गणेश अधिकारी
करिब ८२ वर्षको अन्तरालमा २०७२ वैशाख १२ का दिन नेपालमा ठूलो भुइँचालो गएको थियो । विक्रम संवत् १९९० मा गएको भूकम्पका बारेमा भूगोलपार्कमा रहेको सानो स्तम्भ र ब्रह्मशमशेर जबराले लेख्नुभएको “नेपालको महाभूकम्प १९९० साल” नामक पुस्तकबाहेक नेपालमा गएका भूकम्पहरूको तत्थ्याङ्कसम्बन्धी भरपर्दा सामग्री भेटिँदैनन् । ‘जतिखेर जे प¥यो सो ट¥यो’मा नेपालीको बानी बसेकाले सही तथ्याङ्क खोजी गर्ने र सही शिक्षा लिएर भविष्यमा हुने विपत्तिबाट हुने क्षतिलाई कम गर्न अझै यथोचित ध्यान पुगेको छैन ।
प्रत्येक पछिल्लो भूकम्पको विपत्तिले प्रत्येक अगाडि आउने विपत्तिमा हुने क्षतिलाई न्यून गर्न सक्ने शिक्षा दिएको हुन्छ । तर, त्यसकिसिमको इतिहास नै लेखिएन । त्यो केवल एउटा श्रुतिशास्त्र जस्तो मात्र रहँदै आयो । थपघट गर्दै एउटाले अर्काेलाई जति सुनाउन सक्यो त्यही नै मात्र सत्य हो कि जस्तो हुँदै आयो । ब्रह्मशमशेरले लेख्नुभएको पुस्तकअनुसार नेपालमा गएको भूकम्पको क्रोनोलोजी यस्तो छ ः
–विसं १३१० मा, जसले तत्कालीन राजा अभय मल्लको ज्यान गयो ।
–विसं १३१६, मात्र छ वर्षको अन्तरालमा भयानक भूकम्प गयो ।
–विसं १४६४ अथवा १ सय ४८ वर्षपछि अर्काे भूकम्प गयो ।
–विसं १७३८ अथवा २ सय ७४ वर्षपछि फेरि अर्काे भूकम्प गयो ।
–विसं १८६६ अथवा १ सय २८ वर्षपछि पुनः अर्काे भूकम्प २१ पटक गयो ।
–विसं १८८० अथवा १४ वर्षपछि पुनः अर्काे भूकम्प १७ पटक गयो ।
–विसं १८९० अथवा १० वर्षको फरकमा अर्काे भूकम्प २३ पटक गयो ।
–विसं १८९१ भदौ र असोजमा अथवा एक वर्षपछि भूकम्पहरू गए ।
–विसं १९९० अथवा ९९ वर्षपछि अर्काे विनाशकारी भूकम्प गयो ।
यो माथिको विवरणले घटीमा एक वर्ष र बढीमा दुई सय ७४ वर्षको अन्तर देखाएको छ । तर, के यो भूकम्पको नियम हो र ? विसं १८९१ मै भदौ र असोज दुई महिनाकै अन्तरालमा दुईपटक भूकम्प गएका छन् । विसं १७३८ को भूकम्प दुई सय ७४ वर्षपछि गएको छ । विसं १९९० पछि एकैपटक २०७२ वैशाख १२ मा मात्र भूकम्प गएको होइन । सोभन्दा पहिला नै अथवा २०४५ भदौमा पनि ठूलै भूकम्प गएको थियो । वर्तमान पुस्ता स्वयम्ले यो दुवै भूकम्प भोगेको छ । तर पनि हामी सचेत छैनौँ ।
‘सातै ग्रह एक ठाउँमा भयो भने भूकम्प जान्छ’, ‘पृथ्वीमा पापको भार बढ्दै गयो भने भूकम्प जान्छ’ जस्ता कथित फलित ज्योतिषका बकबासमा आजसम्म केही फरक आएको देखिँदैन । यसको ठीक विपरीत पक्षमा सचेत विश्वासको विकास पनि नभएको होइन । विपतमा पीडितको उद्धार गर्ने, विदेशीको भर नपर्ने, स्वदेशी मालमत्तामाथि नै विश्वास गर्ने अथवा समग्रमा भन्दा आत्मविश्वासमा वृद्धि हुँदै गएको पनि छ । यद्यपि, पर्याप्त भने अझै छैन ।
“नेपाल पृथ्वीको बराबर भूकम्प जाने भागमा परेको बुझिन्छ । त्यसमा पनि खासगरी यसपालि नोक्सान पर्न गएका ठाउँहरू नै देखिन्छन् भनी भूगर्भविद्या जान्नेहरूले भनेका छन् । यो कुराको पुष्ट्याइँ इतिहासबाट पनि मिल्छ । तसर्थ, हाल र भविष्यमा भूकम्पबाट बच्ने किसिमको घर वा सहर बनाउनको बहुतै आवश्यकता देखिन्छ ।”
यी हरफहरू १९९० सालमा गएको भुइँचालाको परिणाम देखिसकेपछि, ९१ सालमा ब्रह्मशमशेरले लेखेको पुस्तकमा उल्लिखित छन् । तर, दुर्भाग्यवश ८१ वर्ष अर्थात् २०७२ वैशाख १२ गतेपछि मात्र यी हरफहरू स्वयम् काठमाडौँले पढ्यो होला । जब कि यो पुस्तक सर्वप्रथम बबरमहल, काठमाडौँैबाटै प्रकाशित भएको बुझिन्छ । मोफसलका त कुरै छाडौँ, ब्रह्मशमशेर सो पुस्तक लेखनका लागि बाहिर गएको कुरा पुस्तकले बुझाउँदैन । तर, लेखक तत्कालीन सत्तासीनका छोरानाति भएकाले पहुँचवाला भएकोमा शङ्का छैन र भेटेका तथ्यहरू प्रस्ट लेखिएका छन् । यो धेरै ठूलो कुरा थियो र छ ।
तर, लेखकले नभेटेको तथ्यको एउटा कथा छ– खोटाङ (तत्कालीन भोजपुर) जिल्लामा– मार्से भन्ने रेग्मी गाउँको । भत्केको घर दुई दिनपछि खोतल्दा जिउँदा जुम्ल्याहा बच्चाबच्ची मृत आमाको दूधको लाम्टो चुस्तै गरेका भेटिएर उद्धार गरियो । मृतकको सङ्ख्या अत्यधिक भएकाले सद्गत राम्रो हुन नसक्ता गाडिएको चिहानबाट स्याल, कुकुरले खोतलेर ती जुम्ल्याहाकी आमाको एउटा हात घर अगाडि ल्याएर फ््याँकिदिएपछि ‘आम्मै हो ! जन्तरी देउरानीको हात’ भन्दै भएको रुवाबासी कति दर्दनाक छ ! जिउँदै भेटिएका जुम्ल्याहामध्ये छोरा भोजराज रेग्मी चालीसौँ वर्षपछि कालगतिले मरे पनि छोरी जयन्ती रेग्मी (पछि न्यौपाने) आजसम्म जीवित भएकाले उहाँको तस्बिरसमेत प्रस्तुत गरिएको छ । एक सय दुई वर्ष जीवित रहनुभएका, मृतककै भतिजा स्व. लक्ष्मीप्रसाद रेग्मीले आफ्नो पुस्तक “मेरो अतीत र वर्तमान”मा यो कथा उल्लेख गर्नुभएको छ ।
त्यो समयका नाम चलेका भूगर्भविद् मिस्टर जेबी उडेन र मिस्टर एल फर्मरका भनाइलाई त्यसबखतको गोरखापत्रसमेतले छापेको सङ््क्षिप्त भनाइलाई पनि ब्रह्मशमशेरको पुस्तकमा समेटिएको छ । ती विद्वान्हरूले भूगर्भको त्यसबखतसम्मको अध्ययनका आधारमा भूकम्पका कारणमध्ये ज्वालामुखी र जमिनको बनावटसम्बन्धी कारणलाई अत्यन्त सङ्क्षिप्त रूपमा राखेका छन् । तर, अब भूगर्भको अध्ययन त्यतिमा मात्र सीमित छैन । अध्ययन अझ गहिरो र धेरै भएको छ । हाम्रा स्वदेशी विद्वान्हरूले आजसम्मका भूगर्भविदहरूको निष्कर्षको आद्योपान्त अध्ययन गरेर गोरखापत्रको त्यो संस्करणलाई पछ्याएर सुबोध ढङ््गमा पुस्तक प्रकाशन गर्न नसकिने होइन । यसले युगौँयुगको अन्धविश्वासलाई केही मात्रामा हटाउन सकिन्थ्यो होला कि ?
९० सालको भूकम्पको केन्द्रबिन्दु पनि सप्तरी जिल्लाको तत्कालीन सदरमुकाम हनुमाननगरबाट केवल पाँच किलोमिटर दक्षिण विहारको सीमाभित्र रहेको थियो । हनुमाननगरमा के भयो ? जमिन फाटेर पानीको मुक्का कसरी निस्कियो ? भन्नेजस्ता आफ्नै आँखाले देखेको हालत बताउने हनुमाननगर मनकौलका एक सय वर्षका ‘चलितर साह’को भनाइ पङ्तिकारले २०७२ असार २६ गतेको गोरखापत्रमार्फत ल्याएको थियो ।
हिजोआज त भूकम्पपीडितको सहयोग गर्ने बहानामा विदेशी सेना आएर स्वदेशी एयपोर्ट नै कब्जा जमाउने दिन आएका छन् । तर, ९० सालमा कुनै पनि विदेशी सहयोग नलिएको नमुना ब्रह्मशमशेरले यसरी राख्नुभएको छ– भारत सरकारबाट पनि नेपाललाई सहायता दिने इच्छा प्रकट गरेकोमा नेपालबाट “त्यहाँ पनि नोक्सान पर्न गएकाले सहायता स्वीकार गर्न चाहन्नम् ।” यसरी दुवै देशमा नोक्सान परेका बखत्मा “आफ्नो सहायता आफैँले गर्नाको आवश्यकता छ” भन्ने जवाफ आयो । यो जवाफ प्रशंसायोग्य हो भनी २५ फेब्रुअरी १९३४ को एक अङ्गे्रजी छापामा लेखिएको थियो । बेलायतले नेपालका निमित्त “धेरै फिक्री मानेको छ” भनी १९९० साल माघ महिनाको खबर थियो ।
(लेखक सांस्कृतिक अध्येता हुनुहुन्छ ।)