माथवरसिंह बस्नेत
२८ वर्ष अगाडिको घटना सम्झँदा र लेख्न खोज्दा कतै छुट्ने र कतै टुट्ने जोखिम हुन्छ, तापनि त्यो ऐतिहासिक घटनाको अवलोकन गर्ने दुर्लभ अवसर प्राप्त गरेका व्यक्तिका नाताले त्यसको अभिलेख तयार पार्ने जिम्मेवारीबाट भाग्ने कुरा पनि थिएन । त्यसमाथि लौहपुरुष गणेशमान सिंहलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतबाट प्रदान भएका सम्मान र अभिनन्दनहरूको सङ्कलन र सङ्ग्रह गर्ने दायित्व पनि सकारेको व्यक्ति भएकाले मैले त्यो कर्तव्य निर्वाह गर्नैपर्ने भयो । त्यो अभियान थाल्न मानवअधिकार दिवसभन्दा उपयुक्त अवसर अर्को हुनसक्तैन, त्यही निष्कर्षका आधारमा अभिलेखीकरणको यो प्रयास थालिएको हो ।
एउटा आकस्मिक संयोगले म त्यो महान् घटनामा जुट्न पुगेको थिएँ । एकजना प्रियजनलाई सानो सहयोग जुटाइदिने कामले म लौहपुरुष सिंहलाई भेट्न उहाँको निवासमा पुगेको थिएँ । दिनको एक बजे, उहाँ नुहाइसकेर बगैंचाको डिलमा मङ्सिर महिनाको न्यानो घाम ताप्दै लुगा फेरिरहनुभएको थियो । त्यस काममा सघाउने एकजना सहयोगीबाहेक अरु कोही थिएनन् । मेरो अभिवादनको जवाफमा उहाँले नजिक आउने इसारा गर्नुभयो र सोध्नुभयो– आज के प¥यो र आउनुभयो ? मैले सङ्कोच मान्दै आफू आउनुको कारण बताएँ ।
उहाँले भन्नुभयो– हुन्छ, मलाई अमेरिका जान पैसा खोज्नैपरेको छ, त्यसैमा यो पनि जोडौँला हुन्न ? पर्सि बिहान एकपल्ट भेट्नोस् न ।
बिदा मागेर हिँड्न लाग्दा मनको जिज्ञासा मेट्न सोधेँ – कति समय लाग्छ अमेरिकामा ? अचानक जाने कुरा सुनियो । विशेष काम परेर जान लाग्नुभएको हो कि स्वास्थ्य परीक्षणका लागि ?
उहाँले जवाफ थियो– स्वास्थ्यको कारणले होइन । राष्ट्रसङ्घले यसपालिको मानवअधिकार पुरस्कार मलाई दिने निर्णय गरेको रहेछ । त्यही ग्रहण गर्न जान लागेको । प्रत्येक पाँच वर्षमा दिने त्यो पुरस्कार, यसअघि दक्षिण अफ्रिकाका नेता नेल्सन मण्डेलालाई प्रदान गरिएको थियो । यसपालि मलाई दिने भएको जानकारी परराष्ट्र मन्त्रालयले हिजो बेलुका मात्र दियो । पर्सि हिँडिहाल्नु पर्नेछ । त्यसैले मैले तपाईंलाई बिहान बोलाएको !
मेरो मुखबाट हठात् निक्ल्यो– हजुरसँग को को जाँदैछन् ? उहाँको जवाफ थियो– मङ्गलादेवी, माहिली छोरी कान्ता सिंह, पीएल सिंह र फोटोग्राफर मीन बज्राचार्य ।
मैले हार्दिक बधाई ज्ञापन गरेँ र त्यस बारेमा अलि विस्तारसँग कुराकानी गर्न भोलि हाजिर हुन्छु भनेर हिँड्न के लागेको थिएँ, उहाँले सोध्नुभयो, तपार्इंले त्यो प्रश्न किन गर्नुभयो ? के तपार्इं पनि जान खोज्नुभएको हो ?
मैले भनेँ– जाने भनेको होइन । टोलीका सदस्यहरूको छनोट पार्टी कि सरकार कसले गर्ने हो, त्यो केही नबुझी कसरी जाने भन्नु ? हुन त राष्ट्रसङ्घजस्तो विश्व संस्थाले हजुरको जीवनभरको त्याग र बलिदानको उच्च मूल्याङ्कन गरेर प्रदान गर्न लागेको सम्मान, ठूलो र यशस्वी घटना हो । त्यसका बारेमा भोलि मैले नै लेख्नुपर्ने हुन्छ । जसले लेख्ने हो, उसले त्यस्ता दुर्लभ घटना आफैँले अवलोकन गर्ने अपेक्षा राख्नु अन्यथा मानिँदैन । तर यति छोटो समयमा नाम थपघट गर्न सम्भव नहुन सक्छ । त्यसैले जानैका लागि सोधेको होइन ।
ल भयो, मैले बुझेँ, पीएललाई भेट्नोस् न । उनैले समन्वय गरेका छन् । काठमाडौँ महानगरका मेयर पीएल सिंहलाई तिनताका फोनमा अथवा कार्यालयमा भेट्नु भनेको हावालाई पक्रनुजस्तै असम्भव प्रयास हुन्थ्यो । तैपनि एकाधपटक प्रयास गरेको हो, सम्पर्क हुनसकेन । पुनर्जागरण कार्यालयमा पुगेपछि म आफैं पनि व्यस्त भएँ । भेट्ने कुरा भुसुक्कै बिर्सेंछु ।
रातको साढे १० बजे फोनको घण्टी बज्यो । म तन्द्राको अवस्थामा पुगिसकेको थिएँ । फोन उठाएँ, पीएलजीको रहेछ । सोध्नुभयो– तपार्इं पनि जाने भनेको हो ? मैले भनेँ– होइन । गणेशमानजीले जाउँ भन्नुभएको चाहिँ हो । तर क्यै ठेगान भएको छैन । त्यसपछि उहाँले भोलि बिहान ८ बजे पासपोर्ट लिएर आउन भन्नुभो । ८ः३० मा अमेरिकी दूतावास पुग्नुपर्ने रहेछ । मैले भुले पनि गणेशमानले बिर्सनुभएको रहेनछ । कार्यकर्ताप्रतिको उहाँको त्यस्तो अनुग्रहबाट अनुगृहित भएँ । त्यसरी उहाँका साथमा म न्युयोर्क पुगेको थिएँ ।
काठमाडौँदेखि न्युयोर्क पुग्न २० घण्टा लाग्ने र त्यस्तो यात्रा गणेशमानको उमेर र स्वास्थ्यका कारणले उपयुक्त नहुने भएकाले लण्डनको दूतावासमा चार दिन आराम गरेर आठ तारिखमा न्युयोर्क पुग्ने व्यवस्था मिलाइएको थियो । त्यसका लागि आरएनएसीको बोइङबाट चार डिसेम्बरमा लण्डन पुग्ने र त्यहाँबाट आठ तारिखमा न्युयोर्क प्रस्थान गर्ने कार्यक्रम बन्यो । हाम्रो आवासको व्यवस्था न्युयोर्कको म्यानहाट्टनको सेभेन र सिक्स एभेन्युजको बीचमा अवस्थित डोरसेट होटलमा गरिएको थियो । त्यसको सम्पूर्ण व्यवस्था राष्ट्रसङ्घका लागि नेपाली राजदूत डा.जयराज आचार्य आफैँले गर्नुभएको थियो ।
१० डिसेम्बरको मुख्य आकर्षण, मानवअधिकार दिवसको उपलक्ष्यमा हुने पुरस्कार वितरण समारोह थियो । त्यसका निम्ति भएका तयारीको निरीक्षण एक दिन अगावै गराइएको थियो । ठूला समारोहका आयोजनामा कुनै प्रकारको त्रुटि हुन नपाओस् भनेर गरिने त्यस्तो पूर्वाभ्यासलाई पनि कार्यक्रमकै अङ्ग मानिन्छ । राष्ट्रसङ्घले पनि त्यसको अनुसरण गर्ने गरेको रहेछ । यद्यपि त्यो विश्वसंस्थाको आफ्नो बेग्लै कार्यशैली र परम्परा छ, तथापि समारोहलाई राजकीय मर्यादा अनुकूल तुल्याउन पनि उत्तिकै सजगता अपनाइँदो रहेछ । राष्ट्रसङ्घको साधारणसभाको प्रतिवर्ष चल्ने नियमित बैठक, जुन विशाल एवं भव्य सभाकक्षमा हुन्छ, पुरस्कार वितरण समारोह पनि त्यही हलमा गरिन्छ । वास्तवमा मानवअधिकार दिवस कार्यक्रम सम्पन्न नभएसम्म त्यस दिन अरु नियमित क्रियाकलाप केही पनि चल्दैनन् । कार्यक्रम बडो व्यवस्थित र
संक्षिप्त हुन्छ ।
त्यसको कारण हो, वन वे ट्राफिकको व्यवस्था । त्यो भनेको पुरस्कृत व्यक्तिहरूका बारेमा जति प्रकाश पार्नुपर्ने हो, ती सबै आयोजकले गरिदिने भएकाले पुरस्कृत व्यक्तिले बोल्नैपरेन । अनि, छिटो र छरितो किन नहोस् ! त्यो दिनको समारोह बिहानको ११ बजे शुरु भयो । पाँच मिनेट अगाडि नै अध्यक्ष स्यामुयल इनसाली, महासचिव बुद्रोस बुद्रोस घाली र सहमहासचिव समारोहस्थलमा प्रवेश गरिसक्नुभएको थियो । राष्ट्रसङ्घका सदस्य देशका प्रतिनिधिहरूले पनि आ–आफ्नो स्थान ग्रहण गरिसकेका थिए । विश्वसंस्थाका पदाधिकारीले अग्लो मञ्चमा लहरै सजाइएका तीन कुर्सीमा आसन जमाएपछि एक क्षण विलम्ब नगरी अध्यक्षले कार्यक्रम प्रारम्भ भएको घोषणा गर्नुभएको थियो ।
उहाँले मानवअधिकार दिवसको कार्यक्रमको उद्घाटन भाषणमा भन्नुभएको थियो– आजको यो गरिमामय समारोह सर्वप्रथम ती महानुभावहरूलाई स्वागत तथा अभिनन्दन गर्दछ, जसले आ–आफ्नो स्थानबाट मानवअधिकारको पोषण र संरक्षणका लागि ठूलो योगदान गर्नुभएको छ । प्रत्येक पाँच वर्षमा संयुक्त राष्ट्रसङ्घले प्रदान गर्ने विभिन्न विधाका मानवअधिकार पुरस्कार वितरण गरिसकेपछि मात्र आजको दैनिक कार्यक्रम शुरु हुने जानकारी पनि उहाँले दिनुभएको थियो । अध्यक्षले आफ्नो संक्षिप्त मन्तव्य सकेर महासचिव घालीलाई मानवअधिकार दिवसका सन्दर्भमा प्रकाश पार्न आग्रह गर्नुभएपछि उहाँ पोडियममा खडा हुनुभयो र तत्कालीन विश्वमा मानवअधिकारको जुन स्थिति थियो, त्यसको सटीक समीक्षा गर्नुभयो । त्यस क्रममा उहाँले भन्नुभएको थियो– हाम्रो सर्वोत्तम प्रयासका बावजूद जताततै मानवअधिकारको उल्लङ्घनका घटना भइरहेका छन्, तर खुशीको कुरा छ कि त्यस्ता प्रवृत्तिका विरुद्ध सङ्घर्ष गर्ने शक्तिहरू पनि सबल बनेका छन् र तिनलाई प्रेरित र उत्साहित तुल्याउने व्यक्तित्वहरू पनि सक्रिय छन् ।
महासचिव घालीको भाषणपछि अध्यक्ष इनसालीले सन् १९९३ मा मानवअधिकार पुरस्कार प्राप्त गर्ने महानुभावहरूको नामको घोषणा गर्नुभयो । राजनीति, सामाजिक जागरण, बाल शोषण, महिला मुक्ति, वातावरण, शिक्षा, स्वास्थ्य, कानुन र चिकित्सा गरी त्यस वर्ष विभिन्न देशका नौजना विशिष्ट व्यक्तिलाई त्यस्तो सम्मान प्रदान गरिएको थियो । पुरस्कार प्राप्त गर्ने व्यक्तित्वको परिचय दिने क्रममा महासचिव बुद्रोस घालीले नेपालका सर्वोच्च नेता गणेशमान सिंहको मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो । उहाँले भन्नुभएको थियो– “नेपालमा मानवअधिकार र प्रजातन्त्रका लागि गणेशमान सिंहले पाँच दशकभन्दा लामो समयसम्म अथक सङ्घर्ष गर्नुभयो । उहाँको निर्भीक अभिव्यक्ति र सङ्घर्षमय जीवनयात्रा नेपालका लागि मात्र होइन, शेष विश्वका लागि पनि ठूलो प्रेरणाको स्रोत हो । उहाँले सन् १९९० को जन–आन्दोलनको सफल नेतृत्व गर्नुभयो र प्रजातन्त्र र मानवअधिकारका क्षेत्रमा एक नयाँ कीर्तिमान स्थापना गर्नुभयो । उहाँ विश्व मानव समुदायकै निम्ति ठूलो गौरव हुनुहुन्छ ।”
उहाँले यसअघि नेपालका सर्वोच्च नेता सिंहलाई उ थान्त शान्ति पुरस्कारद्वारा सम्मानित गरिएको र यसपालि राष्ट्रसङ्घ साधारणसभाकै तर्फबाट मानवअधिकार पुरस्कारबाट सम्मान गर्न पाएकोमा आफू र विश्व संस्थालाई ठूलो गर्वको अनुभव भएको बताउनुभएको थियो । कार्यक्रमको लगत्तै विभिन्न देशका प्रतिनिधिहरूले पालैपालो सर्वमान्य नेता सिंहलाई बधाई ज्ञापन गरेका थिए । तीमध्ये भारतका तत्कालीन प्रतिपक्षी दलका नेता अटलबिहारी वाजपेयीले भन्नुभएको थियो– पुरस्कारबाट एसिया नै सम्मानित भएको छ । यो उहाँले प्रजातन्त्रका लागि गर्नुभएको अथक सङ्घर्षको अभिनन्दन हो ।
त्यही साँझ अमेरिका नेपाल मैत्री समाजले आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै सिंहले भन्नुभएको थियो– यो पुरस्कार नेपाली जनतालाई प्राप्त भएको सम्मान हो, म त भरिया मात्र हुँ । त्यस्तो विनम्रताले धेरैका आँखा रसाएका थिए । त्यो कार्यक्रममा राजदूत डा.जयराज आचार्यले भन्नुभएको थियो, पुरस्कार नेपाल र नेपालीका निम्ति त राष्ट्रिय गौरवको विषय हुँदै हो, राष्ट्रसङ्घका लागि पनि यो ठूलो गौरव हो कि गणेशमान सिंहले पुरस्कार
स्वीकार गर्नुभयो ।
(वरिष्ठ पत्रकार बस्नेत गोरखापत्र संस्थानका पूर्व कार्यकारी अध्यक्ष हुनुहुन्छ ।)
(तस्बिर सौजन्य : मीनरत्न बज्राचार्य)