भगवती सेढाई
सन् १९१० देखि १९५० को समयमा निजी (प्राइभेट) कारहरू प्रायः अमेरिकामा केन्द्रित थिए । सन् १९५० देखि १९७५ को समयमा यूरोपमा कारको विस्तार भयो र सन् १९७५ पछि विश्वका अन्य मुख्य सहरहरू र मुख्यतया एसियामा विस्तार भएको देखिन्छ । मेडिकल हिस्ट्री भन्ने जर्नलमा इरिस बोरोव्यले २०१३ मा लेख्नुभएको अध्ययन अनुसार सन् १९५५ सम्म विश्वमा जम्मा ५० करोड रहेका यातायात साधनहरू विस्तार भएर २०१० मा एक अर्ब पुग्ने प्रक्षेपण थियो । तर सन् २०१८ मा विश्वभर यातायातका साधनको सङ्ख्या एक अर्ब ४० करोड पुगेको थियो । यस गणनामा यात्रा र ढुवानीका लागि प्रयोग हुने कार तथा हलुका, मध्यम र ठूला ट्रक, बस मात्र जोडिएको छ तर मोटरसाइकल, अफ–रोड र निर्माण प्रयोजनका साधनहरूको समेटिएको छैन । मोटरसाइकलहरूको पनि सङ्ख्या जोड्ने हो भने यो सङ्ख्या निकै बढी हुन्छ ।
यति धेरै सवारी साधन गुड्ने सडकमा दुर्घटना कति होलान् ? तथ्य हेर्दा विश्वव्यापी चिन्ताको विषय बनेको छ । दुर्घटनाको इतिहासमा पहिलो पटक सन् १८९६ मा बेलायतमा गाडीमा यात्रा गर्दा भएको दुर्घटनाबाट दुई जनाको र सन् १८९९ मा अमेरिकामा अर्को एक मानिसको मृत्यु भएको मानिन्छ । त्यसबेला ती घटनालाई धेरै ठुलो रूपमा लिइएको थियो र उनीहरूको दाहसंस्कार कार्यक्रममा यस्ता मृत्यु अबका दिनमा कसैको पनि नहोस् भनी प्रार्थना गरिएको थियो । तर संसारभरका सडकहरूम् दुर्घटनाका कारणले मृत्यु हुनेको सङ्ख्या निरन्तर विकराल रूपमा बढ्दै गएको छ ।
विश्व परिदृश्यमा सडक सवारी दुर्घटनालाई तुलनात्मक रूपले हेर्दा, सन् २००१ को सेप्टेम्बर ११ मा ट्वीन–टावर आक्रमणको लगभग तीन हजार जनाको मृत्यु भएको थियो भने पाँच हजार जति घाइते भएका थिए । त्यसै अवधिमा हरेक दिन संसारका सडकहरूमा तीन हजार दुई सय जना जतिले सडक दुर्घटनामा ज्यान गुमाउँथे भने ३० हजारभन्दा बढी मानिस घाइते भइरहेका हुन्थे । यसैबाट भन्न सकिन्छ कि एक्काइसौँ शताब्दीको सुरुमै सडक दुर्घटना अवस्था कति विकराल भइसकेको थियो । त्यसपछिका दुई दशकमा निरन्तर उकालो लागिरहेको छ ।
विश्व स्वास्थ सङ्गठनको सडक सुरक्षासम्बन्धी २०१८ को प्रतिवेदनका अनुसार संसारमा हरेक वर्ष १३ लाख ५० हजार मानिसहरूले सडकमा ज्यान गुमाउँछन् भने तीन करोडदेखि पाँच करोडसम्म मानिसहरू घाइते हुन्छन् । तीमध्ये अधिकांश (९३ प्रतिशत) न्यून र मध्यम आय भएका देशहरूमा हुन्छन् ।
सडक दुर्घटनाका मानवीय र सामाजिक–आर्थिक असरहरूका कारण नेपालजस्ता देशहरूमा सडक दुर्घटना डरलाग्दो अवस्थामा पुगेको छ । विश्वको समग्र जनसङ्ख्यामा मृत्युको कारणहरूमध्ये सडक दुर्घटना आठौँ हो भने ५–२९ वर्ष उमेर समूहमा त यो मृत्युको पहिलो कारण हो । संसारभर सडक दुर्घटनाका मृत्यु र घाइतेको कुल सङ्ख्याको आधाभन्दा बढी हिस्सा ‘जोखिममा रहेका सडक–प्रयोगकर्ताहरू’ जस्तैः पैदलयात्री, साइकलयात्री र मोटरसाइकलयात्रीले ओगट्छन् । यही दुर्घटनाले विश्वका देशहरूमा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म कुल गार्हस्थ उत्पादनमा कमी ल्याएर गरिबी बढाएको छ । यही कुरालाई मध्यनजर राखी दिगो विकासका लक्ष्यहरू ३.६ र ११.२ मा सडक सुरक्षालाई उल्लेख गरिएको छ । जसअनुसार नेपाललगायत मुलुकहरूले दुर्घटनाबाट हुने मृत्युको सङ्ख्यालाई २०३० सम्ममा आधामा झार्ने र सार्वजनिक यातायातलाई सुरक्षित, सबैका लागि सर्वसुलभ, वातावरणमैत्री र दिगो किसिमले विकास गर्ने लक्ष्य राखेका छन् ।
सन् १९४० मा काठमाडौँ ल्याइएको तत्कालीन राजा त्रिभुवनले जर्मन तानाशाह हिट्लरबाट उपहारका रूपमा प्राप्त कारलाई नेपालको पहिलो गाडीको रूपमा लिइन्छ । आजसम्म आइपुग्दा यातायात व्यवस्था विभागमा दर्ता भएका सवारी साधनहरूको सङ्ख्या ३५ लाख छ । विगत १२ वर्षयता नेपालमा सवारी साधनको सङ्ख्यामा ठूलो वृद्धि भएको छ । यातायात व्यवस्था विभागकोे तथ्याङ्कअनुसार ८५ प्रतिशतभन्दा बढी मोटरसाइकल छन् भने ७ प्रतिशत जतिमात्र कार, जिप र भ्यानहरू छन् । सार्वजनिक सवारी साधनको सङ्ख्या भने जम्मा २ प्रतिशत जति मात्र छन् ।
नेपालमा मृत्युका कारणमध्ये सडक दुर्घटनाबाट हुने मृत्यु सातौँ कारण हो भने यो मृत्यु मलेरिया, एचआईभी र क्षयरोगभन्दा पनि धेरै हो । नेपालमा बर्सेनि सडक दुर्घटना र यसको कारणबाट हुने मृत्यु र घाइते सङ्ख्या आकाशिंदैछ । सरकारी तथ्याङ्कअनुसार सडक दुर्घटनाबाट झण्डै दैनिक औसत आठ जनाले ज्यान गुमाउने गरेका छन् भन्ने देखिन्छ भने संयुक्त राष्ट्र सङ्घीय स्रोतहरूले नेपालमा दैनिक १३ जनाको मृत्यु हुने जनाएका छन् । नेपाल प्रहरी आर्थिक वर्ष २०६५÷६६ देखि २०७५÷७६ बीचको अवधिमा नेपालमा सडक दुर्घटनाबाट मृत्युको सङ्ख्यामा दोब्बरभन्दा बढी (१०५ प्रतिशत) वृद्धि भएको देखाउँछ । तर कोभिड १९ को लागि गरिएको बन्दाबन्दीको कारणले गत आर्थिक वर्षमा मृत्युको सङ्ख्या केही कम रेकर्ड गरिएको छ । आर्थिक वर्ष २०७५÷७६ को तथ्याङ्कअनुसार दुई हजार ७८९ जनाको मृत्यु र १४ हजार ७३६ जना घाइते भएका थिए । यसमा देखि ४९ वर्ष समूहका पुरुषहरूको सङ्ख्या अत्यधिक छ ।
कारण
नेपाल प्रहरीको तथ्याङ्कलाई आधार मान्दा दुर्घटनाको मुख्य कारणमा चालकको लापरबाही, तीव्र गति, पैदलयात्रीको लापरबाही भन्ने देखिन्छ । यिनै कारणहरूका अनुसार दुर्घटना न्यूनीकरणका लागि समाधान खोज्न गाह्रो हुन्छ । अन्य कारणलाई पनि खोज्नुपर्छ । नेपालमा सडक दुर्घटनाबाट अधिक मृत्यु र घाइते हुनुमा मुख्यतया दुई पाङ्ग्रे साधनको अत्यधिक प्रयोग पनि एक हो । सडक सुरक्षा विज्ञहरूले गरेको एक अध्ययनमा यदि जापान र स्वीडेनमा पनि भारतकै अनुपातमा दुईपाङ्ग्रे सवारी साधनको प्रयोग हुने हो भने ती देशमा पनि सडक दुर्घटनाको सङ्ख्या अहिलेको भन्दा तीन गुणाले बढ्नेछ भनी अनुमान गरिएको छ । उक्त अध्ययनको नतिजा र सामान्य अवलोकनकै आधारमा पनि नेपालमा सडक दुर्घटनाको मूल कारण भनेको दुई पाङ्ग्रे साधनको अत्यधिक प्रयोग नै हो भन्न सकिन्छ । अर्कोतर्फ विश्वमा सडक दुर्घटनाका आधाभन्दा बढी घटनाहरू तीव्र गतिका कारण हुन्छ । विकसित देशमा तीव्र गतिले सडक दुर्घटनाको ३० प्रतिशत हिस्सा ओगट्छ भने विकासशील तथा कम विकसित देशहरूमा यो अनुपात ५० प्रतिशतभन्दा बढी छ । नेपालमा पनि प्रहरी तथ्याङ्कले नै पनि तीव्र गतिलाई १८ प्रतिशत दुर्घटनाको कारकको रूपमा जनाएको छ ।
यसै कुरालाई मध्यनजर राखेर गतवर्ष (फेब्रुअरी २०२०) मा स्वीडेनको स्टकहोममा आयोजित तेस्रो मन्त्रीस्तरीय विश्वस्तरीय ‘सडक सुरक्षा सम्मेलन’ ले पनि संसारमा सडक दुर्घटनालाई घटाउन १८ बुँदे घोषणापत्र जारी गरेको थियो । उक्त सम्मेलनले सडक सुरक्षा व्यवस्थापन, सुरक्षित सडक, सुरक्षित सडक प्रयोगकर्ता, सुरक्षित सवारी साधन, दुर्घटनापछिको प्रतिकार्य र गति व्यबस्थापनलाई सडक दुर्घटना न्यूनीकरणका मूल आधार मानेको छ ।
नेपालको तर्फबाट भौतिक योजना तथा पूर्वाधार मन्त्रीको नेतृत्वमा सम्मेलनमा नै उपस्थितिसहित राष्ट्रिय प्रतिबद्धता जाहेर गरिएको थियो । केही हप्ता अघिमात्रै संयुक्त राष्ट्रसङ्घले पनि महासभाबाटै सडक सुरक्षाको प्रस्ताव अनुमोदन गरिसकेको छ । यसै परिप्रेक्ष्यमा यस वर्ष संयुक्त राष्ट्रसङ्घले छैठौँ विश्वव्यापी सडक सुरक्षा सप्ताह यही जेठ ३ देखि ९ गतेसम्म ‘स्ट्रिट फर लाइफ ३ लभ ३०’ भन्ने नाराको साथ खासगरी सहरी सडकहरूमा यातायात साधनको गतिलाई प्रतिघण्टा ३० कि.मि.मा सीमित गरौँ भनी मनाइँदैछ । यसै अवसरमा ‘संयुक्त राष्ट्रसङ्घीय सडक सुरक्षाका लागि कार्यको दोस्रो दशक २०२१–२०३०’ लाई पनि सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
न्यूनीकरण प्रयास
नेपालमा सडक दुर्घटना र यसको न्यूनीकरणका उपायहरूको विषयमा अध्ययन र सडक सुरक्षाका लागि अबलम्बन गरिनु पर्ने उपायहरू पनि बिभिन्न तहबाट प्रस्ताव गरिएका छन् । जनप्रतिनिधिहरू, सरकारको उच्च नेतृत्वबाट बढ्दो सवारी दुर्घटना बारेमा अग्रसरता नदेखाइएको पनि होइन । संसद्मा २०७३ साउनमा यही विषयमा जरुरी सार्वजनिक महìवको प्रस्तावमा छलफल भएको थियो । तत्कालीन विकास समितिबाट स्व. रविन्द्र अधिकारी र यातायात मन्त्री रमेश लेखकले सडक दुर्घटना नियन्त्रणका लागि ठूलै चासो देखाउनु भएको हो । दोस्रोपटक २०७५ माघ २९ मा डा. डिला सङ्ग्रौला पन्तको अग्रसरतामा सङ्घीय संसद्को प्रतिनिधि सभामा सडक सुरक्षासम्बन्धी जरुरी सार्वजनिक महìवको प्रस्तावमाथि यस विषयमा सम्भवतः सबैभन्दा लामो छलफल भएको थियो । त्यसपछि २०७६ पुसमा प्रधानमन्त्री केपी ओलीले, गृहमन्त्री, यातायात मन्त्री, सुरक्षा निकायका प्रमुखहरू र यातायात व्यवस्थापन अधिकारीहरूलाई सामूहिक निर्देशन पनि दिनुभएकै हो ।
तर पनि आशातीत कार्यप्रगति र परिणामहरू देखिन सकेका छैनन् । सडक सुरक्षाको नेतृत्वकर्ता निकायबारेको अन्योल, संसद्बाट सडक सुरक्षा कानुन पारित हुनमा ढिलाइ र सरोकारवालाबीच बहुपक्षीय समन्वयमा अलमल यसका नीतिगत पक्ष हुन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको वर्तमान नेतृत्वबाट जनसमुदाय र सडक सुरक्षाको पैरवी गर्ने संस्थाहरूले यो समस्यामा ठूलो सुधारको अपेक्षा राखेका छन् । देशभर तीव्र रूपमा फैलँदो छ । सडक सञ्जाल । सबै जिल्लामा पुगेको यातायात सुविधाको अनुपातमा सडक यातायातको अनुगमन प्रणालीको संस्थागत, जनशक्ति, प्राविधिक र आर्थिक स्रोत व्यवस्थापन यसको बाधक हो भने त्यसलाई सरकारको उच्च तहबाटै समाधान गरिनुपर्छ ।
तत्कालिक कार्यगत उपायहरू अपनाउन सकेमा पनि समस्यालाई न्यूनीकरण गर्न सकिन्छ । यस प्रकारका उपायहरूलाई निम्नलिखित पाँच वटा शीर्षकअन्तर्गत हेर्न सकिन्छ ः
१. यान्त्रिक कारण
सवारी साधनको तोकिएको निकायबाट यान्त्रिक गडबडीको नियमत जाँचलाई बाध्यकारी बनाउने । हरेक ३५ सय किमीपछि सवारी साधनको जाँच अनिवार्य गर्ने । जाँच गर्ने स्थानको विस्तार गर्ने । २० वर्ष पुराना साधनहरूलाई पूर्ण रूपमा चल्न बन्देज लगाउने ।
२. सडक संरचनाको कारण
पैदलयात्रीको सुरक्षाका लागि हिँड्नयोग्य फुटपाथ बनाउने । फुटपाथको अतिक्रमण तत्काल नियन्त्रण गर्ने । नयाँ बनाइने सडकमा सडक सुरक्षाबारे उपायहरू अधिकतम प्रयोग गर्ने । बेलैमा सडकको उचित मर्मत सम्भार गर्ने । सडक डिजाइन गर्दाको बेलादेखि नै सडक सुरक्षा मूल्याङ्कन (रोड सेफ्टी अडिट) अनिवार्य गराउने । सडक मर्मत सम्भार निर्देशिका पूर्ण रूपमा पालना गराउने । सडकमा नयाँ प्रविधिको प्रयोग विस्तार गर्ने । ट्राफिक चिह्न, सङ्केत र सूचनामूलक बोर्डहरू पर्याप्त मात्रामा राख्ने । व्यवस्थित पार्किङ् स्थल निर्माण गर्ने
३. सवारी चालकको लापरबाहीको कारण
चालक अनुमतिपत्र लिने प्रक्रियालाई वैज्ञानिक बनाउनु पर्ने । लामो दूरी र छोटो दूरीका चालकका लागि विशेष मापदण्डको व्यवस्था गर्ने । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने विरुद्धको अभियन देशव्यापी बनाउने । तीव्र गति रोक्न कडा नियम बनाउने । चालकलाई जिम्मेवारीबोध गराउने तालिम हुनुपर्ने ।
४. ट्राफिक प्रहरी कार्य
ट्राफिकको सङ्ख्यालाई विस्तार गर्न‘पर्ने । ट्राफिकको सडक सुरक्षा भत्ता बढाउने र बिशेष खालको स्वास्थ बीमा गराउने । ट्राफिक प्रहरीले कसैको हस्तक्षेपविना काम गर्ने वातावरण बनाउने । सडक सुरक्षाका नियमहरूलाई समान र कडाइका साथ पालना गराउने ।
५. सवारी धनी
सवारी साधनको नियमित परीक्षण गर्ने । अनुभवी चालकमात्र राख्ने र सकेसम्म राम्रो सुविधा दिने । सिट क्षमताभन्दा बाढी यात्रु नराख्ने । आफ्नो साधन कसरी चलेको छ भन्ने बारेमा निगरानी राख्ने । सम्पूर्ण सडक सुरक्षाको नियम पालना गर्ने ।
समय अनुसार सडक सुरक्षाका लागि नियम कानूनहरू अद्यावधिक गर्न‘पर्छ तर नेपालमा विद्यमान धेरै नीति, नियमहरूलाई मात्र अक्षरशः पालना गराउन चाहिने संस्थागत र जनशक्तिको व्यवस्था मात्र गरिदिने हो भने तत्काल हाम्रा सडकलाई सुरक्षित बनाएर मानिसहरूलाई अकालमा मर्न र घाइते हुनबाट बचाउन सकिन्छ ।
(लेखक पद्मकन्या बहुमुखी क्याम्पसमा उप–प्राध्यापक हुनुहुन्छ । )