logo
२०८१ माघ १० बिहीवार



विलुप्त भइरहेको होलीको सौन्दर्य

विचार/दृष्टिकोण |




रामभरोस कापडि ‘भ्रमर’

दृश्य : एक
गाउँको एउटा दलानमा साँझको समय । दिनभर खेतमा काम गरेर फर्केका गृहस्थ, खेतीहर मजदुर र सामान्य गाउँवासी आफ्नो नजिकको दलानमा जम्मा भइरहेका छन् । सबैजना तरोताजा, उत्साहले भरेका छन् ।
डम्फा र झाल सबैजनाले लिइहाले । भजनटोलीबाट गुजन झालाई आउन ढिलो भइरहेको छ । सबैजना उनलाई नै पर्खिबसेका छन् । सम्पूर्ण ब्राह्मण टोलमा गुजन झाको आफ्नो तालमा होलीगायनको जोडा छैन । यता, बेलदार टोलमा पल्टा राउतको सुर, तानमा एकैप्रकारले डम्फाको नथाकीकन बजाउने कला साह्रै मनमोहक छ । गायनमा पालो राउत, जगरूप र बोदल । कहिलेकाहीँ रामकिसुन पनि ।
ल, गुजन झा पनि आए । अब त सुरु हुनुपर्ने हो । टोलका बच्चा, युवा र घरको आँगनमा होली सुन्न जम्मा भएका महिला आतुर छन् । पल्टा बेलदार एकपटक गला साफ गरेर सुर तान्छन्–

वृन्दावन मोहन दधि लुटै, वृन्दावन ।
कहमा छाँछ कहाँ नकबेसरि, कहाँ मोतियनके लर टुटै
गोकुला छाँछ मथुरा नकबेसरी कुञ्जगली मे लर टुटे ।
वृन्दावन मोहन... ।

हो, तराईका अधिकांश गाऊँमा श्रीपञ्चमीपछि प्रायः प्रत्येक दिन यसैगरी जम्मा हुँदै यी ग्रामीण मानिस होली गीत गाइरहेका छन् ।
डम्फा र झालको आवाज घन्किरहेको छ । सुर र तालमा होली गाउने पल्टु र उनको पछाडि लागेका सबै गायक मस्तीमा डुबिसकेका छन् । घरका महिला पनि परबाटै आँगनछेउमा जम्मा भई स्वर लहरमा तरङ्गित होलीगायनको आनन्दमा लीन भइसकेका छन् ।
गुजन झा अन्तरा जोड्छन्–

किनकर हाथकनक पिचकारी, किनकर हाथ अबिर झोरी
कृष्ण के हाथकनक पिचकारी राधाके हाथ अबिर झोरी
वृन्दावन .....।

रसरङ्गको यो उत्सव आधारातसम्म यसरी नै जारी रहन्छ । टोलमा छुटेका युवा, प्रौढ क्रमशः जसै गायनमा सामेल हुँदै जान्छन्, होलीको मादकता उसैउसै जनमानसमा बढ्दै गइरहेको हुन्छ । यी बस्तीहरूमा लगभग १५ दिनसम्म यस्तो होली लोकमनोरञ्जनका लागि गायन हुन्छ । स्वच्छ, पवित्र र आनन्ददायी सर्व हितेषु होलीको शुभ आगमनको यस्तै स्वागत गरिन्छ ।
दृश्य–२
गाउँको कुनै सार्वजनिक खुला स्थान । आज विशेष होलीको दिन । पूर्णिमापछिको एक दिनमात्र । श्रीपञ्चमीदेखि होलीको सुरुवात भावनात्मक र तथ्यात्मक रूपमा मात्र । आज पूर्णिमामा अन्तरगृह परिक्रमा गरेर गाउँ फर्केपछि होलीको तयारी चलिरहेको छ । केही वृद्धवृद्धा पुरानो डम्फा, ढोलक, झाल कतै–कतै मजिरा लिएर होली गाउने प्रयास गरिरहेका छन्–

मिथिलामे राम खेले होली, मिथिलामे
किनकर हाथकनक पिचकारी, किनकर हाथ अबिर झोरी
हो किनकर हाथ अबिर झोरी
मिथिला मे .....।
रामजी के हाथ कनक पिचकारी
सीताके हाथ अबिर झोरी
हो सीता के हाथ अबिर झोरी,
मिथिला मे राम खेलै होरी
मिथिलामे.....।

गायन सुरमा रहेको समय युवाको एउटा हुल कुनै ठाउँबाट आउँछ र हातमा रहेका बेलुन धमाधम होलीगायनमा मस्त रहेका प्रौढहरूको जिउमा फोडेर भाग्छन् ।
कालो, नीलो, रातो, पहेँलो रङ्गको वर्षा हुन्छ । गायकहरूको सुर, ताल भङ्ग हुन्छ । डम्फा र झालबाट निस्किरहेको सुर, ताल बेकाबु भइहाल्छ । गायन अवरुद्ध हुन्छ । उनीहरू आफूमाथि रङ्ग फ्याँक्ने केटाहरूतिर रिसाएर हेर्छन्– हे भगवान ! उनीहरू त आफ्नै गन्जी, च्यातेको सर्ट, मुखमा पेन्ट (रङ्ग) लगाएर वीभत्स ! वनमान्छेजस्तै बनेका छन् । उनीहरूलाई के भन्ने, आफूभन्दा श्रेष्ठको मर्यादा गर्न नसक्नेसँग मुख पनि लगाउनुहुँदैन । के–के खाएका होलान्, गाली गर्नसमेत ढिलो गर्दैनन् ।
हो, आजभोलि होली यसरी त्रासको वातावरणमा मनाउनुपर्ने बाध्यता छ । दुई÷तीन दशकभित्र समाजमा पर्व–तिहारलाई आत्मसात् गर्ने प्रवृत्तिको यो अन्तर होलीमा बढी पीडादायक हुन थालेको छ । घरबाट निस्केर साथीभाइ तथा इष्टमित्रको घरसम्म गएर होली खेल्ने, रङ्ग–अबिर लगाउने परम्परागत वातावरण अब करिब रहेन । कि त सिन्थेटिक पेन्ट मुखमा लगाएर निस्कनुपर्छ, कि त जाँदाजाँदै कुनै होली खेल्नेहरू युवासँग अनाहकमा मुखमा रङ्ग लगाइमाग्न सहज बनेर बस्नुपर्छ ।
होलीको तथ्याङ्क राम्रो छैन । कुनै न कुनै स्थानमा दुःखद घटना भएको छ । जिउ जानेसम्मको खतरा हुन्छ । के होली उत्सव यसैका लागि हो ? वसन्त ऋतुको सबैभन्दा उत्कृष्ट उपहार हो– होली महोत्सव । कलर फेस्टिभल अर्थात् रङ्गको उत्सव । एउटाभित्र लुकेको कालो रङ्गलाई अनेकौँ रङ्गले छोपेपछि स्वच्छ र पवित्र रङ्गको उत्पत्ति हुन्छ, जुन जीवनको रङ्ग छ । मनको कलुषता लुकाएर एकै रङ्गमा रङ्गिएर यो सम्पूर्ण मानव समाज होलीको दिन सद्भाव र प्रेमको संवाहक बन्छ ।
रङ्ग अबिरको साथै राम्रो–राम्रो खानाको परिकार, त्यसमा पनि एक–अर्काबीच बाँडेर, यो परम्परा परापूर्वकालदेखि चल्दै आएको हो । यसलाई विकृत बनाउने काम भइरहेको छ । आजभोलि होली मनाउने न संस्कार, न सम्मान, न स्वच्छताको कुनै ख्याल ! रक्सीको बढी प्रयोग सबैभन्दा घातक हुन्छ ।

होली पर्वको कथा
होली कहिलेदेखि मनाउन सुरु गरिएको यसमा एकमत छैन । तर, सबैभन्दा बढी प्रचलित भनाइ प्रह्लाद–होलिका–हिरण्यकश्यपको रहेको छ । ब्रह्मासँग आफूलाई जीवजन्तु, देवीदेवता र दास अथवा मानिस, रात–दिन, पृथ्वी–आकाश, घर, बाहिर कुनै ठाउँमा, कुनै व्यक्तिले मार्न नसक्ने वरदान प्राप्त गरेपछि हिरण्यकश्यप धेरै कठोर राजा बने । भगवान् विष्णु मान्नेलाई दण्ड दिन थाले । विष्णुको भक्तमध्ये हिरण्यकश्यपको छोरा प्रह्लाद पनि थिए । बाबुद्वारा विष्णुको भक्ति नगर्न कयौँपटक मनाही गरे पनि उसले मानेनन् । त्यसपछि अन्ततः उनले प्रह्लादलाई मार्ने निर्णय गरे । यसक्रममा अनेक प्रयास गर्दा पनि प्रह्लादलाई मार्न सकेनन् । अन्ततः उनले आगोमा नजल्ने वरदान प्राप्त आफ्नी बहिनी होलिकालाई स्मरण गरे । होलिका प्रल्ह्लादलाई लिएर आगोमा बसिन् तर प्रह्लादलाई मार्न आगोमा बसेकी होलिका आफैँ जलिन्, प्रह्लाद जीवित नै निस्के ।
होलीकाको दहन भएपछि त्यसैको स्मृतिस्वरूप सम्मत दहनको परम्परा सुरु भएको र दोस्रो दिन होली पर्वको सुरुवात भएको विश्वास गरिन्छ । वर्तमान समयमा आर्यहरूद्वारा गरिने यस पर्वको प्रारम्भिक प्रमाणका रूपमा ३०० इसापूर्वको एउटा शिलालेख विन्ध्य क्षेत्रको रामगढमा प्राप्त भएको छ । त्यसले होलीको प्राचीन इतिहास रहेको पुष्टि भएको छ । राजा हर्षवद्र्धनले पनि सातौँ शताब्दीको आफ्नो ग्रन्थ– रत्नावलीमा होलीकोत्सवको वर्णन गरेका छन् । १६औँ शताबदीको मन्दिरमा बनाइएका मूर्तिमा पनि होलीकोत्सवको अनेकौँ प्रसङ्ग प्राप्त भएको छ । यस्तै यो अतिप्राचीन परम्परा रहेको विश्वास गरिन्छ ।

अब के गर्ने
अहिले होलीको प्राचीन मर्यादा र रङ्ग उत्सवको अन्तरनिहित प्रेम सम्बन्धको भावनाको पुनःस्थापना गरेर होलीलाई सामाजिक उत्सवका रूपमा मनाउन जरुरी छ । समाजका सबै वर्गले आफ्नो आचारसंहिताको निर्माण स्वयम् गरेर यस पवित्र आनन्दमय रङ्ग उत्सवलाई जीवन्तता दिनुपर्छ ।
(लेखक साहित्यकार हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?