logo
२०८१ मंसिर ११ मंगलवार



एमालेको बाटो

विचार/दृष्टिकोण |




न्हुंछेनारायण श्रेष्ठ
प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ वैशाख २७ गते संसद्सामु विश्वासको मत प्राप्त गर्न सक्नुभएन । आफ्नै पार्टी नेकपा एमालेका २८ र जनता समाजवादी पार्टीका सम्भावित १५ मत पाउन सक्नुभएको भए उहाँका लागि आवश्यक १३६ पाउनुहुन्थ्यो । प्रधानमन्त्रीले विश्वासको मत नपाएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते राति नै नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा–२ अनुसार दुई वा दुईभन्दा बढी राजनीतिक दलहरू मिलेर बहुमतको सरकार बनाउन वैशाख ३० गते राति ९ बजेसम्मको समयसीमा तोकिदिनुभएको थियो । उक्त समयसीमाभित्र बहुमतको सरकारको गठनका लागि प्रतिपक्षी दलहरूले उहाँको विकल्पमा बहुमत पु¥याउन सकेनन् । संसद्मा रहेको ठूलो राजनीतिक दलको हैसियतले नेकपा एमालेले नै पुनः सरकार गठन गर्ने गहन जिम्मेवारी प्रााप्त ग¥यो । ओली तेस्रो कार्यकालका लागि प्रधानमन्त्री हुनुभयो ।
त्यसो त बहुमतीय सरकार गठनका लागि संसद्को प्रतिपक्षी दल नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरूको दौडधुप, बैठक तथा सत्तापक्षका ओली समूह र एमालेकै असन्तुष्ट पक्ष नेपाल समूहबीच पनि छुट्टाछुट्टै बैठक भइरहे । बहुमतीय सरकार गठनका लागि नेकपा एमालेको माधव नेपाल समूह निर्णायक भयो । प्रतिपक्षी नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले चाहेजसरी उनीहरूले नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठनका लागि सामूहिक राजीनामा दिएनन् बरु आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउन र आन्तरिक विवाद संवादबाटै समाधान गर्ने उपायमा लागे । फलतः नेपाली काँग्रेस र माओवादी केन्द्रका नेताहरूको सपना चकनाचुर भयो ।
लामो रस्साकस्सीबीच नेकपा एमाले फुटबाट पनि जोगिएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच भएको सकारात्मक संवाद र पार्टी एकताको पक्षधरताका कारण पार्टी फुटबाट जोगिएको छ र वामपन्थीको सरकार पुनः जोगिएको छ । प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच वैशाख ३० गते करिब चार घण्टा चलेको बैठकमा पार्टीभित्रकै विषयमा छलफल भएको र फागुन २८ को निर्णय फिर्ता गर्ने र सर्वोच्चको फैसलाअनुसार जेठ २ गतेको अवस्थामा फर्कनेबारेमा घनिभूत रूपमा छलफल गरी समस्या समाधान गर्ने सहमति भयो । त्यही सिलसिलामा नेपालसहित चार नेतालाई गरिएको निलम्वन फिर्ता गरियो अनि अगाडि बढ्ने खाकाका लागि कार्यदल बनाइने भयो ।
नेकपा एमालेको दुई पक्षको सहमतिकै कारण नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाको एक पक्ष मिली नयाँ सरकार गठन गर्ने भाँडोमा बिर्को लागेको छ । आफ्नो अभीष्ट पूरा गर्न अर्को पार्टी फुटाउने, सांसद किनबेचजस्ता घृणित कार्य गर्न अभ्यस्तलाई समेत यो मिलनले राम्रो शिक्षा दिएको छ । सरकार गठनका लागि नेपाली काँग्रेसले अग्रसरता लिनु प्रतिपक्षीय धर्म रहे पनि कुनै बेला सभापति शेरबहादुर देउवाकै नेतृत्वको सरकार गिराउने, एकीकृत नेकपाकै सरकारलाई अल्पायुमै ढलाउने हर्कतमा लाग्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको विश्वास लिई अघि बढ्नुलाई मूर्खताको संज्ञा दिन सकिन्छ । सत्ता र सरकारबाहेक अरू केही नदेख्ने प्रवृत्तिकै कारण संसद्मै कहिले गिरिजाप्रसाद त कहिले मदन भण्डारीको गुनगान गाउनेमात्रै होइन, संसद्मै आँसुसमेत झार्न माहिर नेताले घरीघरी अन्य दललाई विभाजनका लागि उत्तेजित गर्नुलाई सकारात्मक मान्नु नै मूर्खता हो ।
आफूलाई प्रजातान्त्रिक पार्टीको उपमा दिने नेपाली काँग्रेसले आफ्नै विगत बिर्सेर नेकपा एमाले फुटाउने रणनीतिमा सामेल भए पनि सफल हुन सकेन । माधव नेपाल समूहका २८ जना सांसदले संसद्मा अविश्वास प्रस्तावको समयमा आफ्नै पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्रीलाई साथ नदिए पनि अन्तत्वगोत्वा विपक्षी विचार, नीतिलाई साथ नदिँदा एमालेकै सरकार बनेको छ । अन्तरकहल गर्दै भीरको डिलमा पुगेका दुई समूहबीचको सकारात्मक संवादका कारण पार्टीलाई एकढिक्का बनाई अगाडि बढ्ने अनि आफ्नै पार्टीको सरकार रहने अवस्था सिर्जना हुँदा एमाले पङ्तिमा खुसियाली हुनु स्वाभाविक हो ।
संसद्मा एमाले ठूलो दलको हैसियतले अध्यक्ष ओली पुनः प्रधानमन्त्री हुनु स्वाभाविकै पनि हो । देशमा अस्थिरता बढ्यो, स्थिरताका लागि स्थायी सरकार चाहियो भनेर नै जनताले एमालेलाई ठूलो पार्टी बनाएका थिए । अहिले त झन् कोरोना महामारी रोकथामका लागि गरिएका पहललाई प्रभावकारी बनाउन, राजनीतिक दलका दाउपेच, नेताहरूको पद र प्रतिष्ठाभन्दा पनि नेपाली जनता र नेपालको प्रगति, उन्नतिका लागि समेत केपी शर्मा ओली नेतृत्वको निरन्तरता महशुस गरिएको थियो । लोडसेडिङ् अन्त्य, नेपालको वास्तविक सीमा रहेको नक्सा सार्वजनिक, सगरमाथाको नयाँ उचाइ मापन, मेलम्ची खानेपानी काठमाडौँ ल्याउनु, धरहरालगायत पुनःनिर्माणको उल्लेख्य प्रगति, संविधान संशोधनलगायत विभिन्न क्षेत्रमा उल्लेखनीय कार्य उहाँकै कार्यकालमा भएको लुकाउन सकिँदैन । अब पनि उहाँकै नेतृत्वमा देश विकास र समृद्धिको पथमा सहकार्य आवश्यक छ ।
अहिलेको अवस्थामा नेपाल र नेपाली जनतासमक्ष गरेको प्रतिबद्धताअनुरूप सरकार सञ्चालन हुनु अपरिहार्य देखिन्छ ।
कोरोना महामारी, महँगी, भ्रष्टाचार अन्त्यका लागि सरकार प्रतिबद्ध हुनुको विकल्प देखिँदैन । कोरोना सङ्क्रमण रोक्ने, बिरामीको उपचारमा सहयोग गर्ने, थप अस्पताल, शøया, अक्सिजनलगायतका औषधिको सहज आपूर्ति गर्ने, सीमानाकामा कडाइ गर्नेलगायतका विषयमा समयमै सम्बोधन हुनु आवश्यक छ ।
यो अवस्थामा अब एमालेका दुवै समूहको बाटो हो– विगतका तीतामीठा बिर्सेर एकताको आधार बलियो बनाउने र सामुन्नेका राष्ट्रिय जिम्मेवारी पूरा गर्न व्यापक सहकार्यको वातावरण बनाउने । नेतृत्वले पार्टीप्रतिको जनविश्वास र जनमतको कदर गर्दै अब एमाले एकढिक्का गराउनुपर्ने आवश्यकता छ । आपसमा भएका तिक्तता, आरोप, प्रत्यारोपलाई बिर्सेर कम्युनिस्ट पार्टीको नीति र सिद्धान्तअनुरूप अगाडि बढ्न संवाद, सहकार्यको बाटो अवलम्बन गर्नैपर्छ । विधि पद्धतिमा चल्नैपर्छ । त्यस्तैगरी, वर्तमान सरकारको कमी, कमजोरी हटाउनका लागि एमालेका दुवै समूहको उत्तिकै दायित्व र कर्तव्य हुन्छ । वामपन्थीको खोल ओढेर सत्ता र कुर्सीका लागि जे पनि गर्ने गलत परम्पराको अन्त्य गर्नुपर्छ । पार्टीभित्र गुट, उपगुटको अन्त्य गर्नुपर्छ । सरकारले आफ्नो कमीकमजोरी सुधार्ने, प्राप्त उपलब्धिलाई संस्थागत गर्दै लैजाने प्रतिबद्धता व्यवहारमा पुष्टि गर्नुपर्छ । पार्टी फुटाएर होइन, गोलबन्द, एकत्रित गरी देशका समस्या समाधान गर्दै आगामी निर्वाचनका लागि तयारी गर्नुपर्छ । फुट र झुटको राजनीति धेरै दिन टिक्न सक्दैन भन्ने कुरा यसअघि पार्टी विभाजनले देखाइसकेकोतर्फ नेताहरूको ध्यान जानु आवश्यक छ । पार्टीभित्रको कुरा पार्टीभित्रै रहेर बहस गर्ने, छलफल गर्ने परम्परा कायम राख्नुपर्छ । घरभित्रको झगडा भयो भनेर घरमै आगो लगाउने दुस्साहस कोही कसैले गर्नुहुँदैन । पार्टीभित्रै बसी सङ्घर्ष गर्नुपर्छ, पार्टी नीति नियमअनुसार चल्नुपर्छ, गल्ती गर्नेले पार्टी नियमबमोजिम आत्मालोचना गर्नुपर्छ, कारबाही स्वीकार गर्नुपर्छ ।
आमकार्यकर्ताले नेता र सांसद पार्टी फुटाउन र आफूलाई जे मन लाग्यो, त्यही गर्नलाई बनाएका होइनन्, चेतना समयमै हुनुपर्छ । सरकार टिकाउने कि गिराउने खेल, अस्थिरताको पक्षमा उभिनेभन्दा पनि पार्टीको नीति सिद्धान्तप्रति वफादार भई अघि बढ्नुपर्ने बेला छ । यो अवस्थामा पार्टीलाई धोका दिनेलाई इतिहासले सराप्नेछन्, धिक्कार्नेछन् । पार्टी राम्रो बनाउन नसक्नेले देशका लागि के गर्न सक्लान् ? नेता, कार्यकर्ताले बुझ्नु जरुरी छ ।
(लेखक अधिवक्ता हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?