logo
२०८१ माघ ८ मंगलवार



बुद्ध धर्ममा व्यावहारिक ज्ञान

विचार/दृष्टिकोण |




मणि रत्न शाक्य

वैज्ञानिक प्रविधिको विकास सँगसँगै मानिस अहिले पृथ्वीको एक कुनामा बसेर अर्काे कुनामा रहेका आफन्तसँग आँखा जुधाउँदै वार्तालाप गर्न सक्ने भएको छ । घरमै बसीबसी संसार देख्नसक्ने भएको छ । विकसित प्रविधिकै कारण हरेक क्षेत्रमा मानिसको जीवन आधुनिक बन्दै सहज, सरल र भौतिक सुखसयलमा व्यतित हुन थालेको छ । तर पनि मानिसहरू सुखको अनभूति गर्न सकिरहेका छैनन् । मनमा उत्पन्न हुने विभिन्न किसिमका ईच्छा, आकाङ्क्षा र तृष्णाको भुमरीले जीवन अनियन्त्रित भई बेलगाम हुने गरेको छ । मानसिक तनावले मानिस कष्टकर जीवन बिताउन वाध्य भइरहेको छ । क्षणिक सुखमा रमाउने र क्षणिक दुःखमै जीवनलाई धरापमा पार्ने विषम स्वभाव मानिसको जीवनमा दुःखको कारण बन्दै गइरहेको छ । यस्तो अवस्थामा मानिसले सुख, शान्तिले जीवन कसरी बिताउने ? यो चिन्ताको विषय भइरहेको छ ।
बुद्ध शिक्षा जसलाई बुद्ध धर्मको रूपमा संस्थापित गरिएको छ, यसले मानिसको जीवन सुखमय बनाउन विभिन्न उपायहरू अवलम्बन गरेको छ । यसले मानिसले जीवनलाई धेरै सुखले नबाँध्ने र अति कष्टकर जीवन पनि नबिताउने गरी मध्यम मार्गमा हिँड्नु फलदायी हुने बताएको छ । मानिसको जीवनमा पाइलैपिच्छे दुःखको ज्वालाले पोल्ने गरेको र जीवन कष्टकर हुने हुँुदा दुःखबाट टाढा रही शान्त र सुखमय जीवन यापन गर्न बुद्ध धर्मले मार्ग दर्शन गरेको छ ।
बुद्ध धर्मले मानिसको जीवनमा दुःख छ, दुःख हुनुको निश्चित कारण हुन्छ, दुःख निवारण गर्न सकिन्छ र यसका उपायहरू छन् भन्छ । यो बुद्ध धर्मको महान् विषेशता हो । यही विशेषताको कारण आजको आधुनिक युगमा पनि मानिसहरू दुःखको बेला बुद्ध धर्मको छहारीमा शीतल महसुस गर्छन् ।
तथागत बुद्धको जीवनको अनुभव अनि त्याग र तपस्याको फल भएको यस धर्मले मानिसको जीवनमा सुख, दुःख हुनु जीवनको स्वभाव भएको बताउँदै मानिसले जीवनको यथार्र्थ सही रूपले बुझेर जीवनरूपी डुङ्गालाई सहज रूपले पार गर्न सुझाएको छ । बुद्ध भन्नुहुन्छ कि मानिसको जन्म दुर्लभ छ । त्यो पनि केही दिनका लागि मात्र हो । यहाँ सधैँै बाँचिरहने प्राणी कोही हुँदैन, सधैँ रहिरहने बस्तु पनि कुनै छैन । स्वयं यो धरती, चन्द्र र सूर्य एक दिन नाश हुन्छ । यो सत्य हो । त्यसैले भनिन्छ, उत्पत्तिशील स्वभावको पदार्थ विनाशशील स्वभावको भइरहेको हुन्छ ।
मानिसको जीवन एउटा विश्रामस्थल जस्तै हो, जहाँ निश्चित गन्तव्यका लागि मानिस केहीबेर कुरेर बसिरहेको हुन्छ । जीवन छोटो र अमूल्य भएकोले मानिसले हाँसीखुसी सार्थक जीवन बिताउन बुद्ध धर्मको उपदेश रहेको छ । बुद्ध भन्नुहुन्छ– “वर्तमान समय सबभन्दा महŒवपूर्र्ण क्षण भएकोले मानिसले जिउदैमा स्वर्ग देख्न सक्नुपर्छ, मरिसकेपछि होइन ।”
अत्यन्त व्यावहारिक, गहन र संवेदनशील यस धर्म सम्पूर्ण मावन जातिका लागि प्रेरणाको स्रोत बनेको छ । यसको भावपूर्ण अभिव्यक्तिलाई हृदयङ्गम गरी व्यवहारमा उतार्नु भनेको मावन जातिका लागि सभ्य समाजको निर्माण गरी आदर्श जीवन बिताउनु हो । यो धर्म प्राणी मात्रका लागि समभावले अ्रोतप्रोत छ । यसले सम्पूर्ण मानव जातिका लागि समान व्यवहार रहेको छ । त्यसैले यस्मा कुनै जातपातको भेदभाव छैन, न त लिङ्गकै । कसैलाई छुन हुने वा नहुने भन्ने मानवीय वर्गीकरण पनि छैन । न त ठाउँ वा सिमानाको बन्देज नै छ । स्वतन्त्र रूपले बहिरहेको हावासरि छ यो धर्म, जसमा सबैले सास फेर्न सकिन्छ । मैत्री, करुणा र परोपकार जस्तो मानवीय गुणले भरिएको यो धर्मले सम्पूर्ण मावन जातिलाई श्रद्धा र भक्तिभाव चढाउँदै स्वतःस्पूmर्त क्लेषमुक्त जीवन जीउन मार्गदर्शन गरेको छ ।
अनिश्वरवादी, अनात्मावादी र अनित्यताको सिद्धान्तले भरिपूर्ण बुद्धधर्मले मानिसको जीवन कुशल कर्म र मिहिनेतले मात्र सफलीभूत हुन्छ भन्दै कर्मवादलाई स्पष्ट पारेको छ । मानिसको जीवनमा सफलता वा असफलता उसकै कर्मको फल हो । सत्मार्गमा हिँड्नु, मिहिनेत र परिश्रम गर्नु सफलताको शिखर चुम्ने बाटाहरू हुन् । छलछाम गर्नु र अनैतिक कार्यले जीवन सफलीभूत हुन्छ भन्नु धृष्टता मात्र हुनेछ । त्यसैले बुद्ध भन्नुहुन्छ, ‘अप्प दिपो भवः ।’ कुशल कर्मले मात्र मानिसको जीवन मङ्गलमय हुन्छ । अकुशल कर्मले क्षणिक सुखको अनुभूति भए पनि त्यस्तो सुख टिक्दैन । र मानिसले क्षणिक सुख प्राप्तिका लागि गर्ने अकुशल कर्मले जीवनमा संस्कार विकसित भई मानिस जन्म र मरणको भवचक्रमा घुमिरहन बाध्य हुन्छ । त्यसैले मानिसले दैनिक जीवनमा कार्य सम्पादन गर्ने बेला होस् पु-याउनुपर्छ । मानिस सधैँ जागृत हुनुपर्छ । आफूले के गरिरहेको छु भन्ने चाल पाउनुपर्छ भने के गर्नु हुन्छ ? वा हुँदैन भन्ने थाहा पाउनुपर्छ । यो नै मानिसले द्वेषको कालो दाग नलाग्ने गरी जीवन बिताउने उत्तम उपाय हो ।
बुद्ध धर्मको अनुशीलनले सत्यलाई उजागर गर्छ । यसले अन्ध विश्वासलाई अविश्वास गरेको छ भने कसैले केही भन्यो भन्दैमा चाहे त्यो प्रतिस्थित व्यक्तिकै भनाइ किन नहोस् त्यसलाई आँखा चिम्लेर पत्याउनु जरुरी नभएको स्पष्ट पारेको छ । केही लेखिएको छ भनेर होइन, आपूmले जानेर बुझेर मात्र सत्यलाई ग्रहण गर्नुपर्छ भनेको छ । अर्थात् कुनै घटनालाई सुनेको भरमा पत्याउने होइन, आपूmले हेरेर बुझेर मात्र विश्वास गर्नुपर्छ भन्ने भाव व्यक्त गरेको छ । यही कारण बुद्ध भन्नुहुन्छ, ‘ईहिपस्सिको’ अर्थात् आफैँ गएर हेर । यस्तो महान् अभिव्यक्तिले बुद्ध धर्म निष्पक्ष र स्वतन्त्र भएको प्रष्ट हुन्छ र यो बुद्ध धर्म वैज्ञानिक भएको ज्वलन्त उदाहरण पनि हो । यसरी ज्ञान र विज्ञानले भरिएको २५०० वर्षभन्दा पहिला समस्त प्राणी हित तथा मानव कल्याणका लागि बुद्धले प्रतिपादन गर्नु भएको बुद्ध धर्म २१ औँ शताब्दीको आजको युगमा पनि त्यत्तिकै सान्दर्भिक र महŒवपूर्ण छ । बुद्ध धर्मलाई मनन् गरी जीवनरूपी गाडीलाई स्वच्छ, स्वस्थ बुद्धत्व भावले हाँक्न सके हरपल सुख, शान्ति प्राप्त गर्न सकिनेछ ।
(लेखक अध्यापनमा संलग्न हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?