logo
२०८१ माघ १० बिहीवार



स्मृतिमा कृष्ण दाइ

विचार/दृष्टिकोण |




तेजप्रकाश श्रेष्ठ

सुस्वास्थ्यको कामना गर्दागर्दै बज्रिए असह्य पीडादायी बज्रहरू । बज्र बज्रनु के थियो, हामीलाई मर्माहत तुल्याइहाल्यो, हामी किंकर्तव्यविमूढ भयौँ र थचारियौँ टुहुरे खाडलमा । यो २०७७ साल किन निष्ठुरी बनेर आयो हाम्रो जीवनमा ? आउँदै नआएको भए कति निश्चिन्त हुन्थ्यौँ हामी ! छ महिनाको अन्तरालमा दुई–दुई जना अभिभावक हामीलाई चटक्कै छोडेर शून्यमा बिलाउनुभयो कर्कलोको पानीझैँ । हामीले केही गर्न सकेनौँ । हामी टुलुटुलु हेरेर आफ्नै पुर्पुरोमा हात राख्न विवश भयौँ । कति निरीह रहेछौँ हामी ! चाहेर पनि केही गर्न सक्दारहेनछौँ ।
बलवान् प्रकृतिको सामु नतमस्तक हुनै पर्दोरहेछ । ज्ञान विज्ञानले पनि हार मान्नै पर्दोरहेछ । कोभिड १९ (कारोना) को सामु विज्ञानमा चरम प्रगति गरेको धाक लगाउने मानवको पनि कुनै जोर चलिरहेको छैन । यतिखेर विश्वमा करोडौँ मानवले मृत्युवरण गरिरहेका छन् । तर विवश छ विज्ञान । कोभिड विरुद्धको खोप आविस्कार गरे पनि कोभिडको प्रकोप साम्य हुन सकेको छैन । कोरोना कहर फैलिरहेकै छ । ज्ञान विज्ञानमा विकसित मानिएका अमेरिका, रुस, फ्रान्स, बेलायत, जर्मन आदि देश–महादेशहरूमा यसको प्रकोपले झम्टी झम्टी आक्रमण गरिरहेछ । सिङ्गो विश्व जाइलाग्दा पनि कोरोना आतङ्क हट्न सकेको छैन ।
यही प्रकोपको आतङ्कमा पिल्सिँदा पिल्सिँदै हामीले आफ्नै दुई अभिभावक गुमाउन बाध्य भयौँ । न नेपालका पशुपतिनाथले बचाउन सके, न त रुसका वैज्ञानिकहरूले । अन्ततः हामी टुहुरा हुन पुग्यौँ ठुली दिदी लक्ष्मी तथा जेठा दाइ कृष्णले मृत्युवरण गरिदिँदा । एउटै कोखबाट यस पवित्र धर्तीमा श्वास फेर्न आइपुगेका हामी सात सन्तानमध्ये एक (लोकप्रकाश)ले धेरै पहिले सास फेर्न छोडिसकेका भए पनि तीन दिदीबहिनी (लक्ष्मी, राधा, तारा) र तीन दाजुभाइ (कृष्ण, तेज र त्रिपुर) हाँसिखेली आआफ्नै कर्मका श्वास फेर्दै रमाइरहेका थियौँ । तर निष्ठुरी कोरोनाले हाम्रो सुखद जीवन सहन सकेन र दुई जनाको श्वास पनि चुँडिदियो हामीलाई टुहुरो पारेर ।
अहिले म झल्झली सम्झिरहेछु – छ महिनाअघि दिवङ्गत हुनुभएकी ठूली दिदी लक्ष्मीवदन वैद्यलाई । त्यो अलच्छिना दिन थियो, २०७७ कात्तिक ८ (महाअष्टमी)। बनेपाका जीतबहादुर वैद्यसँग विवाह भएर दुई छोरा र नातिनातिनासँग रमाइरहनु भएकी दिदीको के वैरभाव थियो र
कोभिडसँग ? थाहै नदिई उहाँलाई हरण गरेरै छोड्यो त्यसले । सानैदेखि हामी भाइबहिनीको स्नेही अभिभावक बन्दै र बुबामुमाको देहावसानपछि अझै सशक्त अभिभावकत्व दिँदै आउनु उहाँको दोष थियो त ? उदेक लाग्छ !
आहा ! मयालु र स्नेहालु व्यवहारले उहाँको सामीप्यमै हामी रमाउँथ्यौँ । उहाँको कथा वाचन गर्ने खुबी मलाई साह्रै मिठो लाग्थ्यो । हामी साना छँदा उहाँ हामीलाई रमाइला कथा भनेर फकाउनु, फुलाउनु हुन्थ्यो । पछि पनि हौसला बढाइरहनुहुन्थ्यो । उहाँको अभिभावकत्व साह्रै न्यानो थियो । यस्तो स्नेहमयी अभिभावकत्व गुमाउनु परेको छोटै समयमा जेठा दाइको अभिभावकत्व पनि खोसेर लगिदिँदा हामी मर्माहत मात्र भएका छैनौँ, नितान्त टुहुरा पनि बन्न पुगेका छौँ ।
जगदम्बाश्री पुरस्कारबाट पुरस्कृत हाम्रा जेठा दाइ कृष्णप्रकाश श्रेष्ठको २०७७ चैत १६ गते साँझ मास्कोमा स्वर्गारोहण भएको खबरले हामी पूर्ण आहत बन्यौँ । कल्पनामा नै नभएको दुर्घटना हुन पुग्दाको मर्माहत क्षणले हामीलाई क्षत्विक्षत् बनाइ छोड्यो । करिब चार हप्ता अघिसम्म उहाँ भाइवर साहित्यिक एवं सांस्कृतिक कार्यक्रममा समेत सक्रिय रहनु हुँदाको हाम्रो खुसी क्षणभरमै चकनाचूर प-यो ।
मलाई सम्झना छ, उहाँको हिमालझैँ स्वेत कपालसँगैको हँसिलो अनुहारका साथ भाइवर कार्यक्रममा सक्रिय सहभागिता हुने गरेको क्षण । उहाँका उत्साहित मन लालीगुराँसझैँ फक्रक्कै हुन्थे । उहाँले उत्सुकताका साथ प्रस्तुत गर्नुभएका विचार विमर्शलाई सबै सहभागीले सहृदय रुचाएको पाएको छु । अतः उहाँको देहवसानको खबरले मर्माहत हुँदै फेसबुक वालमा श्रद्धाञ्जलिका शब्दहरू पोतिनु उहाँप्रतिको श्रद्धा, सद्भाव र सम्मानको द्योतक बनिरहेका ठानिरहेछु म ।
वि.सं. १९९४ मङ्सिरमा जन्मनुभएका दाइ कृष्ण हामी सानै छँदा अर्थात् २०१६ सालतिर सोभियत सङ्घको मास्कोमा उच्च शिक्षा अध्ययनार्थ जानुभएको हो । विद्यार्थीकालमै उहाँले मास्कोमा रेडियो मास्कोमा नेपाली कार्यक्रम सञ्चालन गर्न सुरु गर्नुभएको थियो । उहाँको सुमधूर आवाजमा उद्घोष हुने समाचार र अन्य कार्यक्रम सुन्दा हामी मख्ख हुन्थ्यौँ । हामी त उहाँका भाइबहिनी नै भयौँ, मख्ख हुनु स्वाभाविकै हो । अरू वयस्क श्रोताहरू पनि उहाँको प्रस्तुति सुन्न सधैँ लालायित भएको देख्थेँ म ।
‘यो रेडियो मास्को हो । अब नेपालीमा समाचार सुन्नुहोस् ।’ यस्तो सुमधुर र आडिलो आवाज रेडियोमा घन्कना साथ सबैका कान चनाखा हुन्थे । यो आवाज धेरैले रुचाएको आवाज थियो । नेपालबाट कुनै कारण विशेषले मास्को पुगेका आगन्तुकहरूलाई मास्को भ्रमण गराउने र रेडियो मास्कोका लागि अन्तर्वार्ता लिने वा रचना वाचन गराउने जस्ता कार्य सम्पन्न गर्न दाइ कहिल्यै पछि परेको थाहा थिएन मलाई । उहाँको सक्रियता र सद्भावको बखान मास्कोबाट फर्केर आएका व्यक्तित्वहरू मुक्त कण्ठले गर्दथे । प्रायः मैले पनि मास्को जाने र आउने व्यक्तित्वहरूसँग पत्र आदानप्रदान गर्न भेट्नै पथ्र्यो । दाइको ओह्रटपरोट यस्तै हुन्थ्यो । त्यतिखेर हामीले दाइबाट रुसी बालसाहित्यका अनुदित कृतिहरू उनीहरूमार्फत उपहार पाउने गथ्र्यौं । मेरो बालसाहित्यमा रुचि बढ्नुको कारण यो पनि थियो । त्यसताका बेलायतबाट बीबीसी र चीनबाट पनि नेपाली कार्यक्रम प्रसारण हुन्थे रेडियोमा । यिनमा गुन्जने आवाज पनि सुमधुर नै लाग्थे मलाई । रेडियो नेपालको विशेषता त आफ्नै खालको छँदै थियो, प्रिय थियो ।
रेडियो मास्कोमा कृण दाइको यस्तो प्रभावोत्पादक आवाज हामीले सोभियत सङ्घ विघटन नभएसम्म सुन्न पायौँ । सोभियत सङ्घ विघटन भएपछि रेडियो मास्कोको नेपाली कार्यक्रम पनि बन्द भयो । यो दुर्भाग्यपूर्ण थियो ।
मलाई रमरम सम्झना छ । वि.सं २०१६ मा मास्को जानुभएपछि दाइ सायद २०१९ मा पहिलोपल्ट घर आउनु भएको थियो । केही दिन बसेर उहाँ अध्ययनका लागि फिर्ता जानुभयो । त्यसपछि नै होला, उहाँले रेडियो मास्कोमा नेपाली कार्यक्रम सुरु गर्नुभएको । रेडियो मास्कोमा काम गर्दागर्दै उहाँले सहकर्मी इरा (इरिना) सँग वैवाहिक सम्बन्ध जोड्नु भयो । यो उहाँको दोस्रो विवाह थियो । पहिलो विवाह नेपालमै भइसकेको थियो । त्यसपछि भने उहाँ धेरै समयसम्म घर फर्कनु भएन ।
२०२८ सालमा आमाको देशावसान हुँदा पनि उहाँले घर आउने अवकाश पाउनुभएन । भाइ त्रिपुर र मैले नै आमाको काजकिरिया टुङ्ग्याउनु पर्दाको न्यास्रोपन अझै खट्कन्छ । २०३५ सालतिर बुबा मास्को भ्रमणमा जानुभएपछि भने दाइको घर आउने क्रम बसेको हो, करिब तीन तीन वर्षको अन्तरालमा । तर, पछि, बुबाको काजकिरियामा पनि उहाँको उपस्थिति रहन सकेन ।
पत्रकारितामा स्नाकोत्तर उपाधि प्राप्त गरेपछि रेडियो मास्कोका साथै रादुका प्रकाशन र प्रगति प्रकाशनमा सम्बद्ध भएर उहाँले रुसी भाषाबाट सोझै नेपालीमा अनुवाद गरी रुसी बालसाहित्य तथा विभिन्न प्रख्यात साहित्यकारहरूका कृतिहरू नेपाली पाठकलाई दिने क्रम सुरु गर्नुभयो । महाकवि पुस्किन, कथाकार टल्सट्वाय, नाटककार चेखव जस्ता साहित्यकारहरूलाई नेपाली पाठकहरू समक्ष चिनारी गराउनमा उहाँको अतुल्य योगदान रहन गयो । यस्ता साहित्यकारहरूका कृतिहरूमा पुस्किनको ‘जिप्सी’, लेमोन्तोभकोँ हाम्रो जमानाको चरित्र नायक, तुर्गेनेभको ‘गद्यमा कविता’ र ‘पिता र पुत्र’, अ.ग्रीनको ‘राता पालहरू’, गोर्कीको ‘मेरो विद्यालयहरू’, शोलोखोभको ‘मान्छेको भाग्य’, रासुल हाम्जातोभको ‘जीवितदेवी’ र ‘जीवनचक्र’, इगोर एलिसेएभको ‘स्वर्गको पुल’ आदि दर्जनौँ कृति छन् ।
साथै, नेपालीबाट रुसी भाषामा अनूदित कृतिहरूमा ‘यमलोकको जिउँदो मान्छे’ ‘स्वस्थानी’, लैनसिंह बाङ्देलको ‘लङ्गडाको साथी’, ज्ञानकाजी मानन्धरको ‘कुमारी चण्डेश्वरी’, स्वामी आनन्द अरुणको ‘सन्त दर्शन’, उत्तम कुँवरको ‘स्रस्ता र साहित्य’, भानुभक्तको ‘लोक्को गरुँ हित भनी’, लक्ष्मीप्रसाद देवकोटाको ‘सूनको बिहान’ आदि महत्त्वपूर्ण छन् ।
नेपाल बालसाहित्य समाजका मानार्थ सदस्य दाइ कृष्णले रुसी बालसाहित्यका दर्जनौँ कृति नेपालीमा अनुवाद गर्नुभएको छ । यसबाट नेपाली बालबालिकालाई बालसाहित्य पठनमा सघाउ पु-याएको छ ।
प्राच्यविद्या संस्थानअन्तर्गत भारतीय अध्ययन केन्द्रमा वैज्ञानिक सल्लाहकार समेत रहनुभएका उहाँका अनुवाद कृतिका अतिरिक्त मौलिक कृतिहरू पनि प्रशस्त प्रकाशित छन् ।
रुसी भाषामा ‘नेपालमा पशुपंक्षीको पूजा’, ‘नेपालभाषा साहित्य’, ‘मित्रता र सहयोगको गाँठो’, ‘रेलगाडीमा हिमालयतिर’, ‘नेपालको साहित्यमा परम्परा र आधुनिकता’, ‘इतिहासको परिप्रक्ष्यमा नेपाली किंवदन्ती र परम्परागत जात्राहरू’, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’, ‘नेपाली साहित्यमा भानु’ आदि कृतिहरू प्रकाशित छन् भने नेपाली भाषाका मौलिक कृतिहरूमा ‘रुसमा नेपालको अध्ययन’, ‘स्थान नामकोश’, ‘नेपालभाषा साहित्य’, ‘रुसमा नेपालको छवि’, ‘नेपाली समालोचक र समालोचना’, ‘नेपाली किंवदन्तीमाला’, ‘रसियामा नेपाली भाषासाहित्य’,‘कृष्णगीता’ (नेपालभाषामा),
‘हिन्दु अधिराज्यबाट धर्मनिरपेक्ष गणतन्त्रतिर’, चुनिखेलदेखि धुलिखेलसम्म आदि थुप्रै कृति प्रकाशित छन् ।
यीबाहेक पनि ‘दर्शनशास्त्रको प्रारम्भिक ज्ञान’, ‘मिनायभको नेपाल’, ‘नेपालका महाकविको कथा’, ‘लक्ष्मीप्रसाद देवकोटाको ताशकन्द प्रतिवेदन–‘नेपाली साहित्य’, ‘रुसी नेपाली शब्दकोश’, ‘नेपाली वाङ्मयका भानु’, काव्यमय नेपाल आदि कृतिहरू पनि उल्लेख्य छन् ।
नेपालभाषामा पनि सिद्धहस्त दाइ कृष्णले नेपाल र रुसको बीचमा साहित्यिक, सांस्कृतिक एवम् भाषिक दूतको कार्य गर्दैआउनु भएको थियो । उहाँले नेपाली साहित्य र संस्कृति तथा रुसी साहित्य र संस्कृतिमा एउटा बलियो सेतु जोड्न स्तूत्य योगदान पु-याउनु भएको घामझैँ स्पष्ट देखिन्छ । यिनै योगदानका कारण उहाँ नेपाली तथा रुसी साहित्यकार एवम् साहित्य प्रेमीमाझ प्रिय बन्नु भएको छ ।
फलतः हलिः नेवाः गुथि जस्ता विभिन्न संस्थाहरूसँग सम्बन्धित रहनुभएका दाइ कृष्णप्रकाशले जगदम्बाश्री पुरस्कार (२०५९), नइ देरुनिख पुरस्कार (२०६९) जस्ता नेपाली उच्च पुरस्कारका साथै साहित्यानुरागीप्रति पुस्किन स्वर्णपदक (रुसी वाङ्मय प्रतिष्ठान, मास्को) जस्ता रुसी पुरस्कारहरूले सुशोभित हुनुभएको छ । साथै, नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा प्रदान गरिने प्रज्ञा अनुवाद साहित्य पुरस्कार प्रदान गर्ने घोषणा भइसकेको छ । तर पुरस्कार ग्रहण गर्न उहाँले भ्याउनुभएन, सम्भवतः कोरोना कहरले ख्वाप्लाक्कै निलिदियो उहाँका भावी योजनाहरू । नत्र नेपाल आएर पुरस्कार ग्रहण गर्ने
उहाँको आकाङ्क्षा थियो ।
अहिले उहाँलाई स्मरण गरिरहँदा मर्माहत हुन्छ मेरो मन । रुस नेपालविद्या केन्द्र तथा विश्व नेपाली साहित्य महासङ्घ, रुसमा आबद्ध दाइसँगका मिठा– टर्रा स्मृतिहरू अनगिन्ती छन् । यतिबेला स्पूmरण हुन सकिरहेका छैनन् । अहिले श्रद्धासुमनका रूपमा यति मात्रै पस्कन सकिरहेछु । दाइ स्मृतिमा बाँचिरहनु हुनेछ सदा सदा ! मेरा स्नेही भतिजीहरू जान्ना र मारिनामा धैर्य रहोस् ।
(लेखक साहित्यकार हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?