गोपाल खनाल
यतिबेला नेकपा–एमालेबाहेकका सबै दल सत्ता राजनीतिमा केन्द्रित छन् । एमाले त सत्तारूढ छँदै छ । ती दलको प्राथमिकता नै प्रधानमन्त्री केपी शर्मा ओलीको निरन्तरता वा बर्हिगमनसँग मात्र देखिन्छ । र, त्यसका लागि ती दलको शीर्षनेतृत्व सकेसम्मको प्रयासमा लागेको छ । उसले घरेलुमात्र होइन, बाह्य पक्षको समेत हस्तक्षेप खोजेको यसअघि सार्वजनिक भएकै हो । भारतको पक्षमा ‘कम्फरटेबल’ सरकार बनाउने प्रचण्डप्रयास जारी छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकृत रहोस् भन्ने चाहना र प्रयास असफल भएपछि बेइजिङ फेरि पुरानै शान्त कूटनीतिको चरित्रमा फर्केको छ ।
प्रधानमन्त्री ओलीको निरन्तरता वा बहिर्गमन वा नयाँ सत्ता समीकरणमा मूलतः दुई पवृत्ति छन् । सत्ताको चरमोत्काङ्क्षा र त्यसबाट आकस्मिक अनपेक्षित भुँइमा बजारिंँदा फेरि एकछिन सत्ताप्रति चरम निराशा पैदा हुन्छ । सत्ता प्राप्ति सम्भव छैन भनेपछि अरूलाई सत्ताच्यूत र सत्तारोहण गराउँदा पनि सन्तुष्टि नै प्राप्त हुन्छ सायद । नेपाली राजनीति नै अहिले ओलीको वरिपरि केन्द्रित छ । एउटा भाष्य नै निर्माण भएको छ– गर्ने ओलीले हो, अरूले त प्रतिक्रियामात्र व्यक्त गर्ने हो । ओलीले त गर्न सकेनन् भने अरूले
के गर्लान् ?
दुस्मनी सोच
ती दुई प्रवृत्ति विश्लेषण गरौँ । पहिलो, ओलीलाई सत्ताबाट हटाउनुमै आफ्नो सफलता ठान्छ । आफ्नो पार्टी आकारमा सीमित हुँदै गरेकोमा पश्चाताप र पीडा छैन, बरु ओलीलाई हटाउन नसकेर भक्कानिएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, बाबुराम भट्टराई र उपेन्द्र यादवहरू आफ्नो पार्टी विस्तारमा होइन, ओलीको प्रभाव आँकलनमा बढी समय खर्चनुहुन्छ । पार्टी विस्तारित हुन्छ र जनमतद्वारा सत्ताको नेतृत्व गर्छु भन्ने विश्वास उहाँहरूमा देखिँदैन । सायद, सक्रिय ओलीविनाको राजनीतिमा आफ्नो अलिकति भविष्य देख्नुभयो कि, त्यसैले त्यता लाग्नुभयो ।
कवि मनु मञ्जिलको एउटा चर्चित कविता छ– दुस्मन । त्यो दुस्मनले आफ्नो अस्तित्व अस्वीकार गर्छ र विरोधीको चियोचर्चोमा सम्पूर्ण जीवनै समाप्त पार्छ । उक्त कविताले भनेजस्तो प्रचण्ड, नेपाल, भट्टराई र यादवहरूले ओलीलाई मात्र यतिविघ्न सम्झिनुभयो कि उहाँहरूले आफ्नै रहर र सपना भुल्नुभयो । अर्को अर्थमा, आफ्नो रहर र सपना नै ओलीको विस्थापनमा पूरा हुने ठान्नुभयो । उता, ओली भने आफ्नै रहर र सपना भुलेर यतिविघ्न सम्झने दुस्मन पाएर सायद दङ्ग हुनुहुन्छ । किनकि त्यसले उहाँलाई अघि बढ्न ऊर्जा दियो । उहाँहरूको विरोधलाई ओलीले आफ्नो शक्ति ठान्नुभयो । पार्टीभित्र र बाहिरको विरोधको अभियान थालेपछि ओलीले गरेका कामको सूचीले त्यो प्रमाणित गर्छन् ।
त्यसो त राजनीतिमा स्थायी दुस्मन हुँदैन तर अस्थायी दुस्मनविरुद्ध अमैत्री, विचारहीन र स्वार्थी गठबन्धनचाहिँ बन्दोरहेछ । प्रचण्डको बारम्बारको कारबाही, ‘रअ’ एजेन्ट भएको आरोप, नीति आफ्नो, नेतृत्व प्रचण्डको भन्दै स्थायी अध्यक्षसँग लड्न नसकेर भगौडा हुनुभएका बाबुराम अहिले प्रचण्डसँग चोचोमोचोमा हुनुहुन्छ किनकि ओली हटाउने प्रधान एजेन्डामा सँगै देखिनुभएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा प्रचण्ड र बाबुरामबीच भएको वार्ता त्यसको एउटा प्रमाण हो ।
तर, ओलीलाई किन विस्थापित गर्नुपर्छ भन्ने तथ्य र तर्क दिन नसक्दा उनीहरूको सामूहिक र सङ्गठित प्रयासलाई नागरिकले अस्वीकृत गरिदिएका छन् । उनीहरू आफ्नो विगतको समीक्षा गर्न चाहँदैनन्, पार्टी र सत्ताको नेतृत्वमा रहँदाको कार्यकालसमेत स्मरण गर्न चाहँदैनन् किनकि त्यसो गर्दा ओली थप प्रभावी र शक्तिशाली हुने त्रासदीले च्याप्छ ।
प्रचण्डले माओवादी केन्द्रको हैसियत बिर्सेर माधव नेपालसहितको शक्तिका भरमा सायद आफू ओली बराबरी भएको भ्रम पाल्नुभयो । भ्रमले दिने निष्कर्ष त्यस्तै भ्रमपूर्ण रह्यो । माधव नेपालले ४३ मतले मात्र हारेको अध्यक्ष, प्रचण्डसँग मिल्दा धेरै मतको अध्यक्ष हुने ठान्दै त्यसको दाबी गर्नुभयो । पछि कार्की बैङ्क्वेटमा मात्र अध्यक्ष बन्ने उहाँको सपना पूरा भयो पनि । प्रधानमन्त्री र अध्यक्षका रूपमा ओलीको विकल्प आफूहरू रहेको प्रमाणित गर्न प्रचण्ड र माधवले सक्नुहुन्नथ्यो । परिणाम स्वाभाविक भयो । किनकि विकल्प व्यक्तिको व्यवस्थापन होइन, विकास र समृद्धिको उपयुक्त नेतृत्व हो, जो ओलीभन्दा कमजोरमात्र छन् ।
रणनीतिक लाभ
दोस्रो, सत्ताबाट हटाएरमात्र हुँदैन, प्रत्यक्ष लाभ पाउनुपर्छ भन्ने प्रवृत्ति छ । त्यसको अर्थ प्रधानमन्त्रीका रूपमा ओलीको निरन्तरताबाट आफू र आफ्नो पार्टी वा समूहलाई राजनीतिक लाभ हासिल हुन्छ भने तयार हुनुपर्छ भन्ने हो । काँग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतो, खासगरी पूर्वराजपा पक्ष । पार्टीगत दृष्टिकोणबाट हेर्दा, अर्को सरकार बन्न नसक्ने अवस्था कायम गरिरहँदा ओलीले नै गराउने मध्यावधि निर्वाचनबाट सबैभन्दा बढी राजनीतिक फाइदा काँग्रेसलाई हुन्छ । रामचन्द्र पौडेलहरूले यो बुझ्नुभएको होला, सायद देउवालाई थप अनुकूलता हुन्छ भन्ने पूर्वानुमानमा यतातर्फ अनिच्छुक देखिनुभयो ।
काँग्रेसको चैत २० मा भएको बैठकमा प्रधानमन्त्रीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने प्रस्ताव देउवाले राखेको भन्ने सार्वजनिक भएको छ । सायद प्रचण्ड, बाबुरामहरूको माग पूरा गरेर बल उतैतिर फर्काइदिनुभएको हुन सक्छ । काँग्रेसले निर्णय लियो, अब तपाईंहरूको निर्णय आउनुपर्छ भनेर परीक्षण गर्नुभएको हुन सक्छ ।
तर, देउवाले भनेजस्तो राजीनामा प्रधानमन्त्री ओलीबाट आउँदैन । ओली हट्दामात्र विजयोत्सव मनाउन चाहनेले देउवालाई प्रधानमन्त्री बनाउन सक्छन् तर त्यसबेला पाँच वर्ष पुगेपछि मात्र निर्वाचन भन्ने सर्तमा देउवाले हस्ताक्षर गर्नुपर्छ । जुन रणनीतिक रूपमा काँग्रेसको विपक्षमा हुन्छ । कम्युनिस्ट विभाजित भएका बेला सकेसम्म छिटो निर्वाचन काँग्रेसको पक्षमा हुन्छ । रात रहे अग्राख पलाउँछ भन्ने देउवाले बुझ्नुभएकै हुनुपर्छ ।
उता, महन्थ ठाकुर र राजेन्द्र महतो आफ्ना तीन मुख्य मागसहित प्रधानमन्त्री र एमालेसँग वार्तामा मात्र हुुनुहुन्न, सहकार्यको सकारात्मक वातावरण निर्माण हुँदै छ । त्यस्तै, जेलमा रहेका सांसद रेशमलाल चौधरीको रिहाइका लागि सरकार र आन्दोलनरत समूहबीच पनि बेग्लै वार्ता टोली गठन भएर पहिलो चरणको वार्ता सम्पन्नसमेत भइसकेको छ । ओलीविरोधी गठबन्धनमा जाँदा उपेन्द्र, बाबुराम हाबी हुने र मागसमेत पूरा नहुने तर ओलीसँग गठबन्धन बनाउँदा आफ्नो समूह हाबी हुने र एजेन्डा पनि सम्बोधन हुने महन्थ र राजेन्द्र पक्ष अर्थात् पूर्वराजपाको सोच देखिन्छ । यो तार्किक छ । जसपामा महन्थ र राजेन्द्र पक्ष हाबी छ ।
यी दुई राजनीतिक प्रवृत्तिबीच ओलीविरुद्ध चाल्न सक्ने सबै कदममा प्रचण्ड पूर्णतः असफल हुनुभएको छ । नेकपा नाम विवादको सर्वोच्च निरूपणपछि पुनरावेदनमा जानुभएका प्रचण्डलाई सर्वोच्चले लालबत्ती देखाएपछि फेरि रन्थनिनुभएको छ । प्रचण्ड फेरि ओलीलाई समर्थन गरिरहन बाध्य हुनुहुन्छ । नैतिकताको राग अलाप्नेले लाजगाजले पनि नैतिकता प्रदर्शन गर्नुपर्दैन ?
उता, एमालेबाट निलम्वित माधव नेपाल र उहाँको पछि लागेका नेताहरू ओलीलाई हटाउन फेरि अदालतको अवहेलना भएको भन्दै सर्वोच्चमा जाने तयारीमा हुनुहुन्छ । चैत २० मा फागुन २३ को फैसला कार्यान्वयन नभएको भन्दै मुद्दा दायर गर्नेबारे छलफल भएको सार्वजनिक भयो । एकातिर, पार्टीले कारबाही गरेपछि पनि समानान्तर गतिविधि गरिरहने र अर्कातिर, मुद्दा–मामिलामा लाग्ने कार्यले पनि कुनै अनुकूल परिणाम आउने सम्भावना छैन । माधव समूहसँगको विकल्प कारबाही सहेर तोकिएको समय गुजार्दै एमाले राजनीति गर्ने वा नयाँ पार्टी गठन गर्नेबाहेक अर्को देखिँदैन । समानान्तर कमिटी बनाएर निर्वाचनताका मोलाहिजा गर्दै मिलौँला भन्दा अब
सम्भव देखिँदैन ।
जवाफ
अब ओलीको जवाफ हेरौँ । अरू अन्योलमा छन् तर प्रधानमन्त्री ओली अभियानमा हुनुहुन्छ । जब–जब पार्टीभित्र प्रचण्ड र माधवले अप्ठ्यारो पार्नुभयो, ओली झन् बढी सक्रिय हुनुभयो । जब पार्टीभित्रैबाट उहाँको राजीनामा माग्न थालियो, ओली झन् विकास राजनीतिमा केन्द्रित हुनुभयो । ओलीले उद्गारको राजनीतिमात्र गर्नुभएन, ‘एक्सन’कै राजनीति गर्नुभयो । कृष्णप्रसाद भट्टराईको वाचा ओली सरकारको पालामा पूरा भयो, मेलम्चीको पानी काठमाडौँ आयो । चैत २० राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभयो । चैत २१ मा देशभरका १६५ वटा सडक सञ्जालको आरम्भ प्रधानमन्त्री ओलीले गर्नुभयो । यी तीन वर्षमा देशभित्रको सबैखालको सम्पर्क सञ्जाल विस्तार भएको छ भने अन्तरदेशीय सम्पर्क सञ्जालमा उल्लेखनीय सफलता हासिल भएको छ । त्यसैको पछिल्लो प्रमाण हो– बङ्गलादेशसँग भएको तेस्रो देशसँगको व्यापार पारवहन समझदारी ।
पार्टीभित्रको अवरोधले रोकिएका संवैधानिक निकायका नियुक्तिदेखि विकास परियोजना धमाधम अघि बढे । नेपालको स्वार्थलाई केन्द्रमा राख्दै छिमेकी सम्बन्ध अघि बढ्यो । कोरोना महामारीविरुद्धको युद्धमा नेपालको आग्रह मानेर र आफ्नो दायित्व सम्झेर भारत र चीनले सुरुदेखि खोप उपलब्ध गराउनेसम्मका सहयोग गरे । प्रधानमन्त्रीका रूपमा ओलीले पूरा समय देशको विकासमा लगाएको हासिल भएका उपलब्धिबाटै पुष्टि हुन्छ । आलोचनालाई कामबाटै जवाफ दिएका कारण ओलीप्रतिको आकर्षण युवामा पनि बढेको देखिन्छ, प्रबुद्ध नागरिकमा छँदै थियो । ओलीसँग अहिले पनि जनताबीचमा लिएर जाने थुप्रै एजेन्डा छन्, जुन उपलब्धिलाई प्रचण्ड र माधवले नैतिक रूपमा पनि राजनीतिक एजेन्डा बनाउन सक्नुहुन्न किनकि उहाँहरूले सरकारले केही गर्न नसकेको भन्दै राजीनामै माग्नुभयो । अन्य राजनीतिक दलका हकमा पनि यो लागू हुन्छ किनकि नभएको प्रतिगमनसँग मतदातालाई कुनै चासो छैन । राजीनामा माग्नेलाई चैत २१ मा ओलीको जवाफ छ– पहिला, समर्थन फिर्ता लिनुहोस्, त्यसपछि आउँछ । त्यसैले अरू अन्योलमा छन्, ओलीसँग अभियानमात्र छ ।
(लेखक गोरखापत्र संस्थानका सम्पादक सल्लाहकार हुनुहुन्छ ।))