तै, मातापिता, सीताराम, राधाकृष्ण, लक्ष्मीनारायण, उमामहेश्वर, तुलसीदामोदर आदि हरेक ठाउँमा श्रेष्ठ स्थान दिएको अधिकारलाई नबुझी हिन्दु धर्मले नारीलाई तल्लो दर्जामा राखिएको छ भन्दै परचक्रीहरूको लहैलहैमा रही हिन्दु धर्ममाथि आलोचना गर्दै कतिपय अधिकारवादीहरू हिँडिरहेका छन् ।
सबै नारीहरूले बुझ्नु आवश्यक छ कि यदि हिन्दु धर्ममा जस्तो नारीलाई देवी मानी पुज्ने अरू धर्म हुन्थ्यो भने विश्वमा नारीवादको नारा आवश्यक पर्दैनथ्यो होला ।
कवि मुकुन्दशरण उपाध्यायको नारी शीर्षकमा रहेको पङ्तिहरूमध्ये एकले नै शास्त्रमा नारीको स्थान कस्तो छ भनी बुझ्न सकिन्छ ।
दुर्गा उस्को स्वरूप पहिलो दैत्यको दर्प भाँची ।
सीता अर्को स्वरूप उस्को अग्नि कुल्चेर हाँसी ।।
गार्गी उस्कै स्वरूप जसले ज्ञान गङ्गा बगायो ।
नारीलाई नभन अबला ऊ त वीराङ्गना हो ।।
नेपालमा विभिन्न ठाउँहरूमा विभिन्न प्रकारमा नारी मन्दिरहरू पनि रहेका छन् । कतिपय ठाउँमा परचक्रीले हिन्दु शास्त्रहरूमा आक्षेपण गरी शास्त्रलाई गलत व्याख्या गरेको देखिन्छ । अझै कतिपय अधिकारवादीहरू केसम्म भन्छन् भने हिन्दु समाजमा महिनावारी हुँदा नारीलाई किन मन्दिर जान रोकियो, किन छुट्टै बस्नुपर्छ, किन भान्छामा काम गर्न दिइँदैन आदि–आदि । महिनावारी हुँदा हिन्दु समाजले मन्दिर प्रवेश नगर्नु भनेको छैन, पर बस्नू भनेको छ । यो त महिनावारीको समयमा विश्राम गर्नका लागि दिइएको छुट्टी हो । महिनावारीको समयमा शरीरबाट रगत जाने हुँदा नारीको शरीर कमजोर हुन्छ, काम गर्न गाह्रो हुन्छ भनेर आराम दिइएको हो । महिनावारी हुँदा मन्दिर नजानु भनेको पुरातन समाजमा मन्दिर टाढा हुन्थे, यातायातको साधनहरू थिएनन् हिँडेरै यात्रा गर्नुपथ्र्यो । फेरि मन्दिर जानु भनेको मन्दिर गएर फर्कनुमात्र नभएर विशुद्ध सफा भएर निराहार, निर्जल रहेर जाने गरिन्थ्यो । मन्दिर निराहार निर्जल जाँदा र घण्टौँ साधना गरेर बस्दा नारीको स्वास्थ्य झन् कमजोर हुने बुझेर नै मन्दिर जानुहुँदैन भनिएको हो । कालान्तरमा यसलाई नै निषेधका रूपमा बुझ्न थालिएको मात्र हो । हिन्दु धर्मले कहिल्यै पनि नारीलाई लैङ्गिक भेदभाव गरेको देखिँदैन । शास्त्रमा भएका भित्री तŒवको अध्ययन नगरीकन अधिकारवादीहरू हिन्दु धर्मलाई यस्तो, त्यस्तो भनी गलत व्याख्या गरिरहँदा, अधिकारवादीहरूले नै नेपाली संस्कृति, संस्कार र परम्पराको नष्ट गरी देशलाई नै बर्बाद पार्ने हुन् कि भन्ने डर लाग्छ ।
कालान्तरमा नारीहरूलाई छाउपडी गोठमा राख्ने आदि कार्य भएका छन्, यो कार्य गतल भएकाले त्यसलाई सुधार गर्नु आवश्यक देखिन्छ । आज कैयौँ नारीहरू बलात्कारीहरूको सिकार भएको समाचार आइरहेका छन् । बलात्कारीहरूलाई अग्घोर कडा सजाय दिनेखालको कानुन बनाउनु आवश्यक छ । आज लाखौँ अबला नारीहरू बलात्कारमा पर्दा पनि अधिकारवादीहरू मूकदर्शक बनेका छन् । उनीहरू आ–आफ्नै दुना सोझ्याउनमा मात्र व्यस्त देखिन्छन् । नेपाली संस्कार, संस्कृतिको राम्रो अध्ययन, अनुसन्धन गर्र्नु आजको आवश्यकता हो । यति उदार र वैज्ञानिक रहेको हिन्दु धर्ममा नारीलाई विभेद गरिएको छ भनेर गलत व्याख्या गर्नु नेपालीपनलाई निमिट्यान्न पार्न खेलिएको खेल हो । आफ्नो संस्कृतिलाई अर्थको प्रलोभनमा परेर बेच्नुहुँदैन । जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी भन्ने बचनले पनि नारी महŒवका बारेमा प्रस्ट पारेको देखिन्छ ।
(लेखक संस्कृत मावि (दरबार हाइस्कुल) काठमाडौँमा आबद्ध हुनुहुन्छ ।)