प्रकाशमान शिल्पकार
सनातनी नेपालीले वर्षको विभिन्न तिथिमितिमा विभिन्न सानाठूला चाडबाड मनाउँदै आएका छन् । यहाँ अधिकांश चाडबाड तिथिमा मनाइने गरिन्छ भने केही पर्व सङ्क्रान्ति अर्थात् १ गते मनाउने गरिन्छ । सौरवर्षमा ३६५ दिन हुन्छन् भने चन्द्रवर्षमा ३५४ दिन हुन्छन् । सौरवर्ष सौरमानअनुसार तिथि र चान्द्रवर्ष चान्द्रमानअनुसार दिन, घडी, पला र विवपला गणना गरी निकालिएको वर्ष हो ।
चान्द्रमानअनुसार गणना गरिने चान्द्रवर्षका विभिन्न तिथिमा शास्त्रगत तथा परम्परागत रूपमा मान्दै आएका चाडबाड बर्सेनि फरक–फरक मितिमा अघि वा पछि पर्नुका कारण पनि सौरवर्ष तथा चान्द्र वर्षमा दिन गणनामा फरक भएकै कारण हुन् ।
सनातनी व्रत उपासनामध्ये सर्वोत्तम मानिएको महाशिवरात्रि पर्व परेको दिन फागुन कृष्ण चतुर्दशी (सिल्लागा चःह्रे)को रातलाई “आशुतोष भगवान् शिवको उत्पत्ति भएको रात्रिका रूपमा पौराणिक कथाले मान्यता दिएका छन् । वर्ष दिनमा आउने रात्रिमध्येमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि पवित्र पर्वका रूपमा पुराणमा वर्णित छन् । आश्विन शुक्ल सप्तमीको (कौलाथ्व सप्तमीको) रात्रिलाई “कालरात्रि’’, भाद्र कृष्णअष्टमीको कृष्णजन्माष्टमीको रातलाई “मोहरात्रि’’, कार्तिक कृष्ण औँसी (कौलागा आमै)÷लक्ष्मीपूजाको रातलाई “सुखःरात्रि’’ र फागुन कृष्ण चतुर्दशी (सिल्लागा चःह्रे)को रातलाई “महाशिवरात्रि’’ पर्वका रूपमा सनातनीले मान्दै आएका छन् ।
महाशिवरात्रिलाई नेवाः समाजले सिल्लाचःह्रे पर्वका रूपमा मनाउँदै आएको छ ।
नेवाः समुदायले सन्ध्याकालमा मनाउने गर्दै आएका तिथि चाडबाडमध्ये पाहाचःह्रे तिथिमा सन्ध्याकालमा लुकुमाद्यः पूजा गरेर पर्व मनाएर भोज खाने, सानो म्वहनी नखःका रूपमा रहेको चथाः पर्वमा राति आकाशमा चन्द्रमा उदय भएपश्चात् मात्र चथाः पूजा गरी चथाः पर्व मान्ने गर्छ । त्यस्तै नै लक्ष्मी पूजा र म्हपूजा पनि बेलुकामात्र गर्ने परम्परा छ । यसरी नै बेलुकी मनाउने एउटा पर्व शिवरात्रि (सिल्लाचःह्रे)
तिथि पनि हो ।
चान्द्रमानअनुसारकोनेपालसंवत्को पञ्चाङ्गको बाह्रमासमा अर्थात् वर्षभरिमा बाह्रचःह्रे (चतुर्दशी) तिथि पर्व रहेका हुन्छन् । बाह्रचःह्रे तिथिहरू हुन् ः बालाचःह्रे, दिशीचःह्रे, लैचःह्रे, सिलाचःह्रे, पाहाचःह्रे, मातातिचःह्रे, सिथिचःह्रे, दिल्लाचःह्रे, जुगःचःह्रे, नलास्वनेचःह्रे, स्वन्तिचःह्रे तथा अधिकमास(मलमास÷पुरुषोत्तम महिना)को अनलाचःह्रे ।
यी बाह्रचःह्रे तिथिमध्येमा मङ्सिर कृष्ण चतुर्दशी (बछलागा)को बालाचःह्रे, चैत कृष्ण चतुर्दशी (चिल्लागा)को पाहाचःह्रे र फागुण कृष्ण चतुर्दशी (सिल्लागा)को सिल्लाचःह्रे समेतका तीन तिथिलाई विशेष पर्वका रूपमा नेवाः समुदायले मान्दै आएको छ । नीलकण्ठ भोलेबाबा उत्पत्ति भएको दिन सिल्लाचःह्रे÷महाशिवरात्रिलाई नेवाः समुदायले सिलाचा च्वनेगु पनि भन्ने गरेको देखिन्छ । “सिलाचा’’ शब्दलाई खोतलेर हेर्ने हो भने “ला’’को अर्थ महिना र “चाः’’ को अर्थ रात्रि अथवा रातमा जाग्राम बस्ने भन्ने देखिन्छ ।
शिव उत्पत्ति भएको पवित्र रातमा धुनी जगाई जाग्राम बसेर शिव उपासना गर्न यस दिन बिहानदेखि नै युवा चोक–चोकमा बसी बाटोमा आवतजावत गर्ने सबै बटुवालाई बाटो छेकेर जगाः याने शिवरात्रिको कर लिने गर्छन् । सानासाना नानी पनि पसल–पसल र घर–घर गएर नेवाः भाषामा गाउँदै “महाद्यःया इकुल, गणेद्यःया चिकुल, धर्म दुसा सिँ छका फ्वने हिँ‘ त्यस्तै सिल्लाचःह्रे ... सिलाचा च्वनेत सिँ निका हिँ, मब्यूसा खवः सिँ तय्, सिलाचा पनेत सिँ निका हिँ, महाद्यःया चिकुल, मब्यूसा खवः स्वाय् काःयने’’ भन्दै घर–घरमा गएर काठ–दाउरा माग्न जाने परम्परा छ । दिनभरि उठाएका जगाःको पैसाले राति ठुल्ठूला मुडा काठहरू ल्याई धुनी जगाएर शिवपूजा गरी भुटेको मकै, भटमास चढाएर प्रसाद ग्रहण गर्छन् । शिवरात्रिको धुनीमा उखु पोलेर पट्काएर प्रसादका रूपमा खाएमा रोग लाग्दैनन् भन्ने विश्वास गरिन्छ । तर, आजभोलि भने शिवरात्रिमा नेवाःभन्दा गैरनेवाः युवा तथा नानीहरू बाटो छेक्दै बटुवा र सवारीचालकबाट बलजफ्ती पैसा उठाएर खाने र नेवाः पर्व संस्कृतिको बदनाम गराउने कार्यसमेत देखिन थालेको छ ।
यसै दिन सैनिक मञ्च टुँडिखेलमा सैनिक दिवसका रूपमा बन्दुक पड्काएर शिवरात्रि बढाइँ गर्दै सैनिक कौशलको खेल प्रदर्शन गर्ने साँस्कृतिक परम्परा रहिआएको छ । हरेक वर्ष महाशिवरात्रिका दिन नेपालमा सेना दिवस मनाउने गरिन्छ ।
(लेख संस्कृति अध्येता हुनुहुन्छ ।)