logo
२०८१ माघ १० बिहीवार



अनियमित महिनावारी र बाँझोपन

विचार/दृष्टिकोण |




डा. आकृति भारती

महिनावारी महिलामा हुने एक प्राकृतिक प्रक्रिया हो । सामान्यतया हरेक २८ दिनको अन्तरालमा महिनावारी हुने गर्छ । यसले हाम्रो प्रजनन स्वास्थ्य ठीक छ वा छैन भन्नेबारे केही जानकारी दिए पनि के यो सन्तान प्राप्त हुन सक्ने वा नसक्ने क्षमताको सूचक हो ? के यसको नियमितता वा अनियमितताका आधारमा कसैलाई सन्तान प्राप्त गर्न योग्य÷अयोग्यका रूपमा वर्गीकृत गर्न सकिन्छ ?
मानव शरीर आफैँमा जटिल छ । किटानसाथ केही भन्न सकिँदैन । कहिले असामान्य महिनावारी भएका महिलाले गर्भधारण गर्न सफल भएका हुन्छन् भने कहिले नियमित महिनावारी हुनेमा पनि बाँझोपन देखिन सक्छ ।
महिनावारी मूलतः गर्भधारणका लागि महिलाको शरीरले आफूलाई तयार पार्ने प्रक्रिया हो । यसमा डिम्बाशयबाट डिम्बको निष्कासन हुन्छ र निषेचित डिम्बलाई पाठेघरमा टाँसिन र पोषणका लागि मद्दत पु¥याउन ‘इन्डोमेट्रम’को विकास भएको हुन्छ । निषेचन हुन नसकेको खण्डमा यो महिनावारीका रूपमा शरीरबाट बाहिर निस्किन्छ ।
१. १ –५ दिन : यस अवधिमा रक्तश्राव हुन्छ
२. ६–१४ दिन : डिम्बको र ‘इन्डोमेट्रम’को विकास हुन्छ
३. १४ दिन : डिम्बाशयबाट डिम्बको निष्कासन हुन्छ
४. १५–२८ दिन :गर्भनली हुँदै डिम्ब पाठेघरसम्म पुग्छ । गर्भनलीमा शुक्रकीटसँग मेल भए गर्भधारण प्रक्रिया सुरु हुन्छ । अन्यथा ‘इन्डोमेट्रम’सँगै डिम्ब पनि महिनावारीको रक्तश्रावका रूपमा निस्किन्छ ।
धेरै महिलामा आजकल अनियमित महिनावारीको समस्या देखिने गरेको छ । यसका विभिन्न कारण हुन सक्छन् । प्रजननमा हानि पु¥याउन सक्ने अनियमित महिनावारीका कारण यस्ता छन्–
एनोभुलेसन
यसअन्तर्गत ओभुलेसन अर्थात् डिम्ब निष्कासन हुन सक्दैन । यस्तो अवस्थामा चिकित्सकको सल्लाहविना गर्भधारण सम्भव हुँदैन ।
प्रइमरी ओभरियन इन्फ्युसिस÷फेइलर
यस्तो अवस्थामा अनियमित महिनावारी हुन सक्छ वा पूर्ण रूपमा महिनावारी बन्द हुन सक्छ । एस्ट्रोजेनको मात्रा कम भएर हुन सक्ने यस्तो समस्यामा योनि सुख्खा हुने, यौन सम्पर्क पीडादायक हुने, निद्रा नलाग्ने, शरीरको तापमान बढ्ने, डिप्रेसनजस्ता लक्षण देखिन सक्छ । यस्तो अवस्थामा पनि विज्ञको सल्लाह लिनु आवश्यक हुन्छ । मोटोपन प्रजननमा असर पु¥याउने एक प्रमुख कारण हो । यसले महिनावारी पनि अनियमित बनाउँछ । अधिक मोटो हुनुमा पीसीओस, थाइराइड पनि प्रमुख कारण हुन सक्छन् । यस्तो अवस्थामा जीवनशैली÷खानपान आदिमा सुधार ल्याएर र व्यायाम, योग आदिमा ध्यान दिएर सुधार
ल्याउन सकिन्छ ।
धेरै कम तौल भए पनि समस्या देखिन सक्छ । पोलिस्टिक ओभरियन सिन्ड्रमले सबैमा बाँझोपन ल्याउँछ भन्ने हुँदैन तर गर्भधारणमा अप्ठ्यारो हुने गर्छ र आठजनामध्ये एकमा बाँझोपन पनि ल्याउन सक्छ । यो समस्या देखिएकाले गर्भधारण गर्न लामो समय लिन सक्छन् वा उनीहरूमा गर्भपातको समस्या देखिन सक्छ ।
थाइरोइडसम्बन्धी समस्या
अधिक सक्रिय वा न्यून सक्रिय थायरोइड भए महिनावारी र गर्भधारण दुवैमा समस्या देखिन सक्छ । यसमा तौल बढ्ने, निद्रा नलाग्ने, थकान लाग्ने, डिप्रेसन हुनेजस्ता समस्या देखिन सक्छ । यस्तो समस्या भएमा पनि चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ । महिनावारीसँग सम्बन्धित यस्ता समस्या देखिए गर्भधारणका चुनौती थपिन्छन् तर सन्तान नै नहुने हुँदैन । कसै–कसैले केही औषधि सेवन गरेर त कसैले निरन्तर प्रयासबाट पनि सन्तान प्राप्त गर्न सक्छन् ।
अनियमित महिनावारी भएका महिलाले सन्तान प्राप्त गर्न आफ्नो जीवनशैली, खानपान आदिमा ध्यान पु¥याउनुपर्छ । तौल सन्तुलित पर्नुपर्छ र नियमित यौनसम्पर्क गरिराख्नुपर्छ । नियमित यौन सम्पर्कले
(हप्तामा कम्तीमा चारपटकसम्म) ओव्युलेसन चक्रको बेला निषेचन हुने सम्भावना बढाउँछ, जसले गर्दा सन्तान प्राप्तिको सम्भावना बढ्छ ।
कहिलेकाहीँ महिनावारी नियमित देखिए पनि सन्तान प्राप्तिमा चुनौती देखिन सक्छ । जस्तै :
–विभिन्न कारणले गर्भनली बन्द हुन सक्छ वा कुनै घाउ देखिन सक्छ ।
–नियमित महिनावारी हुँदाहुँदै पनि डिम्ब निष्कासन नभइरहेको हुन सक्छ ।
–डिम्बको गुणस्तर राम्रो नहुन सक्छ, जसले गर्भपात गराउन सक्छ ।
यी अवस्थामा महिनावारी नियमित भए पनि गर्भधारणमा समस्या हुन सक्छ । त्यसैले सन्तान प्राप्तिमा समस्या देखिए एकपटक प्रजनन विशेषज्ञकै सल्लाह लिनुपर्छ । महिनावारीको गडबडीले गर्भधारणमा समस्या थपेको हुन्छ तर प्राकृतिक रूपमा गर्भ बस्नै नसक्ने हुँदैन । गर्भधारणको प्रयास दुई वर्षसम्म पनि सफल भएन भने चिकित्सकको सल्लाह लिनुपर्छ । उमेर ३५ वर्ष काटेको छ भने गर्भधारणको प्रयास गरेको छ महिनामै सल्लाह लिनुपर्छ ।
(लेखक प्रजनन विशेषज्ञ हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?