कृष्णप्रसाद भण्डारी
मानिसको जीवनचक्र प्रणालीभित्रको बुढ्यौली एउटा पक्ष हो । जीवनको उत्तराद्र्धको अवस्थामा ज्येष्ठ नागरिकले खोज्ने मान–सम्मान एवम् अनुभवको आदान–प्रदान नै हो । जीवनका अनेकौँ मोडलाई पार गर्दै ज्येष्ठ नागरिकले आर्जन गरेका अमूल्य ज्ञान, सीप तथा अनुभव नयाँ पुस्ताका लागि प्रेरणादायी हुन्छन् ।
नेपालको संविधान २०७२ को धारा ४१ मा ज्येष्ठ नागरिकको हकलाई सुरक्षित गरेको छ । ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भनी संविधानमा स्पष्ट लेखिएको छ । विगतमा पनि ज्येष्ठ नागरिकका सवाललाई सम्बोधन गर्नेक्रममा सरकारीस्तरबाट केही महŒवपूर्ण व्यवस्था भएका थिए । ज्येष्ठ नागरिक राष्ट्रिय कार्ययोजना–२०६२ ज्येष्ठ नागरिक ऐन– २०६३, ज्येष्ठ नागरिक नियमावली–२०६५, ज्येरियाट्रिक वार्ड (स्थापना तथा सञ्चालन) निर्देशिका–२०७० जस्ता कानुनी व्यवस्थाका साथसाथै सार्वजनिक सवारीसाधनमा ज्येष्ठ नागरिकलाई छुट र सुविधा दिने निर्देशिका–२०७० जारी भएको थियो ।
साथसाथै विक्रम संवत् २०५१ बाट नेपाल सरकारले ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप सामाजिक सुरक्षा भत्तासमेत उपलब्ध गराउँदै आएको छ । मनमोहन अधिकारीको प्रधानमन्त्रीत्वकालमा सुरु गरिएको सामाजिक सुरक्षा भत्ताको सुविधा आज ज्येष्ठ नागरिकका लागि कोसेढुङ्गा प्रमाणित भएको छ । अहिले सबै राजनीतिक दलबाट ज्येष्ठ नागरिक भत्ता वृद्धिको प्रतिबद्धता जाहेर हुनु यसै पृष्ठभूमिको परिणाम हो ।
कानुनी व्यवस्था
ज्येष्ठ नागरिकसम्बन्धी ऐन–२०६३ को दफा ९ मा भएको व्यवस्थाअनुसार पहिलो, सार्वजनिक सवारीसाधन, सार्वजनिक कार्य, स्वास्थ्य सेवा, धार्मिक तथा सार्वजनिक स्थलमा ज्येष्ठ नागरिकलाई आवश्यक सेवा सुविधा र सहयोग प्रदान गर्नु गराउनु सबैको कर्तव्य हो ।
दोस्रो, नेपाल सरकारले सार्वजनिक सूचना प्रकाशन गरी तोकिएको सार्वजनिक सवारीसाधनमा सम्बन्धित सवारीधनी वा सञ्चालकले ज्येष्ठ नागरिकका लागि कम्तीमा दुईवटा सिट सुरक्षित राख्नुपर्नेछ र निजलाई यात्रु भाडादरमा कम्तीमा ५० प्रतिशत छुट दिनुपर्नेछ ।
तेस्रो, स्वास्थ्य सेवा प्रदान गर्ने प्रत्येक संस्थाले ज्येष्ठ नागरिकलाई प्राथमिकता दिई स्वास्थ्य सेवा प्रदान गर्नुपर्नेछ । चौथो, नेपाल सरकारले तोकेको स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाले नेपाल सरकारले तोकेको सङ्ख्यामा ज्येष्ठ नागरिकले त्यस्तो संस्थामा उपचार गराउँदा लाग्ने शुल्कमा कम्तीमा ५० प्रतिशत छुट दिनुपर्नेछ । पाँचौँ, खानेपानी, बिजुली, टेलिफोनलगायत सार्वजनिक सेवा प्रदान गर्ने अन्य संस्थाले सेवा प्रदान गर्दा ज्येष्ठ नागरिकलाई प्राथमिकता दिनुपर्नेछ । छैटौँ, यस दफामा उल्लिखित छुट र सुविधाको अतिरिक्त नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी ज्येष्ठ नागरिकलाई समय–समयमा अन्य सेवा र सुविधा दिन सक्नेछ भन्ने उल्लेख छ ।
यसैगरी, ज्येरियाट्रिक वार्ड (स्थापना तथा सञ्चालन) निर्देशिका– २०७० को पृष्ठभूमिमा “ज्येष्ठ नागरिकको उमेरका कारणले शारीरिक तथा मानसिक स्वास्थ्यमा पर्न सक्ने असरलाई न्यूनीकरण गरी तिनीहरूका आधारभूत हक–अधिकारको संरक्षण गर्दै समाजमा सुरक्षित जीवनयापनको अवसर सुनिश्चित गर्न र ज्येष्ठ नागरिकका लागि उपचारात्मक सेवा प्रदान गर्न प्रचलित कानुनले प्रदान गरेका सुविधा उपलब्ध गराउन नेपालका विभिन्न अस्पतालमा ज्येरियाट्रिक वार्डको स्थापना गर्न आवश्यक भएकाले” भन्ने उल्लेख छ ।
सर्वोच्च अदालतबाट २०६७ चैतमा ज्येष्ठ नागरिक ऐन–२०६३ को दफा ९ (२) को व्यवस्थालाई सार्वजनिक सूचना प्रकाशित गरी यथाशीघ्र कार्यान्वयन गर्न परमादेशसमेत जारी भएको छ । आदेशमा ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने तथा उहाँहरूको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गर्नपर्ने पनि निर्देश गरिएको छ ।
ज्येष्ठ नागरिकका समस्या
राज्यले ऐन, नियम, निर्देशिका, कार्यविधिलगायतको पर्याप्त व्यवस्था गर्दागर्दै पनि आज ज्येष्ठ नागरिक आफ्ना कानुनले सुनिश्चित गरेका सेवा र सुविधाबाट वञ्चित छन् । पीडित छन् । समस्या विश्वासको सङ्कट नै हो । ज्येष्ठ नागरिकको सवालमा राज्यले केही प्रयत्न र प्रयास गरे पनि आमनागरिकलाई राज्यप्रति विश्वास छैन । ज्येष्ठ नागरिकका हकमा बनेका कानुनको कार्यान्वयन फितलो भएकै कारण अविश्वास बढेको छ ।
सरकारीस्तरबाट सञ्चालन भएको पशुपति वृद्धाश्रमदेखि संस्थागत रूपमा व्यक्तिको नेतृत्वमा चलेका केही वृद्धाश्रमको व्यवस्थापनप्रति आमनागरिकको गुनासो छ । विधिको शासनको अनुभूति नहुँदा र दण्डहीनता मौलाउँदा सरकार र सङ्घ संस्थाप्रति वितृष्णा पैदा भएको अवस्था छ । भाडामा छुट दिने कानुन भएर पनि ज्येष्ठ नागरिकले सार्वजनिक सवारीसाधनमा अपमानित हुनुपरिरहेको छ ।
सरकारी अस्पतालमा छुट नपाइरहेको अवस्था छ । सेवाप्रदायक निकाय सरकारी अड्डा, अदालत, बैङ्क, खानेपानी, टेलिफोन र विद्युत् कार्यालयलगायत सार्वजनिक सेवा प्रदान गर्ने अन्य सम्बन्धितले सेवा प्रदान गर्दा ज्येष्ठ नागरिकलाई प्राथमिकता दिनुपर्ने कानुनी व्यवस्था लागू हुन सकेको छैन । घरपरिवारमा समेत ज्येष्ठ नागरिक अपमानित भएको गुनासो प्रशस्तै देख्न सुन्न पाइन्छ ।
सरकारी प्रतिबद्धता
आस्थाका धरोहर ज्येष्ठ नागरिकका हकमा बनेका उल्लिखित कानुनी व्यवस्थासम्बन्धमा सरकारको गम्भीर ध्यानाकर्षण हुन जरुरी छ । तीनै तहका सरकारले प्रत्येक क्षेत्रबाट प्रदान गरिने सेवा र सुविधाका विषयमा सरकारका मन्त्रीस्तरबाट चासो लिएर प्रचलित विषयमा कानुनको कार्यान्वयनमा जोड दिने हो भने ज्येष्ठ नागरिकको पीडामा मलहमपट्टी गर्न सकिनेछ । हुन त ज्येष्ठ नागरिक ऐन–२०६३ संशोधन प्रक्रियामा रहेको छ ।
संशोधित ऐनले ज्येष्ठ नागरिकप्रति परिवारका सदस्यको कर्तव्यलाई परिभाषित गरिएको सन्दर्भले ज्येष्ठ नागरिकको समस्यालाई चिर्न सहयोग पुग्ने विश्वास लिन सकिन्छ । अब गर्नुपर्ने कानुनी व्यवस्थाका साथसाथै नैतिक शिक्षाका माध्यमबाट व्यावहारिक रूपमा ज्येष्ठ नागरिकको बुढ्यौली जीवनलाई सुखद बनाउनुपर्नेछ । सरकारले सकेसम्म घरपरिवारमानै ज्येष्ठ नागरिकको बुढ्यौली जीवनलाई सुखद तुल्याउन प्रयास गर्नुपर्छ ।
ज्येष्ठ नागरिकको बुढ्यौली जीवन भयावह बनिरहेको आजको सन्दर्भमा समुदायबाट सञ्चालित वृद्धाश्रम, दिवा सेवाकेन्द्र, चौतारी आदिलाई कानुनको मापदण्डअनुसार चलाउन सक्नुपर्छ ।
कुनै पेसा वा व्यवसायमा आर्जन गरेको छविको संरक्षण स्वयम् व्यक्तिले गर्नुपर्ने हुन्छ । आफ्नो बालापनदेखि सेवानिवृत्त जीवनसम्ममा गरेका गृहस्थ कर्मले आफ्नो परिवारप्रतिको दायित्वबाट मुक्त भइसकेको अवस्थामा ज्येष्ठ नागरिकले गर्ने काम समाजसेवा नै हो । जीवनमा कसैलाई बिझाउने काम गर्नेतिर यथाशक्य नलाग्नुपरोस्, जसले गर्दा जीवनको सन्तुष्टि र सुख आनन्दमा खलल पुगी चिन्तामा बाँच्नुपरोस् ।
बुढ्यौली अवस्थाको जीवनमा प्रवेश गर्दैगर्दा आत्मसात् गर्नुपर्ने चिन्ताहरण विषय पर्छन् । हाम्रो प्राचीन परम्परामा उमेरको एक अवस्थापछि घरमै बसे पनि निस्पृह अवस्थामा रही आफूले सकेसम्म कल्याणकारी काममात्र गर्ने गरिन्थ्यो । गृहस्थ हुँदा पूरा गर्नुपर्ने सबै कर्तव्यलाई पूरा गरिसकेपछि २१औँ पुस्ताको चिन्ता गरेर आफ्नो दिनचर्यालाई भोग र रोगको चपेटामा पार्नुभन्दा “सर्वे भवन्तु सुखिन....” को भावनाले ज्येष्ठ नागरिकको बुढ्यौली जीवनलाई सुखद बनाउनु सकिन्छ ।
हाम्रो संस्कृतिको मूल्य–मान्यता र दर्शनले हजुरबुवा–हजुरआमा र बाबुआमालाई आफ्ना नातिनातिना र छोराछोरीले अत्यन्त सम्मान र आदर्शको व्यवहार गर्नुपर्ने मान्यता स्थापित गरेको छ । उमेरले आफूभन्दा जेठा सबै व्यक्तिलाई उच्च आदरभावले सम्मान गर्नुपर्ने हाम्रो विशिष्ट विशेषता नै हो । यस अर्थमा ज्येष्ठ नागरिक आस्थाका धरोहर हुन् । उनीहरू अनुभव र ज्ञानका खानी भएकै हुँनाले “आगो ताप्नु मुडाको कुरा सुन्नु बूढाको” भन्ने उक्ति प्रचलित छ ।
(लेखक उपभोक्ताअधिकारकर्मी हुनुहुन्छ ।)