logo
२०८१ माघ १० बिहीवार



कानुन र दुर्गाप्रसादको दुःख

विचार/दृष्टिकोण |




अनु भट्टराई

उन्नाइस वर्षको उमेरमा वि.स. २०३७ मा इलामको मङ्गलबारे बजारमा तोरी बेच्न भनी हिँडेका दुर्गाप्रसाद तिमिल्सिनाले अनाहकमा ४० वर्ष भारतीय जेलमा बस्नु प¥यो । कामको खोजीको सिलसिलामा दार्जिलिङ पुग्नुभएका तिमिल्सिना सन् १९८० को १२ मा कर्तव्य ज्यान मुद्दामा पक्राउ पर्नुभएको थियो । गोर्खाल्याण्ड आन्दोलनको क्रममा उहाँ बसेको जेलमा आगो लाग्दा उहाँको सबै कागजातसहितको मिसिल जलेर नष्ट भएपछि कष्ट भोग्नु प¥यो ।
शारीरिक र मानसिक रूपमा विक्षिप्त हुन पुगेका उहाँ विना सुनुवाइ, विना कसुर र विना आधार र कारण जीवनको ऊर्जाशील ४० वर्ष जेलको त्यो कालो कोठरीमा यातनायुक्त र कठोर र कष्टकर जीवन जीउन बाध्य हुनुभयो । सन् १९८२ को जनवरीमा अदालती ट्रायलको क्रममा दार्जिलिङ जिल्ला अदालतले उहाँ मानसिक रूपमा स्वस्थ नरहेको कुरा प्रष्ट पारेको थियो । तर अदालती काम कारबाही अगाडि बढाउनका लागि अस्पतालबाट प्राप्त स्वास्थ्य परीक्षणको रिपोर्ट अदालतमा नबुझाएको कारण उहाँ जेलमा बस्न बाध्य हुनुभयो । जेल बसाइँको कारण उहाँमा मानसिक स्वास्थ्यमा गम्भीर अपुरणीय र अतुलनीय क्षति पुग्न गयो । जसको कारण उहाँको हाल मानसिक स्थिति नौ वर्षको बालकको जस्तो भएको छ  । बोल्दा पनि मुख तथा हात पुरै काम्ने लगायतको समस्या देखा पर्न गएको छ ।
विना कुनै कसुर ४० मिनेट त प्रहरी कष्टडीमा बस्नु त मानिसहरूलाई मरेतुल्य हुन्छ भने दुर्गाप्रसादले मिनेट, घण्टा, दिन या महिना होइन पूरा ४० वर्ष जेलमा बस्नु प¥यो । विना कुनै सुनुवाइ यति लामो समय बिताउनु पर्दाको पीडा, रोदन, घृणा, वेदना समवेदना आदि इत्यादि व्यक्त गर्ने शब्द शायदै शब्दकोषमा पनि भेटिएला । संयोगवश कोलकत्तास्थित दमदम कारागारमा १० वर्ष अगाडि देखेका दादेश्याम दासले पुनः उहाँलाई देखेपछि अहिले उहाँ जेलमुक्त हुनुभएको छ । दासले आफू थुनुवा मुक्त भएपछि वेष्ट बङ्गाल रेडियो क्लबमा खबर गर्नुभयो । अनि विभिन्न भारतीय सञ्चार माध्यममा यो खबरले प्राथमिकता पाएको थियो । जसको कारण उहाँको पक्षमा माहोल बन्न पुग्यो । यही माहोलले उहाँ थुना मुक्त हुन पनि सफल हुनुभयो । यस सन्दर्भमा कालोकोटको मूल्य र पेसागत मर्यादा अनि संवेदनशीलताबारे गम्भीर बन्न आवश्यक देखिएको छ । ताकि समाजमा एकातिर कालोकोटको लाज राख्न सकियोस् भने अर्कोतिर समाजले थप एक अर्को दुर्गाप्रसाद प्राप्त नगरोस् ।
देशको चौथो अङ्गको रहेको सञ्चारका माध्यमको यो ऐतिहासिक र उदाहरणीय कार्यलाई मूक्त कण्ठबाट प्रशंसा नगरी रहन सकिँदैन यद्यपि दुर्गाप्रसादको मानसिक अवस्था, गम्भीरता र संवेदनशीलतालाई ध्यानमा राखी सजग, सचेत र सहज रूपमा सूचना र समाचार प्रकाशन र प्रसारण गर्न तथा प्रश्नहरू सोधिदिएको खण्डमा व्यावहारिक रूपमा पनि सञ्चार माध्यम देशको चौंथो अङ्गको रूपमा स्थापित हुन सक्ने कुरामा दुई मत नै हुने छैन । यति मात्रै हैन, सञ्चार माध्यमको थप जिम्मेवारी पनि उहाँको मुद्दाको सन्दर्भमा आएको छ, त्यो हो उहाँको सामाजिक पुनस्र्थापना र क्षतिपूर्तिसाहितको न्याय दिलाउन थप दबाब सिर्जना गर्न अत्यधिक सूचना र जानकारी प्रकाशन र प्रसारण गर्ने । चौतर्फी रूपमा आएको दबाब र उहाँको मानसिक स्वास्थ्यमा देखिएको समस्याको कारण उहाँलाई जेलमा राखेर उपचार गर्न नसकिने स्थिति थियो । अदालतको फैसलाको जति नै प्रशंसा गरे तापनि अधुरो र अपुरो नै रहनेछ । यद्यपि उच्च अदालत कोलकताले क्षतिपूर्तिको माग दाबी नगरेको खण्डमा मौन नै रहेको देखिन्छ । नेपालमा जस्तै भारतको कानुनमा पनि क्षतिपूर्तिको रकमको मागदाबी गर्न पाइने व्यवस्था हुनसक्छ । अधिकार प्राप्त व्यक्तिले पुनरावेदनको क्षेत्राधिकार प्राप्त एक तह माथिको अदालत अर्थात् सर्वोच्च अदालतमा क्षतिपूर्तिको उचित रकम दिलाइदिन निवेदन दिन सक्ने वा अन्य कुनै व्यवस्था हुनसक्छ । यसर्थ परिवारका सदस्यहरूले यो कानुनी उपचारको खोजी गर्न जरुरी छ । साथसाथै एक सचेत, संवेदनशील र सरल नागरिक भएको हौसियतले दुर्गाप्रसादको मुद्दामा अनगिन्ती प्रश्नहरू उत्तर विहीन छन् । के अदालतले दिलाइदिने क्षतिपूर्ति रकमले दुर्गाप्रसादको जीवनको १९ वर्षे कलकलाउँदो जवानीमा देखेका रङ्गिन सपनाहरू किन्न सक्छ ? के क्षतिपूर्तिबाट प्राप्त सो रकमले जीवनको त्यो पल किन्न सक्छ जुन पल जिउने उहाँ साँच्चिकै हकदार हुनुहुन्थ्यो ? क्षतिपूर्तिको त्यो रकमले उहाँको आँखाबाट त्यो निर्दोष आँसुको मूल्य चुकाउन सक्ला ?
उहाँ हाल निर्दोष सावित भई कारागार मुक्त भएको नभई कमजोर मानसिक स्वास्थ्यको कारणले थुना मुक्त भएको अवस्थामा के कसरी काम कारबाही टुङ्गो लाग्छ ? त्यो भने हेर्न बाँकी नै छ । यद्यपि उहाँले क्षतिपूर्तिस्वरूप रकम प्राप्त गरेको खण्डमा मानसिक रोगको उपचार गरी स्वास्थ्य जीवन जीउन सक्नुको साथै बाँकी जीवन कसैको दबाब, विना कसैको बोझ सरल, सहज र स्वतन्त्र रूपमा जीउन सक्ने सत्यलाई भने नर्कान सकिन्न । 
(लेखक अधिवक्ता हुनुहुन्छ )

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?