logo
२०८१ मंसिर १० सोमवार



भूकम्पको मापन र मानको बहस

विचार/दृष्टिकोण |




भरतप्रसाद कोइराला

नेपालमा समय–समयमा मझौला, ठूला तथा महाभूकम्पले धेरै धनजनको क्षति गरेको सुन्न र पढ्न पाइन्छ । विगतमा बेलाबेलामा ‘गोरखा’ भूकम्पभन्दा ठूला भूकम्पहरू गएको र तिनले ठूलो विनाश गरेको सुनेका हामी झन्डै सबैजसोले २०७२ को गोरखा भूकम्पको धक्का महसुस ग-यौँ, विनाश देख्यौँ र कतिपयले भोग्यौँ पनि । नेपालमा भूकम्प मापनयन्त्र जडान गरी भूकम्पको रेकर्ड गर्न सुरु गरेपछिको यो सबैभन्दा ठूलो भूकम्प हो र नेपाल हिमालय क्षेत्रमा गएको भूकम्पहरूमा सबैभन्दा बढी अध्ययन गरिएको भूकम्प पनि हो ।
हामीले गत पुस र माघ महिनामा ‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा धनजनको रक्षा’ भन्ने नाराका साथ भूकम्प सुरक्षा दिवस मनायौँ । यस क्षेत्रमा खासगरी खोजी र उद्धारकार्यमा संलग्न सरकारी सुरक्षा निकायलगायत अन्य गैरसरकारी सङ्घ संस्थाहरूले पनि विभिन्न जिल्लामा आ–आफ्नै स्तरमा कार्यक्रमहरू गरेर भूकम्पसम्बन्धी जनचेतना जगाउने वा विगतका भूकम्पले गरेको धनजनको क्षतिको सम्झना गराई हामी भूकम्पीय जोखिम क्षेत्रमा बसेकाले सधैँ सचेत हुनुपर्छ, लापरबाही वा बेवास्ता गर्नुहँुदैन भन्ने सन्देश प्रवाह गरे ।
हामीले भन्दै आएको कुरा के हो भने भूकम्प एउटा नियमित प्राकृतिक भौगर्भिक प्रक्रिया हो, यसको प्रकृति अन्य प्रकोपको तुलनामा फरक भएकाले यसलाई बढी जोखिमयुक्त प्राकृतिक प्रकोपका रूपमा लिने गरिन्छ । त्यो प्रकृति भनेको यसको पूर्वानुमान गर्न नसकिनुमात्र होइन, यसलाई रोक्न नसकिनु पनि हो । यस्तो प्राकृतिक प्रकोपसँग हामी भाग्न पनि सक्दैनौँ, त्यसैले यसको सामना गर्नु वा जुध्नुको विकल्प पनि छैन । पूर्वानुमान गर्न र रोक्न नसकिने यसको सामना गर्नु वा जुध्नु भनेको क्षति न्यूनीकरणका उपाय अपनाउने हो वा छोटकरीमा हामीले गर्न सक्ने भनेकोमात्र पूर्वतयारी हो ।
विभिन्न माध्यमबाट निरन्तर जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी सचेतना जगाउने तथा पूर्वतयारी गर्नु (भूकम्प जानुअघि, भूकम्प गइरहेको समय र गइसकेपछि गर्ने कार्य) नै भूकम्पबाट हुने क्षति कम गर्ने उपाय हुन् । भूकम्पको सम्बन्धमा गरिएको निरन्तरको अध्ययन अनुसन्धानका बाबजुद अझै पनि भूकम्पको पूर्वानुमान सबैभन्दा ठूलो चुनौती बनेर तेर्सिएको छ ।
भूकम्पका बारेमा हामीले २०७२ को गोरखा भूकम्पपश्चात् विभिन्न माध्यमबाट धेर–थोर कुरा थाहा पाइसकेका छौँ । यस आलेखमा नेपालमा भूकम्प किन जान्छ, भूकम्पको पूर्वानुमान सम्भव छ छैन वा हुन सक्छ सक्दैन, भूकम्पको मान भूकम्पको सूचना प्रवाह गर्ने वा भूकम्पसम्बन्धी कार्य गर्ने विभिन्न सङ्घ संस्थाहरूले गरेको मापन किन फरक–फरक हुन्छ भन्नेसम्बन्धमा उल्लेख गर्ने प्रयास गरिएको छ ।
नेपालमा भूकम्प गइरहनुका कारण ः भूकम्प विभिन्न कारणले जाने भए पनि नेपालमा भूकम्प जाने मुख्य कारण नेपाल दुई ठूला (दक्षिणको इन्डियन र उत्तरतर्फको तिब्टेनरयुरोसियन) सक्रिय प्लेट टकराव क्षेत्रको ठीक माथि अवस्थित रहनु हो । यी प्लेटहरूको निरन्तरको टकरावका कारण त्यहाँ शक्ति सञ्चित हुने र त्यहाँ रहेको चट्टानले त्यो सञ्चित शक्ति वा दबाब थेग्न नसकेपछि चट्टान फुट्ने वा भाँच्चिने हुन्छ । यसरी भाँच्चिदा वा फुट्दा तरङ्ग उत्पन्न हुने र पृथ्वीको भित्रभित्रै र सतहबाट टाढा–टाढासम्म फैलिने हुन्छ र भूकम्पको मान बढ्दै गएअनुसार भूकम्पको केन्द्रबिन्दुबाट टाढा–टाढासम्म कम्पन महसुस हुन्छ । यसरी फैलिएका तरङ्गहरू विभिन्न स्थानमा रहेका भूकम्प संवेदनशील यन्त्र (सिस्मोमिटर) भएको ठाउँमा पुगेमा त्यहाँ रहेका भूकम्प संवेदनशील यन्त्रहरूले त्यसलाई रेकर्ड गर्छन् । भूकम्पका मापन स्टेसनले धेरै टाढा–टाढा गएका भूकम्प रेकर्ड गरे पनि ती सबै ठाउँका मानिसलाई भूकम्पको धक्का वा कम्पन महसुस नहुन पनि सक्छ । अथवा अर्को शब्दमा भूकम्प मापन स्टेसनहरूले रेकर्ड गरेका सबै भूकम्प सबै मानिसले थाहा नपाउन पनि सक्छन् ।

भूकम्पको पूर्वानुमान
भूकम्पको पूर्वानुमान भन्नासाथ तीन कुरा समेटिनुपर्छ । ती तीन कुराहरूमा पहिलो निश्चित दिन र समय, दोस्रो भूकम्पको मान र तेस्रो, भूकम्पको केन्द्रबिन्दु वा स्थान । ठूला र महाभूकम्पले धेरै धनजनको क्षति गरेकाले यसको पूर्वानुमान गर्न सकिएमा धेरै धनजनको विनाश, क्षति वा हताहतीबाट बचाउन सकिन्छ भनेर यसको पूर्वसङ्केत खोज्नतर्फ भूवैज्ञानिकहरू करिब ८० वर्ष अघिदेखि लागिपरेका छन् । खासगरी जापानमा सन् १९६० बाट यसको अध्ययनको सुरुवात भएको भए पनि भूकम्पका पूर्वसङ्केतहरू एकै प्रकृतिको नभएको वा नपाइएकाले यसको पूर्वानुमान सम्भव भएको छैन । विभिन्न अध्ययनले कुनै भूकम्प आउनुअगाडि नै केही जनावरले अनौठो व्यवहार देखाउँछन् भन्ने गरेको पाइन्छ तथापि सबैजसो भूकम्पमा यसकिसिमको अध्ययन हुन सकेको पाइँदैन । त्यसैगरी, कहिलेकाहीँ भूकम्प जानुअघि सो क्षेत्रमा पानीको सतह बढ्ने, पानीको तापक्रम बढ्ने, विभिन्नप्रकारका ग्यास (रेडन, कार्बनडाइअक्साइड इत्यादि) को बढी निष्कासन हुने हुन्छ तर यी पनि सबै सधैँ देखिँदैनन् । त्यसैले भूकम्पको विश्वसनीय पूर्वानुमान गर्न हालसम्म सकिएको छैन अथवा भूकम्पको पूर्वानुमान गर्न सकिने विश्वसनीय पूर्वसङ्केत पाउन सकिएको छैन ।
कहिलेकाहीँ भूकम्प जानुअघि पूर्वकम्प गएको पाइन्छ तापनि त्यो पूर्वकम्प नै हो भन्ने ठोकुवा गर्न सकिँदैन किनकि स–साना भूकम्पहरू दैनिक गइरहेकै हुन्छन् । त्यसैले तीमध्ये कुन पूर्वकम्प हो भनेर भन्न सकिने ठोस आधार छैन । त्यो भूकम्पपछि सोही स्थानवरिपरि ठूलो भूकम्प गएमा मात्र ए, त्यो त पूर्वकम्प रहेछ भन्ने हो । यसरी पूर्वकम्पका बारेमा केही भन्न नसिकए पनि पराकम्प (कुनै भूकम्प गएपछि सो भूकम्पले दरार पारेको क्षेत्रमा जाने अन्य स–साना भूकम्प (पराकम्प पनि भूकम्प नै हो) का बारेमा यो भन्न सकिन्छ कि कुनै मझौला ठूलो वा महाभूकम्प गएमा त्यसपछि परकम्पहरू जान्छन् नै । सामान्यतया जति ठूलो भूकम्प गयो त्यति नै धेरै पराकम्प जान्छन्, पराकम्प आउने अवधि पनि लामो हुन्छ तर यस्ता पराकम्पहरू ठ्याक्कै कहिलेसम्म आउँछन् भनी किटेर भन्न सकिँदैन । यसमा त्यस ठाउँको भौगर्भिक अवस्थाले पनि केही भूमिका खेल्छ ।
अत्यन्त जटिल प्रश्न के भने भूकम्पको मान, भूकम्पको सूचना प्रवाह गर्ने वा भूकम्पसम्बन्धी कार्य गर्ने विभिन्न सङ्घ संस्थाहरूले गरेको मापन किन फरक–फरक हुन्छ ? भूकम्पका सम्बन्धमा सबैजसो देशले आफ्नै भेलोसिटी (तरङ्गको गति) मोडल र एटेन्एसन ल (तरङ्गको शक्ति क्षय हुने दर) को विकास गरी त्यसको प्रयोग भूकम्पको मान निकाल्ने सूत्रमा गरी निकाल्ने गर्छन् । भूकम्पको मान, उक्त मान निकाल्न प्रयोग गरिएका तरङ्गको तथा भूकम्पको केन्द्रबिन्दुको दूरीका आधार लोकल म्याग्नेच्युड (सामान्यतया रेक्टर स्केल भन्ने गरिन्छ), वोडिवेभ म्याग्नेच्युड, सर्फेसवेभ म्याग्नेच्युडमा निकाल्ने गरिन्छ । यसका अलावा ड्युरेसन म्याग्नेच्युड र मोमेन्ट म्याग्नेच्युडमा पनि भूकम्पको मान निकालिन्छ । वास्तवमा यी सबै म्याग्नेच्युड निकाल्न प्रयोग गरिने वेभ र सो वेभअनुसारको सूत्र नै फरक भएकाले पनि यसरी विभिन्न संस्थाले दिने मानमा फरक भएको हो । मोमेन्ट म्याग्नेच्युडबाहेक लोकल म्याग्नेच्युड, वोडिवेभ म्याग्नेच्युड वा सर्फेसवेभ म्याग्नेच्युड रेकर्ड गरिएको सोही तरङ्गको एम्प्लिच्युडको सहायताले निकालिन्छ । यसरी दिइने भूकम्पका मान सबैजसो भूकम्पमा फरक–फरक नै हुने भए पनि अलि बढी बहस ठूला तथा महाभूकम्पहरूमा (जनचासो बढी हुने भूकम्पहरू) हुने गर्छ, जुन स्वाभाविकै पनि हो । हामीले हे¥यौँ भने सन् २०११ को जापानको तोहोकु भूकम्पको मान पनि सुरुमा युएसजिएसले ७.९ मोमेन्ट म्याग्नेच्युडको भनेको भए पनि लगत्तै त्यो क्रमशः ८.८, ८.९ र ९.० मानको भएको बताएको थियो । अन्त्यमा युएसजिएसले भूकम्प गएको चार महिनापछि त्यो भूकम्प ९.१ मानको रहेको बताएको थियो । माथि उल्लेख गरिएबाहेक पृथ्वीको सबै ठाउँको भौगर्भिक बनावट एकनास (होमोजिनियस) नहुने तथा विभिन्न देशले भूकम्पको मान निकाल्न प्रयोग गर्ने ‘एटेन्युएसनल’ फरक हुनुले पनि भूकम्पको मानमा फरक आउने गर्छ । यद्यपि, ठूला भूकम्प र विनाशकारी भूकम्प गएको अवस्थामा मानमा विवाद गर्नुभन्दा पहिले खोज र उद्धार कार्यमा लाग्नु श्रेयष्कर हुने देखिन्छ ।
(लेखक राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका सिडिसिस्मोलोजिस्ट हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?