डा. अरूण शाही
सरकारी अस्पतालमा १० हजार रुपियाँमा हुने उपचारलाई निजीमा एक लाखसम्म पर्न सक्छ । नेपालको सन्दर्भमा क्यान्सरको उपचारमा दुई हजारदेखि २० लाखसम्मका औषधि पाइन्छन् ।
हाम्रो शरीरमा अनेकौँ कोशिका हुन्छन् । यी कोशिका अनियन्त्रित भएर विभाजित भए भने त्यसलाई हामीले क्यान्सर भन्छौँ । कोशिका कुन ठाउँको हो, जस्तै, फोक्सोको कोशिका अनियन्त्रित भएर विभाजित भए फोक्सोको क्यान्सर हुन्छ । पेटका कोशिका अनियन्त्रित भए पेटको क्यान्सर हुन सक्छ । त्यस्तै पाठेघर, स्तनलगायत जुनसुकै अङ्गको कोशिका अनियन्त्रित भएर विभाजन हुन्छन् भने त्यसलाई क्यान्सर भनिन्छ ।
नेपालको सन्दर्भ हेर्दा बढी उमेरका व्यक्तिमा नम्बर एकमा फोक्सोको क्यान्सर छ । महिलामा एक नम्बरमा पाठेघरको मुखको क्यान्सर र दोस्रो नम्बरमा स्तन क्यान्सर रहेको छ । पुरुषमा दोस्रो नम्बरमा पेटको क्यान्सर बढिरहेको छ । पुरुषमा खानपानमा ध्यान नदिएर पेटको क्यान्सर बढेको हो । योबाहेक मुखको क्यान्सर, ठूलो आन्द्राको क्यान्सर हुने गरेको छ । जति पनि खानेकुरामा ‘फर्मालिस’ आउँछ । एउटा आँप टिपेको दुई÷तीन दिनमात्र रहन सक्छ । तर, हामीकहाँ अमेरिका, भारत र चीनबाट समेत आँप आउँछ । छ महिनासम्म स्याउ फ्रेस (ताजा) हुन्छ । किनभने फलफूललाई ताजा राख्ने औषधि मिलाएको हुन्छ । त्यसलाई फर्मालिन भनिन्छ । त्यो औषधिको अत्यधिक प्रयोग भयो भने ठूलो आन्द्राको क्यान्सर, पेटको क्यान्सर हुन्छ ।
क्यान्सरको मुख्य कारण सुर्तीजन्य पदार्थ सेवन र मोटोपन मुख्य कारण हो । हामीले खानेकुरामा नियन्त्रण गर्न सकेनौँ भने मोटोपन बढ्छ । पछिल्लो समय धेरै पश्चिमा शैलीको अनि चिल्लो, पिरो खानेकुरा खाने गरेका छौँ । त्यो सँगसँगै व्यायाम, कसरत नहुँदा क्यान्सरको खतरा बढिरहेको छ । मोटोपनले क्यान्सरमात्र नभएर क्रोनिक (दीर्घ) रोग जस्तै मधुमेह, उच्च रक्तचाप, थाइराइड पनि भइरहेका छन् ।
स्वस्थ रहन छदेखि आठ घण्टा सुत्नैपर्छ । पसिना निस्कने गरेर कसरत गर्नैपर्छ । दिनभरि काम गरेपछि हाम्रो शरीरलाई विश्राम चाहिन्छ । विश्राम भएन भने शरीरको प्राकृतिक नियम बिग्रन्छ अनि विभिन्न रोग लाग्न सक्छन् । राति काम गर्ने नर्सलाई स्तन क्यान्सर भएको अनुसन्धानले देखाएको थियो । त्यो के कारणले गर्दा भन्ने यकिन छैन तर आराम नपुगेर स्तन क्यान्सर भएको अनुमान गरिएको छ ।
इँटाभट्टा, सार्वजनिक यातायातमा काम गर्ने (ड्राइभर, खलासी) सिकर्मी, डकर्मीमा फोक्सोको क्यान्सर बढी छ । चकले पढाउने शिक्षकलाई फोक्सोको क्यान्सर बढी देखिएको छ । चकको धूलोले गर्दा फोक्सोको क्यान्सर बढाउँछ । क्यान्सर लाग्ने तŒवलाई रोक्नु जरुरी भइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा अझै वर्षमा २० देखि ३० हजार नयाँ क्यान्सरका रोगी फेला पर्छन् । नेपाल सरकारले क्यान्सर रजिष्ट्री (दर्ता) प्रणाली सुरु गरेको छ ।
फोक्सोको क्यान्सर गाउँ, सहर दुवैमा बराबरी छ । सबैभन्दा बढी मानिसको मृत्यु हुने पनि फोक्सोको क्यान्सरले गर्दा हो । गाउँघरका महिलालाई पाठेघरको मुखको क्यान्सर बढी हुने गरेको छ । हाइजिन मेन्टेन (स्वस्थ खानपान) नगर्ने, सानै उमेरमा विवाह गर्ने, चुरोट खाने बानीले पाठेघरको मुखको क्यान्सर देखिएको हो । सहरिया महिलालाई स्तन क्यान्सरको समस्या बढी छ । त्योबाहेक विद्यालय पढ्ने युवामा मुखको क्यान्सर पनि देखिन थालेको छ । छ÷सात कक्षामा पढ्दादेखि नै पुकार, गुट्खा खाने गर्छन्, जसले गर्दा मुखको क्यान्सर हुन्छ । चुरोट, बिँडीसम्बन्धी विज्ञापनले गर्दा पनि सानै उमेरदेखि सुर्तीजन्य पदार्थको सेवनले समस्या बढाइरहेको छ ।
खानपानका कारण
मिसाएको खानेकुराले गर्दा समस्या हुने गरेको छ । पाटन अस्पतालमा विगत एक÷डेढ वर्षमा एक सयजनाभन्दा बढी बिरामी पेटको क्यान्सर भएका छन् । तीमध्ये ८० जनाको घरमा फ्रिज छैन । फ्रिजमा राखेको खाना केही दिन राखेर खान मिल्छ । बासी खानाले क्यान्सर गराउन सक्छ भन्ने यो एउटा उदाहरण हो । फ्रिजको आविष्कार हुनुभन्दा अघि पेटको क्यान्सर धेरै थियो । अहिले पेटको क्यान्सर समग्र क्यान्सरमा चौथो, पाँचौँ नम्बरमा आउँछ ।
नेपालमा बासी खाने, धूवाँले पोलेको खानेकुरा खाने र घरमा फ्रिज नभएका मानिसमा पेटको क्यान्सरको खतरा बढी हुन्छ । पेटबाहेक पित्तथैलीको क्यान्सर पनि देखिएको छ, जुन महिलालाई बढी मात्रामा छ । ४० देखि ६० वर्षसम्मका महिलालाई यो क्यान्सर हुने गरेको छ । उनीहरूको इतिहास केलाउँदै जाँदा कुनै बेला पत्थरी भएको पाइयो । ८० देखि ९० प्रतिशत महिलाको भिडियो एक्स–रे गर्दाखेरी चिकित्सकले पत्थरी भएको छ, निकाल्नुपर्छ भनेको पाइन्छ । त्योबाहेक रक्सी बढी खानेलाई कलेजोको क्यान्सर भएको हुन्छ ।
उपचार
पाटन अस्पतालमा दैनिक १०÷१२ जना क्यान्सरका बिरामी आउने गरेका छन् । नयाँ बिरामी हप्तामा दुईजना मात्र आउने गर्छन् । गत दुई वर्षको अस्पतालको तथ्याङ्क हेर्दा एक हजार चार सयजना क्यान्सरका बिरामीलाई उपचार गरिएको छ ।
चौथो चरणको बिरामी उपचार नगर्ने हो भने तीनदेखि छ महिनासम्म बाँच्न सक्छन् । किमो दिइसकेपछि उसलाई १८ महिनादेखि २४ महिनासम्म बनाउन सकिन्छ । चौथो चरणको क्यान्सरलाई निर्मूल पार्न सकिँदैन । नियन्त्रणमात्र गर्न सकिन्छ । सुरुमै पत्ता लागेका एक सयमध्ये ९० जना सामान्य जीवनयापन गरेर बाँचिरहेका हुन्छन् ।
क्यान्सरलाई उपचार गर्नुभन्दा त्यसलाई सुरुमै पहिचान गर्न सकियो भने धेरै राम्रो हुुन्छ । सुरुमा पत्ता लागेको छ भने अप्रेसन (शल्यक्रिया) गर्ने हो, केमोथेरापी पनि दिइरहनुपर्दैन । तर, त्यही क्यान्सर ढिला पत्ता लाग्यो भने अप्रेसन पनि गर्न मिल्दैन । रेडियोथेरापी पनि दिन मिल्दैन । केमोथेरापी लामो समयसम्म दिनुपर्छ, खर्च बढी लाग्छ । जीवनभरि अस्पतालमा आउनुपर्छ ।
क्यान्सरलाई जति छिटो पत्ता लगाउन स्क्रिनिङ गरिन्छ । स्क्रिनिङ भनेको कुनै पनि रोगको लक्षण हुनुभन्दा पहिला नै त्यो रोगलाई समात्नुलाई हो । प्रोस्टेट क्यान्सरको उदाहरण दिँदा एक सयजनालाई क्यान्सर लागेको छ भने त्यसले पाँचजनालाई मात्र मार्छ । ९५ जनालाई क्यान्सर भए पनि केही गर्दैन । त्यो लाटो ट्युमर हो, केही पनि गर्दैन । ट्युमर जिउमा हुन्छ तर त्यसले दुःख दिँदैन । अर्थात् सुरुमै पत्ता लगाउँदा ९५ जनालाई केही हँुदैन । अहिले संसारभरि विश्वसनीय संस्था अमेरिकाको फुड एन्ड एड्मिनिस्टे«सनले तीनवटा क्यान्सरलाई मात्र समुदायमा गएर पत्ता लगाएर उपचार गर्नु भनेको छ । त्योबाहेक अरू क्यान्सरलाई पत्ता लगाइरहनुपर्दैन । तीमध्ये स्तन क्यान्सरलाई सुरुदेखि नै पहिल्याउनुपर्छ । जुन महिला ४५ वर्ष पुगिसकेपछि प्रत्येक वर्षमा एकपटक म्यामोग्राम गर्नैपर्छ । म्यामोग्राम दुई हजारदेखि दुई हजार पाँच सयसम्ममा हुन्छ । पाठेघरको मुखको क्यान्सर हेर्नका लागि महिला २१ वर्ष पुगिसकेपछि प्रत्येक तीन–तीन वर्षमा परीक्षण गर्नुपर्छ । ठूलो आन्द्रा (कोलोन) क्यान्सरका लागि ५० वर्ष पुगिसकेपछि १०–१० वर्षमा एकपटक कोलोनोस्कोपी गर्नुपर्छ । यी तीन क्यान्सरलाई संसारभरि पहिचान गर्नुपर्छ । त्योबाहेक पाठेघरको मुखको क्यान्सर रोक्न भ्याक्सिन
(खोप) पनि आइसकेको छ । नेपालले ०७६ सालको बजेट भाषणमै सबै विद्यालयका छात्रालाई पाठेघरविरुद्धको भ्याक्सिन दिने भनेर घोषणा पनि गरिसकेको छ । यो भ्याक्सिन नौदेखि २६ वर्ष उमेरकाले लगाउनैपर्छ । १५ वर्षसम्मका बालिकाले दुईपटक र १५ देखि २६ वर्ष उमेरकालाई तीनवटा डोज (मात्रा)लगाइने गरिन्छ ।
उपचार सरकारी अस्पतालमाक्यान्सरको उपचार नेपालमा मात्र होइन, विदेशमा पनि महँगो छ । क्यान्सरको उपचार गर्ने निजी अस्पताल पनि छन् तर सरकारी अस्पतालमै गर्दा धेरै सस्तो पर्छ । सरकारी अस्पतालमा १० हजार रुपियाँमा हुने उपचारलाई निजीमा एक लाखसम्म पर्न सक्छ । नेपालको सन्दर्भमा क्यान्सर उपचारमा दुई हजारदेखि २० लाखसम्मका औषधि पाइन्छ । यो औषधिको प्रयोग रोग र त्यसको स्टेज (चरण) अनुसार पनि प्रयोग गर्ने गरिन्छ । बिरामीको आर्थिक अवस्थाअनुसार पनि उपचार गर्नुपर्ने हुन्छ । गाउँबाट आउने बिरामी जसको महिनामा पाँच हजारको आम्दानी छैन भने उसलाई सबैभन्दा महँगो औषधि दिएर हँुदैन ।
फोक्सोको क्यान्सरमा तीन लाख पर्ने इम्युनोथेरापी दिन मिल्छ । तर, नियमित दिनुपर्दा मासिक लाखौँ खर्च गर्नुपर्ने हुन्छ । आर्थिक अभाव भएका बिरामीलाई १० हजारको औषधिले पनि काम गर्न सकिन्छ । पैसा तिर्न सक्नेखालको बिरामी छ भने मात्राको तीन लाख पर्ने औषधि लिन सुझाव दिनुपर्छ । अमेरिका, बेलायतमा स्वास्थ्य बीमा हुन्छ । जतिसुकै खर्च गरे पनि बीमाले धान्छ । शरीरलाई जुन औषधि चाहिन्छ, त्यही औषधि दिइन्छ । बीमा कम्पनीले त्यसलाई नकार्न मिल्दैन । नेपालमा बिरामीलाई महँगो औषधि चाहिएको छ भने पनि उसको आर्थिक अवस्थाले गर्दा सस्तो औषधि दिनुपर्ने हुन्छ । नेपालमा बिरामीको रोग, बिरामीको आयस्रोत, बिरामीको स्थिति हेरेर उपचार गर्नुपर्ने हुन्छ । त्यति गरेर पनि हामीले गरेको उपचार अमेरिकाभन्दा राम्रो छ ।
क्यान्सर लाग्न नदिने के गर्ने ?
सबैभन्दा राम्रो कुरा प्रकृतिक जीवनयापन गर्नुपर्छ । चिल्लो, पिरो होइन, सामान्य खानेकुरा खानुपर्छ । सबैभन्दा राम्रो नेपाली खाना भात, दाल, तरकारी, ढिँडो, रोटी खानुपर्छ । भातमा कार्बोहाइड्रेड, दालमा प्रोटिन, तरकारीमा फाइबर र अचारमा भिटामिन ‘सी’ पाइन्छ । त्यहीअनुसार दूध, दही पनि खानुपर्छ । क्यान्सरबाट जोगिन मुख्यतया खानेकुरामै ध्यान दिनुपर्छ । शारीरिक व्यायाम नियमित गर्नुपर्छ । एक–एक वर्षमा चिकित्सकसँग परामर्श लिने गर्नुपर्छ ।
(पाटन अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ शाहीसँग गोरखापत्रका सरोज ढुङ्गेलले गर्नुभएको कुराकानीमा आधारित)