logo
२०८१ माघ ११ शुक्रवार



प्राणघातक नसर्ने रोग

विचार/दृष्टिकोण |




रमेशचन्द्र न्यौपाने
विश्वमा मानिसलाई दुई किसिमका रोगले धेरै सताइरहेका छन् । सुरु–सुरुमा नसर्ने रोगका कारण मानिसको मृत्यु सरुवा रोगको तुलनामा धेरै कम थियो । त्यसमा पनि विकासशील देशमा मात्र नसर्ने रोगको चाप बढी थियो । वर्तमान अवस्थामा विश्वमा सम्पूर्ण विकासशील, अर्धविकसित सबै देशमा दुवै किसिमका रोगको चाप बराबरी भइरहेको छ ।
सरुवा रोग हुनुका कारण हावापानी, वातावरण, विभिन्न किसिमका कीटाणु, भाइरस, जलवायु परिवर्तनलगायत छन् भने नसर्ने रोग लाग्नुका कारण खानपान, जीवनशैली, अन्धविश्वास, धार्मिक व्यवहार, धूमपान, मद्यपान र लागूऔषध हुन् । नसर्ने रोगका कारण विश्वमै बिरामी र मृत्युको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ र यसले मानव जीवनमा धेरै आर्थिक भार पार्नुको साथै जीवन सधैँ कष्टकर हुन गइरहेको छ । यसैकारण नेपाल सरकारले ल्याएको राष्ट्रिय स्वास्थ्य नीति–२०७६ मा नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि व्यक्ति, परिवार, समाज तथा सम्बन्धित निकायलाई जिम्मेवार बनाउँदै एकीकृत स्वास्थ्य प्रणालीको विकास तथा विस्तार गर्ने लक्ष्य राखिएको छ । यी रोगलाई सामयमै रोकथाम तथा नियन्त्रण गर्न नसकिएमा नेपालमा परिवार र देशमै भयावह अवस्था आउन सक्छ । त्यसैले सरकारले नसर्ने रोगको रोकथाम नियन्त्रणका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यक भएको छ ।
नेपालमा अन्य रोगको अलावा खासगरी नसर्ने रोगमा रक्तनलीको रोग, उच्च रक्तचाप, उच्च कोलस्ट्रोल, मस्तिष्कघात, मधुमेह, पुरुष र महिलालाई हुने क्यान्सर, श्वासप्रश्वास, दम र बच्चाबच्चीलाई हुने मोटोपन आदि हुन् । यी रोगका कारण मानिसमा लामो अवधि र साधारणतया सुस्त गतिमा नकारात्मक प्रभाव परिरहेका छन् । यी रोग मृत्यु निम्त्याउने रोगमा पहिलो नम्बरमै मानिन्छ । नसर्ने रोगका कारणले गर्दा नै विश्वमा हरेक वर्ष करिब तीन करोड ६० लाख मानिसको मृत्यु भइरहेको छ ।
यस्ता रोगबाट बच्न र बचाउन सबै नागरिकले चिकित्सकको सल्लाह र सुझावअनुसार आफ्नो जीवन सधैँ स्वस्थ राख्न सचेत हुनुपर्छ । जीवन सधैँ स्वस्थ राख्नका लागि नसर्ने रोग के–के कारणले लाग्छन् र यसबाट सुरक्षित हुनका लागि अपनाउनुपर्ने उपाय पनि सबैमा जानकारी हुनु आवश्यक छ । उल्लिखित रोगबाट बच्न प्रत्येक व्यक्ति, परिवार र समाजले अनिवार्य रूपमा निम्न उपाय पालना गर्नुपर्छ र यसो गरेमै नसर्ने रोगको रोकथाम र नियन्त्रण क्रमशः हुन सक्छन् ।
सुर्तीजन्य पदार्थ सेवन नगर्ने ः मुटुरोग, दीर्घ श्वासप्रश्वास रोग (दम), क्यान्सर तथा मधुमेह रोग लाग्ने प्रमुख कारक तŒव चुरोट, बिँडी, हुक्का, खैनी, सुर्ती, गुट्खाजस्ता सुर्तीजन्य पदार्थ सेवन हो । धूमपान नगर्नेलाई अरूले गरेको धूमपानको धूँवाले पनि उत्तिकै हानि गर्छ । त्यसैले धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन नगर्ने र अरूले गरेको धूमपानबाट पनि टाढै बस्ने गरेमा नसर्ने रोग लाग्नबाट बच्न सकिन्छ ।
शारीरिक सक्रियता ः हिँडडुल गर्ने, दौडिने, साइकल चलाउने, घरायसी काममा सक्रिय रहने, पौडी खेल्नेजस्ता शारीरिक कसरत, योग तथा व्यायाम नियमित रूपमा गर्दा नसर्ने रोग लाग्ने जोखिम कम हुन्छ ।
मदिरा सेवन नगर्ने ः जाँड, रक्सी, बियर, वाइनजस्ता मदिरा सेवनबाट हृदयाघात, कलेजोसम्बन्धी रोग, क्यान्सर, पेट तथा आन्द्रामा घाउ र मानसिक असन्तुलनजस्ता समस्या हुन सक्छन् । मदिरा सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई पनि बढाउँछ । त्यसैले मदिरा सेवन नगरेमा नसर्ने रोगको जोखिमबाट बच्न तथा घरेलु हिंसा र दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।
नुन, चिनी र चिल्लो पदार्थ सेवन कम गर्ने नुनिलो, गुलियो र चिल्लो खानाले क्यान्सर, मुटुरोग र मधु्मेहजस्ता नसर्ने रोग हुने जोखिमलाई बढाउँछ । त्यसैले खानामा नुनको प्रयोग कम गर्नुपर्छ । दैनिक पाँच ग्रामभन्दा कम नुन खानुपर्छ । घिउ, तेलजस्ता चिल्लो पदार्थ र गुलियो खानेकुरा कम खानुपर्छ ।
सन्तुलित खाना ः नसर्ने रोगको जोखिमबाट बच्न खानेकुरा स्वस्थकर र सन्तुलित हुनुपर्छ । अन्न, दाल, गेडागुडी, दूध, दही, माछा तथा बोसो नभएको मासु, अण्डा, हरियो सागपात तथा तरकारी र फलफूल सन्तुलित रूपमा खानुपर्छ । मौसमी ताजा फलफूल र सागसब्जी दिनुहँु पाँचपटकसम्म (दैनिक कम्तीमा ४०० ग्राम) खानुपर्छ । बासी, सडेगलेको र पत्रु खाना (जङ्क फुड)ले नसर्ने रोगको जोखिम बढ्ने भएको हँुदा यस्ता अस्वस्थकर खानेकुरा खानुहुँदैन ।
मानसिक तनाव व्यवस्थान गर्ने र खुसी रहने ः घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने, हरेक दिन मन खोलेर हाँस्ने, ध्यान तथा योग गर्ने, परिवार तथा साथीभाइसँग घुमफिर तथा रमाइलो गर्ने गर्दा तनावको व्यवस्थापन भई मानसिक समस्यालगायत नसर्ने रोगको जोखिम कम हुन सक्छ ।
नियमित जाँच ः उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्नुपर्छ । रगतमा चिनीको मात्रा बढेमा (मधुमेह) भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्नुपर्छ । रगतमा चिल्लोपना (उच्च कोलस्ट्रोल) भएमा नियमित जाँच र उपचार गर्नुपर्छ । यसो गर्दा यी नसर्ने रोग नियन्त्रण भई सामान्य जीवन बिताउन सकिन्छ ।
वायु प्रदूषणबाट बच्ने ः धूँवा, धूलो र वायु प्रद्रूषणका कारणले दीर्घ श्वासप्रश्वास रोग (दम) क्यान्सर र मस्तिष्कघातजस्ता नसर्ने रोगको जोखिम बढ्ने भएकाले धूँवा, धूलो र वायु प्रदूषणबाट बच्नुपर्छ । घरभित्र आगो बाल्न दाउरा, गुँइठाजस्ता धूँवा आउने इन्धन प्रयोग गर्नुभन्दा ग्यास चुलो वा धूँवारहित चुलोको प्रयोग गर्नु
स्वस्थकर हुन्छ ।
घर तथा भान्साकोठामा दोहोरो हावा खेल्नेगरी भेन्टिलेसनको राम्रो प्रबन्ध हुनुपर्छ । प्लास्टिकलगायतका फोहोरजन्य वस्तुलाई जलाउँदा वातावरण प्रदूषण हुने भएकाले जलाउनुभन्दा गाडेर वा अन्य उचित तरिकाले विसर्जन गर्नुपर्छ । धूलो र प्रदूषित वातावरणमा हिँडडुल तथा कामकाज गर्दा नाक र मुख ढाक्नेगरी गुणस्तरीय मास्क लगाउनुपर्छ ।
(लेखक जनस्वास्थ्यविज्ञ हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?