मुनीन्द्ररत्न बज्राचार्य
नेपालमा कोरोना महामारीको समस्याको कारणले केही समयका लागि स्थगन पछि पुनः २०७८ को राष्ट्रिय जनगणनाको तथ्याङ्क लिने काम सुरु भएको छ । नेपालभर एकै समयमा जनगणना लिने काम भएको छ । राष्ट्रिय जनगणना राष्ट्रको सर्वपक्षीय विकासका लागि मूल आधार हो । नेपाल बहुधार्मिक, बहुभाषिक, बहुजातीय, बहुसांंस्कृतिक र सम्प्रदाय मिश्रित मुलुक हो । हाल लिन लागिएको यस जनगणनामा विविध क्षेत्र– धार्मिक, भाषिक एवं सांस्कृतिकलगायतलाई समेटिएको छ । राष्ट्रिय हितका विभिन्न योजनामै असर पर्ने भएकाले जनगणनामा सही तथ्याङ्क लिनु आवश्यक छ । तथ्याङ्कमा मिथ्याङ्क परिदियो भने वास्तविक जनगणनाको परिणाम आउँदैन । राज्यमा भाषा सर्वेक्षणको सही लेखाजोखा हुनुपर्छ । नेपालमा अभैmसम्म पनि जम्मा कति वटा मातृभाषा बोलिन्छन् भन्ने सर्वमान्य टुङ्गो हुने गरी निर्णय अहिलेसम्म हुनसकेको छैन । यसैले जनगणनामा आएका तथ्याङ्क राष्ट्रिय योजना निर्माणका लागि आधिकारिक रूपमा प्रयोजन हुने भएकाले देशमा बोलिने भाषाको वास्तविक तथ्याङ्क आउनु जरुरी छ ।
नेपालमा मातृभाषासम्बन्धी जनसङ्ख्या तथ्याङ्क पहिलो पटक सन् १९५२/५४ मा लिइयो । यस जनगणनाको प्रतिवेदनमा ४४ वटा मातृभाषाको तथ्याङ्क समावेश गरिएको थियो । पछि आएर ‘एक भाषा एक भेष’को नीति लिएकाले दुई जनगणनामा ३१ भाषा रहेको तथ्याङ्कले देखायो । नेपालमा वि.सं. २०६२/६३ को जनआन्दोलनपछि जाति, भाषा, संस्कृति, वेशभूषा, भूगोल, क्षेत्रगत पहिचानमा दिलचस्पी राख्न थालियो । २०५८ को राष्ट्रिय जनगणनाअनुसार तथ्याङ्क विभागले प्रस्तुत प्रतिवेदनमा ९२ मातृभाषाहरू रहेको उल्लेख गरिएको छ । नेपालमा विभिन्न भाषा समूह छन् । समर इन्स्टिच्यूट अफ लिङ्ग्विस्टिकले झण्डै १२५ वटा मातृभाषा भएको लगत एथ्नोलग (सन् २००५) भन्ने पुस्तकमा उल्लेख छ । नेपालको सन् २०११ (वि.सं. २०६८) सालको राष्ट्रिय जनगणनाअनुसार १२३ भन्दा बढी भाषा बोलिन्छ भन्ने तथ्याङ्कले देखायो । उक्त सालको जनगणनाले नेपालका भाषालाई जातीय पहिचानमा गाँसेर जाति र भाषा दुवैको अस्तित्व प्रदान ग-यो । तर बहुभाषिक मुलुकको पहिचान बोकेका भाषाको संरक्षण र नीतिलाई उचित स्थान दिन सकेको छैन ।
आजको चुनौती भनेको भाषाको संरक्षण हो । पछिल्ला सरकारद्वारा देखाइएको भाषाप्रतिको बेवास्ताले नेपालका विभिन्न जातजातिका भाषाहरू लोप हुने अवस्थामा पुगेका छन् । यसमा अधिकांश रूपमा आदिवासी समुदायका भाषा पर्छन् । सन् २०११ को राष्ट्रिय जनगणनाको प्रतिवेदनअनुसार नेपालमा १२३ भाषाभाषी रहेकोलाई विभिन्न अवस्थामा मूल्याङ्कन गरी विभाजन गरिएको छ । युनेस्कोले संसारका भाषालाई वक्ताको आधारमा वर्गीकरण गरेको छ । भाषाविज्ञहरूको सर्वेक्षणअनुसार नेपालको सन्दर्भमा दस लाखभन्दा बढी वक्ता भएको भाषालाई सुरक्षित, एक लाखदेखि दस लाखसम्म वक्ता भएको भाषालाई सुरक्षितप्रायः, दस हजारदेखि एक लाखसम्म वक्ता भएको भाषालाई लोपोन्मुख, एक हजार एकदेखि दस हजारसम्म वक्ता भएको भाषालाई मरणोन्मुख र एक हजारभन्दा कम वक्ता भएको भाषालाई मृतप्रायः भाषा भनेर वर्गीकरण गरेका छन् । यसरी हेर्दा नेपालमा पाँचवटा सुरक्षित भाषा, दसवटा सुरक्षितप्रायः भाषा, ३२ वटा लोपोन्मुख भाषा, ३३ वटा मरणोन्मुख भाषा र २२ वटा मृतप्रायः भाषा छन् । भाषा वैज्ञानिकहरूका अनुसार केही भाषा लोप भइसकेका पनि छन् ।
२०७८ सालको राष्ट्रिय जनगणनामा भाषालाई विशेष स्थान दिन लागिएको छ । भाषाकै सम्बन्धमा विभिन्न समूहमा विभाजन गरिएको छ । साथै भाषाको शोधनी गर्दा तीन बुँदामा राखिएको छ । पहिलो प्रश्न हुनेछ, पुर्खाको भाषा कुन हो ? दोस्रो, आफ्नो मातृभाषा कुन हो ? र तेस्रो, आफूले बोलिने भाषा कुन हो ? यसरी सोधिएकै आधारमा भाषाको गणना गरिनेछ । जनगणनामा कुनै किसिमको धाँधली अथवा लापरबाही नहोस् र सही जवाफ आओस् भनी सबैले चनाखो हुन आवश्यक छ । जनगणना लिन गणकहरू आउँदा भ्रममा नपरी सही ढङ्गबाट आफ्नो जातीय भाषालाई लेखाउनु जरुरी छ । आफ्नो मानव अधिकारको सही सदुपयोग गरिनु पर्छ । साथै, भाषाको के कति महìव छ भन्ने कुरा पनि बुझ्नु आवश्यक छ । यसअघि भएका भाषिक आन्दोलन र नेपालको भाषानीतिलाई बुझ्नु जरुरी छ ।
आज कुनै पनि देशमा के कस्ता मानव सभ्यताहरू छन् ? के कति देश विकसित छन् भन्ने मापदण्डको आधारका रूपमा भाषालाई पनि लिइन्छ । भाषा सभ्यताको पहिचान तथा संरक्षक हो । भाषा केबल सञ्चारको माध्यम मात्र होइन । यद्यपि, हाम्रो मुलुकले भाषालाई विशिष्ट स्थान दिन सकेको छैन । राज्यले एक भाषा एक भेष (संस्कृति) को नीति लिएको जस्तो अनुभव हुन्छ । हालै जनगणनामा पनि पुर्खाको भाषा, मातृभाषा र बोलिने भाषाजस्ता बुँदामा सोधिने गरेको छ । जातीय भाषाको रूपमा प्रश्न सोधिएन । भाषा विज्ञहरूको भनाइअनुसार, नेपालमा धेरै भाषा हुनु समस्या होइन, समस्या भनेको त व्यवस्थापनको हो । भाषालाई राजनीतिक सिमानाभित्र कैद गर्न हुन्न । आज मातृभाषाको प्रयोग नारामा मात्र सीमित हुन पुगेको छ । मातृभाषा प्राणभन्दा प्यारो हुन्छ । तर नेपालमा मातृभाषाप्रति केही जातिमा केबल भावनात्मक मनोवृत्ति मात्र रहेको पाइन्छ । वास्तवमा राष्ट्रिय तथा व्यक्तिगत जीवनमा मातृभाषाको ठूलो महìव छ । मातृभाषाको समुचित संरक्षण, संवद्र्धन र विकास उत्तिकै आवश्यक छ ।
वर्तमान परिप्रेक्षमा भाषाको सही तथ्याङ्क आउनु कति महìवपूर्ण छ भने राजनीतिक हिसाबले समानुपातिक समावेशी लोकतन्त्रको सिद्धान्तका आधारमा सङ्घीय शासन चलाउने व्यवस्था भएकाले कुन जातिको भाषा के कस्तो अवस्थामा छ भन्ने जानकारी हुनु जरुरी छ ।
हरेक जातजातिलाई आफ्नो मातृभाषामा शिक्षा हासिल गर्न, अध्ययन अध्यापन गर्न सहयोग मिल्नेछ । जबसम्म जातीय पहिचान कायम हुँदैन, तबसम्म त्यस जातिले आफ्नो अस्तित्व राख्न मुस्किल हुन्छ । यसैले समाजशास्त्रीय सिद्धान्तअनुसार जातीय पहिचानको मूल आधार भाषा हो । यदि एउटा मानिसले कुनै कारणवश आफ्नो मातृभाषा छोड्नुपर्ने विवशता आइप-यो भने उसले आफ्नो पुर्खा र जातीय अस्तित्वलाई नै बिर्सनेछ । नेपालजस्तो मुलुकमा भाषाले राष्ट्रिय एकतालाई बलियो बनाउँछ । नेपालको संविधानले सबै भाषालाई राष्ट्रभाषाको रूपमा मान्यता प्रदान गरेको छ । यसैले भाषाको महìव स्थापित गर्नेप्रति राष्ट्रिय जनगणनाले एउटा उपयुक्त अवसर प्रदान गरेको छ । सबै जातजातिका भाषालाई न्यायोचित ध्यान पु-याउन आवश्यक छ । भाषाप्रतिको सकारात्मक सोचाइ कत्तिको विकास भएको छ भन्ने मूल्याङ्कन गर्ने ठूलो मौका आएको छ । ‘मेरो गणना मेरो सहभागिता’को नाराद्वारा सुरु भएको बाह्राँै राष्ट्रिय जनगणनालाई सबै नेपालीले उत्साहका साथ सहभागी भएर सफल पार्नु जरुरी छ ।