logo
२०८१ माघ ९ बुधवार



समृद्धि, सपना र त्रिभुवन विश्वविद्यालय

विचार/दृष्टिकोण |




डा. भीमलाल गौतम

विक्रम संवत् २०७२ को संविधान बनेपछि नेपालमा तत्कालीन नेकपाको सरकारको स्थापनासँगै सुखी नेपाली, समृद्ध नेपालको नारा अघि बढ्यो र हरेक नेपालीको समृद्धि हुने कुरा सपना भयो । नेपालको सबैभन्दा पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालयमा पनि यसको प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पर्न गयो । वर्तमान प्रधानमन्त्री केपी ओलीले देखेको समृद्धिको सपना त्रिविसम्बद्ध निकायमा कार्यरत सबैले देख्नु स्वाभाविक थियो । प्राज्ञिक क्षेत्रमा हुने बहस, छलफल र वादविवादलाई त्यसरी नै मूल्याङ्कन र व्यवस्थापन गर्नुपथ्र्यो तर त्रिविमा हाल भइरहेका गतिविधि त्रिविको समृद्धिभन्दा पनि यसलाई दोहन गर्ने र मागिखाने भाँडोका रूपमा प्रयोग गर्नतिर अग्रसर भएको देखिन्छ । यो छोटो लेखमा त्रिविभित्रका केही महत्त्वपूर्ण कुरालाई देखाउन
खोजिएको छ ।
सेवा प्रवेश : त्रिविमा सेवा गर्नका लागि सुरुमा आंशिक, त्यसपछि करार र स्थायी हुने पुरानो परम्परा कायमै छ, जसले त्रिविलाई स्थापनाकालदेखि टाउको दुखाइ भएको उदाहरण विभिन्न समयमा भएका फरक–फरक नियुक्ति प्रक्रिया नै हुन् । विसं ०४७ को आन्दोलनबाट त्रिवि सेवामा स्वतः स्थायी भएर प्रवेश गरेका प्राध्यापकले सोही प्रकृतिको ०६२ र ०६५ को आन्दोलन र त्रिवि सेवा प्रवेशलाई फरक किसिमले परिभाषित गरेको देखिन्छ । करार र स्थायी सेवामा पनि कहिले तीन वर्ष कहिले पांँच वर्षको प्रावधान राखिन्छ त कहिले हटाइन्छ । त्रिविभित्रै पनि चिकित्साशास्त्रमा तीन वर्ष भए पुग्ने अरूमा पाँच वर्ष स्थायी भएको हुनुपर्ने फरक किसिमको शैलीले हाम्रो धरोहरको खिल्ली उडाइरहेको देखिन्छ । यो प्रवधान किन राखिन्छ, किन हटाइन्छ भन्नेबारे
बुझ्न गाह्रो छ ।
नियुक्ति प्रक्रिया : त्रिविमा सेवा प्रवेशपछि हुने नियुक्तिमा पनि पुरानै सोचले काम गरिरहेको देखिन्छ । खासगरी त्रिविका विभिन्न निकायमा पदाधिकारी नियुक्त गर्ने मापदण्ड फरक–फरक छन्, जसले गर्दा योग्य र अनुभवी व्यक्ति पछि परेको देखिन्छ । परीक्षा नियन्त्रण कार्यालयमा सहनियन्त्रक हुन कम्तीमा तीन वर्ष स्थायी हुनुपर्ने, विद्यावारिधिको निर्देशक हुन सहप्राध्यापक हुनुपर्नेजस्ता केही प्रावधानले ०५७ सालदेखि नियमित अध्यापन अनुसन्धान गरिरहेका धेरै योग्य र अनुभवी व्यक्ति बाहिर बस्ने र भोटो फटाएको भरमा प्राध्यापक र सहप्राध्यापक भएकाले मात्र नियुक्ति र शोध निर्देशक हुन पाउने कुरा झन् बढेर गएको देखिन्छ । अझ डरलाग्दो कुरा त त्रिविले अवकाशप्राप्त जनशक्तिलाई पटक–पटक नियुक्ति दिने र व्यवस्थापन गर्नमै अधिकांश समय खर्चेको देखिन्छ । प्राज्ञिक र योग्य जनशक्ति घेराबाहिर बसालेर त्रिविको समृद्धि हुन्छ भन्नु
दिवास्वप्नामात्र हुन्छ ।
कार्यविधि : त्रिविभित्र सेवा प्रवेशदेखि पदोन्नतिसम्म फरक–फरक किसिमको कार्यविधि भेटिन्छ । न त यहाँ रातो किताबको पूर्णतया कार्यान्वयन हुन्छ न त कार्यविधिमा भएका कुरा नियमानुसार लागू हुन्छन् । सोझा र निर्बललाई समय–समयमा तर्साउन बनेका र बन्ने गरेका यी विविध कार्यविधिमा एकरूपता पनि पाइन्न । कार्यविधि सङ्कायअनुसार फरक पनि हुन सक्छ तर त्यो कुराको नियमसङ्गत व्याख्या हुनु जरुरी छ । विज्ञान, इन्जिनियरिङ, वनविज्ञान, कृषिमा एककिसिमको कार्यविधि आवश्यक होला तर शिक्षा, मानविकी तथा व्यवस्थापनमा त्यो लागू नहुन सक्छ । अन्तर्राष्ट्रियस्तरमा त्रिविलाई प्रतिस्पर्धात्मक बनाउनु राम्रो र आवश्यक कुरा हो तर त्यहीअनुसारको व्यवस्थापन गर्न सकिएन भने हाम्रो अन्तर्राष्ट्रियकरण कागजमा मात्र सीमित हुन पुग्छ ।
इम्प्याक्ट फ्याक्टर जर्नलमा एउटा लेख प्रकाशित गर्न कम्तीमा दुई वर्ष लाग्छ तर नम्बर भने जम्मा दुई छ । त्यस्तै अन्तर्राष्ट्रियस्तरको किताब वा सन्दर्भ–ग्रन्थ प्रकाशित गरे पनि उही नम्बर, नेपालमै प्रकाशित गरे पनि उही नम्बर हुने भएपछि कसरी विज्ञताको कदर होला ? सबैभन्दा पहिला त्रिविले आफैँ अन्तर्राष्ट्रियस्तरका जर्नल र पुस्तक प्रकाशन गर्ने आँट गर्नुपर्छ अनि मात्र योग्य र प्रतिस्पर्धात्मक वातावरणको सुरुवात हुन्छ । बेलायतका नाम चलेका क्याम्ब्रिज र अक्सफोर्ड विश्वविद्यालय प्रकाशकको नामबाट पनि चिनिन्छन् । कम्तीमा पनि त्रिविभित्रका अनुसन्धान केन्द्रहरूले यो कामको व्यवस्था गर्न सके भने यसले हाम्रो मुलुकलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने काम गर्छ ।
अनुसन्धान र यसका प्रतिवेदनमा दिने नम्बरमा पनि वैज्ञानिकता झल्केको देखिन्न । त्रिविसँग सम्बन्धित अनुसन्धान र बाहिर एनजीओ, आईएनजीओमा गरिने अनुसन्धानमा उचित वर्गीकरण हुनु आवश्यक छ । त्रिविलाई साँच्चिकै अनुसन्धानमुखी विश्वविद्यालय बनाउने हो भने अनुसन्धान र यसमा आधारित प्रतिवेदन, पुस्तक तथा लेख प्रकाशनलाई महत्त्व दिनु आवश्यक छ ।
पदोन्नति : त्रिविमा पदोन्नति कि अवकाश हुने बेलामा हुन्छ कि राजनीतिक पार्टी र नेतृत्वको चाकरी चाप्लुसी गरेरमात्र हुने परम्परा बसिसकेको छ । नियमित विज्ञापन गर्ने, सोहीअनुसारको दरबन्दीको व्यवस्थापन गर्ने, योग्य र सक्षम शिक्षक, कर्मचारीलाई प्रोत्साहन गर्ने परम्पराको विकास नभएसम्म जागिरे मानसिकताले काम गर्छ । जसबाट विश्वविद्यालयको मात्र नभई, सम्बन्धित व्यक्तिको क्षमतामा क्रमशः ह्रास हुँदै जान्छ । जसको असर विद्यार्थी र समाजमा पर्छ । त्रिविमा काम गर्ने हरेक कर्मचारी र प्राध्यापकको कार्यसम्पादन मूल्याङ्कनलाई डाटाबेसका आधारमा सङ्कलन र व्यवस्थित गर्न सके अनुभव, योग्यता र क्षमताका आधारमा कसको कहिले पदोन्नति हुने भन्ने कुरा पहिले नै थाहा हुन्छ । यसले गर्दा काममा ढिलासुस्ती गर्ने, ठग्ने प्रवृत्ति क्रमशः निरुत्साहित हुन्छन् ।
नेतृत्व : त्रिविको अर्को समस्या भनेको नेतृत्वको चयन पनि हो । राजनीतिमा जस्तै विश्वविद्यालयमा पनि उमेरहद नाघिसकेका र सेवानिवृत्त व्यक्तिलाई घुमाइफिराइ विश्वविद्यालयको मुख्य निर्णय गर्ने ठाउँमा नियुक्ति दिने नेपालको परम्परागत परिपाटीले त्रिविले नयाँ जीवन दिन सक्दैन । सक्षम र काबिल व्यक्तिलाई उमेर र पदको साँघुरो घेराभित्र राखेर हेर्ने कारणले नयाँ सोच र नयाँ कुराको सुरु हुन सक्दैन । प्राज्ञिक रूपले सक्षम, नैतिक रूपले इमानदार र सकारात्मक सोचले भरिपूर्ण व्यक्तिले नेतृत्व गरेमात्र यो विश्वविद्यालयको कायापलट गर्न सकिन्छ । नयाँ र युवा नेतृत्वले आफूलाई सुधार्ने र जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्ने सम्भावना बढी हुन्छ किनकि उसले फेरि पनि विश्वविद्यालयमा काम गर्नुपर्ने हुन्छ । त्यसैले बढी प्राज्ञिक र कम प्रशासनिक व्यक्तिले नेतृत्व गरेमा खण्डहर बन्न लागेको त्रिविलाई फेरि नयाँ शिराबाट समृद्ध बनाउन सकिन्छ ।
त्रिवि हामी सबैको सपना हो । यसको विकास र समृद्धिसित अधिकांश नेपालीको भरोसा जोडिएको छ । नेपालको उच्च शिक्षाको मुहानमा राम्रोसित सरसफाइ र उपचार गर्न सकियो भने अरू धेरै कुरा स्वतः व्यवस्थित भएर जान्छन् । त्यसैले सरकार, शिक्षा मन्त्रालय, पेशागत सङ्घ, सङ्गठन सबैले एकपटक होस्टेमा हैँसे गर्ने बेला आएको छ । भूकम्प र कोरोनाको महामारीमा पनि विचलित नहुने नेपालीले नेपालको उच्च शिक्षाको धरोहर त्रिविको जगेर्ना र संरक्षण गर्नु मुख्य आवश्यकता हो । आशा गरौँ, राजनीतिको भरमा आफ्नो भविष्य देख्नेहरू, प्राज्ञिक मर्यादाको खिल्ली उडाउनेहरू क्रमशः बाहिरिनेछन् र विश्वविद्यालयमा वैज्ञानिक किसिमको प्रतिस्पर्धात्मक बहसले ठाउँ लिनेछ । त्यसो हुँदा विश्वभर बसेका नेपालीले आफ्नो विश्वविद्यालयको उन्नति प्रगतिप्रति गर्व गर्नेछन् । 
(लेखक त्रिविमा प्राध्यापनरत हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?