डा. लक्ष्मणप्रसाद ज्ञवाली
कोभिड–१९ ले विश्वका धेरै मानिसलाई सङ्क्रमित बनाएको छ । सङ्क्रमणबाट बच्न हम्मे–हम्मे परेको छ । यस्तो विषम परिस्थितिमा स्वास्थ्यको वास्ता नगरी सुरक्षा मापदण्ड नअपनाइ नै हिँड्नेको पनि कमी छैन । कोरोनाका सम्बन्धमा समाजमा विभिन्न प्रकारका हल्ला फैलाउनेको पनि कमी छैन । कोरोना केही होइन, यसले केही गर्दैन भन्नेहरू पनि हाम्रै समाजमा छन् । कोरोनाको नाम लिनै हुँदैन भन्नेहरू पनि हाम्रै समाजमा छन् । कोरोना सङ्क्रमणबाट सकेसम्म बचेर काम गर्नुपर्छ । यदि सङ्क्रमित भइहालियो भने पनि धैर्यसाथ विज्ञको सल्लाह लिने र उनीहरूले दिएको औषधि वा खानेकुरा खाएर आफूलाई सुदृढ मनस्थितिमा राख्ने गरियो भने मात्र कोरोना परास्त गर्न सकिन्छ ।
सयौँ वर्षमा यस्ता महामारी आउने गरेको कुरा हामीले इतिहासको अध्ययनबाट थाहा पाएका छौँ । समय–समयमा मानव समुदायको विनाश हुने गरी आउने गरेका यस्ता महामारीलाई प्रलय भन्ने गरिएको छ । मानिसले कसै गरे पनि जोगिन नसक्ने गरी प्रकृतिमा आइपरेका यस्तै घटनाका कारण धेरै जनधनको क्षति भएको थियो र त्यस्ता क्षतिको असर निकै लामो समयसम्म रहने गरेको पाइन्छ । म सक्षम छु, मलाई कोरोनाले केही गर्दैन भन्ने अहंले केही काम गर्दैन । जसलाई कोरोनाको सङ्क्रमण भएको छैन, त्यसले जे भने पनि भयो तर जसलाई सङ्क्रमणको मार परेर दुःख खेप्नुपरेको छ, उसले मात्र यसले पारेको असर अनुभव गरेको हुन्छ । जसले जुन कुराको अनुभूति गर्छ, त्यसलाई मात्र त्यसबाट प्राप्त लाभ हानि थाहा हुन्छ । अरूले बाहिरबाट गरेका अनुमान सबै अड्कलबाजी मात्र हुन् । हामीले अन्य कुरामा जे जसरी लापरबाही गरे पनि स्वास्थ्यको सन्दर्भमा लापरबाही गर्नु भनेको आफ्नै स्वास्थ्यलाई जोखिममा पार्नु हो ।
समाज सेवा, परोपकार, उद्धार र स्वास्थ्य क्षेत्रका कैयौँ व्यक्ति परोपकार वा कर्तव्य पालनाका शिलशिलामा सङ्क्रमित हुन पुगेका छन् । घरबाट बाहिर ननिस्के पनि हुने प्रकृतिका मानिसले जबरजस्ती समुदायमा हिँड्डुल गरेर कोरोना फैलाउने गरेको पाइएको छ । आवश्यकताभन्दा बढी भीडभाडमा जाने र अनावश्यक हिँड्डुल गर्नेहरूका सम्पर्कमा आउने निर्दोष व्यक्ति पनि सङ्क्रमित हुन पुगेका छन् । यो सरुवा रोग भएको कारण यसबाट जोगिनुबाहेक अरू कुनै उपचार अहिलेसम्म पत्ता लागेको छैन । संसारका विभिन्न देशमा खोप परीक्षणकै क्रममा रहेको हुनाले र उपचारमा अन्य औषधि बनिनसकेको हुनाले हामी जसरी भए पनि सङ्क्रमणबाट जोगिनु नै एक मात्र सुरक्षित रहने उपाय हो । कोरोना सङ्क्रमणले व्यक्तिको स्वास्थ्यमा पार्ने असरको तुलनामा सामाजिक अपमानले पु¥याउने चोट निकै खतरापूर्ण हुन्छ । मानिसको मृत्यु यदि कोरोनाले भएको हो भनियो भने उसको परिवारले, उसको दाहसंस्कारसमेत गर्न नपाउने प्रचलन हाम्रो देशमा छ । त्यसैले हामीले सकेसम्म रोग लाग्न नदिनु नै यसको प्रमुख उपचार हुनसक्छ । कर्तव्य पालनाका क्रममा कसैलाई सङ्क्रमण भइहाल्यो भने पनि स्वास्थ्य सतर्कता अपनाएर उसको स्याहार र उपचार गरिनुपर्छ ।
कोरोना सङ्क्रमित भई घरमै सञ्चो हुनेहरूको पनि समाजमा कमी छैन । उसमा देखिएका सबै लक्षण सङ्क्रमणका थिए तर परीक्षण नगराएको हुनाले ऊ पीडित हुनु परेन । सरकारले कोरोना सङ्क्रमणका सम्बन्धमा लिन खोजेका विभिन्न निर्णय पनि वैज्ञानिक छन् भन्ने होइन । यो रोग अत्यन्त नयाँ भएको हुनाले यसका सबै असरका बारेमा कसैलाई पनि थाहा छैन । सङ्क्रमितले भोगेका कुरा सुनाएको भरमा बिरामीकै माध्यमबाट यसका बारेमा जानकारी लिने गरिएको छ । पीडित व्यक्तिले बताएका लक्षण र उनीहरूको अनुभवका आधारमा विज्ञले यसका विभिन्न पक्षको बारेमा धारणा बनाउने गरेका छन् । यसका असरहरू पनि देश, काल, परिस्थितिअनुसार फरक–फरक भएको पाइएको छ । कुनै भूगोलमा देखिएको लक्षण अर्को भूगोलमा नमिल्न सक्छ । एउटा वातावरणमा देखिएको असरलाई हेरेर सबैतिर यस्तै हुन्छ भन्ने धारणा बनाउन सकिने अवस्था पनि छैन । व्यक्तिगत स्वास्थ्य अवस्था उसको रोग प्रतिरोधक क्षमता, मनोबल, उसले दैनिक जीवनमा गर्ने गरेका शारीरिक वा मानसिक व्यायाम, दैनिक जीवनका खानेकुरा आदि सबैको सम्मिश्रणबाट उसलाई हुने र भएको असरको मूल्याङ्कन गरेर आमधारणा बनाउने गरिएको हुन्छ ।
व्यक्तिले खानाबाट प्राप्त गरेको प्रतिरोध क्षमता तथा उसले कोरोनाविरुद्ध लड्न मानसिक रूपमा तयार भएको आत्मबलले यसमा ठूलो भूमिका खेल्ने गरेको पाइन्छ । त्यसैले सकेसम्म सङ्क्रमणबाट जोगिनु नै धेरै राम्रो हो । यसले व्यक्तिलाई शारीरिक रूपमा जति कष्ट प्रदान गर्छ, त्योभन्दा बढी समाजले उसलाई गर्ने गरेको व्यवहार दुःखदायी रहेको छ । हाम्रो समाज जस्तोसुकै अवस्थामा पनि एकताबद्ध भएर अघि बढेको समाज हो । तर कोरोनाका सम्बन्धमा राज्यले लिएको नीति यसमा दोषी देखिन्छ । कोरोना श्वास–प्रश्वासबाट सर्छ भनिन्छ र सङ्क्रमणबाट मरेकाको अन्त्येष्टि प्रक्रिया असामाजिक तरिकाले गरेको पाइन्छ । मृत शरीरले श्वास नफेर्ने हुनाले शवको दाह संस्कार कार्यमा राज्यले बनाएको नियम कति व्यावहारिक हो–होइन, सो बारेमा गम्भीर छलफल हुनु जरुरी छ । सामाजिक मूल्य र मान्यतामा नै खलल पर्ने गरी गरिएका यस्ता निर्णयले नकारात्मक भावना पैदा गर्नसक्ने हुनाले सरकारले गम्भीर भएर सोच्नुपर्छ ।
मानव जीवनमा आइपर्ने हरेक समस्याको सामना पनि मानिसले नै गर्दै आएका छन् । त्यसैले संसारमा जति पनि महामारी वा सङ्क्रमण आइपर्छन्, तिनले वर्षौंदेखि चलिआएको सामाजिकपनमा खलल पार्न दिनु हँुदैन । सामाजिक मूल्य र मान्यताले समाजमा धेरै ठूलो सङ्कटबाट मानव सभ्यतालाई जोगाएर राख्न सक्छ । केही समय अघिसम्म हैजा लागेका व्यक्तिलाई उपचार नगरेर बाटैमा छोडेर हिँड्ने गरेको पनि हामीले सुनेका थियौँ । आजको विकसित भनिने समाजमा कुनै रोगको कारणले मृत्यु हुने व्यक्तिले पाउने गरेका यस्ता अपमानजनक व्यवहार एक्काइसौँ शताब्दीमा सुहाउने कुरा होइनन् । हाम्रो समाजमा व्याप्त छाडापनले पनि यस्तो व्यवहारको सिर्जना गरेको हुनसक्छ । बिरामीबाट अरूलाई सङ्क्रमण नसर्ने गरी घरपरिवारका सदस्यले उसको स्याहार सम्भार गर्नुपर्छ । यसो गर्ने नीति राज्यले ल्याउन सकेन भने हाम्रो समाजमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने दर ह्वात्तै बढेर जान्छ । सरकारले अस्पतालमा राखेर उपचार गर्नसक्ने क्षमता पूर्ण रूपमा राख्दैन भने सङ्क्रमितलाई परिवारका अन्य सदस्यबाट टाढा राखेर मात्रै निको हुँदैन । जति पनि सङ्क्रमित छन्, उनीहरू रोगबाट भन्दा बढी तनावले मर्ने गरेको पाइन्छ । तनाव कम गराउने किसिमका उपाय सरकारी स्तरबाटै निर्धारण गरिनु आजको पहिलो आवश्यकता हो ।
समग्रमा कोरोना सङ्क्रमणबाट बच्नु नै यसको मुख्य उपचार हो । जुन दिन अचुक औषधि पत्ता लागेर यो रोग साध्य हुनसक्छ, त्यस दिन कसैले पनि यति अपमानित हुनु पर्दैन । अहिलेजस्तो उच्च सतर्कताको जरुरी पनि पर्ने छैन । कोरोना सङ्क्रमण असाध्य अवस्थामा रहँदासम्म हामीले पूर्ण सतर्कताका साथ दैनिक जीवन सञ्चालन गर्नुबाहेक अर्को उपाय देखिँदैन । महामारीको प्रकोप समय–समयमा आइरहने प्रक्रिया हुन् । यस्ता प्रकोपका कारणले समाजमा युगौँदेखि चलिआएका राम्रा परम्परामा विचलन आउने गरी नियम बनाइनु हँुदैन । मानिसको मृत्यु भए पनि उसको जातीय संस्कृतिबमोजिमको संस्कार गर्ने व्यवस्था मिलाइ आम नागरिकलाई उनीहरूको सभ्यताको रक्षा गर्ने अवसरबाट वञ्चित नगरौँ । समाजमा विद्यमान सामाजिक सद्भाव खलबलिन नपाउने किसिमका निर्णय राज्यस्तरबाट गरिनु अत्यावश्यक छ ।