ऋकेश भण्डारी
राजनीतिक अस्थिरताले नेपाल नाजुक बनेको छ । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रलाई अनुभव गरिसकेका जनताले यी तीनै व्यवस्थामा हार खाएको अवस्था छ । लोकतन्त्रात्मक व्यवस्थामा पनि नातावाद, कृपावाद कायमै रहनु भनेको जनताले न्याय नपाउनु हो । परापूर्वदेखिका धार्मिक मूल्य–मान्यता विकास नहुनु, अपराध पीडितले न्याय नपाउनु, बहुल जनता गरिबीको रेखामुनि अल्झिरहनु, धनी झनै धनी हँुदै जानु लोकतन्त्र नभएसरह नै हो ।
पुर्खाहरूले बनाएका मन्दिर, गुम्बा, दरबार आदि वस्तु र आफ्नो धर्म, संस्कृति, रीति, चालचलनलाई बचाउन नसक्नु अथवा बचाउने इच्छा नहुनु देश बर्बादीमा धकेल्नु हो । राष्ट्र बनाउन, विश्वसामु चिनाउन धर्म संस्कृति, संस्कार, चालचलनले ठूलो भूमिका खेल्छ । मौलिकता हराएको देश स्वाभिमानी पनि हुन सक्दैन, खुसी र सम्पन्न पनि हुन सक्दैन । अब नेपालले पूर्वीय मौलिक ज्ञान, धन्वन्तरी आदि ऋषिहरू र विद्वान् राजनीतिज्ञ चाणक्यको कार्यलाई आत्मसात् गर्दै समाज अगाडि बढ्नुपर्छ ।
को हुन् चाणक्य
इसापूर्व ३७१ मा भारतवर्षको मगध राज्यमा जन्मेका विष्णुगुप्त चाणक्य वा कौटिल्यको नामले परिचित थिए । उनी, राजनीतिशास्त्र व्यवस्थापन अर्थशास्त्र, कूटनीति र सुशासनका मूर्धन्य विद्वान् थिए । राष्ट्रप्रतिको उनको त्याग, दृढसङ्कल्प, ज्ञान र राष्ट्रवादी छवि सबैका लागि प्रेरणाको स्रोत बन्न सक्छ । उनका कृतिहरू अद्यापि उपलब्ध छन् । चाणक्यद्वारा लिखित शास्त्रहरूको अध्ययन गरेमा सुशासन र नेतृत्वदायी भूमिका कसरी निर्वाह गर्नुपर्छ भन्ने अमूल्य ज्ञान पाउन सकिन्छ ।
चाणक्यको पुस्तकबाट राजनीतिक र सुशासनबारे प्रस्ट बुझ्न सकिन्छ । चाणक्य चन्द्रगुप्त मौर्यका सल्लाहकार महामन्त्री थिए, जसले नन्दवंशलाई छाँयामा पारी चन्द्रगुप्त मौर्यलाई राजा बनाए । चाणक्य तक्षशिला विद्यालयका आचार्य थिए । चाणक्यले लेखेको अर्थशास्त्र उत्कृष्ट पुस्तकको रूपमा रहेको छ । विष्णुपुराण, भागवत आदि पुराण तथा कथा सरित्सागद आदि हिन्दु ग्रन्थहरूमा समेत चाणक्यको नाम समावेश छन् । बौद्ध ग्रन्थहरूममा समेत चाणक्यको चर्चा पाइन्छ । राज्यसञ्चालनमा के–कस्ता भूमिका खेल्नुपर्छ भन्ने कुरा उनको पुस्तकमा प्रस्ट रूपमा बुझाइएका छन् ।
नन्दवंशको अत्याचार दुराचार दुष्प्रवृत्तिले खराब मार्गमा हिँडेको मगध राज्यलाई सदाचार र सुमार्गमा ल्याउन उनले ठूलो त्याग र बुद्धिको प्रयोग गरेको देखिन्छ । भारतवर्ष भन्नाले “जम्बु उपमहाद्वीप”मा बस्ने मानिसले निर्माण गरेका मानव सभ्यताको नाम हो । सिन्धु नदीले सिञ्चित मानव सभ्यता जहाँका मानिसलाई हिन्दु भनिन्थ्यो, त्यही जम्बु उपमहाद्वीपमा बस्ने हिन्दुको गौरवमय सभ्यताको समग्र रूपलाई भारतवर्ष भनिन्थ्यो । अध्ययन गर्दा, महाभारत कालमा “कस्मिर”देखि सुरु भएर “कामरूपा”सम्म, उत्तरमा भोट र मानसरोवरदेखि दक्षिणको “विधाञ्चल” पनि नेपालमै पथ्र्याे भन्ने बुभिन्छ । अहिले भारतवर्षभित्र धेरै राष्ट्र छुट्टै अस्तित्व बोकेर रहे पनि पूर्वकालमा भारतवर्षमा एकै माहोलमा हुर्किएका थिए । भारतवर्षमा हुर्किएका सबै वैदिक धर्मको अनुयायी थिए भन्ने प्रस्ट छ । हाम्रा पुर्खाहरू धार्मिक, सामाजिक, राजनीतिक आदि विचारात्मक दृष्टिले धेरै अगाडि रहेका थिए । हो, हाम्रा पुर्खा (ऋषि)हरूले सबै कुरालाई दीर्घकालीन र व्यवस्थित हिसाबले सोचेर काम गर्थे । तिनै ऋषिहरूका सन्तान आज आफ्नै बाबुआमाको नाम सम्झिन चाहँदैनन्, ऋषि, विद्वान् विदुषीहरूको खोज–अनुसन्धानको विचार नगरी पुर्खालाई गालीमात्र गर्छन् भने देशले कहिल्यै विकासको गति लिने क्षमता लिँदैन । यसरी पुर्खाका ज्ञानप्रति दुराग्रह र सङ्कुचित भाव राख्दा पराशर ऋषिको “ह्रासवाद” सिद्धान्तलाई बेठीक र डार्विनको “विकासवादी” सिद्धान्तलाई नै ठीक भन्न पुगेका छौँ ।
कसैलाई कुनै मान्छेले तेरा पितापुर्खा सबै खराब चोर, गँजडी थिए भन्यो भने अब उसलाई के भान हुन्छ भने मेरा पूर्वज त साँच्चै खराब रहेछन् । उसलाई आफ्नोपन मौलिकता र पूर्वजहरूप्रति गर्व रहँदैन । ऊ हीनताबोधले ग्रसित हुन्छ । अहिलेको नेपालको स्थिति पनि यस्तै अनुभव हुन्छ । त्यसैले नेपालमा प्रजातन्त्र, गणतन्त्र, लोकतन्त्रलगायतका जे–जे तन्त्र आए पनि मानसिक चिन्तनमा परिवर्तन भएन भने देशको हालत सुध्रिने छैन । त्यसैले आधुनिक परिवर्तनसहित अर्थशास्त्र, व्यवस्थापन, कूटनीति, राजनीतिशास्त्र, सुशासन आदि कुरामा वैदिक चिन्तन र व्यवस्थाको मार्गमा हिँड्नुपर्ने देखिन्छ ।
देश विकास गर्न विदेशी अनुकूलित सिद्धान्त बोकेर हिँड्नु भनेको मूर्ख हुनु हो । नेपालको परिवेशअनुसार यहाँको वैदिक चिन्तनलाई राज्य÷राष्ट्र व्यवस्था अथवा सिद्धान्त आवश्यक पर्छ । हाल नेपालमा भएको राजनीतिक अस्थिरताबाट जनताले ठूलो मार खेप्नुपरेको छ । प्रजातन्त्र, गणतन्त्र र लोकतन्त्रसम्म अभ्यास गरेको जनताको मुख निन्याउरो हुनु दुःखद छ । स्वधर्म, स्वसंस्कृति, स्वरीति, स्वदेशको प्रकृतिमा धुलमुल भइरहेका जनतामा विदेशी वाद र परचक्रीले गरेको उथलपुथलले गर्दा नेपाली जनता चिन्तित छन् । झन् देश सञ्चालन गर्ने व्यक्तिमा पनि देशको मौलिकतामाथि अलिकति पनि वास्ता नरहेको देख्दा नेपाली राजनीतिक अवस्थाले चाणक्यजस्ता सुराजनीतिज्ञको आगमनको बाटो कुरिरहेको देखिन्छ ।
अर्थशास्त्र, व्यवस्थापन, कूटनीति, कृषि, समाजनीति, राजनीतिशास्त्र र सुशासन क्षेत्रमा अब्बल विचार भएका चाणक्यजस्ता कुनै एक पात्रको नेपाली राजनीतिमा प्रवेश हुन्थ्यो भने अवश्य पनि नेपाली राजनीतिले न्याय पाउँथ्यो होला । जनताको खुसी नै मेरो खुसी भनेर सरल जीवनशैलीमा बाँचेका चाणक्य राज्य सुविधाको भन्दा छुट्टै कुटीमा बास बस्थे भन्ने पाइन्छ । अझै प्रसिद्ध भनाइ यस्तो छ कि एकजना विदेशी यात्री समय मिलाएर प्रधानमन्त्री भेट्न गएछन् । साँझको समय थियो । चाणक्य आफ्नो कुटीमा टुकी बालेर केही लेख्दै थिए । यात्री आएको थाहा पाएर झटपट उनको स्वागत गरेर आसनमा बसाले । त्यसपछि कागज, कलम, मसी एकातिर पन्छाएर नयाँ टुकी बालेर अघि बलिरहेको टुकी निभाए । एउटा टुकी निभाएर त्यस्तै अर्को टुकी बाल्नुको मतलब के हो ? भनी यात्रुले सोध्दा चाणक्यको जवाफ थियो– अघि म राज्यको काम गर्दै थिएँ, त्यो टुकीमा राज्यको पैसाबाट किनेको तेल छ । अब अहिले म तपाईंसँग व्यक्तिगत कुराकानी गर्दै छु र यो टुकीमा मैले राज्यबाट पाउने तलबको पैसाले किनेको तेल हालेको छु ।’ चाणक्यको यो व्यवहार व्यक्तिगत स्वार्थका लागि, नातावाद, कृपावादको भावनाबाट ग्रसित नेपाली राजनीतिले शिक्षा लिनैपर्छ ।
परिवर्तनका नारा लगाएर प्रजातन्त्र, गणतन्त्र, लोकतन्त्रसमेत अनुभव गरेको नेपाल विकास, न्याय, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा अझै पछाडि नै परिरहेको देखिन्छ । सङ्घीयतामा पनि देशमा भ्रष्टाचारले विस्तारित भएको छ । देश विकासका लागि व्यक्तिको नैतिक सिद्धान्त राम्रो हुनुपर्छ । विदेशीहरूले प्रतिपादन गरेको सिद्धान्त बोक्दा देशले आफ्नो मौलिक संस्कृतिलाई गुमाई बर्बादीतिर लाग्छ । á
(लेखक संस्कृत माविमा अध्ययनरत हुनुहुन्छ ।)