logo
२०८१ माघ १० बिहीवार



नेकपासँग जनजीविकाको सवाल

विचार/दृष्टिकोण |




चम्फासिंह भण्डारी

२००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी सात दशकको यात्रा पार गरेपछि मात्र शासन प्रणालीको केन्द्रीय भागमा आइपुगेको छ । सङ्गठित शक्तिका बलमा लोकतान्त्रिक विधि र प्रणालीको अवलम्बन गर्दै जनताको जनादेश पाएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको तीनै तहमा सुविधाजनक बहुमतका साथ शासन प्रणालीको नेतृत्व लिनु ऐतिहासिकमात्रै होइन कि नेपालका सर्वहारा श्रमजीवी जनताको उच्चतम चाहना पूरा गर्ने अभिभारा प्राप्त गरेको छ ।
नेपालको कम्युनिस्ट आन्दोलनको यो सफलता विश्व कम्युनिस्ट आन्दोलन र सर्वहारा वर्गका लागि प्रेरणा र अध्ययन, अनुसन्धानको विषय बनेको छ । यस्तो अवस्थाको सिर्जना सयौँ नेता, कार्यकर्ताहरूको बलिदान, त्याग र कष्टदायी सङ्घर्षले प्राप्त भएको हो ।
पछिल्लो समय ऐतिहासिक शान्तिपूर्ण जनआन्दोलन र १० वर्षे सशस्त्र युद्धले नेपालका श्रमजीवी जनतालाई सचेत, सङ्गठित र नेकपालाई विश्वास गर्ने अवस्था सिर्जना गरेको हो । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको ऐतिहासिक एकीकरणको प्रक्रियाले नेपालका श्रमजीवी जनताको विश्वास आर्जन गरेकै कारण अहिले तीनै तहका सरकारको नेतृत्व गर्ने जिम्मा नेकपाले पाएको छ । यो ऐतिहासिक जिम्मेवारीलाई वहन गर्न सकिएन भने नेपाल राष्ट्र, जनता र नेकपाको भविष्यमाथि प्रश्नचिह्न खडा हुने निश्चित छ ।

विद्यमान अवस्था
नेपालमा अहिले पनि गरिब किसान, मजदुर र सर्वहारा वर्गको ठूलो सङ्ख्या छ । असङ्गठित क्षेत्रमा काम गरिखाने सर्वहारा वर्गको हातमा उत्पादनका साधनहरू छैनन् । वैज्ञानिक भूमिसुधारका लागि बेलाबखत नाराहरू लाग्छन् तर त्यसको व्यावहारिक कार्यान्वयन छैन । बजार बिचौलियाको हातमा छ, ठूला व्यापारी, व्यवसायी र दलालको कब्जामा राज्य संयन्त्र छ ।
नेपालमा ठूला उद्योगधन्दा र कलकारखाना नभएका कारण छ महिना कृषिमा काम गर्ने तर आफनो उत्पादनले तीनदेखि छ महिना पनि खान नपुग्ने अवस्थामा रहेका किसानको ठूलो सङ्ख्या छ । नेपालका श्रमजीवी नागरिक कति छन्, जीविकोपार्जन कसरी गरिरहेका छन् भन्ने यकिन तथ्याङ्कसमेत कसैसँग छैन । ठूलो सङ्ख्यामा रहेका निर्माण, यातायात, होटेल र रेष्टुराँ क्षेत्रमा काम गर्ने मजदुरहरू र सडकछेउ चिया पसल, तरकारी पसल गरी जीविकोपार्जन गर्ने, ठूला सहरहरूमा साना खुद्रा पसल सञ्चालन गरिखाने मजदुरहरूका लागि नेपालमा कम्युनिस्ट पार्टी चाहिएको हो ।

कम्युनिस्ट पार्टी र सरकारले गर्नुपर्ने काम
नेपालमा रोजगारी सिर्जना गर्नेगरी राज्यको लगानीमा कम्तीमा सातवटा प्रदेशमा दुई–दुईवटा नेपाली श्रम र कच्चा पदार्थमा आधारित उद्योग स्थापना र सञ्चालनको सुरुवात गर्न सके नेपाली युवामा नेपालमै रोजगारी गर्न सकिन्छ भन्ने विश्वास पलाउन सक्थ्यो । यही चाहना र आकाङ्क्षा पूरा गर्नका लागि नेपालमा कम्युनिस्ट पार्टी र उसको सरकार आवश्यक भएको हो । सर्वहारा श्रमजीवी वर्गको सहज जीवनयापन र त्यही वर्गको समृद्धि नेपालको आवश्यकता हो । श्रमको सम्मान, उत्पादन प्रणालीमा आमसर्वहारा वर्गको सहभागिता र सर्वहारा वर्गको जीवनमा आवश्यक खुसहालीका लागि नेपालमा कम्युनिस्ट पार्टी र कम्युनिस्ट पार्टीको सरकार चाहिएको हो तर के नेकपा र सरकार त्यस दिशामा केन्द्रित छ ? आजको मूल प्रश्न यही हो ।
आमनागरिकलाई सम्मानित र मर्यादित जीवन जिउनका लागि आवश्यक वातारण निर्माण गर्दै श्रमको सम्मान गर्ने परिपाटीको निर्माण, श्रमको उचित मूल्य प्राप्तिका लागि नीति नियमहरूको निर्माण र कार्यान्वयन, सहज रूपमा राज्यका सेवा सुविधाहरूमा सर्वहारा श्रमजीवी वर्गको पहुँच स्थापित भएको आमसर्वहारा वर्गले गर्वसाथ महसुस गरून् । यही ध्येयका लागि नेपालमा कम्युनिस्ट पार्टी र कम्युनिस्ट पार्टीको सरकार चाहिएको हो । ऐन, नियम, कानुन सबैका लागि बराबर हुन सकून्, शासन प्रशासन व्यक्तिको होइन, कानुनका आधारमा सञ्चालन हुन सकोस्, सबैखालका विभेद, अन्याय र अत्याचार गर्ने, भ्रष्टाचार गर्ने सबैलाई न्यायको कठघरामा उभ्याउन सकियोस् । सबै नागरिकले राज्यले तोकेको कर तिर्नुमा गर्व गर्न सकून् । राज्यलाई तिरेको करको दुरुपयोग हुँदैन भन्ने विश्वासिलो आधार तयार होस् । सबै प्रकारको हिंसा समाप्त होस् । समाजवाद उन्मुख अर्थतन्त्र यसैकारण चाहिएको हो । यस दिशामा नेकपा अघि बढेको छ ?
सङ्गठनात्मक प्रणाली र अनुशासन
नेपालमा कम्युनिस्ट पार्टीमा आबद्ध हुने हरेक कार्यकर्तालाई थाहा छ, पहिलो कुरा हरेक व्यक्ति अनुशासित, इमानदार, उच्च नैतिकतापूर्ण, आफ्ना व्यक्तिगत हितहरूलाई पार्टी अधिनस्थ राख्ने, नागरिकप्रति खासगरी सर्वहारा श्रमजीवी वर्गप्रति उत्तरदायी हुने र हरेकखालका अन्याय, शोषण उत्पीडनहरूका विरुद्ध उभिने हो । राष्ट्र, राष्ट्रियता र श्रमजीवी वर्गको जनजीविकाका सवालहरूमा सधैँ अग्रसर रही सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारीलाई सदा परिपालना गर्ने । सहकर्मी, सहपाठीसँग मिलेर आन्दोलनलाई गतिशील बनाउनेलगायत असल जनसम्बन्धको फलामे अनुशासन हरेक कम्युनिस्ट कार्यकर्ता र नेताको गहनाका रूपमा लिइन्छ ।
कम्युनिस्ट पार्टीभित्रको अर्को महŒवपूर्ण कुरा गोपनीयता हो । पार्टी कमिटीभित्र के–के छलफल र के–के निर्णयहरू हुन्छन्, ती सबै सार्वजनिक गरिनुहुँदैन । आत्मालोचनाका विषयवस्तुहरूलाई व्यक्तिलाई सुधारका निम्ति, व्यवहार परिवर्तनका निम्ति गरिन्छन् र त्यस्ता विषयहरू सार्वजनिक गरिनुहुँदैन ।
कम्युनिस्ट पार्टी सञ्चालन गर्ने विधि प्रक्रिया र प्रणालीलाई स्थापित गर्नुपर्ने अर्को महŒवपूर्ण सवाल हो । विधानविपरीतका कामहरूलाई अवैधानिक वा विधि मिचिएको वा उल्लङ्घन गरिएको अर्थमा कारबाहीका लागि तयार हुनुपर्छ । विधानले तहगत कमिटीहरूको व्यवस्था गरेको छ । पार्टी सञ्चालनका विधि प्रक्रियाको पालना भएन भने कम्युनिस्ट पार्टी जीवित रहन सक्दैन । सामूहिक नेतृत्व प्रणालीमा सञ्चालन हुने भएकाले कम्युनिस्ट पार्टीका अध्यक्ष वा महासचिवले जे मन लाग्यो त्यही गर्न पाइँदैन । तोकिएको समयमा बैठक, छलफल, अधिवेशन वा महाधिवेशन गर्ने, महाधिवेशनबाट पाँच वर्षका लागि नेतृत्व चयन गर्ने र त्यही नेतृत्वअन्तर्गत सिङ्गो पार्टी सञ्चालन गर्ने प्रक्रियालाई कहीँ कतैबाट पनि मिच्नुहँुदैन । पार्टी कमिटीहरू ठूला र भद्दा आकारको होइन, सानो, छिटोछरितो र गतिशील कमिटीहरूले मात्रै कम्युनिस्ट पार्टीलाई जीवित र गतिशील बनाउँछन् । जब छलफल व्यवस्थित हुन सक्दैनन् तब कम्युनिस्ट पार्टीमा विचारको खडेरी पर्न जान्छ ।
के नेकपा विधि, प्रणाली र पद्धतिसङ्गत ढङ्गले चलेको छ ? अनुशासनको पालना सबैका लागि अनिवार्य सर्त हो । शीर्षनेताका लागि केही लागू नहुने तर कार्यकर्ताहरू अनुशासनमा बस्नुपर्ने चिन्तनबाट मुक्त हुनु आवश्यक छ ।

पार्टी र सरकारबीचको सम्बन्ध
कम्युनिस्ट पार्टी र कम्युनिस्ट पार्टीको सरकार दुई भिन्न संस्था हुन् । पार्टी, पार्टीको विधानअनुरूप सञ्चालन हुन्छ भने सरकार देशको संविधान र कानुनअनुरूप सञ्चालन हुन्छ । यी दुईबीचको भिन्नता बुझ्न सकिएन भने पार्टी र सरकार दुवै गञ्जागोल बन्न सक्छन् । पार्टीलाई मत दिने नागरिकले आफ्ना प्रतिनिधिहरूलाई शासनसत्तामा पठाउँछन् र पार्टीको निर्देशअनुरूप सरकारले सरकारको नीति कार्यक्रम र योजनामार्पmत नागरिकलाई सेवा प्रदान गर्छ ।
पार्टी र सरकार दुई भिन्न संस्था हँुदाहँुदै पनि यी दुईबीचको सम्बन्ध अन्योन्याश्रित हुन्छ । पार्टीबाट निर्वाचित प्रतिनिधिहरू सरकारमा जाने भएकाले पार्टीको निर्णयविपरीत चल्ने प्रवृत्ति सरकारमा रहनुहँुदैन र सरकारका दैनिक कामकारबाहीमा हस्तक्षेप गर्ने पार्टीको प्रवृत्ति पनि रहनुहँुदैन । अहिले नेपाल कम्युनिस्ट पार्टीभित्रको रोग यही हो कि ? विश्लेषण गर्नु आवश्यक छ । पार्टीका सबै कमिटीहरूका नियमित बैठकहरू हुने र सरकारका महŒवपूर्ण निर्णय अघि पार्टीबाट अनुमोदन गराउने विधि प्रणाली स्थापित गरेर अघि जाने हो भने त्यसले देश र पार्टी दुवैको हित गर्नेछ ।

नेतृत्व हस्तान्तरण
कम्युनिस्ट पार्टीको स्थापनादेखि हालसम्मका अग्रज नेताहरूकोे योगदानले नै नेपालको कम्युनिस्ट आन्दोलन यहाँसम्म आइपुगेको छ । ती दिवङ्गत तथा जीवित नेताहरू सबैलाई श्रद्धापूर्वक सम्मान गर्न कन्जुस्याइँ गर्नुहुँदैन । तर, अबको नेपालको कम्युनिस्ट आन्दोलनको नेतृत्वको जिम्मा युवा पुस्तामा सहज रूपमा हस्तान्तरणको प्रक्रियाको थालनी गर्नु समयको माग हो ।
(लेखक सामाजिक कार्यकर्ता हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?