logo
२०८१ माघ ११ शुक्रवार



गति लिँदै खेलकुद

विचार/दृष्टिकोण |




अच्युतमानसिंह प्रधान

खेलकुदले मानिसमा शारीरिक रूपमा स्फूर्ति त ल्याउँछ नै मानसिक रूपमा पनि स्फुर्ति ल्याउँछ । खेल खेल्दा मानिसमा एककिसिमको थप ऊर्जा मिल्छ । यसले मानिसलाई स्वस्थ बनाउँछ । खेलकुदले मानिसमा भएको मानसिक तनाव तथा आलस्यतालाई कम गरी शरीरलाई चङ्गा एवम् स्फूर्त बनाउँछ ।
खेलमा एकाग्रता, अनुशासन र स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ र यस्तो भएको खेलबाटै सहयोगीको भावना बढ्न सक्छ, अनि एक–अर्कामा आत्मीयता पनि बढ्न जान्छ । यसबाट मानिसले समूहमा मिलेर काम गर्ने संस्कार सिक्छ । त्यसैले खेलाडी समाज र
राष्ट्रको गौरव बन्छ ।
केही दशकअघिसम्म नेपाली समाजमा परिवारका कुनै सदस्य खेलमा लागे नकारात्मक रूपमा हेरिन्थ्यो । छरछिमेक अनि समाजले पनि सकारात्मक ढङ्गले ग्रहण गर्दैनथे । फलानाको छोरा वा छोरी बिग्रियो, पढ्न नसकेर खेलक्षेत्रमा लाग्यो भन्ने टिप्पणी हुन्थ्यो । अझै पनि धेरैले आफ्नो सन्तानको इच्छा, रुचि के हो ? उसको कुन क्षेत्रमा बढी लगाव छ ? ऊ भविष्यमा के बन्न चाहन्छ ? कुन पेसामा लाग्न चाहन्छ ? आदिबारे सोध्ने अनि बुझ्ने कोसिस गर्दैनन् । परिवार अनि समाजको दबाबले उसको इच्छाविपरीत लाग्दा ऊ त्यस क्षेत्रमा राम्रो गर्न, हुन सक्दैन । तर, यो भित्री ज्ञान नहुँदा बिग्रने मानिसलाई दोष दिइन्छ । त्यस व्यक्तिलाई मानसिक प्रभाव पर्न जान्छ । उसमा परिवार अनि समाजप्रति नकारात्मक असर पर्न जान्छ । र, अन्ततः कतिपय अवस्थामा ऊ समाजको अराजकताको कारक बन्न सक्छ ।
अब पुरानो धारणामा निकै परिवर्तन आइरहेको छ । आफ्ना सन्तानको इच्छा र रुचिलाई नै परिवारले ध्यान एवम् प्राथमिकता दिन थालेका छन् । यो सुखद कुरा हो । सामाजिक चिन्तनमा आएको यो बदलाबसँगै खेल क्षेत्रबारेमा पनि मानिसको सोच बदलिन थालेको छ ।
परिवार अनि समाजले खेलकुद क्षेत्रलाई सम्मानसाथ हेर्न थालेका छन् । अब त खेलेर पनि आफ्नो र परिवारको पेट पाल्न सकिन्छ भन्ने धारणा बढ्दै गइरहेको छ । आज थुप्रैले खेल क्षेत्रमै लागेर आफ्नो जीवनस्तर निकै उच्च बनाइसकेका छन् ।
विगतमा राजनीतिक नियुक्ति गर्ने थलो बनेको खेलकुद मन्त्रालयले बिस्तारै खेल क्षेत्रको व्यावसायिकतातिर ध्यान दिँदै गएको छ । कर्मचारीलाई तलब खुवाउन मात्र ठिक्क हुने मन्त्रालयको वार्षिक बजेटको आकारले पनि थप गति लिएको छ । सरकारले अनि सरकारमा बस्ने जिम्मेवार व्यक्तिले पनि खेलकुदको महŒव बुझिसकेका छन् । त्यसैले खेलको विकासमा अझ बढी ध्यान दिन थालिएको छ ।
राम्रा एवम् उत्कृष्ट खेलाडीले खेलेर नै आफ्नो जीविकोपार्जन गर्न सक्ने भइसकेका छन् । उनीहरूलाई स्वदेश तथा विदेशमा विभिन्न तालिममा जाने अवसर राज्यले प्रदान गरेको छ । ‘खेलाडी देशका गहना हुन्’ भन्ने कुरो सबैले बुझिसकेका छन् । खेलाडीले अन्तर्राष्ट्रिय खेलमा विभिन्न पदक ल्याई विश्वसामु नेपालको नाम उज्ज्वल पारेका छन् ।
राम्रा एवम् उत्कृष्ट खेलाडीलाई विभिन्न सङ्घ संस्थाले प्रायोजन गर्ने गरेको उदाहरण धेरै नै छन् । खेलाडीलाई विभिन्न कम्पनीको ब्राण्ड एम्बेस्डर बनाउने, विभिन्न उत्पादनको विज्ञापनमा खेलाउने प्रचलन बढेको छ । यसले गर्दा खेलाडीको आर्थिक जीवनमा केही सहजता ल्याएको छ । यसबाट उनीहरू सार्वजनिक व्यक्तित्वका रूपमा स्थापित हुनसमेत सहयोग पुगेको छ ।
सरकारले पनि समय–समयमा अन्तर्राष्ट्रिय पदक विजेतालाई नगद एवम् जिन्सी पुरस्कार प्रदान गर्ने गरेको छ । राष्ट्रियस्तरका खेलाडीका लागि मासिक तलबको पनि व्यवस्था गरेको छ । प्रत्येक मानिसको पहिलो जिम्मेवारी आफू र आफ्नो परिवार पाल्नु हो । अब सरकारले खेलाडीलाई त्यसको आर्थिक जिम्मेवारी वहन गर्न सक्ने कसरी बनाउने भन्नेमा ध्यान दिन जरुरी छ । कोरोनाको सङ्क्रमणले विश्वलाई प्रभावित पारिरहँदा नेपालको खेल जगत्लाई पनि धेरै पछाडि धकेलिदियो । यसअघि २०७२ सालको महाभूकम्पले यस क्षेत्रलाई नराम्रोसँग प्रभाव पारेको थियो । भूकम्पले देशको एकमात्र हेर्नलायकको सुविधा भएको दशरथ रङ्गशालालाई नराम्रोसँग क्षति पु¥याएको थियो । हाल यसको पुनःनिर्माण सम्पन्न भएर सञ्चालनमा पनि आइसकेको छ । अब बिस्तारै यसले गति लिन थालेको छ । यसले खेलाडीको मनोबल पक्कै पनि बढेको छ । पहिले खेलकुद क्षेत्रमा महिलाको सहभागिता निकै नै न्यून थियो ।
परिवारले आफ्ना महिला सदस्यलाई यस क्षेत्रमा पठाउन नै चाहन्नथे । यस क्षेत्रमा आउन महिलाले परिवार तथा समाजसँग निकै नै सङ्घर्ष गर्नुपथ्र्यो । तर, अहिले यस क्षेत्रमा लाग्ने महिलाको सङ्ख्यामा उल्लेखनीय रूपमा वृद्धि भइरहेको छ । परिवारले नै आफ्ना छोरी वा दिदीबहिनीलाई यस क्षेत्रमा लाग्न उत्साहित गर्न थालेका छन् ।
महिला खेलाडीले देश तथा विदेशमा भएका प्रतियोगितामा पदक ल्याएर देशको नाम उच्च बनाएका छन् । पौडीका गौरिका सिंह यसका प्रत्यक्ष उदाहरण हुन् । जो अमेरिकामा बसोवास गरेको भए पनि सानै उमेरमै नेपालका लागि पौडी खेलमा स्वदेश अनि विदेशमा नेपालको प्रतिनिधित्व गरी खेलेर विभिन्न पदक ल्याउनुभयो । त्यस्तै कति राम्रा खेलाडीलाई विदेशी मुलुकले महँगो मूल्यमा अनुबन्धित गरी खेलाएको पाइन्छ । नेपालका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने महँगो मूल्यमा अनुबन्धित भएर प्रतिफल दिन सक्ने सुन्दर उदाहरण हुन् । यस्ता उदाहरणीय व्यक्तिका कारण देशमा खेल क्षेत्रप्रतिको आमधारणा झनै बदलिँदै गइरहेको छ ।
यसर्थ, नेपालको खेल जगत्मा आमूल परिवर्तन आइसकेको छ । औँलामा गन्न सक्ने खेलाडीको सङ्ख्या दिनप्रतिदिन गुणात्मक रूपमा वृद्धि भइरहेको छ । वृद्धि सङ्ख्यात्मकमात्र नभई, गुणस्तरमा पनि भइरहेको छ । तर, यत्तिमै सन्तोष मानिहाल्नुपर्ने भने छैन । अब खेलाडीलाई विभिन्न देश तथा विदेशमा तालिममा पठाउनुपर्छ । उनीहरूका लागि नियमित रूपमा पौष्टिक आहार (डाइट) को व्यवस्था गर्नुका साथै राम्रो कोच (प्रशिक्षक)को व्यबस्था गर्ने, नियमित खेलको अभ्यास गर्ने वातावरण मिलाउने, नियमित स्वास्थ्य परीक्षण गर्ने, परिवार पाल्न उचित पारिश्रमिकको व्यवस्था या जिम्मा राज्यले लिनुपर्छ । यसो भएमात्र ऊ निर्धक्क भई खेलमा ध्यान दिन सक्छ । अनि मात्र उसले त्यसको प्रतिफल ल्याउन सक्छ ।
नयाँ खेलाडीहरू पनि उत्पादन गर्नुपर्छ । यसका लागि स्थानीय स्कुल तहदेखि नै खेलाडीको खोज गरी उनीहरूलाई आवश्यक तालिम दिन जरुरी छ । यस्तो व्यवस्था हुन सके देशको खेलकुद क्षेत्रले आमूल परिवर्तनको महसुस गर्ने थियो । हिजो खेलप्रति नकारात्मक सोच राख्नेहरू आज सकारात्मक भएको पाइन्छ । हिजो खेलाडीप्रति सङ्कीर्ण सोच राख्ने नेपाली समाज अहिले खेलाडीलाई इज्जतसाथ हेर्दैछ । अब त खेलाडीले खेलेर पनि आफ्नो र परिवारको पेट पाल्न सकिन्छ भन्ने कुरो
प्रमाणित भइसकेको छ ।
(लेखक समाजशास्त्री हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?