logo
२०८१ माघ ६ आईतवार



राष्ट्रिय जनगणनामा भाषिक अभिलेखन

विचार/दृष्टिकोण |




गेहनाथ गौतम
नेपाली बृहत् शब्दकोश–२०७५ ले जनगणना शब्दको अर्थ पूरै राष्ट्र वा कुनै निश्चित क्षेत्रका जनताको कुल सङ्ख्या निकाल्न गरिने गणनाका रूपमा प्रस्तुत गरेको छ । व्युत्पत्तिगत आधारमा हेर्दा जन भन्नाले मानव जाति, मान्छे, जहान परिवार, जनता वा मानिस र गणना भन्नाले गन्ने काम, गनाइ, हिसाब वा लेखा भन्ने बुझिन्छ । यस आधारमा जनगणनाको शाब्दिक अर्थ मान्छे गन्ने काम हो भन्न सकिन्छ । अहिले भने जनगणनामा धेरै विषय समेट्ने गरिएको छ ।
जनगणनाको प्रमुख उद्देश्य जनसङ्ख्याको प्रवृत्ति र विशेषताहरूका बारेमा जानकारी गराउने, लोककल्याणका लागि योजना, नीति तथा कार्यक्रम तर्जुमा गर्न आवधिक रूपमा जनसाङ्ख्यिक तथ्याङ्क तथा सूचक उपलब्ध गराउनु हो । नेपालमा जनगणनाको जिम्मेवारी राष्ट्रिय योजना आयोगअन्तर्गत केन्द्रीय तथ्याङ्क विभागले गर्छ । राष्ट्रिय जनगणनालाई नेपालको एकीकृत राष्ट्रिय तथ्याङ्क प्रणालीको निकै महŒवपूर्ण हिस्साका रूपमा लिने गरिएको छ । यसरी हरेक १० वर्षमा राष्ट्रिय जनगणना गरेर पहिचान गरिएका तथ्य तथ्याङ्कले मुलुकको भावी योजना, नीति, कार्यक्रम तर्जुमा गर्नदेखि मुलुकको तथ्याङ्कीय पहिचानका साथै सामाजिक अभियानका हरेक पाइलालाई दिशानिर्देश गर्छ ।
नेपालमा वि.सं. १९६८ बाट प्रारम्भ भएको जनगणनाको आसन्न १२औँ शृङ्खला, २०७८ का लागि भइरहेको तयारी कोरोनाका कारण तत्काललाई स्थगित भएको छ । यो अस्थायी विलम्ब उपयुक्त समयमा पूरा हुने नै छ । अहिले जनगणनाका लागि प्रश्नावली तयार भइसकेको छ । प्रश्नहरूमा नेपालका राष्ट्रिय भाषाहरूको संरक्षण र संवद्र्धनका दृष्टिबाट केही विषय उठान गर्न खोजिएको छ ।
भाषिक दृष्टिबाट हेर्दा नेपालमा वि.सं. २००९÷११ मा गरिएको जनगणनामा ४४ वटा भाषा थिए । यसैगरी वि.सं. २०१८ मा ३६, वि.सं. २०२८ मा १७, वि.सं. २०३८ मा १८ वटा रहेको देखिन्छ । बहुदलीय शासन व्यवस्थापछि भएको जनगणना २०४८ मा ३१ वटा, २०५८ मा ९२ र २०६८ को जनगणनाअनुसार हाल नेपालमा १२३ भाषा छन् । भाषा आयोगको प्रतिवेदनअनुसार थप आठवटा भाषा पहिचान भएकाले हाल नेपालमा भाषा सङ्ख्या १३१ पुगेको देखिन्छ । आसन्न जनगणनाले यी थप भाषा वा अन्य भाषाको सत्यापनसमेत गर्नेछ ।
नेपालका राष्ट्रिय भाषाहरूको संरक्षण र संवद्र्धनका लागि सर्वप्रथम नेपालका भाषाहरूको नामनामेसीसहित सङ्ख्या पहिचान गर्न आवश्यक छ । यसपछि हरेक भाषाका वक्ता सङ्ख्या यकिन गर्न सक्नुपर्छ । यसरी पहिचान भएका भाषाहरूको वक्ता रहेको क्षेत्र पहिचान गरिनुपर्छ । समाज भाषा वैज्ञानिक सर्वेक्षणले समाजका सांस्कृतिक मूल्य, सन्दर्भ, अपेक्षा, भाषा प्रयोगको तरिका, भाषामा समाजको प्रभाव आदि पक्षमा भाषाका केही वा सबै पक्षमा विस्तृत अध्ययन गर्छ । यस अर्थमा जनगणनाले त्यो तहसम्मको गहिराइमा अध्ययन गर्दैन तर मुलुकको आधिकारिक तथ्याङ्क भने यसले मात्र प्रमाणित गरेको मानिन्छ । तसर्थ राष्ट्रिय जनगणनामा भाषा र यसको प्रयोक्ता सङ्ख्या तथा बोलिने क्षेत्र पहिचान गर्न आवश्यक छ ।
चालू जनगणनामा कक्षा १२ सरह पूरा गरेको व्यक्तिले गणक भई तथ्य तथ्याङ्क सङ्कलन गर्ने र स्नातक तह वा सोसरह उत्तीर्ण गरेका नेपाली भाषाको अतिरिक्त स्थानीय भाषा बोल्न, बुझ्न र अरूलाई बुझाउन सक्ने व्यक्तिलाई प्राथमिकता दिई यस कार्यको सुपरिवेक्षण गर्ने व्यवस्था रहेको छ । यसका लागि भाषिक विषयको गहिराइ बोध गर्नसक्ने गरी जनशक्ति विकास वा अभिमुखीकरण कार्य कति वस्तुपरक हुन्छ भन्ने विषय गम्भीर रहेको छ ।
अहिले नेपालमा नयाँ–नयाँ भाषाको अलग–अलग अस्तित्व खोजी गर्ने र कतिपय अवस्थामा भाषिकालाई पनि भाषाकै रूपमा स्वीकार गर्न चाहने प्रवृत्तिसमेत रहेको देखिन्छ । भाषालाई समुदायको भिन्न अस्तित्व र पहिचानका रूपमा लिन चाहने अनि मूल र खोला वा वंशवृक्षअनुसार अलग–अलग भाषा हुने अधिकारवादी सोचले बढी प्रभाव पार्न खोज्ने जस्ता समस्या पनि देखिएका छन् । यसलाई सही दिशा दिन सक्नुपर्छ । तर, यसो गर्दा विगतमा भाषा र संस्कृतिप्रति भएको थिचोमिचोबाट परेको नकारात्मक प्रभाव कम गर्दै भाषाहरूको संरक्षण र संवद्र्धन गर्ने संवैधानिक निर्देश र जनचाहनाको विषयले उत्तिकै न्याय पाउन सक्नुपर्छ ।
अहिले भाषाका वक्ता कति भन्ने अर्को विषय पनि महŒवपूर्ण छ । कतिपय भाषाका वक्ता स्रोत जातजातिगत आधारमा धेरै रहेका तर साँच्चै मातृभाषाका रूपमा बोल्ने र बुझ्ने सङ्ख्या भने थोरै छ । यस्तो परिवेशमा भाषा आयोगलाई कुनै पनि भाषाको वक्ता सङ्ख्या कति छ भन्ने कुरा ज्यादै महŒवपूर्ण हुन्छ । जनगणनाका समयमा भाषाका वक्ता धेरै देखाउने प्रयास गरी भाषा बोल्न नसक्ने व्यक्तिलाई भाषा वक्ताका रूपमा गणना हुने गरी विवरण लिनेदिने गरियो भने यसले संरक्षण र संवद्र्धनका योजना वा कार्यक्रम तर्जुमा गर्न नकारात्मक असर गर्नेछ । यस विषयमा सम्बन्धित भाषाका वक्ता र अभियन्ताले समेत विचार गर्न आवश्यक देखिन्छ ।
अब प्रश्न उठ्छ, जसरी साक्षरता अमूर्त भएकाले वास्तविक तथ्याङ्क लिन कठिन छ, त्यसैगरी भाषा र वक्ताका विषयमा उत्तरदातामा आफ्नो मातृभाषाप्रतिको चेतना, आफ्नो दक्षतास्तर आकलनका साथै विवरण सङ्कलनको अवस्था र सङ्कलकको दक्षता तथा मनोविज्ञानलाई वस्तुपरक बनाउन सक्नुपर्छ । यसका लागि भविष्यमा जनगणनाकै स्तरमा छुट्टै भाषिक गणना वा सर्वेक्षणको आवश्यकतातर्फ पनि
सोच्न सकिएला । 
(लेखक भाषा आयोगका उपसचिव हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?