सुनिता बराल
विश्व राजनीतिमा विद्यार्थी आन्दोलन समाज रूपान्तरणको गतिलाई बदल्ने शक्तिका रूपमा चिनिएको छ । मानवका स्वाभाविक अधिकार र आवश्यकताका विषयलाई सङ्गठित ढङ्गले उठाएर १९औँ र २०औँ शताब्दीमा एसियाका भारत, चीन, बर्मा, पाकिस्तान, इन्डोनेसियामा आन्दोलन भएका थिए । युरोपियन क्रान्तिकारी विद्यार्थी आन्दोलन १९औँ शताब्दीको विश्व हल्लाउने आन्दोलन थियो । अझ १८४८ को जर्मन र रसियन क्रान्तिकारी विद्यार्थीको राजनीतिक चेतनामा युगौँसम्म आन्दोलनको अगुवाइ गर्ने दूरदृष्टि थियो । इतिहासको कालखण्डमा नागरिक अधिकारको माग र रक्षाका लागि भएका आन्दोलनले सारा विश्वको विद्यार्थी आन्दोलनलाई मार्गनिर्देश गरिरहेको छ ।
नेपाली विद्यार्थी आन्दोलनको जग विक्रम संवत् २००४ सालमा पुरोहित विद्यार्थीले सुरु गरेको जयतू संस्कृतम् नै हो । यही आन्दोलनको प्रेरणालाई लिएर २००६ सालमा कम्युनिस्ट पार्टीका स्थापनासँगै गठन गरिएको नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेसन नेपाली विद्यार्थी आन्दोलनको सङ्गठित स्वरूप हो । विश्व इतिहासमा नागरिक तथा राजनीतिक अधिकार, राष्ट्रियता र अहिंसाका लागि प्रदर्शनलगायतका दबाबमूलक कार्यक्रम गरिएजस्तै नेपाली विद्यार्थी आन्दोलन पनि राष्ट्रियता, नागरिक तथा राजनीतिक अधिकार र विद्यार्थी हकहितमै केन्द्रित भए । विद्यार्थी फेडेरेसनले २००७ सालमा दिल्लीमा तत्कालीन राजा त्रिभुवनले गरेको सम्झौतालाई धोका भन्दै राष्ट्रियताको पक्षमा प्रदर्शन गरेको थियो । त्यसपछि २०१७ सालमा दलमाथि प्रतिबन्ध लगाउन राजाले जारी गरेको शाही घोषणामा पनि नागरिक अधिकार हनन भएकोमा विद्यार्थी सङ्गठनले विरोध जनाएको थियो । त्यसपछि रूपमा विद्यार्थी हकहित केन्द्रित र सारमा नागरिक तथा राजनीतिक अधिकार केन्द्रित बनाएर विद्यार्थी आन्दोलनलाई उचाइमा उठाएकै कारण २०२२ सालमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को स्थापना भएको थियो ।
विद्यार्थी आन्दोलन सुरुमा समाजको आवश्यकता, विद्यार्थीका माग र चाहनाका आधारमा सङ्गठित भए पनि क्रमशः राजनीतिक पार्टीहरूको विभाजन र गठन पुनर्गठनसँगै एकता र विभाजन हुँदै गयो । विद्यार्थी आन्दोलनको एजेन्डा माउ पार्टीहरूको लक्ष्य उद्देश्य र अन्तरदृष्टिका आधारमा रूपान्तरित भयो । प्रजातन्त्रवादी र समाजवादी विचारका आधारमा विद्यार्थी सङ्गठनहरू क्रमशः विभाजन भए । विद्यार्थी आन्दोलनको सङ्गठित र साझा उपलब्धिका रूपमा रहेको स्ववियु पनि लामो समयदेखि निष्क्रिय हुनुले पनि विद्यार्थी आन्दोलनलाई प्रश्नहरूले घेरिरहेको छ ।
नेपाली विद्यार्थी आन्दोलनलाई राष्ट्रवादी एजेन्डाको मूलका रूपमा हेरिन्थ्यो । ००७ सालको दिल्ली सम्झौताको विरोधदेखि भारतीय सेना कालापानी छोड् भन्दै कालापानीसम्म नै हिँडेर विद्यार्थी मार्च गर्नेजस्ता गतिविधिले नेपाली विद्यार्थीको राष्ट्रवादी छवि उँचो भएको थियो । विश्व राजनीतिमा स्वतन्त्रता सङ्ग्राममा ऐक्यबद्धता जनाउनेदेखि प्रजातन्त्रवादी नेतृत्वको अपदस्थ, निर्वासन र हत्याजस्ता घटनामा जनप्रदर्शन गरेर विश्व राजनीतिमा ऐतिहासिक एकता प्रदर्शन गर्ने गरेको थियो ।
विद्यार्थी आन्दोलन वैचारिक र राजनीतिक प्रतिस्पर्धा अभियानकै रूपमा चल्थ्यो । विश्व राजनीतिको घटनालाई लिएर विद्यार्थी आन्दोलनमा घनघोर बहस चल्थ्यो । तर, आज विभिन्न विद्यार्थी सङ्गठनहरूको बीचमा त परै जाओस्, एउटै विद्यार्थी सङ्गठनभित्र पनि बहस, विचार मन्थन, एजेन्डा, कार्यनीति, रणनीति कुनामा परेको छ । समाजको आवश्यकता, सिर्जनात्मकता र मौलिकता अबको राजनीतिको एजेन्डा बन्नुपर्नेमा त्यो हुन सकिरहेको छैन ।
१९औँ शताब्दीदेखि सुरु भएको विद्यार्थी आन्दोलन २१औँ शताब्दीसम्म आइपुग्दा नागरिक तथा राजनीतिक स्वतन्त्रता र अधिकारमा आधारित आन्दोलनमात्रै देखिन्छ । कतिपय देशका विद्यार्थी आन्दोलनहरू समाज रूपान्तरणका नयाँ क्षेत्रमा प्रवेश गरेका छन् । अपराध नियन्त्रण तथा प्रहरी व्यवहार, कर तथा राजस्व प्रशासन, भ्रष्टाचार नियन्त्रण तथा स्वयम्सेवी स्टिङ अपरेसन, यातायात सेवा, व्यवस्थित बसोवास व्यवस्थापन तथा बासविहीनको व्यवस्थापनलगायतका क्षेत्रमा विद्यार्थीले सङ्गठित अभियान
सञ्चालन गरेका छन् ।
स्थानीय, प्रदेश तथा सङ्घीय सरकारसँगको सहकार्यमा साझा विद्यार्थी युनियनले गर्न सक्ने र चाहेका क्षेत्रमा यस्ता देखिने परिवर्तनलाई विद्यार्थीको एजेन्डा बनाइएको छ । विद्यार्थी आन्दोलनको सिर्जनात्मक स्वरूपको एउटा उदाहरण मेडिसन कमन काउन्सिललाई लिन सकिन्छ । २५ वर्षदेखि यो काउन्सिलले विद्यार्थीको प्रतिनिधित्वमा सरकार र नागरिकको पहरेदार र पुलका रूपमा काम गरिरहेको छ ।
सन् २०१८ मा स्वीडिस विद्यार्थीले वातावरणका लागि विद्यार्थी हडताल सुरु गरे । अगस्टमा स्वीडिस संसद्को बाहिर हरेक शुक्रबार विद्यार्थीले प्रदर्शन गरेर जलवायु परिवर्तनको असर न्यूनीकरण र वातावरण संरक्षणमा राजनीतिक प्रतिबद्धता माग गर्दै गरिएको प्रदर्शनलाई ‘फ्राइडे फर फ्युचर’ नाम नै दिएर सङ्गठित आन्दोलन चल्यो । यो अभियान १५ मार्च २०१९ मा पहिलो विश्वव्यापी हडतालमा १२५ देश सहभागी भए भने २४ मेसम्म एक सय ५० देशमा यो विद्यार्थी आन्दोलन पुग्यो ।
सन् २०१५ मा संयुक्त राष्ट्र सङ्घले दिगो विकास लक्ष्य तय गरेको छ । दिगो विकास लक्ष्य प्राप्ति गर्न १७ सूचक निर्धारण गरिएको छ भने २०३० सम्ममा यी पूरा गर्ने विश्वव्यापी सङ्कल्प गरिएको छ । अबको विश्वव्यापी लक्ष्य दिगो विकास लक्ष्य हो भनेर यसमा आफूहरूको ध्यान केन्द्रित गर्ने विद्यार्थी आन्दोलन पनि छन् । विद्यार्थी आन्दोलनले सुरुवातदेखि नै उठाएका विषय पनि १७ सूचकभित्र समेटिएका छन् । सम्मानपूर्वक जीवनयापन, आर्थिक विकास, सामाजिक समावेशीकरण र वातावरणीय दिगोपनालाई दिगो विकास लक्ष्यले समेटिनुलाई विद्यार्थी आन्दोलनकै एजेन्डाको सम्बोधनका रूपमा पनि लिनुपर्छ । फरक शैलीमा यी एजेन्डालाई कतिपय विद्यार्थी आन्दोलनले उठाएका पनि हुन सक्छन् भने धेरैले यसलाई अब उठाउनैपर्ने अवस्था छ ।
अफ्रिकी विद्यार्थीले दिगो विकास लक्ष्यलाई विद्यार्थी आन्दोलनको अबको एजेन्डा बनाउने सङ्कल्पसहित २०१८ मा रुवान्डा सम्मेलनले एजेन्डा २०६३ को नाममा सङ्कल्प गरिसकेका छन् । अफ्रिकामा विद्यार्थी युनियनलाई राष्ट्रियस्तरको योजना निर्माण, कार्यान्वयन र अनुगमनमा मुख्य साझेदारका रूपमा थुप्रै देशले समेटिसकेका छन् । विद्यार्थी आन्दोलनाई युरोप, अमेरिका, अफ्रिका र विश्व समुदायले सरकार वा नीति निर्माता र नेतृत्वकर्ताका लागि दबाब समूहका रूपमा लिन थालेका छन् । विश्वको जल्दोबल्दो समस्याका रूपमा रहेको गरिबी, भोकमरी, लैङ्गिक समानता, स्वस्थ जीवन, जलवायु परिवर्तन, जलचरको जीवन संरक्षण, थलचरको जीवन संरक्षणजस्ता एजेन्डामा विद्यार्थी आन्दोलनले दबाब समूहका रूपमा काम गर्नुपर्छ भन्ने मान्यता विकास भइसकेको छ ।
विद्यार्थी आन्दोलनको विश्व परिवेशले आन्दोलनका एजेन्डालाई सिर्जनात्मक, जनमुखी र व्यावहारिक बनाएर रूपान्तरण गरिरहेको सन्दर्भमा हामीले नेपाली विद्यार्थी आन्दोलनलाई कसरी सिर्जनात्मक रचनात्मक र जनमुखी बनाउनुपर्छ भन्ने बहस थाल्न ढिला भइसकेको छ । सिङ्गो सामाजिक तथा राजनीतिक आन्दोलन नै जनमुखी र सिर्जनात्मक बनाउन आधारभूत समस्यामा आधारित भएर रूपान्तरिक हुन जरुरी छ ।
अझ विद्यार्थी आन्दोलनले खास समाजको समस्या र आन्दोलनको जरा पहिल्याउनुपर्छ । जसरी जयतू संस्कृतम्को आन्दोलन चल्दा विद्यार्थीलाई पुरोहित वा संस्कृतको अध्ययनमात्रै गराएर हुँदैन व्यावहारिक र जनमुखी शिक्षा हुनुपर्छ भनेर सामाजिक चेत र विद्यार्थी मागलाई उठाइएको थियो, त्यसरी नै अबको आन्दोलनले राष्ट्रिय आवश्यकता, राष्ट्रिय सङ्कल्प, लक्ष्य र विश्वव्यापी ऐक्यबद्धतालाई आधार मानेर आन्दोलनका एजेन्डा बदल्नुपर्छ । विद्यार्थी आन्दोलनलाई गरिबी निवारण, उद्यमशीलता विकास, भोकमरीको अन्त्य, रोजगारी सिर्जनालगायतका एजेन्डामा केन्द्रित गराउन श्रमको संस्कार सिकाउन जरुरी छ । नेपालका सन्दर्भमा हेर्ने हो भने शिक्षित बेरोजगारी र अलपत्र प्राकृतिक स्रोतको असन्तुलनले विद्यार्थीको ज्ञानलाई व्यङ्ग्य गरिरहेको छ । ठूलो मात्रामा शैक्षिक बेरोजगार रोजगारीको माग गरिरहेका छन् भने नेपालको अथाह प्राकृतिक स्रोतले दक्ष जनशक्तिको माग गरिरहेको छ । यसको सन्तुलन मिलाउन राष्ट्रका लागि आवश्यक विषयमा अध्ययन गर्ने, शिक्षितहरूले पनि वैज्ञानिक ढङ्गबाट श्रमशक्तिका रूपमा परिचालित हुने प्रेरणा दिन केन्द्रित हुनुपर्छ । अझ शिक्षा, श्रम र सम्पदाको सन्तुलन मिलाउन विद्यार्थी आन्दोलनले दबाब समूहका रूपमा
काम गर्नुपर्छ ।
नेपालको संविधान–२०७२ ले शिक्षा, श्रम, सम्मानपूर्वक जीवनलाई मौलिक हकमै व्यवस्था गरेकाले नीतिगत व्यवस्थाका लागि पैरवी गर्नुभन्दा कार्यान्वयन र अनुगमनमा दबाब समूहका रूपमा विद्यार्थी आन्दोलनले काम गर्नु जरुरी छ ।
हाम्रो देश अल्पविकसित मुलुकको सूचीबाट माथि उक्लिँदै छ । हाम्रो राष्ट्रिय सङ्कल्प तीव्र विकास हो । विकासका कामले तीव्रता पाएका पनि छन् तर विकास आयोजनाको निर्माण गुणस्तर, यसको दिगोपना र यसले समेट्ने नागरिक चाहनाको सन्दर्भमा थुप्रै प्रश्न छन् । हाम्रा पूर्वाधार विकासका नाममा भइरहेको वातावरण विनाश, रैथाने समुदायको विस्थापन, जलचर र थलचरको वासस्थानको सङ्कट, जैविक विविधताको विनाशलगायतका कैयन् प्रश्न उठिरहेका छन् । यस्ता विषयमा विद्यार्थी आन्दोलनले यो हाम्रो एजेन्डा होइन भनेर पन्छिनु, समयको मागलाई नसुन्नु हो ।
दिगो विकास लक्ष्यले उठाएका सवाल र विश्वव्यापी एजेन्डा ढिलो चाँडो सबैका एजेन्डा हुन् । यसमा विद्यार्थी सङ्गठनले अगुवाइ गरेर आफ्नो उपस्थिति जनाउन जरुरी छ । विकासका नाममा हुने गरेका तमाम विनाशकारी गतिविधिलाई नियन्त्रण गर्दै विकल्प खोज्नेतर्फ लैजानुपर्छ ।
औद्योगिक क्रान्तिका नाममा जसरी हतियारका उद्योग खोल्ने र विश्वलाई अर्को युद्ध र अशान्तिमा लैजाने अघिल्ला शताब्दीमा भयो, विकासका नाममा हुने क्रियाकलापबाट प्राकृतिक सङ्कटमा पुग्नबाट विश्वलाई जोगाउने काम अबको पुस्ताको हो । जलवायु परिवर्तन, इकोसिष्टमको खल्बली र पृथ्वीको बढ्दो तापक्रमका कारण सिर्जना हुने ब्रह्माण्डीय सङ्कट पनि अबको विश्वव्यापी समस्या हो । विकासका नाममा पुँजीको विस्तारका लागि रासायनिक उत्पादनको घातक प्रतिस्पर्धा र प्राकृतिक विनाशको होड चलिरहेको छ । यसविरुद्ध पनि विद्यार्थीले रचनात्मक र जनमुखी भूमिका निर्वाह गर्नैपर्छ ।
(लेखक विद्यार्थी नेतृ हुनुहुन्छ ।)