logo
२०८१ बैशाख १७ सोमवार



पाठेघर मुखको क्यान्सर

विचार/दृष्टिकोण |




किशोरकुमार प्रधानाङ

विश्वमा देखिएका महिलामा हुन क्यान्सर रोगमध्ये पाठेघरको मुख (गर्भाशय) को क्यान्सर प्रमुख रहेको छ । पाठेघरको मुखमा असामान्य परिवर्तन हुन गई त्यहाँ रहेका कोष–कोषिकामा अनावश्यक, असमान्य र अनियन्त्रित रूपले वृद्धि भएका गिर्खा वा घाउलाई पाठेघर मुखको क्यान्सर भनिन्छ । यो क्यान्सरलाई रोकथाम गर्न सकिने र सुरुकै क्यान्सर लाग्नुभन्दा अगाडिको अवस्थामा पत्ता लगाई आवश्यक उपचार गरेमा पूर्णतया निको पार्न सकिन्छ ।
विश्व स्वास्थ्य सङ्घ (डब्लुएचओ)को तथ्याङ्कअनुसार हरेक वर्ष पाँच लाखजनालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको र दुई लाखको मृत्यु हुने गरेको छ । हाम्रोजस्ता विकासशील देशका आठहजार महिलाको मृत्यु हुने गरेको छ । विश्वमा हरेक दिन ५४८ जना, प्रत्येक घण्टा २३ जनाको मृत्यु हुने गरेको छ ।
हाम्रो देशमा अज्ञानता, शिक्षाको कमी, गरिबी र स्वास्थ्य केन्द्रको अभावका कारण समयमै उपचार गर्न नसक्दा पाठेघरको क्यान्सरबाट बर्सेनि थुप्रै महिलाको मृत्यु हुने गरेको छ । नेपालमा क्यान्सर रजिष्ट्रीको तथ्याङ्कअनुसार अन्य क्यान्सरभन्दा बढी १८ हजार पाँचसय महिलालाई पाठेघर मुखको क्यान्सर
हुने गरेको छ ।
विश्व स्वास्थ्य सङ्घको सन् २०१८ को तथ्याङ्कअनुसार नेपालमा महिलालाई हुने क्यान्सर ः
पाठेघर मुखको क्यान्सर ः २,९४२ (१८.५ प्रतिशत )
फोक्सो क्यान्सर ः २,१४३ (१३.५ प्रतिशत )
स्तन क्यान्सर ः २,०६८ (१३.० प्रतिशत )
पित्तथैली क्यान्सर ः ९४३ (५.९ प्रतिशत )
कोलोरेक्टम क्यान्सर ः ९१८ (५.८ प्रतिशत )
अन्य क्यान्सर ः ६,८९८ (४३.४ प्रतिशत )
जम्मा देखिएको क्यान्सर ः २६,१८४

प्रमुख कारण

१५÷१६ वर्षको उमेरमा विवाह हुनु वा यौन सम्पर्क गर्दा, कम उमेरमा विवाह गर्दा वा बच्चा जन्माउनेलाई यो क्यान्सर हुन सक्छ । एकअनुसार १७ वर्षको उमेरमा बच्चा जन्माउनेलाई भन्दा २५ वर्षपछि बच्चा जन्माउनेलाई यो क्यान्सर हुने सम्भावना एकदमै कम हुन्छ । तीन÷चारवटा भन्दा बढी बच्चा जन्माउने र जन्मान्तरको अन्तर पनि दुई÷तीन वर्ष भन्दा कम हुनेलाई यो क्यान्सर बढी हुने गरेको छ । पाठेघर मुखमा ह्युमेन पापिलोमा भाइरसको सङ्क्रमणले हुने महिलालाई ७० प्रतिशतभन्दा बढी यो क्यान्सर हुने सम्भावना हुन्छ । महिलाले एकभन्दा बढी व्यक्तिसँग सम्पर्क गरेमा पुरुषको माध्यमबाट ह्युमेन पापिलोमा भाइरसको सङ्क्रमण भएर क्यान्सर हुने जोखिम बढेर जान्छ । गुप्ताङ्ग सरसफाइ नगर्ने र यौन अङ्गको सरुवा रोग वा सङ्क्रमण भएको महिलालाई हुन सक्छ । चुरोट, बिँडी, खैनी, तम्बाखु र सुर्तीजन्य पदार्थको सेवन गरेमा पनि यो क्यान्सर हुने सम्भावना बढी हुन्छ । आर्थिक अवस्था कमजोर हुने, रोग प्रतिरोध क्षमता कम भएको आदि कारणले पनि पाठेघर मुखको क्यान्सर हुन्छ ।

प्रमुख लक्षण

पाठेघरको मुखमा कोषको वृद्धि भएर असहज महसुस हुने वा घाउ देखिने । महिनावारी हुँदा धेरै दिनसम्म वा बढी मात्रामा रगत बग्नु । महिनावारी हँुदा रगत बढी देखिनु, धेरै दिनसम्म रगत देखिनु, महिनावारी अनियमित हुनु आदि । यौन सम्पर्कपछि रगत आउनु पनि पाठेघर क्यान्सरको प्रमुख लक्षण हो । यौन सम्पर्क गर्दा दुख्ने समस्या हुन्छ । महिनावारी बन्द भइसकेका महिलाको योनीबाट रगत आउनु । गुप्ताङ्गबाट असामान्य तथा अस्वाभाविक तरल पदार्थ बग्नु ।
उपरोक्त कुनै पनि लक्षण देखापरेमा तुरुन्त नजिकको स्वास्थ्य संस्था वा सम्बन्धित अस्पतालमा
सम्पर्क राख्नुपर्छ ।

निदान विधि

पाठेघर मुखको क्यान्सरको लाग्न लागेको आठ÷दस वर्ष अगाडिको सुरुको अवस्थामा निदान गरी उपचार गर्न सकियो भने यो क्यान्सर लाग्दैन । यो क्यान्सरको निदान निम्नपरीक्षणबाट सजिलैसँग गर्न सकिन्छ । पाठेघरको मुखको क्यान्सरको निदानका लागि गर्भाशयको स्राव परीक्षण विवाहित महिलाले प्रत्येक दुई वर्षमा प्याथोलोजी चिकित्सक भएको अस्पतालमा गर्नुपर्छ । यस परीक्षणबाट पाठेघर मुखको क्यान्सर लाग्नभन्दा आठ÷दस वर्ष अगाडिको अवस्था
थाहा पाउन सकिन्छ ।
भीआईए परीक्षण ः यो परीक्षण एकदमै साधारण र तालिमप्राप्त नर्सिङ स्टाफले हेल्थ सेन्टरमै गर्न सक्छ । यसमा ५∞ एसेटिक एसिड डिस्टिल वाटरमा मिसाएर कपासमा भिजाई पाठेघर मुखमा लगाएर केही सेतो दाग छ कि भनेर हेरिन्छ ।
एचपीभीडीएनए परीक्षण ः
यो एचपीभीडीएनए परीक्षण महँगो पर्छ तर भरपर्दो परीक्षण हो । यसमा पाठेघर मुखमा ह्युमेन पापिलोमा भाइरस को सङ्क्रमण छ÷छैन भनेर हेर्न मलेकुलर ल्याबमा परीक्षण गर्नुपर्छ । कल्पोस्कोपी परीक्षण ः यो परीक्षण पाठेघरको मुखमा केही खराबी देखिएमा दूरबिन भएको मेसिनको मद्दतले सम्बन्धित चिकित्सकले हेर्ने गर्छ ।
बायोप्सी परीक्षण ः
पाठेघरको मुखमा केही असामान्य लक्षण देखिएमा प्रभावित भागबाट मासुको सानो टुक्रा निकाली प्याथोलोजी चिकित्सकसँग जचाउनुपर्छ ।

गर्भाशय स्राव परीक्षण

गर्भाशयको मुखको क्यान्सर पत्ता लगाउनका लागि गर्भाशयको स्राव परीक्षण गर्नु जरुरी छ । हाल विश्वका धेरै विकसित देशमा त्यहाँको सरकारले स्वास्थ्य बीमाको माध्यमले निःशुल्क परीक्षण गर्ने व्यवस्था गरेको हुनाले महिलाको मृत्यु एकदमै कम सङ्ख्यामा हुने गरेको छ । तर, हाम्रो देशमा यो परीक्षणको निःशुल्क व्यवस्था नभएको हुनाले क्यान्सर बढिरहेको छ । यो परीक्षण गर्नु अत्यन्त आवश्यक छ किनभने यसले गर्भाशयका कोष–कोषिका सामान्य रहेका वा नरहेको जानकारी गराउँछ । यो परीक्षणबाट गर्भाशयको मुखमा क्यान्सर भएको छ÷छैन वा क्यान्सर लाग्नुभन्दा आठ÷दस वर्ष अगाडिकै अवस्थामा पत्ता लगाई उपचार गरेमा रोकथाम गर्न सकिन्छ ।
सबै विवाहिता वा यौनजीवनमा आबद्ध भएको तीन वर्षपछि महिला सबैले यो परीक्षण गराउनु जरुरी छ । महिनावारी भएको सात दिनपछि वा केही यौन अङ्गमा औषधि प्रयोग गरेको तीन दिनपछि स्राव परीक्षण गर्नुपर्छ । पाठेघरको स्राव परीक्षण प्रत्येक दुई÷दुई वर्षमा
सबैले गर्नुपर्छ ।
 

भीआईए परीक्षण

पाठेघर मुखको क्यान्सर हुन सक्ने सम्भावना रहेको वा नरहेको अवस्था पत्ता लगाउने एकदमै सजिलो र साधारण परीक्षण विधि हो । यो परीक्षण प्रायजसो समुदायमा वा अस्पतालमा साधारण तालिमप्राप्त नर्सिङ स्टाफले गर्न सक्छ । यो परीक्षण सबैले गर्नु अत्यन्त आवश्यक छ । यदि असामान्य वा पाठेघर मुखको क्यान्सरको पूर्वअवस्था छ भने तुरुन्त त्यहीँ उपचार गरी निको पार्न सकिन्छ । गर्भवती महिलाले पनि यो परीक्षण गराउन सक्छन् तर पाठेघरको अप्रेसन गरी निकालेको महिलाले परीक्षण गराउनुपर्दैन । यो परीक्षण गर्दा महिलालाई कुनै किसिमको पीडा हँुदैन । यो परीक्षण गर्दा पाठेघरको मुखमा केही असमान्य सेतो दाग देखेमा तुरुन्त चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहअनुसार आवश्यक अन्य परीक्षण तथा क्रायो मेसिनको सहायताले कार्बनडाइअक्साइड वा नाइट्रस अक्साइड चिसो ग्यासले सेकेर उपचार गरिन्छ वा थर्म कोगलेसन मेसिनबाट तुरुन्तै उपचार गर्नु सकिन्छ, जसले गर्दा क्यान्सर हुन पाउँदैन । सुरुकै अवस्थामा यो रोग पत्ता लगाई समुचित उपचार गरेमा पाठेघरको मुखको क्यान्सर पूर्णतया निको पार्न सकिन्छ । पाठेघर मुखमा सुरुकै अवस्थामा क्यान्सर निदान भएको छ भने रोग लागेको भाग वा अङ्गलाई अप्रेसन गरी निकाल्नुपर्छ । प्रायः सबै क्यान्सरको चारवटा अवस्था हुन्छ । सुरुको अवस्था पहिलो अवस्थामा पाठेघर निकाल्ने गरिन्छ र दोस्रो अवस्थामा पाठेघर साथै दुवैतिरको ग्रन्थीसमेत निकाल्नुपर्छ । रोग फैलिसकेको अवस्थामा अप्रेसन गर्न मिल्दैन र अरू उपचार गर्नुपर्छ ।
(लेखक काठमाडौँ क्यान्सर सेन्टर अस्पताल,ताथली, भक्तपुरका कार्यक्रम निर्देशक हुनुहुन्छ । )

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?