logo
२०८१ माघ ९ बुधवार



ढुङ्गाले जोगाएको इतिहास

विचार/दृष्टिकोण |




दीपेन्द्र राई

त्यतिबेला अर्खौले खाम्तेल थुमअन्तर्गत पथ्र्यो । खाम्तेलका सान्ने र जगरेभीर (साप्सुखोलाछेउ) मा बसोवास गर्ने सेनेम्छा राईका पुर्खाले खाम्तेल थुममा शासन गर्थे ।
खाम्तेल थुमका किराती राजाहरूले आफ्ना नियमित सेनालाई धनुकाँड विद्या प्राथमिकतासाथ सिकाउँथे । त्यतिबेला धनुकाँड प्रमुख हतियारका रूपमा मानिन्थ्यो । किराती राजाहरूले आफ्ना नियमित सेनालाई खाम्तेल थुमका विभिन्न ठाउँमा सैन्य अभ्यास गराउँदा धनुकाँडलाई विशेष महŒव दिन्थे । लामो समयको धनुकाँड अभ्यासपछि सही ठाउँमा निशाना लगाउन अभ्यस्त भएको प्रमाणस्वरूप खाम्तेल थुमका किराती राजाहरूका सेनाले ढुङ्गा ठड्याई आफ्नो कौशल देखाउँथे । खाम्तेल थुमका किराती राजा उपस्थित भई आफ्ना नियमित सेनाको सैन्य कौशल हेर्थे ।
खाम्तेल थुमका किराती राजाका नियमित सेनाले निशाना लगाउन प्रयोग गरेको ढुङ्गालाई तारो हान्ने ढुङ्गा भन्ने गरिन्छ । हलेसी तुवाचुङ नगरपालिका–१० खोटाङस्थित अर्खौले बजार र कामीडाँडाबीचमा रहेको यो ढुङ्गासँग सम्बन्धित कथा सुनेका नेपाल प्रहरी, नेपाली सेनालगायत सुरक्षाकर्मीले तारो हान्ने ढुङ्गालाई श्रद्धासाथ नजिकबाट नियाल्ने गर्छन् । तारो हान्ने ढुङ्गाको दर्शन गरे लक्षित ठाउँमा निशाना लगाउन सकिने विश्वास गर्छन् । ‘मैले पनि यो कथा उहिल्यै सुनेको हुँ,’ हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम साल्तेम्मानिवासी भूतपूर्व गोर्खा सैनिक भर्तसेर राईले सुनाउनुभयो, ‘त्यो बाटो हिँड्दा किराती सेनाका पुर्खाले ठड्याएको ढुङ्गा भनेर मैले आदर र गौरवसाथ दर्शन गर्थें ।’
दिल्पा, भोजपुरमा समेत तारो हान्ने ढुङ्गाको चर्चा गरिन्छ । दिल्पा, भुरुचोकनिवासी किराती राजा जिरामुनि मुन्दुम ज्ञाता थिए । उनले तान्त्रिक शक्तिले जुनसुकै काम गर्न सक्थे । ‘उनले गरेको कामबारे सर्वत्र चर्चा भएपछि काठमाडौँस्थित दरबारबाट झिकाइयो । शक्ति पहिचान गर्न उनलाई दरबारमै नजरबन्दमा राखियो,’ संस्कृतिकर्मी शुभ मुकारुङको भनाइ छ, ‘तान्त्रिक शक्ति प्रयोग गरी फुत्केका किरात राजा जिरामुनि ढुङ्गाको टोपी लगाएर ढुङ्गाकै डन्डिबियो खेल्दै भोजपुर फर्कंदै गर्दा अर्खौले आइपुग्दा उज्यालो भयो । उज्यालो भएपछि उनले खेलेको डन्डिबियो ढुङ्गा त्यहीँ छाडी ढुङ्गाको टोेपीमात्रै लगाएर भोजपुर फर्केको दिल्पाका पुर्खाहरूले सुनाउँदै आएका छन् ।’
‘हिजोआजसमेत चौतारी चिन्ने गरिन्छ,’ मुन्दुम अध्येता भोगीराज चाम्लिङको बुझाइ छ, ‘चौतारी चिनेजस्तै त्यतिबेला ढुङ्गा ठड्याउनुलाई कीर्तिका रूपमा लिने गरिन्थ्यो । तारो हान्ने ढुङ्गासमेत कीर्तिका लागि कसैले ठड्याएका हुन सक्छन् । यसले त्यतिबेलाको समयको प्रतिनिधित्व गर्छ ।’
मानव सभ्यताको विकास ढुङ्गेयुगबाट सुरु भएको पाइन्छ । हातहतियार र आगो आविष्कार नहुँदा ढुङ्गालाई जति महŒवसाथ हेरिन्थ्यो, त्यत्तिकै महŒवसाथ किरात राई समुदायले ढुङ्गाको श्रद्धा र पूजा गर्छन् । प्रकृतिपुजक उनीहरूले वन–जङ्गल, खोलानाला, ढुङ्गामाटोको पूजा गर्नु परापूर्वकालदेखिको मान्यता हो । वन–जङ्गल, खोलानाला, ढुङ्गामाटोसँग उनीहरूको अन्तरङ सम्बन्ध रहेको छ ।
तारो हान्ने ढुङ्गालाई सुत्केरी ढुङ्गा भनेर चिन्नेहरू पनि उत्तिकै छन् । ढुङ्गा पनि सुत्केरी हुन्छ
र ? झट्ट सुन्दा अनौठो लाग्नु अस्वाभाविक होइन । ढुङ्गा सुत्केरी हुनै सक्दैन । तर, ढुङ्गाको नामचाहिँ सुत्केरी हुन सक्छ । ढुङ्गाको नाम सुत्केरी कसरी रहन गयो ? जिज्ञासा लाग्नु स्वाभाविकै हो । सुत्केरी ढुङ्गाको आडैमा अमृता पुरीको घर छ । ‘सोलुखुम्बुबाट हलेसी झरेकी शेर्पिनी गर्भवती थिइन् । हलेसी दर्शन गरेर फर्कनेक्रममा उनलाई सुत्केरी व्यथाले च्यापेछ । व्यथाले च्यापेपछि यो ढुङ्गा उठाउँदा बल प्रयोग भई बच्चा पैदा भएको थियो,’ पुरी सुनाउनुहुन्छ, ‘सुत्केरीले उठाएको भएकाले यसलाई सुत्केरी ढुङ्गा भनिएको हो भनेको मैले पनि अरूबाटै सुनेकी हुँ ।’ सम्भवतः तारो हान्ने ढुङ्गा उठाउँदा बच्चा पैदा भएपछि सुत्केरी ढुङ्गा भन्न थालिएको हुनुपर्छ ।
सुत्केरी ढुङ्गासम्बन्धी प्रचलित किंवदन्ती स्थानीयले सुनाउने गर्छन् । सोधिखोजी गर्नेलाई प्रचलित किंवदन्ती सुनाइन्छ । यो बाटो भएर ओहोरदोहोर गर्नेले जिज्ञासुपाराले सुत्केरी ढुङ्गा हेर्ने गर्छन् । ढुङ्गाबारे किंवदन्ती सुनेपछि सुत्केरीले यत्रो ढुङ्गा कसरी उठाइहोलिन् भन्छन् । ‘सुत्केरीले यत्रो ढुङ्गा कसरी उठाउलान् ? सायद देउताका पालामा उठाउन सक्थे कि ?,’ स्थानीय पुरी थप्नुहुन्छ, ‘हिजोआजका सुत्केरी उठेर बस्न त सक्दैनन् । यत्रो ढुङ्गा उठाउन त परै जाओस् ।’ सुत्केरी ढुङ्गासँगै अर्को पनि ढुङ्गा ठडिएको छ । ठूलो ढुङ्गा सुत्केरीले र सानो ढुङ्गा नवजात शिशुले उठाएको भन्ने गरिन्छ ।
‘ढाड दुखेका महिला सुत्केरी ढुङ्गामा ढेसिन्छन्,’ हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका वडाध्यक्ष ज्ञानबहादुर पुरीले सुत्केरी ढुङ्गासम्बन्धी अर्को प्रसङ्ग सुनाउनुभयो, ‘त्यसो गर्दा ढाड दुखेको निको हुने विश्वास गरिन्छ । हलेसी झरेका शेर्पा समुदायका महिलाले त्यसो गरेको मैले देखेको हुँ ।’
‘रामनवमी र शिवरात्रिलगायत मेला भर्न हलेसी आउनेले भेटी चढाउँथे,’ कवि तथा गजलकार प्रमोद श्रेष्ठ भन्नुहुन्छ, ‘त्यतिबेला सुत्केरी ढुङ्गामा सानोतिनो भीडभाड लाग्थ्यो ।’ पहिले र अहिलेको तारो हान्ने ढुङ्गा÷सुत्केरीढुङ्गामा केही फरक छ । पहिलेको ढुङ्गा ७५ डिग्री कोणमा उत्तरतर्फ ढल्केको थियो । सात फिट दुई इन्च उचाइ रहेको यसको चौडाइ एक फिट
६ इन्च थियो ।
केही समयअघि ढुङ्गा आफैँ ढल्यो । तात्कालिक अर्खौले गाउँ विकास समितिसम्बद्धको पहलमा पुनः ठड्याइयो तर पहिलेकै अवस्थामा राख्न सकिएन । अहिले केही ढल्किएको छ । 
(लेखक गोरखापत्रकर्मी हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?