logo
२०८१ बैशाख १६ आईतवार



सांस्कृतिक रूपान्तरण र दलित आन्दोलन

विचार/दृष्टिकोण |




परशुराम रम्तेल

नेपाली समाजमा ६० भन्दा बढी आदिवासी जनजातिहरू आ–आफ्नै भाषा, धर्म, संस्कृति, भूगोल र अर्थतन्त्र विकास गरी बसोवास गर्दै आएका छन् । यस्तो विविधतायुक्त समाजमा विगतदेखि सत्ताको बलमा जब्बरजस्त रूपमा संस्कृति, रीतिरिवाज, परम्परा र मूल्य–मान्यताहरू थोपरिँदै आएको छ । इतिहासको सबैभन्दा श्रमिक दलित समुदायमाथि झन् षड्यन्त्रमूलक ढङ्गले पेशाका आधारमा जात निर्धारण गरी अछुतको दर्जामा राख्दै विशुद्ध दासदासीको जस्तै जीवन जिउन बाध्य पार्दै आइरहेको छ । लिच्छविकालदेखि हालसम्म पनि शासक वर्गले ब्राह्मणवादी विचारलाई आफ्नो आधिकारिक विचारका रूपमा लिँदै त्यसैअनुरूप निर्देशित र परिचालित हुँदै आइरहेको छ । सामन्ती संस्कृतिलाई विस्तार गर्दै जानेक्रममा प्रत्येकको मनमस्तिष्कमा जब्बरजस्त रूपमा ब्राह्मणवाद घुस्न गयो र जीवनशैली नै बन्न पुग्यो ।
यसरी सामन्ती–ब्राह्मणवादले अध्यात्मवादको सहारा लिएर उत्पीडित श्रमजीवी जनसमुदायलाई चार वर्ण, छत्तीस जातमा विखण्डित गरी आफ्नो पूर्ण हैकम लाद्दै आइरहेको छ । यो पुरानो सत्ताले “फुटाऊ र राज गर” को चाणक्य नीति अवलम्बन गरी नेपाली समाजलाई टुक्रा–टुक्रा पारी आन्तरिक राष्ट्रियता कमजोर पारेर आफ्नो प्रभुत्व कायम गर्ने सिलसिलामा नजानिँदो किसिमले आदिवासी जनजाति समुदायमा पनि दलित समुदायलाई छुवाछूत मान्ने प्रथा विकास हुँदै गयो । सुरुमा आदिवासी जनजातिको कविला गणराज्य भएको हुँदा उनीहरूमा छुवाछूत प्रथा थिएन । वास्तवमा वर्गीय समाजमा जुन वर्ग शासनसत्तामा छ, त्यही वर्गको संस्कृति प्रभुत्वशाली रहन्छ । त्यसैकारण एउटा उत्पीडित जाति वा समुदायले अर्को उत्पीडित जाति वा समुदायलाई शोषण गर्न नचाहँदानचाहँदै पनि सामन्ती संस्कृति लागू गर्नेक्रममा विभेदकारी अवस्था र समाज निर्माण हुँदोरहेछ । यसरी समग्र नेपाली समाजलाई घुमाउरो पाराले हिन्दुकरण गरियो ।

सामन्ती संस्कृतिको प्रभाव
दलित समुदायलाई सामन्ती संस्कृतिले पशुभन्दा पनि तल्लो दर्जामा राखेर अत्यन्त अमानवीय रूपमा छुवाछूतको व्यवहार गर्दै आइरहेको छ । सामन्तवादी सत्ताले रहस्यवाद, कर्मवाद, पुनर्जन्म आदि भ्रम दिएर जनतालाई संसार अलौकिक छ, कसैले दुःख वा सुख पाउने कुरा, गरिब वा धनी हुने, ठूलो वा सानो हुने आदि कुराहरू भाग्यमा भर पर्छ, यो सबै पुनर्जन्मको फल हो भनेर रहस्यवादमा फसाइदियो । यस्तो अवैज्ञानिक र पाखण्डी कुराहरू गरेर भ्रम छर्दै आजको २१औँ शताब्दीमा पनि ब्राह्मणवादले मरणशील पुरानो अमानवीय संस्कृति टिकाउने असफल प्रयत्न गर्दै आयो । अर्कोतर्फ समाजकै बुद्धिजीवी भनिनेहरूले पनि समाजमा सबैभन्दा परिश्रमी सीप र कलाका पारखी दलित समुदायलाई सम्मान गर्ने, ज्ञान तथा शिक्षा दिने, हरक्षेत्रमा सहयोग गर्ने आदि गर्नुभन्दा पनि झन् शोषण–उत्पीडन गर्दै आएको हामी पाउँछौँ ।
वास्तवमा प्रत्येक मानिसको जीवनशैली र संस्कारलाई शिक्षाले प्रभाव पार्छ । दलित समुदाय जसलाई स्वयम् राज्यले नै हरक्षेत्रबाट पछाडि पारी श्रममा मात्रै लगायो । त्यही समुदायलाई समाजका शिक्षित, जान्ने–बुझ्ने र टाठाबाठा भन्नेहरूले पनि शोषण गरी “झिकिदे गाँड भन्दा पनि थपिदे गाँड” भनेझैँ सामन्ती संस्कृतिको विरोध गरेर दलित समुदायलाई सहयोग गर्नुको सट्टा झन् त्यही संस्कृतिलाई निरन्तरता दिइरहने तीतो यथार्थ हाम्रोसामु अझै ताजै छ । अहिलेको विज्ञान र प्रविधिको युगमा पनि मध्ययुगीन सामन्ती संस्कृतिलाई हाम्रो पुर्खाले चलाएको संस्कृति र परम्परा भनेर असाध्यै अवैज्ञानिक र अप्राकृतिक विषयहरूलाई कथित् बुर्जुवाहरूले स्वीकार गरी निरन्तरता दिनु आदर्शवाद र सामन्ती संस्कृतिमाथिको दासत्वको द्योतक हो ।
नेपाली समाजमा युगौँदेखि नै सामन्ती संस्कृतिको बोलवाला रहँदै आएको छ । यो संस्कृतिले जनसमुदायलाई पिछडिएको मुर्ख, गँवार, अज्ञानी भनेर हेप्ने गर्छ भने श्रमलाई घृणा गर्ने, श्रमिक वर्गले मालिकको सेवा चाकरी गर्नुपर्छ भन्ने मान्यता राख्छ । इतिहासका असली सर्वहारावर्ग दलित समुदायलाई यो संस्कृतिले पशुभन्दा पनि तल्लो दर्जामा राखेर त्यहीअनुरूप व्यवहार ग¥यो । उता दलित महिलाहरूलाई त झन् अझ चरम उत्पीडन गरियो । त्यसको अवशेषका रूपमा अझै पनि केही वादी महिलाहरूमाथि यौन शोषण जारी राख्नुले यसलाई थप पुष्टि गर्छ । दलित बाटो हिँड्दा पनि तलबाट हिँड्नुपर्ने, बाटो हिँड्दा उपल्लो जातका हुँ भन्नेहरूलाई जदौ गर्नुपर्ने, रमाइलो कहिल्यै गर्न नपाइने, मन्दिर प्रवेश गर्न र शिक्षा आर्जन गर्न नपाइने, आफ्नो श्रीमती अरूले लगेमा विरोध गर्न नपाइने, उपल्लो जातको महिलासँग विवाह गरेमा देश (गाउँ) निकाला हुनुपर्ने, दोहोरो वार्तालाप गर्न नपाइने, धन–सम्पत्ति आर्जन गर्न नपाइने आदिजस्ता अत्यन्त अमानवीय नीति निर्माण गरी दलित समुदायमाथि लादिएको थियो । मान्छे–मान्छेबीचमा पनि छुन नहुने अमानवीय कलङ्कका रूपमा रहेको घोर अमानवीय सामन्ती संस्कृति दक्षिण एसियाको पनि मुख्यतः नेपाल र भारतमा करिब २२÷२३ करोड जनसमुदायमा रहनुलाई विडम्बनाका रूपमा लिनुपर्छ ।

दलित समस्याको प्रकृति
दलित समुदायको समग्र समस्यालाई ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादका आधारमा विश्लेषण गरी यो छुवाछूत प्रथालाई हेर्दा सामाजिक, साँस्कृतिकजस्तो देखिए पनि अन्ततः सामन्ती ब्राह्मणवादी राज्यसत्ताको स्थापना र यसैद्वारा सिर्जित सामन्ती संस्कृतिकै उपज भएकाले यो राजनीतिक समस्या हो । यो समस्या सामन्तवादले आफ्नो राज्यसत्तालाई थप सुदृढ र व्यवस्थित गर्नेक्रममा मुख्यतः दक्षिण एसियामा विशिष्ट रूपले चरित्र ग्रहण गरेको विशिष्टखालको समस्या हो । यो साँस्कृतिक चरित्र ग्रहण गरेको वर्गीय र राजनीतिक समस्या हो ।
सामाजिक साँस्कृतिक उत्पीडन राजनीतिक आर्थिक व्यवस्थाको प्रतिविम्ब भएको हुँदा सम्पूर्ण उत्पीडित जनताको जनवादी राज्यसत्ताको प्राप्तिविना दलित समस्या हल हुनै सक्दैन । आज देशमा सामन्ती–ब्राह्मणवादी राज्यसत्ताको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । अब राजनीतिक क्रान्तिको साथसाथै साँस्कृतिक क्रान्तिलाई पनि निरन्तरता दिनुपर्छ ।

साँस्कृतिक र दलित आन्दोलनको अन्तरसम्बन्ध
साँस्कृतिक आन्दोलन र दलित मुक्ति आन्दोलनको अन्तरसम्बन्धबारे साँस्कृतिक क्रान्ति पूर्ण रूपमा सफल पार्न दलित समुदायमा थोपरिएको जातपात तथा छुवाछूत प्रथाको पूर्ण अन्त्य हुनुपर्छ । पुरानो संस्कृतिले ज्ञान–विज्ञानविरुद्ध अन्धविश्वास र आदिम चेतना दिने, क्रान्ति र वर्गसङ्घर्षका विरुद्ध भ्रम छर्ने, श्रमजीवी जनताको सिर्जनात्मक क्षमतालाई कुण्ठित पार्ने आदि विज्ञान र जनविरोधी कार्यहरू गर्ने गर्छ । त्यस्तै नयाँ संस्कृतिले अशिक्षित र गरिब भनी हेपिएका उत्पीडित वर्ग र जनसमुदाय नै इतिहासका वास्तविक निर्माता हुन् भन्ने कुरा मान्ने, विज्ञानलाई आत्मसात् गर्ने, देश र जनताको हित तथा सामाजिक परिवर्तनका लागि निरन्तर रूपमा साँस्कृतिक क्रान्ति गर्ने आदि जस्ता वैज्ञानिक र जनपक्षीय कार्यहरू गर्ने गर्छ ।
हाम्रो नेपाली समाजमा अशिक्षाका कारण अझै पनि धार्मिक अन्धविश्वासप्रति विश्वास गर्ने रुढीगत चिन्तन यथावत् नै छ । वास्तवमा संस्कृति भन्नेबित्तिकै विचार, दृष्टिकोण, सिद्धान्त, भावना, आचरण, रुचि, संस्कार, मूल्य–मान्यता आदि पर्छन् । नेपाली समाजमा एकछत्र रूपमा सामन्ती संस्कृति युगौँदेखि लाद्दै आएको हुँदा आमजनमानसमा लामो समयावधिबाट अभ्यस्त भएको संस्कृति एकैचोटि हटाउन गाह्रो हुन्छ । यसको मतलब भँडुवा विकासवादीहरूकै मान्यताअनुसार बिस्तारै–बिस्तारै हुँदै जान्छ भन्ने होइन । यसलाई मात्राको गुणमा रूपान्तरणसम्बन्धी माक्र्सवादी मान्यताअनुरूप नै क्रमभङ्ग, धक्का, गुणात्मक छलाङ र महाविपत्ति पैदा गर्दै निरन्तर रूपमा साँस्कृतिक रूपान्तरणमा
जोड दिनुपर्छ । नयाँ संस्कृति सर्वहारावर्गको वर्गसङ्घर्षको उन्नत चेतना, जनमुक्तिको महान् आदर्श र बलिदानी भावबाट प्रेरित हुनुपर्छ । पुरानो संस्कृति, धार्मिक अन्धविश्वास, व्यक्तिगत सम्पत्ति र त्यसबाट पैदा हुने मानसिकताबाट ग्रसित छ भने नयाँ संस्कृति यी सबै चिन्तन प्रणालीबाट मुक्त भएको र श्रम तथा श्रमिक जनतालाई अगाध माया गर्ने सर्वहारा वर्गीय दृष्टिकोणबाट निर्देशित हुने गर्छ ।
दलित समुदायप्रति हेर्ने दृष्टिकोणमा युगौँदेखि सामन्ती संस्कारमा हुर्किएका र विभेदकारी व्यवहारमा अभ्यस्त भए पनि अब हामी सबैले आफ्ना व्यवहारलाई रूपान्तरण गर्न जरुरी छ । दक्षिण एसियाको विशिष्ट समस्याका रूपमा रहेको दलित समस्यालाई नजरअन्दाज गर्नु भनेको दलित समस्याको आफ्नै विशिष्टता र जटिलतालाई नबुझ्नु नै ठहर्छ ।

साँस्कृतिक रूपान्तरणको आवश्यकता
माओले चीनमा जब पार्टी, सत्ता र सेनामा पुँजीवादपन्थीहरूको हाबी हुँदै गयो, तब सन् १९६६ देखि १९७६ सम्म महान् सर्वहारा साँस्कृतिक क्रान्ति चलाउनुभयो । यो सर्वहारा अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्तअनुरूप नै चलाइएको महान् राजनीतिक क्रान्ति थियो । यसको मुख्य उद्देश्य नै शोषक वर्गका पुराना विचार, संस्कृति, रीतिरिवाज र बानीबेहोरालाई क्रान्तिकारी रूपान्तरण गर्नु, पुँजीवादको पुनःस्थापनालाई रोक्नु, आर्थिक आधारसँग मेल नखाने उपरिसंरचनाको रूपान्तरण गर्नु, समाजवादको विजय सुनिश्चित गर्नका लागि भौतिक तथा राजनीतिक आधार तयार पार्दै जाने र संशोधनवादलाई निर्मूल गर्दै विश्व दृष्टिकोणको समस्या हल गर्ने आदि थिए । हाम्रो सन्दर्भमा पनि साँस्कृतिक रूपान्तरणको अभियानलाई निरन्तर रूपमा चलाउन आवश्यक छ । हाम्रो नेपाली समाज विभिन्न जाति, जनजाति, भाषाभाषी र धार्मिक समुदायहरूले भरिएको विविधतायुक्त समाज हो । यहाँ लिच्छविकालदेखि नै सुरु गरी चौधौँ शताब्दीमा संस्थागत गरिएको सामन्ती संस्कृतिको जबरजस्त प्रभावका कारण साँस्कृतिक क्षेत्रमा असाध्यै जटिलता पैदा भएको छ । युगौँयुगदेखिको संस्कृतिद्वारा अभ्यस्त हुँदै आएको नेपाली समाजलाई द्वन्द्वात्मक भौतिकवादी विचार दिएर उनीहरूको विचार, भावना र जीवनशैलीलाई उन्नत बनाउँदै र स्वयम् हामीहरू पनि रूपान्तरित भएर क्रान्तिकारी सिद्धान्तलाई जीवन व्यवहारमा लागू गर्दै जानुपर्छ ।
नेपाल र भारतमा मात्र विशिष्ट रूपमा रहेको दलित समस्या, जसले करोडौँ जनतालाई प्रत्यक्ष प्रभाव पारिरहेको छ, यो समस्यालाई हल नगरीकन उन्नत र वैज्ञानिक तथा सभ्य समाज निर्माण हुनै सक्दैन । दलित समस्या हल हुनु वा नहुनुले विश्व क्रान्तिलाई प्रत्यक्ष प्रभाव पार्ने कुरा निश्चित छ । हरेक मानिसको विचारधारात्मक रूपान्तरण र त्यसको व्यावहारिक प्रयोग गर्नु २१औँ शताब्दीको उच्च चेतना भएका क्रान्तिकारीहरूको अहम् दायित्वभित्र पर्छ । त्यसरीमात्र मानिसको आत्मिक रूपान्तरण हुन्छ । जसबाट दलित समस्या हल गर्न धेरै सहयोग पुग्छ र यसको प्रभाव साँस्कृतिक क्रान्तिमा सकारात्मक ढङ्गले पर्छ । अतः २१औँ शताब्दीका हामी सबै सचेत मान्छेले समाजमा रहेका विकृति र विसङ्गतिका विरुद्धको सङ्घर्षलाई निरन्तरता दिएर समाजको साँस्कृतिक रूपान्तरणमा विशेष भूमिका खेल्न जरुरी छ । 

(रम्तेल संविधानसभाका सदस्य तथा दलित मुक्ति सङ्गठनका नेता हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?