logo
२०८१ मंसिर १२ बुधवार



अनुसन्धानको प्रतीक्षामा मोतीराम भट्ट

विचार/दृष्टिकोण |




श्रीरामसिंह बस्नेत

मोतीराम भट्ट भन्नेबित्तिकै शिर श्रद्धाले झुक्छ भने मन नमीठो हुन्छ । किनकि उनले छोटो जीवनभित्रै गर्न भ्याएका कालजयी काम सम्झँदा जुनसुकै नेपालीको पनि शिर श्रद्धाले झुक्नु स्वाभाविकै हो तर त्यस्ता होनहार प्रतिभाले ३० वर्षभन्दा बढी बाँच्न नपाउनुको विडम्बना चित्त दुखाउने विषय हो । वि.सं. १९२३ को कुशेऔँसीका दिन काठमाडौँको भोसिकोटोलमा जन्मिएका मोतीरामको ३० वर्षको युवावस्थामै वि.सं. १९५३ को कुशेऔँसी तिथिमै निधन भयो । जन्म र मृत्यु एउटै तिथिमा हुनु विरलै पाइने संयोग हो । भगवान् बुद्धको पनि यस्तै संयोग मिलेको थियो– वैशाख पूर्णिमा तिथिमा । मोतीरामले छोटो जीवनमा नेपाली भाषा, साहित्य, सङ्गीत, कला, पत्रकारिता आदि क्षेत्रमा जे जति काम गरेर गए, त्यति काम गर्न अरू मानिसले पूर्ण आयुको जीवनमा पनि भ्याउँदैनन् ।

नेपालमा जहानियाँ राणाशासनको कारण सर्वसाधारणका लागि शिक्षादीक्षाको राम्रो व्यवस्था नभएको अवस्था भएकाले उनलाई छ वर्षकै बाल्यकालमा भारतको बनारसमा पिताको साथमा रही पढ्न पठाइयो । उनले बनारसमा रहेर त्यहाँ उपलब्ध शिक्षा, बहुभाषा, सङ्गीत, कला, चित्रकारिता आदि सीप सिके । एक प्रतिभाशाली छात्र भएका कारण उनको सिकाइ र बुझाइ गहन थियो । उनी बनारस र केही समय कोलकातामा रहे पनि बेलाबेलामा काठमाडौँ आउने–जाने गर्दथे । अहिलेको जस्तो अत्याधुनिक र दु्रतगतिका यातायातका साधन उपलब्ध नभए तापनि उनको काठमाडौँसँगको सम्पर्क टुटेको थिएन । यद्यपि मोतीरामको प्रवास जीवनका धेरै तथ्य अहिलेसम्म पनि अज्ञात नै छन् । राज्यस्तरबाट वा कुनै प्राज्ञिक क्षेत्रबाट विशेषगरी उनले लामो समय बिताएका बनारसमा गहन अध्ययन अनुसन्धान गर्ने हो भने महìवपूर्ण ऐतिहासिक तथ्यहरू प्राप्त गर्न सकिने सम्भावना अझै समाप्त भएको छैन । इच्छाशक्तियुक्त जमर्कोको अभावमा त्यस्ता सम्भावना दिनदिनै क्षीण हुँदै गइरहेका छन् ।

मोतीराम भट्टको अथक् प्रयासकै कारण भानुभक्त आचार्यलाई नेपालीले चिन्न पाएका हुन् । यो पनि एक संयोगको प्रतिफल थियो । भानुभक्तको चर्चा हुँदासाथ मोतीरामको चर्चा पनि सँगै जोडिएर आउने र त्यसैगरी मोतीरामको नामसँगै भानुभक्तको नाम पनि गाँसिएर आउने गरेकाले कतिपय मानिसमा भानु र मोती समकालीन हुन् भन्ने भ्रमसमेत रहेको पाइन्छ । यथार्थमा भने भानुभक्तको निधन हुँदा मोतीराम मात्र दुई वर्षका शिशु थिए । भानु १८७१ सालमा जन्मिएर १९२५ मा दिवङ्गत भए भने मोतीराम १९२३ मा जन्मिएका हुन् । भानुको जन्म र मृत्यु तनहुँमै भयो भने मोतीरामको काठमाडौँमा । यी दुई राष्ट्रिय विभूतिबीच कहिल्यै देखभेट हुने सम्भावना नै थिएन तर केही मानिस भानुभक्तले आफ्ना रचनाहरू मोतीरामलाई जिम्मा लगाएका थिए, त्यसैबाट मोतीरामले ती रचना पछि छपाइदिए भन्ने भ्रमसमेत पालेर बसेका पाइन्छन् ।

वास्तवमा एउटा सानो संयोगले मात्र भानुभक्तसँग मोतीराम जोडिन पुगेका हुन् । मोतीराम बनारसबाट काठमाडौँ आएको बेलामा आफन्तको विवाहमा जन्ती गएका थिए, त्यस विवाहमा कसैले रामायणका केही नेपाली श्लोक भाका हालेर सुनाएछ । त्यो सुनेर मोतीराम आश्चर्यचकित भएछन् । अनि ती श्लोकका बारेमा उनले सोधीखोजी गरेपछि त्यो त भानुभक्तले नेपालीमा तयार गरेको रामायणको अंश भएको पत्ता लगाए । त्यसपछि मोतीरामले को रहेछन् त यी भानुभक्त भनेर उनको गहन खोज गरेपछि भानुका पाण्डुलिपिको दर्शन गर्ने सौभाग्य पाएका थिए । एकक्षण कल्पना गरौँ, यदि त्यो विवाहमा मोतीराम जन्ती नगएका भए वा विवाह समारोहमा कसैले रामायणको श्लोक नेपालीमा नसुनाएको भए सायद भानुभक्तलाई नेपाली समाजले चिन्न अझ कति धेरै समय लाग्थ्यो होला वा अझसम्म अज्ञात नै रहन्थे कि ? त्यसरी साहित्य लेखेर थन्काएर राख्ने तर कहिल्यै प्रकाशित गराउन नसक्ने गुमनाम स्रष्टा धेरै छन् भने कतिले आफूले लेखेको साहित्यले पुस्तकको रूप लिएको आफ्नै जीवनकालमा देख्ने सौभाग्य नपाएका पनि छन्, भानुभक्तले जस्तै । भानुभक्तका बारेमा यथासम्भव प्राप्त जानकारी बटुलेपछि मोतीरामले पहिला भानुभक्त रामायणको बालकाण्डको सानो पुस्तक छपाएर पछि भानुभक्तको जीवनी लेखेथे ।

त्यति मात्र होइन, भानुभक्तलाई देखेका, चिनेका मानिससँग सोधपुछ गरी पाएको हुलियाका आधारमा मोतीरामले भानुभक्तको सम्भावित मुहारचित्रसमेत बनाएर उनको जीवनीको आवरणमा छपाए । त्यसकै आधारमा नेपाल सरकारले वि.सं. २०१९ मा भानुभक्तको चित्र अङ्कित हुलाक टिकटसमेत जारी ग-यो भने दार्जिलिङलगायत विभिन्न स्थानमा भानुभक्तका जति पनि सालिक बनेका छन्, त्यसको आधार मोतीरामले कोरेको भानुभक्तको चित्र नै हो । मोतीरामले भानुभक्तका बारेमा गरेका खोज र प्रकाशनकै आधारमा पछि भानुभक्तलाई प्रधानमन्त्री जुद्धशमशेर जबराको सरकारद्वारा ‘आदिकवि’को उपाधि दिइयो भने मोतीरामको योगदानको कदरस्वरूप ‘युवककवि’को उपाधि दिइयो । यी दुवैलाई पञ्चायतकालमा ‘राष्ट्रिय विभूति’को सम्मान दिइयो । यसरी मोतीराम नभइदिएको भए भानुभक्त आदिकविका रूपमा चिनिने थिएनन् भन्ने कुरामा द्विविधा रहँदैन ।
मोतीरामको योगदानमध्ये एउटा प्रमुख हो, नेपाली भाषामा पत्रकारिताको बीजारोपण गर्ने ऐतिहासिक कार्य । बनारसमा पढ्न बसेका छात्र मोतीराम भट्टलाई आफ्नो भाषामा अहिलेसम्म पत्रिका ननिस्केकोमा निकै हुट्हुटी लाग्यो र उनले बनारसमै प्रेस सञ्चालन गरिबसेका मित्र रामकृष्ण बर्माको सहयोग लिई १९५० सालमा ‘गोर्खा भारत जीवन’ नामक साहित्यिक मासिक पत्रिका निकाले । यो नै नेपाली भाषाको पहिलो पत्रिका बन्न गयो ।

नेपाली भाषाको पहिलो पत्रिका बन्ने सौभाग्य पाएको ‘गोर्खा भारत जीवन’ पत्रिका कति अङ्क प्रकाशित भयो र कहिलेसम्म प्रकाशित भयो भन्नेबारे यथार्थ जानकारी प्राप्त छैन । यो कति प्रति छापिएको थियो र त्यसमध्ये कति प्रति नेपाल भित्रियो वा भित्रिएन भन्ने पनि जानकारी पाउन सकिएको छैन तर पनि ‘गोर्खा भारत जीवन’को प्रकाशनले दुईवटा महìवपूर्ण काम गरेको थियो । त्यतिखेर यस भारतीय उपमहाद्वीपमा अङ्ग्रेजीका अतिरिक्त हिन्दी, बङ्गाली, उर्दू, मराठी आदि भाषाका पत्रिका प्रकाशित भइसकेको अवस्थामा हाम्रो गोर्खा भाषा (नेपाली)को अस्तित्व स्थापित गर्नु र नेपाली भाषामा पनि पत्रिका प्रकाशित गर्न सकिँदोरहेछ भनेर नेपालका युवामा आत्मविश्वास र प्रेरणा जगाउनु । यसैको परिणामस्वरूप वि.सं. १९५५ मा काठमाडौँबाट नेपालको पहिलो पत्रिका ‘सुधासागर’ साहित्यिक मासिक प्रकाशित भयो भने वि.सं. १९५८ मा पहिलो नेपाली अखबार ‘गोर्खापत्र’ साप्ताहिक प्रकाशित भयो । यसरी मोतीरामले बनारसबाट पत्रिका निकालेर नेपाली पत्रकारिताका लागि बाटो खोलिदिए । त्यसैले नेपाली साहित्यमा मात्र होइन, पत्रकारितामा पनि मोतीरामको ऐतिहासिक योगदान रहेको पाइन्छ ।
मोतीराम आफैँ साहित्यिक स्रष्टा थिए । उनले पिकदूत, गजेन्द्र मोक्ष, कमल–भ्रमर संवाद, मनोद्वेग प्रवाह, पञ्चक प्रपञ्च, शकुन्तला, प्रियदर्शिकालगायत करिब एक दर्जन कृति रचेका छन् । यी कृति नेपाली साहित्य भण्डारका अमूल्य मोती हुन् । नेपालीमा गजल भिœयाउने र लोकप्रिय बनाउने श्रेय पनि उनैलाई जान्छ । उनले रचना गरेको ‘जता हे¥यो उतै मेरा नजरमा राम प्यारा छन्,’ बोलको गजलको विशेष ऐतिहासिक महìव छ । किनकि नेपाली भाषामा रेकर्ड भएको पुरुष स्वरको पहिलो गीत त्यही नै हो, जसलाई उस्ताद साहिँलाले गाएका थिए । महिला स्वरमा गीत रेकर्ड गराउने प्रथम नेपाली गायिका भने मेलवा देवी हुन् । यसरी मोतीराम भट्ट रेकर्ड भएको पहिलो नेपाली गीतको पहिलो गीतकारसमेत बन्न पुगेका छन् ।

शृङ्गार रस र भक्ति रसमा रोचक गजल लेख्ने मोतीरामलाई नेपाली गजलका पिता मानिन्छ । आज विशेषगरी युवा स्रष्टामा गजल विधा निकै लोकप्रिय छ, जसको श्रेय मोतीरामलाई नै जान्छ । गजल मात्र होइन, भारतमा प्रचलित ठुमरी, परज आदि शैलीका गीत पनि उनले रचेका छन् । उनले संस्कृत भाषामा रहेको ‘समस्या पूर्ति’ काव्य शैलीलाई नेपाली साहित्यमा पनि प्रवेश गराए । जसमा कविताको पङ्क्तिमा कुनै एउटा समस्याको विषय दिइन्छ र कवितामै त्यसको समाधान पनि लेखिन्छ । यसको अभ्यास अहिलेसम्म पनि नेपाली साहित्यिक क्षेत्रमा प्रचलित रहेको छ ।
मोतीरामलाई नेपाली साहित्यका अग्रज गद्य लेखक पनि मानिन्छ । त्यो युगमा अधिकांश साहित्यकारले पद्यमै आफ्ना अभिव्यक्ति दिने चलन थियो । साहित्यकारहरू व्यक्तिगत चिठीसमेत पद्यमा आदान–प्रदान गर्दथे । त्यस अवस्थामा उनले भानुभक्तको जीवनी गद्यमा लेखे । प्रचलनमा रहेका धार्मिक वा पौराणिक कथाबाहेक त्यसअघि गद्यमा लेखिएको सार्वजनिक चासोको महìवपूर्ण दस्तावेज सम्भवतः ‘जङ्गबहादुरको बेलायत यात्रा’ मात्र नै थियो ।

मोतीरामको अर्को अत्यन्तै महìवपूर्ण योगदान नेपाली भाषालाई शिक्षाको माध्यम भाषा बनाउनुमा रहेको छ । सुधारवादी राणा देवशमशेरले प्रधानमन्त्री हुनुअघि नै नेपालमा शिक्षाको माध्यम कुन भाषालाई बनाउने भन्नेमा विभिन्न तर्क–वितर्क भइरहेको थियो । त्यसै सन्दर्भमा देवशमशेरले तत्कालीन बुद्धिजीवीसँग सुझाव मागे । उनले दिव्यदेव पन्त, हरिहर आचार्य दीक्षित, दरबार हाइस्कुलका हेडमास्टर बटेकृष्ण मैत्रेय, मोतीराम भट्ट र जयपृथ्वीबहादुर सिंहसँग गहन छलफल गरे । विद्वान पन्त र दीक्षित संस्कृत भाषाका पक्षमा थिए भने हेडमास्टर मैत्रेय अङ्ग्रेजी भाषाका पक्षमा तर मोतीराम र जयपृथ्वी भने नेपाली भाषालाई नै शिक्षा र कामकाजी भाषा बनाउनुपर्छ भन्ने अडानमा थिए । देवशमशेरलाई पनि उनीहरूको तर्क व्यावहारिक लाग्यो र पछि नेपाली भाषालाई नै शिक्षाको माध्यम भाषा बनाइयो ।
बहुआयामिक प्रतिभाका धनी र प्रखर सिर्जनशील युवक मोतीरामको ३० वर्षकै अल्पायुमा क्षयरोगबाट निधन हुनु नेपालका लागि एक राष्ट्रिय वियोग हुनगयो । उनका बारेमा नेपाल र भारतमा गहन अनुसन्धान गरी थप तथ्य प्रकाशमा ल्याउन सक्नु नै उनीप्रतिको सच्चा श्रद्धाञ्जलि हुनेछ । á

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?