logo
२०८१ बैशाख १६ आईतवार



नेवार जातिभित्र दलित उत्पीडन

विचार/दृष्टिकोण |




परशुराम रम्तेल
नेवारी समुदाय नेपालको एक आदिवासी, नेपालको सन्दर्भमा सामन्तवाद र साम्राज्यवादबाट उत्पीडित जातिहरूमध्ये राजधानीमा बसोवास गर्दै आएको सबैभन्दा विकसित जाति पनि हो । नेवार समुदायको मुख्य थलो काठमाडौँ उपत्यका रहेको र उपत्यकामा सभ्य र समुन्नत संस्कृतिको निर्माण गर्न यो समुदायको महìवपूर्ण भूमिका रहँदै आएको छ । यो समुदायको आफ्नै साझा भाषा, साझा भूगोल, साझा आर्थिक जीवन र सांस्कृतिक मनोविज्ञान छ । नेपालको राजनीतिमा नेवार समुदायभित्र छुवाछूत छ वा छैन, यसजातिभित्र अछूतको दर्जनी लगाइएका दलित समुदाय छन् वा छैनन् भन्ने बारेमा बहस चल्ने गरेका छन् । कुनै पनि समुदाय कुन जाति वा समुदायभित्र पर्छ भन्ने कुरा अनुमानको आधारमा भन्दा पनि ती समुदायको ऐतिहासिक पृष्ठभूमि, उत्पीडनको स्वरूप, भाषिक तथा सांस्कृतिक स्थिति, आर्थिक प्रणालीका आधारमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको विधिद्वारा विश्लेषण गरी किटानी गरिनुपर्छ ।
दलित समस्या सामन्तवादले आफ्नो सत्तालाई सुदृढ र विस्तार गर्ने क्रममा मुख्यतः दक्षिण एसियामा विशिष्ट रूपले आफ्नै चरित्र ग्रहण गरेको विकराल समस्या हो । यो समस्याको प्रकृति र शोषणका रूप पक्षलाई मात्र हेर्ने हो भने यो सामाजिक–सांस्कृतिक समस्या मात्रै भन्ने निष्कर्षतर्फ पुग्न सकिन्छ तर यसका समग्र पाटापक्षलाई गहिरिएर सुक्ष्म र व्याख्यात्मक ढङ्गले विश्लेषण गर्ने हो भने दलित समस्या सारतः हिन्दु सामन्तवादी राज्यसत्तासँग गहिरोसँग अन्तरसम्बन्धित रहेर लामो समयको अन्तरालपछि सांस्कृतिक चरित्र ग्रहण गरेको राजनीतिक समस्या हो । यो वर्गीय राज्यसत्ताको उत्पीडनको भिन्न र जारी रूप हो । वर्गीय राज्यसत्ताको उपजको रूपमा रहेको यसको उत्पत्तिको जरो सही ढङ्गले नठम्याएसम्म यसको हल वैज्ञानिक हुनै सक्दैन । नेपाली राजनीतिमा नेवार जातिभित्र एउटा भिन्नै प्रकारका विशिष्ट उत्पीडन भोगिरहेका नेवारी दलितका बारेमा यो लेखमा छोटो चर्चा गर्न खोजिएको छ ।
उत्पीडनको ऐतिहासिक पृष्ठभूमि
लिच्छविकालको सुरुवातको समयसम्म पनि नेपाल मण्डलभित्र जात प्रथा थिएन । जब लिच्छविहरूले नेपालको शासन सुरुवात गरे, तबदेखि नै नेपालमा वर्णव्यवस्था र जातीय छुवाछूत प्रथा लागू गर्दै नेपाली समाजलाई चार वर्ण र अठार जातमा विभक्त गरियो । लिच्छविकालबाट प्रारम्भ भएको वर्णाश्रम व्यवस्थालाई पछिल्लो चरणमा नेपाल संवत् ५०१ मा राजा जयस्थिति मल्लले नेवारी समाजलाई ६४ वटा जातमा विभाजन गरेको पाइन्छ । लिच्छविकालभन्दा अघिसम्म नेवारी समाजभित्र जात विभाजन पनि थिएन र विभेद पनि थिएन । तर, लिच्छवि राजा सुपुष्प, अंशुवर्मा हुँदै जयस्थिति मल्लसम्म आइपुग्दा हिन्दु वर्णाश्रम व्यवस्थालाई सुदृढ र व्यवस्थित गर्दै जाने क्रममा नेवारी समाजलाई पनि ६४ वटा जातमा विभक्त गरे । जसका कारण नेवारी समुदायभित्रका पनि च्यामे, पोडे, देउला, कुचीकार, नापित ­(हजाम), खड्गी, कपाली, धोबी (रजक) आदि समुदायहरूलाई छुवाछूतको व्यवहार गरिंदै आएको पाइन्छ । उपत्यकाका नेवारी जातिभित्र यी समुदायहरूलाई अझै पनि छुवाछूत, उँच–निच र विभेदको व्यवहार गरिन्छ । अहिले नेवारी दलितहरू दलित हुन् वा होइनन् भन्ने बारेमा ठूलो बहस चलिराखेको छ । स्वयम् नेवार जातिभित्रका यी समुदायका बीचमा पनि आफ्नो समुदाय दलित हो वा होइन भन्ने दाबी जारी नै छ ।
वास्तवमा दलित शब्दको अर्थ र पहिचान दक्षिण एसिया स्तरमा नै एउटै रहँदै आएको छ । किनकि दलित समस्या विश्वमा अन्यत्र कहीँ कतै नभएको र दक्षिण एसियामा विशिष्ट रूपमा रहेको समस्या हो । हिन्दु समाज व्यवस्था वा अन्य सामाजिक व्यवस्थामा समाजको सबैभन्दा तल पिँधमा राखेर असाध्यै अपहेलित गर्दै सबै क्षेत्रबाट पछाडि पारिएका पानी नचल्ने, अछूतको व्यवहार गरिने समुदायलाई दलित समुदाय भनिन्छ । नेपालको सन्दर्भमा यी दलित समुदायहरूलाई तीन भागमा विभक्त गरी दमन र शोषण गरिंदै आएको पाइन्छ । पहिलो आर्यन खस जातिभित्र पर्ने दलित समुदायहरू, दोस्रो आर्य–द्रविड मिश्रित मधेशी जातिभित्र पर्ने दलित समुदायहरू र तेस्रो नेवारी जातिभित्र पर्ने दलित समुदायहरू छन् । तीन वटै दलित समुदायको आ–आफ्नै भाषा, संस्कृति, भूगोल, आर्थिक प्रणाली र मनोवैज्ञानिक बनावट रहेका छन् । जातिगत हिसाबले हेर्दा आर्यन खस जातिभित्रका दलित जसलाई हामी पहाडिया दलित पनि भन्ने गर्दछौँ, उनीहरूको भाषा, संस्कृति, भूगोल, आर्थिक प्रणाली र मनोवैज्ञानिक बनावट आर्य जातिसँग नै मेल खान्छ । आर्य–द्रविड मिश्रित मधेशी जातिभित्रका दलित समुदायका भाषा, संस्कृति, भूगोल, आर्थिक प्रणाली र मनोवैज्ञानिक बनावट पनि मधेशी समुदायसँग नै मेल खान्छ । नेवारी जातिभित्रका दलित समुदायको भाषा, संस्कृति, भूगोल, आर्थिक प्रणाली र मनोवैज्ञानिक बनावट पनि नेवार समुदायसँग नै मेल खान्छ ।
नेपालका दलितहरू तीन वटा जातिमा विभक्त भए पनि सारतः र अन्ततः उनीहरूको साझा उत्पीडन भनेको हिन्दु वर्णाश्रम व्यवस्थाद्वारा जबर्जस्त रूपमा लादिएको छुवाछूतको समस्या नै हो । यद्यपि आर्थिक र शैक्षिक अवस्था फरक हुन सक्छ तर पनि सामाजिक–सांस्कृतिक अवस्था भने उही नै छ । यसर्थ, नेपालका दलित समुदाय कुनै एक जाति विशेषमा मात्रै विभक्त छैनन् । यसो हुँदा नेपालका दलितहरू जाति नभएर समुदाय हुन् । तीन वटा जातिभित्रका अछूत मानिएकाहरूको समूह दलित शब्दबाट स्थापित हुँदै आएको छ ।
दलित हुन् कि होइनन् ?
ऐतिहासिक पृष्ठभूमि, उत्पीडनको स्वरूप, विगतको दलित मुक्ति आन्दोलनमा नेवारी दलितको भूमिका र वर्तमानको सामाजिक अवस्था सबैलाई राम्रोसँग अध्ययन गर्ने हो भने पनि नेवारी समुदायभित्रका च्यामे, पोडे, देउला, कुचीकार, नापित, खड्गी, कपाली, धोबी आदि समुदाय दलित नै भएको पुष्टि हुन्छ । नेवार समुदायका एक विशेषज्ञ मल्ल के. सुन्दर भन्नुहुन्छ, ‘नेवाः समाजभित्र जात प्रथा अनि नेवाः दलित छूत–अछूतको व्यवहार नभएको होइन, अनि आफूलाई सम्भ्रान्त भन्ने एउटा वर्ग नेवाः समाजको पछि पारिएका समुदायले संस्कृति, संस्कार र परम्पराको नाममा माथिल्लो जात र तल्लो जात भनी पनपक्ष गर्ने गरिएको पनि त्यत्तिकै सत्य हो ।” (ह्याउँ निभा पेज नं. ५५ ) उहाँको भनाइले के पुष्टि गर्छ भने नेवार जातिभित्र छुवाछूत प्रथा रहिआएको र दलित समुदायलाई त्यो प्रथा भोग्न बाध्य पारिएको पुष्टि हुन्छ । त्यसैगरी नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालका केन्द्रीय सदस्य गणेश खड्गी भन्नुहुन्छ– ‘नेवारी समुदायमा तल्लो जात भनिएका मध्ये नाय (खड्की), जोगी (कपाली), नापित आदि जाति–थरहरूलाई छुवाछूतको व्यवहार गरिन्छ । कतिपय स्थानमा नकर्मी, मानन्धर, प्रजापतिलाई पनि यो प्रथा लागू गरेको पाइन्छ ।’’ (ह्याउँ निभा पेज नं. ६७) । उहाँको भनाइबाट पनि प्रष्ट हुन्छ, नेवारी समाजमा अझै पनि छुवाछूत यथावत नै छ । आर्यन र मधेशी जातिमा पनि केही ठाउँमा दलितहरूलाई छुवाछूत गरिँदैन । यसो हँुदा वर्तमानमा छुवाछूतमा कमी भए पनि वा बढी नै रहे पनि विगत ऐतिहासिक कालदेखि नै छुवाछूतको समस्या भोग्दै आएका र अहिले पनि समाजको पुरानो पुस्ताले सहज रूपमा अरू समुदाय सरह स्वीकार्न नसकेको समुदाय नै दलित हुन् । उपत्यकाको सन्दर्भमा पनि बुढा–पुराना पुस्ताले नेवारी जातिभित्रका दलित समुदायलाई अरू सरह सामाजिक–सांस्कृतिक मान्यता दिन सकिरहेका छैनन् । यद्यपि नेवारी दलितभित्रका खड्गी र कपालीहरूको आर्थिक स्थिति भने निकै नै सुध्रिएको छ ।
हो, नेवार समुदायमा छुवाछूत अझै पनि विद्यमान छ र त्यहाँका दलितहरू पनि उत्पीडन भोगिरहेकै छन् । नेवारी दलितहरूको अवस्थिति उपत्यकामा नै भए पनि राज्यसत्ताका कुनै पनि अङ्गहरूमा उनीहरूको उपस्थिति छैन । राजनीतिक, आर्थिक, सामाजिक–सांस्कृतिक लगायत सामाजिक जीवनका सबै क्षेत्रबाट नेवारी दलितहरूलाई सुनियोजित तरिकाले नै पछाडि पारिएको छ । अहिले एकाथरि नेवारी दलितहरू आफू दलित नभएको जिकिर गरिरहेका छन् भने अर्काथरि आफू दलित नै भएको जिकिर पनि गरिरहेका छन् । हामी अहिले दलित समस्याको व्यापक छलफल र विश्लेषण गरी यो समस्याको चुरो कारणको पहिचान पश्चात् वर्गीय राज्यसत्तासँग जोडेर सङ्गठित ढङ्गले आन्दोलनको माध्यमद्वारा वैज्ञानिक र दुरगामी हल गर्नको लागि दलित समस्या उठाइरहेका छौँ । हामी सधैँ दलित बन्नका लागि नभएर विगतमा खोसिएका अधिकारहरूको पूर्ण प्राप्ति गर्दै दलित समस्याहरूबाट पूर्ण मुक्ति पाउनका लागि अहिले दलित बनिरहेका छौँ र दलित सङ्गठनमार्फत दलित मुतिm आन्दोलनको छलफल चलाइरहेका छौँ । दलित होइन भन्दैमा दलित समस्या र उत्पीडन अन्त्य हुने वा हो भन्दैमा रहिरहने भन्ने प्रश्न होइन । प्रश्न त दलित समस्या र उत्पीडनको वैज्ञानिक हल कसरी गर्ने भन्ने नै हो ।
दलित पहिचान आन्दोलन
दलित समुदायले अब आफू दलित भएकोमा हिनताबोध होइन, गर्व गर्नुपर्छ । हामीलाई विगत सदियौँ वर्षदेखि सामन्ती शासकहरूले आफ्नो सत्ता टिकाउने रणनीतिअन्तर्गत दलित बनाएका हुन् । वास्तवमा हामी ऐतिहासिक श्रमिक वर्ग हौँ । सीप र कलाका पारखी इन्जिनियरहरूको समूह पनि हौँ । त्यसकारण हामी दलित भएकोमा हिनताबोध होइन, बरु आफ्ना पुर्खाहरू मान्छेको परिभाषा गर्न पनि नजान्ने कति जङ्गली र असभ्य रहेछन् भनेर गैरदलितले हिनताबोध गर्नुपर्छ । हामी त स्वाभिमानी र इमानदार समुदायभित्र परेको हुनाले गर्व गर्न सक्नुपर्छ । त्यसकारण नेवारी दलितहरूले छुवाछूतको उत्पीडन आफ्नो समाजमा रहिरहेर र भोगिरहेर विशुद्ध नेवार हुँ भनी खोक्रो गर्व गर्नुभन्दा पनि आफूमाथि भएको दलित उत्पीडनको विरूद्ध निर्मम ढङ्गले जुध्दै नेवारी दलित हुँ भनेर गर्व गर्न सक्नुपर्छ । आफूलाई अरू उत्पीडक नेवार सरहभन्दा पनि अरू थप विशेषाधिकार चाहिन्छ भनेर लड्न सक्नुपर्छ । उत्पीडनको प्रकृति दलितकै रहिरहने तर दलित होइन भन्नु गैर माक्र्सवादी कुरा हुन जान्छ । नेपालको राजनीतिमा दलित समुदायलाई विशेषाधिकारको व्यवस्था हुनुपर्ने कुराको लगभग राजनीतिक सहमति बन्दै गएको छ । तर, विडम्बना नेवारी दलितहरू आफू उत्पीडन पनि भोगिरहने अनि दलित पनि होइनौँ
भन्नु अभागीलाई खाने बेलामा रिस उठ्छ’ भन्ने उखानसँग मेल खान्छ ।
नेवारी दलितहरू भाषागत, जातिगत, भूगोल, आर्थिक प्रणाली र मनोवैज्ञानिक बनावटको हिसाबले पनि नेवारी जाति नै हुन् भने उत्पीडनका हिसाबले दलित पनि हुन् । त्यसकारण आफू नेवारी दलित भएको कुरामा प्रष्टताका साथ गर्व गर्दै आगामी दिनमा विशेषाधिकारको मुद्दालाई केन्द्रबिन्दुमा राखेर सङ्गठित ढङ्गले नेपाली दलित मुक्ति आन्दोलनमा गोलबन्द हुनुपर्छ । नेपाली दलित मुक्ति आन्दोलनलाई सर्वहारा वर्गीय आन्दोलनमा उचित ढङ्गले समायोजन गरेर मात्र नेवारी दलितलगायत समग्र दलित समुदायको पूर्ण मुक्ति सम्भव छ ।
(लेखक संविधानसभाको सदस्य तथा दलित मुक्ति सङ्गठनका नेता हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?