लक्ष्मण आचार्य
हाम्रो देशको कहालीलाग्दो बेरोजगारी समस्या समाधान गर्न र मुलुकलाई द्रुतत्तर गतिमा विकासपथमा अगाडि बढाउनका लागि प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमलाई सञ्जीवनी बुटीका रूपमा बुझिएको छ । विगत केही वर्षदेखि सरकारले यस क्षेत्रमा अति महŒवाकाङ्क्षी योजना अघि बढाएको छ । सुझबुझसाथ अगाडि बढ्न नसके त्यो पक्कै पनि फलामको चिउरा साबित हुन सक्छ भन्ने कुरामा दुईमत छैन । के साँच्चै नै प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभीईटी) बेरोजगारी समस्याको हल गर्न र देश विकासका लागि आधारशिला हो ? ‘हैन’ भन्ने उत्तर कसैबाट पनि आउने छैन । किनकि सीप र ज्ञानले सज्जित र सक्षम जनशक्ति विद्यमान रहेमा मात्र देश विकासको परिकल्पना गर्न सकिन्छ । अन्यथा समृद्धि र विकासको नारा दिवास्वप्नमै सीमित रहन्छ ।
यदि प्राविधिक शिक्षा र तालिम देश विकासको आधार हो भने हाम्रो मुलुकको यो क्षेत्र कस्तो छ त ? के यो देश विकासका लागि सहयोगीसिद्ध छ ? यो सवालको भने उत्तर खोज्न निकै कठिन छ । कैयन् राम्रा कामका बाबजुद पनि समष्टिमा यस क्षेत्रको सुन्दर चित्र प्रस्तुत गर्न सक्ने अवस्था छैन । विभिन्न संस्थाबाट उस्तैखालका कार्यक्रम सञ्चालन हुनु, मौलिक परिवेशका पारम्परिक ज्ञान र सीपले समुचित स्थान नपाउनु, पाठ्यक्रम समयानुकूल परिमार्जन हुन नसक्नु, निर्दिष्ट लक्षित वर्गलाई आकर्षित गर्न नसक्नुजस्ता केही अनपेक्षित वास्तविकता हुन्, जसले यस क्षेत्रलाई प्रभावकारी बन्न दिएका छैनन् । प्राविधिक धारतर्फ विद्यार्थीको प्रवेशमा व्यापक वृद्धि गरी ७० प्रतिशत पु¥याउने तथा प्रत्येक पालिकास्तरमा कम्तीमा एउटा सीप–तालिम वा शिक्षण संस्था खोल्ने ज्यादै वाञ्छनीय र सराहनीय तर महŒवाकाङ्क्षी नीति र योजना हो ।
अब तेस्रो प्रश्नतिर लागौँ । जुन प्रश्नको उत्तरसँगै जोडिएको छ– हामीले फलामको चिउरा चपाउने हो वा धानको ? के यो महŒवाकाङ्क्षी योजनाको सफल कार्यान्वयन सम्भव छ त ? छ र छैनका रूपमा उत्तर खोज्नुभन्दा पहिले हालको अवस्था के–कस्तो छ त भनेर नियाल्नुपर्ने हुन्छ । सोलोडोलो तथ्याङ्कले के देखाउँछन् भने अहिले माध्यमिक तहको जम्मा विद्यार्थी सङ्ख्याको सरदर १० प्रतिशतभन्दा पनि कम यस धारतर्फका कार्यक्रममा प्रवेश गर्ने गरेका छन् । यसको मतलब बाँकी ९० प्रतिशतभन्दा बढी विद्यार्थी साधारण शिक्षाको धारतर्फ प्रवेश गर्छन् । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको धारलाई अहिलेको दरबाट ७० प्रतिशत पु¥याउनु फलामको चिउरा चपाउनुसरह नै हुन्छ, यदि रणनीतिक तवरले यस क्षेत्रलाई सुधार गरी कार्यक्रम सञ्चालन गर्न सकिएन भने । अर्थात्, योजना कार्यान्वयन सम्भव छ कि छैन भन्ने प्रश्नको उत्तर खोज्दा ‘छैन’ र ‘छ’ दुवै एकैपटक अगाडि आउँछन् । बिल्कुलै सम्भव छैन, यदि अहिलेकै स्थितिमा तदर्थ हिसाबले कार्यक्रम सञ्चालन गरेमा । तर पक्कै पनि सम्भव छ, यदि समुच्च क्षेत्रलाई सुधारको बाटोमा लगी कार्यक्रम कार्यान्वयन गरेमा । जस्तो कि, समुदायको संलग्नतामा कार्यक्रम सञ्चालन गर्ने, निजी क्षेत्रको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने, राष्ट्रिय तथा स्थानीय तहमा स्रोत–साधनको नक्ुसाङ्कन गर्ने र त्यसकै आधारमा कार्यक्रम तय गर्ने, अध्ययन अनुसन्धानमा आधारित भई प्रविधिमा आएको निरन्तरको परिवर्तनलाई आत्मसात् गर्दै पाठ्यक्रम निर्माण तथा परिमार्जन गर्नेजस्ता काम हुन सकेमात्र अपेक्षित सफलता मिल्ने सम्भावना रहन्छ ।
यी चुनौतीपूर्ण काम कसले फत्ते गर्छ त ? अर्थात्, के हामीसँग यस हाँकको सामना गर्ने मानवीय संसाधन उपलब्ध छ ? अहँ, छैन । हाल हामीकहाँ प्राविधिक व्यावसायिक शिक्षा र तालिमको क्षेत्रमा आवश्यक पर्ने कुशल व्यवस्थापक तथा नेतृत्वकर्ताको अभाव छ । पाठ्यक्रम विज्ञहरूको खाँचो छ । टीभीईटीको क्षेत्रमा अध्ययन अनुसन्धानको खडेरी छ । राष्ट्रिय अन्तर्राष्ट्रिय टीभीईटी प्रणालीको ज्ञान र विविध अवधारणाबारे दीक्षित विज्ञहरूको न्यूनता छ । जे–जस्तो जनशक्ति विद्यमान छ, काम गर्दै सिक्दै गरेको सानो समूह छ । केही सरकारी तथा गैरसरकारी संस्थाका सीमित कार्यक्रमबाट छिटपुट रूपमा उत्पादित व्यवस्थापकबाट यस क्षेत्रमा सफल नेतृत्व गर्न सक्ने अपेक्षा गर्न सकिन्न ।
औँलामा गन्ने नै सही तर पनि केही सकारात्मक पहल भने हुँदै नभएका हैनन् । यसमध्ये सीटीईभीटी र यसअन्तर्गतका संस्था जस्तो कि प्राविधिक प्रशिक्षण प्रतिष्ठान, राष्ट्रिय सीप परीक्षण समितिको भूमिका महŒवपूर्ण रहिआएको छ । यसबाहेक नेपाल सरकारका विभिन्न तालिमसँग सम्बद्ध निकायबाट छिटपुट रूपमा हुने क्षमता अभिवृद्धि तालिमको पनि प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम व्यवस्थापनको क्षेत्रमा केही योगदान रहेको कुरालाई मान्नैपर्छ । तर, यी सबै कार्यक्रम देशको बदलिँदो परिवेशअनुसार टीभीईटी क्षेत्रलाई हाँक्न सक्षम देखिँदैनन् । तसर्थ, यस क्षेत्रलाई अध्ययन अनुसन्धानमा तथा नीतिगत तथा कार्यक्रमगत कार्यकलापलाई कुशलतापूर्वक सम्पादन गर्न सक्ने सक्षम जनशक्ति नै आजको टड्कारो आवश्यकता ठहर्छ ।
तर खुसीको कुरा– यी सबै आवश्यकतालाई केन्द्रबिन्दुमा राखेर उल्लिखित प्रकृतिको जनशक्ति उत्पादन देशभित्रै हुन थालिसकेको छ । काठमाडौँ विश्वविद्यालयले विगत तीन वर्षदेखि प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको क्षेत्रमा स्नातकोत्तर तहमा दुईवर्षे विशेष कार्यक्रम सुरू गरेको छ र यसबाट उत्पादित उच्चस्तरीय दीक्षित जनशक्ति श्रमबजारमा प्रवेश गरिसकेको छ । यहाँ नेपालबाहेक दक्षिण कोरिया, सुडान तथा बेनिनका विद्यार्थीसमेत अध्ययनरत छन् । विश्वकै टीभीईटी मानचित्रमा आफ्नो विशिष्ट स्थान बनाएको स्वीट्जरल्यान्ड सरकारको समेत सहकार्यमा सञ्चालित यस मास्टर इन टेक्निकल एन्ड भोकेसनल एजुकेुसन एन्ड ट्रेनिङ (एमटीभीईटी) कार्यक्रमले मुलुकलाई आवश्यक पर्ने दक्ष अनुसन्धानकर्र्ता, कुशल व्यवस्थापकका साथै प्रभावकारी प्रशिक्षक उत्पादनमा उल्लेखनीय योगदान गर्ने कुरामा आश्वस्त हुन सकिन्छ । अन्तर्राष्ट्रिय जगत्को समेत आकर्षण देखिएको यस कार्यक्रमबाट तयार हुने जनशक्तिले संसारको विभिन्न मुलुकका अभ्यासको जानकारीमा आफ्नै माटोसुहाउँदो मौलिक शिक्षण तथा तालिम कार्यक्रम निर्माण गर्ने र सफलतासाथ कार्यान्वयन गर्न सक्ने कुरामा आश्वस्त हुन सकिन्छ । जुन बेला टीभीईटी क्षेत्र हाँक्न सक्षम मानवीय संसाधन यथेष्ट रूपमा श्रमबजारमा उपलब्ध हुन सक्छ, तबमात्र सरकारले तय गरेको महŒवाकाङ्क्षी योजनासमेत सहज रूपमा अगाडि बढाउन सकिन्छ । अर्थात् त्यस अवस्थामा हामीले फलामको सट्टा स्वादिष्ट धानकै चिउरा चपाउन पाउनेछौँ ।
(लेखक काठमाडौँ विश्वविद्यालयमा आबद्ध हुनुहुन्छ ।)