डा.दिलनाथ दंगाल
तीन वर्षयता लगातार उच्च आर्थिक वृद्धिदर हासिल गरिरहेको नेपालको अर्थतन्त्र कोरोनाका कारणले यो वर्ष बढीमा दुई प्रतिशतसम्म हुने राष्ट्रिय योजना आयोग, केन्द्रीय तथ्याङ्क विभाग तथा नेपालका विकास साझेदार निकायहरू एसियाली विकास बैङ्क, विश्व बैङ्क एवम् अन्तर्राष्ट्रिय मुद्राकोषले प्रक्षेपण गरेका छन् । यद्यपि, हाल एक प्रतिशतको हाराहारीमा मात्र वृद्धिदर रहेको अनुमान छ । तर, सबै अवस्थामा प्रतिशतले मात्र वास्तविक उपलब्धि नदेखाउने हुनाले हामी कहाँ छाँै भन्नका लागि आर्थिक वृद्धिदरमात्र हेरिँदैन । यसका लागि हाम्रो अर्थतन्त्रमा रोजगारी कतिले वृद्धि भयो, गरिबी कति घट्यो, उत्पादन कति बढ्यो भन्ने कुराले महŒव राख्छ ।
नेपाल राष्ट्र बैैङ्कले उपभोक्ता मूल्य सूचकाङ्का आधारमा मुद्रा स्फीति दर तीन दशमलव ५६ प्रतिशत रहेको छ भने पनि गैरसरकारी क्षेत्रहरूले छ दशमलव पाँच प्रतिशत रहेको अनुमान गरेका छन् । यसले अघिल्लो वर्षको तुलनामा यो वर्ष बजारमा वस्तु महँगो भएको जनाउँछ । यहाँ गरिबीको रेखामुनि रहेको जनसङ्ख्या १८ दशमलव ७ प्रतिशत छ भने प्रतिव्यक्ति आय एक हजार ८५ अमेरिकी डलर रहेको छ । माघ मसान्तसम्मको तथ्याङ्क हेर्ने हो भने हामीले आठ खर्ब तीन अर्ब ६० करोडबराबरको वस्तु तथा सेवाको आयात र ६९ अर्ब ९१ करोडको मात्र निर्यात गरेर सात खर्ब ३३ अर्बबराबरको व्यापार घाटा सहेको अवस्था छ भने २१ प्रतिशत मानिसले मात्र सुरक्षित खानेपानी उपभोग गरिरहेका छन् ।
भर्खरै अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्ष २०७७÷०७८ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै १४ खर्ब ७४ अर्ब ६४ करोड रुपियाँको बजेटको आकारलाई एक खर्ब ३० अर्बले घटाउनुभएको छ । यसले पुँजीगत खर्च पनि सँगै घटाउँछ, जसले गर्दा विकासमा खर्चको कमी हुने सम्भावना बढेर जान्छ । पुस मसान्तकै तथ्याङ्क हेर्ने हो भने पुँजीगत खर्चतर्फ १४ प्रतिशतमात्र हुन गएको छ । यो खर्च अघिल्लो वर्षमा १५ प्रतिशत थियो तर साधारण खर्च भने ३६ प्रतिशत रहेको तथा अघिल्लो वर्षको सोही अवधिमा ३२ प्रतिशतमात्र रहेको थियो । यसरी छ महिनाको अवधिमा १४ प्रतिशतमात्र पुँजीगत खर्च हुँदा बाँकी छ महिनामा ८६ प्रतिशत खर्च गर्नुपर्ने अवस्था आउँछ । यसो हुन जाँदा विकास खर्च गर्ने अनुपात मिल्दैन, जसले गर्दा विकासमा बाधा पुग्ने र बजेट सधँै असारे विकासमा खर्च हुने अवस्था रहिरहन्छ । यो नै हाम्रो विकासको मूल बाधक हो ।
हाल विदेशी मुद्र्राको सञ्चिती भने यो आर्थिक वर्षको छ महिनालाई आधार मान्दा १३.९ महिनालाई वस्तु खरिद गर्न पुग्ने अनुमान गरिएको छ । जुन सन्तोषजनक नै मानिन्छ । वैदेशिक रोजगारतर्फ भने रेमिट्यान्स (विप्रेषण)मा विगत वर्षको तुलनामा यो वर्षको पुस मसान्तमा ११ दशमलव एक प्रतिशतले वृद्धि भई लगभग पाँच खर्बबराबरको रकम नेपाल भित्रिएको छ । यो वृद्धि साँच्चिकै नेपालमा भित्रिने पैसामा वृद्धि भएको हो वा अन्य कारणले गर्दा वृद्धि देखिएकोे हो, त्यो खोज्न जरुरी छ । यी सबै तथ्याङ्कलाई विश्लेषण गर्ने हो भने यो वर्ष कोरोनाले गर्दा अर्थतन्त्रको विस्तार र व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । हाम्रो आन्तरिक आर्थिक क्रियाकलापमा देखापरेको सुस्तता, वैदेशिक रोजगारीमा आउन थालेको गिरावट र आपूर्ति शृङ्खलामा देखापरेको अवरोधका कारणले वस्तु, श्रम र वित्तीय बजारमा असन्तुलन देखापर्ने खतरा बढेको छ । यसले व्यवहारमा हाम्रो अर्थतन्त्र गरिबलाई हातमुख जोर्न, मध्यम वर्गलाई आफ्नो दैनिक जीविकोपार्जन गर्न र धनीलाई सम्पत्ति लुकाउन गाह्रो भएको अवस्था देखिन्छ ।
नेपालमा पछिल्ला केही दशक राजनीतिक तरलताको अवस्थामा रह्यो । बन्द र हडतालजस्ता क्रियाकलाप भइरहे । यसले देशको आर्थिक अवस्था कमजोर हुँदै गयो । यसैबीच देशले १० वर्षे आन्तरिक द्वन्द्वको सामना पनि गर्नुप¥यो । यस्ता गतिविधिले देशमा नयाँ उद्योगधन्दा खुल्न सकेनन् भने भएका उद्योगधन्दा पनि धमाधम बन्द हुन थाले । यसले एकातिर रोजगारीका अवसर गुम्दै गए भने अर्कोतर्पm ठूलो सङ्ख्यामा युवा रोजगार बजारमा थपिँदै गए । यी दुईको बीचमा सामानजस्य नहँुदा लाखौँ युवा रोजगारीका लागि बिदेसिन बाध्य भए । राज्य विस्तारै प्रतिव्यक्ति आय, आर्थिक विकास, रोजगारी सिर्जना, उद्योगधन्दाको विकास आदिमा पछि पर्न थाल्यो । २००७ सालदेखि यताको अवस्थालाई मात्र हेर्ने हो भने पनि २००७, २०१७, २०४६, २०६३ का राजनितिक परिवर्तन, २०७२ सालको भूकम्प, नाकाबन्दी, कोरोना आदिले अर्थतन्त्रमा पटक–पटक ब्रेक लाग्यो र हाम्रो आम्दानीको ठूलो हिस्सा पटक–पटक आर्थिक क्षेत्रमा ‘करेक्सन’ गर्नमा नै खर्च भयो । जसले विकासको गतिलाई अगाडि बढ्न सधैँ बाधा पु¥याइरह्यो ।
हाल बजार खुलेर अर्थतन्त्र चलायमान हुनासाथ अर्थतन्त्रका विविध आयाम खुला भए र आफ्नो स्वास्थ्य सुरक्षण गर्दै अर्थतन्त्र चलायमान गराउन थालियो । बन्दाबन्दीको अवस्थामा पनि स्वास्थ्य तथा अत्यावश्वक सेवा सञ्चालनमै थिए । चालु खर्च भइरहेकै थियो । त्यो समयमा लगभग ४० प्रतिशत अर्थतन्त्रको हिस्सा यथावत् रूपमा सञ्चालनमा थियो । अहिले ९५ प्रतिशत अर्थतन्त्र चलायमान रहेको अनुमान गरिएको छ । तर होटल, पर्यटन, यातायात तथा मनोरञ्जनजस्ता क्षेत्रहरू भने कममात्र चलायमान भएकोजस्तो देखिन्छ । यसरी हेर्दा हालको अर्थतन्त्र ‘भी’ आकारमा पुनरुत्थान भएको छ । तर, यसो भनिरहँदा गत आर्थिक वर्षको पुसको अवस्थामा अर्थतन्त्र पुग्यो भन्न खोजेको होइन । कोरोनाले तल पुगेको अवस्थाबाट एकाएक माथि उठेकोमात्र हो । अर्थतन्त्रमा ‘भी’ आकार भनेको अर्थतन्त्र निकै तल पुगेको अवस्थाबाट माथि आउन सुरु भएको सङ्केतमात्र हो । हामीले यही तरिकाले पहिलेको स्थितिमा फर्कन सकिन्छ तर त्यो अवस्थाभन्दा माथि जान गाह्रो पर्छ । यसका लागि हामीलाई नयाँ चिन्तन, क्रियाकलाप, व्यवहार र नीतिको आवश्यकता पर्छ ।
हाम्रो अर्थतन्त्र बर्बाद हुने भयो भनेर कोरोना सुरु हुनुअघि जुन आँकलन गरिएको थियो । हाम्रो आन्तरिक कारणले त्यति नराम्रो हुन पाएन । योबीचमा विदेशीले दिने सहयोग जति आउनुपर्ने थियो, त्यति आएन तर ठप्पै भएको अवस्था पनि होइन । त्यसैगरी, हाम्रो पर्यटन र होटल क्षेत्र भने नराम्रोसँग थलिएको छ । विदेशी पर्यटक नआउँदा आन्तरिक पर्यटनले मात्र यो क्षेत्रलाई अगाडि बढाउन सम्भव छैन ।
तसर्थ, यी क्षेत्रलाई जोगाउने हो भने सरकारले राहत प्याकेज घोषणा गर्नुपर्छ । हाम्रो अर्थतन्त्र बलियो बनाउन यो समयभित्र यति गर्ने भन्ने ठोस योजना पनि आएन । केही समययतासम्म पनि भुटान हामीभन्दा तल थियो तर आन्तरिक स्रोतको परिचालन र ठोस योजना भएकाले अहिले उनीहरू विकासका हिसाबले अगाडि देखिए । यो अवस्था हाम्रोमा पनि छ तर हामीले कहिलेबाट प्राकृतिक स्रोतको परिचालन गर्ने हो ? ढिला भइसक्यो । अर्थतन्त्रमा केही वृद्धि प्राकृतिक पनि हुन्छ । कहिलेकाहीँ हामी यसैमा चित्त बुझाएर बसेका हौैँ जस्तो देखिन्छ ।
हामी विश्व व्यापार सङ्गठनका सदस्य भयौँ तर के उत्पादन गर्ने र विदेश निर्यात गरेर के लाभ लिने भन्ने योजना भएन । विदेशी वस्तुलाई बजार खुला ग¥यौँ । योसँगै हामीले हाम्रा उत्पादन विदेशमा बेच्नुपर्ने तर खोई उत्पादन ? हामी केवल उपभोक्तामात्र बन्यो वा वस्तु उपभेगमा मात्र रमायौँ । यसमा पनि विदेशी वस्तु खरिद गर्न विदेशी मुद्रा चाहियो, जसले गर्दा हामीसँग रहेको विदेशी मुद्रा सञ्चिती घटेर गयो । हामीले प्राथमिकता पनि निर्धारण गर्न सकेनाँै । पहिला हस्तकलाका समान बेच्ने भन्यौँ तर योबाट केही भएन, फेरि बिजुली उत्पादन र बिक्री गर्ने कुरा ग¥यौँ तर १८ घण्टा लोडसेडिङ चल्यो । अब यो पनि नहुने रहेछ भन्यौँ, पर्यटनमा लाग्यौँ फेरि कोभिडले गाँज्यो । अझै हामी पर्यटनमै छौँ । तर, यस्तो अवस्थामा त्यो पनि नहुँदोरहेछ जस्तो देखियो । यो अवधिमा भारत र बङ्गलादेशका कामदार कोभिडमा आफ्नो देश फर्किए तर पछि नेपाल फर्किएनन् । यसले हामीकहाँ कृषि र उद्योगमा श्रमिकको पनि कमी हुन गयो ।
कोरोनाले समस्यासँगै अवसर पनि लिएर आएको छ । विदेशमा बसेका नेपाली जसलाई सरकारले चाहेर पनि नेपाल फर्काउन सकेको थिएन, यिनीहरू कोरोनाका कारण नेपाल फर्किएका छन् । तिनीहरूलाई कृषि कार्यमा लगाउने हो भने बाँझो जमिनको सदुपयोग हुने र कृषि उत्पादन बढेर कृषिजन्य वस्तुको निर्यात वृद्धि हुने र आयात घट्ने हुन्छ । यसो गर्न सके अर्थतन्त्रलाई आत्मनिर्भरतर्फ उन्मुख हुने अवस्थाको सिर्जना गर्न सकिन्छ । तर, जे गर्ने हो इमानदारीसाथ गर्नुपर्छ । हामीले यसो गर्दा ती जनशक्तिलाई तालिम दिएर उत्पादनमा लगाउन सक्छौँ । हामीकहाँ यातायातको अवस्था राम्रो छैन । यसलाई तुरुन्त सच्याउनुपर्ने अवस्था छ । हालको विश्वको अर्थतन्त्र गरिब देशलाई पनि फाइदा हुन्छ भन्दै धनीले गरिब राष्ट्रमा बजार खोज्ने र गरिब देशको कच्चा पदार्थ लैजाने प्रवृत्ति भएको हुनाले हामीले अब माथि उल्लेख गरेअनुसार हाम्रो अर्थतन्त्रलाई आत्मनिर्भर बनाउँदै अगाडि बढाउनुको विकल्प छैन ।
(लेखक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ ।)