logo
२०८१ बैशाख १६ आईतवार



सिकाइमा अभिभावकको दायित्व

विचार/दृष्टिकोण |




नवराज रिजाल
आजका बालबालिका भोलिका हाम्रा मूल आधार वा खम्बा हुन् । उनीहरूका पक्षमा सकारात्मक, सिर्जनात्मक र व्यावहारिक दिशा निर्देशका साथ सहज वातावरण काम गर्नु गराउनु हामी सबैको मुख्य जिम्मेवारी हो । उचित स्याहार–सुसार, मार्गनिर्देशन, सिकाइ र मानसिक तथा शारीरिक उन्नतिबाट वञ्चित बालबालिकाबाट भविष्यमा कुनै ठूलो अपेक्षा गर्न सकिन्न । देश, समाज र परिवारका लागि ती बोझ, बाधक वा कलङ्क बन्ने सम्भावना प्रबल रहन्छ ।
यसर्थ देश, समाज र परिवारका मुख्य आधार बालबालिकाको चौतर्फी हित र विकासका निम्ति आजैदेखि महìवपूर्ण सोच र दूरदर्शी चिन्तनका साथ कामहरू गरिनु आवश्यक छ । यस्तो काम व्यक्ति वा एक समूहले मात्र गरेर पुग्दैन । राज्यको ध्यान पनि यता खिचिनु नितान्त आवश्यक छ । अभिभावक, घर– परिवार, विद्यालय, समाज र राज्य सबैतिरबाट यथोचित प्रयास थालिए सफलतामा पुग्न असजिलो छैन त्यसका निम्ति संयुक्त प्रयासको आवश्यकता छ । आजका हामी बालपुस्ताप्रति बेलैमा सचेत र सजग हुन सकेनौँ भने भविष्यमा उनीहरूबाट अपेक्षित प्रगति असम्भव प्रायः रहन्छ ।
हाम्रो परिप्रेक्ष्यमा हिजोआज बालबालिकालाई सुनाउने, सघाउने, सिकाउने वा बुझाउने कुरामा कञ्जुस्याइँ हुन लागेको छ । किन यस्तो भएको हो वा यसले हामीलाई कुन मोडमा पु¥याउँछ यसै भन्न सकिँदैन । सिकाउन, बुझाउन वा बाटो देखाउनतिर अग्रसर बन्न सकिरहेका छैनौँ । यो चिन्ताजनक पक्ष हो । यसले भविष्यमा दुखित बनाउने निश्चितजस्तै छ । सिकाइ भनेकै पाठ्यपुस्तक हो, यति सिकेपछि पुग्छ वा जान खोजेको ठाउँमा पुगिन्छ भन्ने हाम्रा अदूरदर्शी सोचका कारण बालबालिका सिकाइबाट वञ्चित भइरहेका छन् ।
सिकाइका विभिन्न ठाउँमध्ये विद्यालय पनि एक हो । अन्यत्रको भन्दा विद्यालयद्वारा गरिने सिकाइ बढी प्रभावकारी पनि हुन्छ । त्यहाँ बालबालिका अलि लामो समय रहन्छन् । सिक्ने र सिकाउनेसँग नजिकको सम्बन्ध स्थापित हुन्छ । यसर्थ त्यहाँको सिकाइ बढी प्रभावकारी हुन सकेको हो । तर यसो भनिरहँदा सिक्ने ठाउँ विद्यालय हो र त्यहाँको सिकाइले त्यो पूर्ण हुन्छ भन्ने पनि किमार्थ होइन । उसको जोड त केवल पाठ्यक्रम मात्र हुन्छ । जीवनका व्यावहारिकदेखि परिवार, समाज, परम्परा, संस्कार र संस्कृतिजस्ता विषयमा पनि विद्यालयहरूले सिकाउन त सिकाउँछन् तर ती अपुग हुन्छन् । यसर्थ त्यसको परिपूरकतातिर परिवारको ध्यान यता खिचिनु आवश्यक छ ।
आजका बालबालिकालाई देशको निर्माण, वीरहरूको योगदान, पिता पुर्खा, बाजे–बराजु, पारिवारिक स्थिति, आफन्त र इष्टमित्रका बारेमा पर्याप्त जानकारी दिने काम अत्यन्तै कम भएको छ । यसैका कारण पारिवारिक विखण्डन र व्यक्तिवादी प्रवृत्ति हावी भइरहेको हो । हामीले सन्तान दरसन्तानलाई देश र पिता पुर्खा चिनाउन नसकेकै कारण ती स्वदेशभन्दा विदेशमा रमेका हुन् ।
आजका बालपुस्ताले सिक्नुपर्ने कुरा धेरै छन् । तर सिक्ने ठाउँ र सिकाउने मानिस दिनप्रतिदिन घटिरहेका छन् । अभिभावकहरू यो सबै विद्यालयबाट आशा गरिरहेका छन् । तर सन्तानलाई विद्यालय प्रवेश गराएपछि उनीहरूप्रतिको कर्तव्य बल्ल प्रारम्भ हुन्छ ।
हामीकहाँ त्यस्ता प्रयासहरू ठ्याम्मै नभएका त होइनन् तर ज्यादै कम भएका छन् । विद्यालय पठाएपछि सबै थोक सिक्छन्, जान्छन्, बुझ्छन् र परिपक्व हुन्छन् भन्ने दृष्टिकोणमा संशोधन हुनु आवश्यक देखिन्छ । केही सिक्नु र आवश्यक मात्रामा सिक्नुमा ठूलो अन्तर छ । यो अन्तर नबुझेसम्म हाम्रा मनस्थितिले सकारात्मक सोचका साथ दर्बिलो काम गर्न सक्दैनन् ।
त्यसो त सिकाइ निरन्तर चलिरहने प्रक्रिया हो र यसको औपचारिक समापन कहिल्यै हुँदैन । समय र परिस्थितिअनुसार सिकाइ हुने भएकाले एकै उमेर वा बसाइँमा सिकाइ सकिँदैन । यसका लागि धैर्य र निरन्तरताको आवश्यक पर्छ । त्यस्ता सिकाइ मात्र जीवनोपयोगी हुन सक्छन् ।
सन्तानले जीवनका सही बाटा नसमाएसम्म कुनै पनि अभिभावकको कर्तव्य पूरा हुँदैन । तर अभिभावक पैसा कमाएर धनी बन्ने ध्याउन्न र ध्येयले चुर्लुम्म डुबेका छन् । जसरी पनि कमाउने र जे गरे पनि कमाउने प्रवृत्ति हाम्रा मानसपटलमा सवार छन् । यो सकारात्मक चिन्तन र सहज बाटो किमार्थ होइन ।
पैसा भएर पनि दुखी हुनेहरू यो संसारमा सानो सङ्ख्यामा छैनन् । हाम्रो ध्यान यतातिर जानु आवश्यक छ । तर हामीले यो पाटोलाई समात्न सकिरहेका छैनौँ । त्यो पाटोलाई नसमाएसम्म हामी गन्तव्यहीन बनिरहने अवस्था यथार्थ हो । बालबालिका असल, व्यवहारिक, जीवनोपयोगी र सान्दर्भिक सिकाइको माध्यमले मात्र जीवनमा सफल हुन सक्छन् । सिकाइ विद्यालयको अलावा घर, परिवार, समाज, सम्प्रदाय र सङ्घ संस्थाहरूबाट पनि हुन्छ । तर मानिसहरू यो बाटोतिर प्रवेश गर्न सकिरहेकै छैनन् । ती परिवार र सन्तानको दायित्वबाट क्रमश ः विमुख बन्दै गएका छन् । काम हुनेहरूलाई कामले र नहुनेहरूलाई मोबाइलले व्यस्त बनाइरहेको छ । त्यही बेफुर्सदीले बालबालिकाको सिकाइमा गम्भीर असर परिरहेको छ ।
भोलि देश चलाउने खम्बा सक्षम पार्न आजैदेखि योजनाबद्ध ढङ्गले काम गरिनु आवश्यक छ । उनीहरूलाई सबल र सक्षम बनाउनु नै देशको जगमा इँटा थप्नु हो । कमजोर जग कुनै पनि क्षण ढल्न सक्छ मात्र होइन दुखद परिस्थिति निम्तिन पनि सक्छ । बलियो जगको आडमा मात्र असल र राम्रा काम गर्न सकिन्छ । तोकेको ठाउँमा पुगेर सहजतापूर्वक लक्ष्य भेदन गर्न सकिन्छ । नभए त्यताबाट हरदम खतरा उत्पन्न भइरहन्छन् । नराम्रोले कसैलाई छाड्दैन यसर्थ यतातिर सचेत र सजग रहनु पनि आवश्यक छ ।
बालबालिका साँच्चै परिवार, समाज र देशका जग वा आधार हुन् । उनीहरूलाई बलियो, सक्षम र धारिलो बनाउन सकिए मात्र लाभग्राहीले लाभ लिन सक्छ । नभए यथास्थितिमा रहिरहन्छ । त्यो कायम रहनु भनेको जीवनस्तर माथि उठ्न नसक्नु हो । यसका लागि सबल नेतृत्व, कुशल प्रशासक र दक्ष जनशक्तिको आवश्यकता पर्छ । यो सबैको आडमा सकारात्मक सिकाइको ठूलो योगदान रहन्छ ।
(लेखक साहित्यिक प्राध्यापन पेसामा संलग्न हुनुहुन्छ)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?