विनोदकुमार पोख्रेल
सामान्य अर्थमा ‘मन्त्र’ भन्नासाथ हामी ध्यान वा पूजापाठ गर्दा उच्चारण गरिने ध्वनि, शब्द र लयलाई बुझ्ने गर्छौं, यद्यपि ‘मन्त्र’ को खास तात्पर्यचाहिँ विचार या चिन्तन हो । ‘मन्त्र’ पनि अरूखालका आवाज, ध्वनि, शब्द वा वाक्यजस्तै हुन् तर ‘मन्त्र’सँग जोडिएको हाम्रो मान्यता र मनोविज्ञान फरक छ । ‘मन्त्र’मा ईश्वरीय शक्ति सन्निहित हुन्छ र यिनले अरू साधारण वाक्य जसरी हामीलाई बन्धन वा उल्झनमा नपारेर त्यसबाट मुक्ति दिन सहयोग गर्छन् भन्ने विश्वास गरिन्छ । हामीले बुझेका र सुनेका मन्त्र संस्कृत भाषामा रहेका र धेरैले यिनको अर्थ एवम् अभिप्राय नबुझ्ने हुँदा ‘मन्त्र’प्रतिको विश्वास रूढीवाद वा अन्धविश्वासजस्तो प्रतीत हुने गर्छ । वस्तुतः हामीले मन्त्र र यिनमा रहेको रहस्यको खोजी नगरी परम्परागत संस्कारका रूपमा मात्र महŒव दिँदै आएको देखिन्छ । हाम्रा जन्मदेखि मृत्युसम्मका हरेक संस्कारमा मन्त्रको प्रयोग हुने गर्छ । यथार्थमा मन्त्रको महŒव र प्रभाव धेरै नै रहेको कुरा मन्त्रवेत्ता विद्वान्हरू बताउँछन् ।
हिन्दु धर्मग्रन्थ वेदका हरेक ऋचाहरू मन्त्रका रूपमा प्रसिद्ध छन् । हाम्रा धर्मग्रन्थमा ‘मन्त्र’ शब्दको अर्थ ‘मनः तारयति इति मन्त्रः’का रूपमा उल्लेख गरिएको पाइन्छ । यसको अर्थ हो– मनलाई तार्ने वा मुक्ति दिने ध्वनिविशेष नै मन्त्र हुन् । वेदमा मानवमात्रको कल्याणका लागि विभिन्न ध्वनिको संयोजनबाट निर्मित ऋचा र तिनबाट उत्पन्न हुने नादलाई मन्त्रका रूपमा व्याख्या गर्ने गरिन्छ ।
कोही कसैले रचना नगरी अन्तःकरण वा मनबाट उत्पत्ति भएकाले यिनलाई ‘मन्त्र’ भनिएको हो । वेदका सबै ऋचालाई मन्त्र मानिन्छ किनकि यी सबै लेखिएका होइनन्, परमेश्वरको श्वसन क्रिया (सास फेराइ)बाट प्राप्त भएका हुन् भन्ने ठानिन्छ । ऋषिमुनिले परमेश्वरप्रदत्त यी मन्त्रलाई गहिरो ध्यानावस्थामा देखे वा अनुभव गरे । त्यसैले मन्त्रका उपदेष्टा (उपदेश दिने) ऋषिमुनिलाई ‘मन्त्रद्रष्टा’ भनिन्छ, रचयिता होइन ।
संस्कृतमा मन्त्रका बारेमा ‘मननात् त्रायते इति मन्त्रः’ भन्ने परिभाषा प्रसिद्ध छ । यसअनुसार मन्त्र त्यो हो, जसको मननले जीवनमृत्युको चक्रबाट पार पाउन सकिन्छ । मन्त्रले नै हामीलाई हरेक किसिमका चिन्ताबाट मुक्ति दिन्छन् । यहाँ ‘मननात्’ शब्द विशेष अर्थपूर्ण छ किनभने यस शब्दले मन्त्रको विशेषता र सीमालाई सङ्केत गर्छ । ‘मन्त्र’को सार्थकता र शक्ति वस्तुतः मनमनै दोहो¥याउनु वा मनलाई त्यसैमा तन्मय गराउनुमा छ । ठुल्ठूलो स्वरले उच्चारण गरियो भने मन्त्रको प्रभाव र शक्ति कमजोर हुन्छ ।
‘मन्त्र’ त्यस्तो ध्वनि हो, जसले ब्रह्माण्डमा तरङ्ग पैदा गरेर एक किसिमको ऊर्जा उत्पन्न गर्छ । यस्तो अवस्थामा साधक वा आध्यात्मिक व्यक्तित्व भगवान्सँग एकाकार हुन जान्छ । मन्त्रको आदिबीज वा पहिलो स्रोत ‘ॐ’लाई मानिन्छ, जसलाई ऋषिमुनिले शब्दब्रह्मका रूपमा व्याख्या गरेका छन् र यसलाई नै ईश्वरीय स्वरूप मानेका छन् । ‘ॐ’लाई प्रणव पनि भनिन्छ, जसको अर्थ संसाररूपी समुद्रबाट मोक्षतिर लैजाने डुङ्गा भन्ने हुन्छ । प्रणवले परब्रह्म परमेश्वरलाई पनि बुझाउँछ । ‘ॐ’को साधना गर्नु भनेको परमेश्वरसँग एकाकार हुनु हो । साधक तथा तपस्वी यही ॐ शब्दसँग एकाकार भएर इच्छित सिद्धि प्राप्त गर्न सक्छन् भन्ने विश्वास गरिन्छ । ॐलाई सृष्टिको पहिलो आवाज मानिएकाले यस शब्दको विशेष महŒव रहेको छ ।
भारतका प्रसिद्ध विद्वान् एवम् तन्त्रशास्त्री डा. नारायणदत्त श्रीमालीका अनुसार निश्चित लय र शब्दबाट बाँधिएको समूहलाई नै मन्त्र भनिन्छ । जब मान्छे एक–अर्कासँग कुरा गर्छन्, त्यो पनि मन्त्र नै हो किनकि एक निश्चित लय र सीमाले बाँधिएका शब्द समूहको प्रभाव अर्को मान्छेको मनमा अवश्य पर्छ किनकि उसले ती शब्दको अभिप्राय र अर्थ बुझेको हुन्छ । शब्दलाई ‘ब्रह्म’ भनिएको छ, तसर्थ सबै शब्द ब्रह्ममय छन् । श्रीमालीका विचारमा हामी सांसारिक मान्छे जुन शब्दको अर्थ राम्ररी बुझ्छौँ, त्यस्ता शब्दलाई सार्थक भन्छौँ तर जुन शब्दलाई हामी बुझ्न सक्दैनौँ, त्यस्ता शब्दलाई खासै महŒव दिँदैनौँ । तर, आध्यात्मिक दृष्टिले भन्ने हो भने हामीले नबुझ्ने वा हाम्रो बुद्धिको क्षमताभन्दा पर रहेका शब्दले नै अधिक महŒव राख्छन् । अथवा त्यस्ता शब्दहरू नै उच्च कोटिका हुन् । हाम्रो बुद्धि ती शब्दको मूलसम्म पुग्न सक्दैन । त्यसैले हामी आफ्नो अहम्मा वशीभूत भएर ती शब्दलाई निष्क्रिय भनेर छोडिदिन्छौँ ।
श्रीमालीले शब्द अर्थात् मन्त्रको अर्थभन्दा त्यसको लयलाई महŒव दिएका छन् । उनका अनुसार, लयबाटै तरङ्ग पैदा हुन्छ र मान्छेमा तुरुन्त प्रभाव देखिन थाल्छ । एकजना मान्छे बाटोमा हिँडिरहेको छ । कुनै भिखारीले त्यो मान्छेसँग याचना गर्छ । त्यो मान्छे भिखारीतर्फ हेर्दै नहेरी अगाडि बढ्छ । केही पर गएपछि अर्को भिखारीले पहिलेको भिखारीले भनेको शब्द प्रयोग गर्दै त्यो बाटो हिँड्ने मान्छेसँग केही माग्छ भने त्यो मान्छे द्रवित भएर त्यो भिखारीलाई केही न केही दिएर जान्छ । यसमा दुइटै भिखारीले एउटै शब्दको प्रयोग गरेका थिए तर पहिलो भिखारीले सामान्य तरिकाले आफ्नो कुरा भनेको थियो, अर्को भिखारीले त्यही शब्दलाई विशेष लयसँग उच्चारण ग¥यो, त्यसको प्रभाव त्यो व्यक्तिमा गहिरो गरी प¥यो । भनाइको तात्पर्य के हो भने मन्त्रको प्रभावमा ध्वनि र लयको विशेष महŒव हुन्छ । जसको मूलमा निश्चित लय अथवा ध्वनि हुँदैन, त्यो मन्त्र
निरर्थक हुन्छ ।
स्वामी विकासानन्दका अनुसार मन्त्र अर्थप्रधान र ध्वनिप्रधान गरी दुई किसिमका हुन्छन् । उनका अनुसार अर्थ दिने मन्त्र अर्थप्रधान हो भने कुनै अर्थ नखुल्ने ध्वनिप्रधान । अर्थपूर्ण मन्त्रलाई वर्तमान समयमा ‘अटोसजेसन’ भन्न सकिन्छ । मनोविज्ञानको एउटा विधा मानिने अटोसजेसनअन्तर्गत बारम्बार एउटै कुरालाई दोहो¥याइयो भने उक्त कुरा यथार्थ बन्छ भन्ने मान्यता छ । उदाहरणका लागि, आफूखुसी भएको कुरालाई पटक–पटक दोहो¥याएर आफ्नो मस्तिष्कलाई सूचना दिने हो भने यथार्थमै खुसी हुन थालिन्छ । मन्त्र जप पनि लाखौँ पटक गरेपछि सिद्धि हुन्छ भनिन्छ । यसरी हेर्दा उही कुरालाई धर्म–संस्कृतिले मन्त्रजाप र वर्तमान विज्ञानले अटोसजेसन मान्दै आएको छ । अर्थप्रधान मन्त्रलाई विज्ञानले आत्मसात् गरेको छ । तर, ध्वनिप्रधान मन्त्रका विषयमा विज्ञानले आफ्ना तर्क उल्लेख्य मात्रामा पेस गर्न सकेको छैन । उदाहरणका लागि ॐ भन्ने मन्त्रले कुनै अर्थ दिँदैन । तर, मन्त्रजपमा ॐको सबैभन्दा ठूलो स्थान छ ।
‘मन्त्रविज्ञान’का लेखक डा. मिलनकुमार थापाले ‘ॐ’का बारेमा भभन्नुभएको छ– ॐ आफैँमा एक पूर्ण मन्त्र मानिन्छ किनकि ‘अ’ भनेको ब्रह्मा, ‘उ’ भनेको विष्णु र ‘म’ भनेको शिव देवता हुन् । जसमा तीन गुण सत्व, रज र तम छन् । यसैमा उत्पत्ति, स्थिति तथा लय तीन क्रिया हुन्छन् । यो मन्त्रको ढोका पनि हो । हरेक मन्त्रको प्रारम्भ ॐ बाट हुने गर्छ । भनिन्छ, जीवन वा दैनिकी ॐबाटै सुरु हुन्छ । सनातन वैदिक हिन्दु धर्म र दर्शनभित्र ॐकार नै सर्वस्व हो । सृष्टिकर्ता ब्रह्मा र पालनकर्ता विष्णु तथा संहारकर्ता रुद्रहरू पनि ॐकारबाटै स्वरूपमा उद्भव भएर ॐकारमा विलय भएका हुन्छन् ।
मन्त्रमा गुरुको महŒव
मन्त्रका वर्ण तथा शब्दको शक्ति आफैँमा निकै महŒवपूर्ण मानिएको छ । विज्ञानका अनुसार हामी जुन शब्द उच्चारण गर्छौं, त्यसको ध्वनि पूरा ब्रह्माण्डमा फैलिन्छ र युगौँसम्म अक्षुण्ण बनिरहन्छ । त्यसको प्रभाव हाम्रो मस्तिष्कमा पर्छ । जसरी करुण रसको कविता सुन्दा हाम्रो मन रुन्छ, वीर रसको कविता सुनेर हामी रोमाञ्चित हुन्छौँ । वीभत्स रसको कविता सुनेर हामी घोर घृणा गर्न थाल्छौँ । कुनै पनि शब्दको प्रभाव निश्चित एवम् स्थायी रूपमा पर्न सकोस् र त्यसको मुख्य ध्वनि के हो भन्ने थाहा पाउनका लागि गुरुको आवश्यकता पर्छ । किनभने गुरुले नै उच्चारण गरेर त्यो शब्दको मूल ध्वनिलाई बुझाउन सक्छन् । हामीलाई मूल ध्वनिको ज्ञान भएपछि हामी त्यही लयसँग शब्दको उच्चारण गरेर निश्चित प्रभाव पार्न सक्षम हुन्छौँ । गुरु त्यसलाई भनिन्छ, जसलाई त्यो क्षेत्रको विशेष ज्ञान हुन्छ । अतः जो मन्त्रको व्याख्या, उपयोग, क्रिया, अर्थ र ध्वनि बुझाउन सक्छ, त्यसैलाई गुरु भन्न सकिन्छ ।
उपसंहार
यथार्थमा मन्त्र भनेका देवीदेवता तथा परमेश्वरप्रति भक्ति बढाउने साधन÷माध्यम हुन् र एकप्रकारका पुकार हुन् । यिनलाई आस्था, विश्वास र समर्पणका अभिव्यक्ति पनि भन्न सकिन्छ । हरेक धर्म संस्कृतिमा परमेश्वरप्रति विश्वास र प्रार्थना गरिन्छ । प्रार्थना गर्नु पनि परमेश्वरको स्तुति हो, याचना हो । परमेश्वरलाई आफूभित्र समाहित गर्नु हो, जुन मन्त्र जपसरह हो ।
अहिले विभिन्न भाषामा पनि मन्त्रका अर्थ लेखिएका हुन्छन् तर जुन भाषामा स्वर दिएर त्यसका लय बनाइएका हुन्छन्, अनुवाद गर्दा त्यो कम प्रभावकारी मानिन्छ किनकि त्यसरी अनुवाद गरिएका मन्त्रमा त्यस्तो स्वर र लय नआउन सक्छ । जुन ऊर्जा हामीले वेदका ऋचाहरू (मन्त्र) बाट पाउँछौँ, अनूदित मन्त्रबाट त्यो नपाउन सकिन्छ र हाम्रो साधना निष्प्रभावी बन्न सक्छ ।
मन्त्रको प्रभावबारे वैज्ञानिक तथ्य र प्रमाण नभए पनि नासाको एक अध्ययनअनुसार सूर्यको नजिकबाट सुनिने सूर्यको आवाज र हाम्रो ॐ मन्त्रको लय एउटै अनुभूत भएको छ । वास्तवमा हामीभित्र रहेको चिन्ता, डर, त्रास र नकारात्मक सोचले हाम्रो शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति (इम्युन सिष्टम) कमजोर बनाउँछ र हामी रोगसँग लड्न नसकी मृत्युको अवस्थामा पुग्न सक्छाँै । झन् अहिलेको जस्तो कोरोना महामारीमा मनोबल उच्च राख्न र हाम्रो इम्युन सिष्टम बढाउन साŒिवक खानपिन, योग, ध्यान आदि गर्नुपर्ने कुरा डाक्टरहरूले नै सुझाइरहेको सुनिन्छ । ध्यान वा मन्त्र जप गर्दा हाम्रो ध्यान परिवर्तन हुने डरका साथै चिन्ताबाट मुक्ति र नकारात्मक भावना हटेर सकारात्मक ऊर्जा उत्पन्न भई भोक, प्यास, निद्रा, रुचि तथा मनोबल बढ्ने हुँदा हाम्रो इम्युन सिष्टममा समेत प्रभाव पार्ने देखिएकाले मन्त्र जपको प्रभावमा प्रत्यक्ष वैज्ञानिक आधार नभए पनि अप्रत्यक्ष प्रभाव पर्छ भन्ने कुरालाई नकार्ने अवस्था देखिँदैन ।
(लेखक धर्म संस्कृतिका अध्येता हुनुहुन्छ ।)